धन्य दल ! धन्य नेता !! धन्य छौँ नेपाली जनता

धन्य दल ! धन्य नेता !! धन्य छौँ नेपाली जनता


प्रधानमन्त्री चयन गर्ने तेस्रोपटकको प्रक्रिया पनि निष्फल रह्यो, तर यो कुनै अनपेक्षित र अनौठो नतिजा भने होइन । जब कुनै सहमति नभईकन नै रहिभइआएको सरकारलाई ँकामचलाउ’ हैसियतमा ओरालिएको थियो र चारतिर मुख फर्काएर बसेका अनेक जात-रूप-रङधारी राजनीतिक दल-समूहहरूलाई सहमतिमा ल्याउने खोक्रो दाबी मुख्य दल एकीकृत नेकपा माओवादी र एमालेको झलनाथ समूहले गरेको थियो, वर्तमान नेपाली राजनीतिको चरित्र बुझेको तप्का त्यतिबेलै यो ठहरमा पुगेको थियो- ँसहमतिको नाममा जसरी बहुमतीय खेल अपनाएर सत्तामा पुग्ने चाल चलिँदै छ त्यो ऐतिहासिक तवरले निष्फल सावित हुनेछ ।ँ तर, निष्फल मात्र भएरभन्दा पनि प्रधानमन्त्री चयनको अत्यन्त लज्जाजनक तमासामा भासिएर नेपालको लोकतन्त्र सुदृढीकरण प्रक्रिया नै एकप्रकारले क्षतविक्षत हुनपुगेको छ । शान्ति स्थापना र संविधान निर्माणसम्बन्धी राजनीतिक दलहरूको एकोहोरो सुगारर्टाई पनि अब फगत एक झर्कोलाग्दो ँधोबी-गाना’मा परिणत हुनपुगेको छ । निश्चित र छोटो अवधिका लागि एउटा कामचलाउ सरकार गठनसम्म गर्न नसक्ने दलहरू सदियौँ अवधि मुलुक हाँक्न आवश्यक ँसंविधान’ बनाउने हुंकार गरिरहेका छन् । यसमा पनि आर्श्चर्य त यो छ कि यिनै राजनीतिक दलहरूले पैदा गराएको मृगतृष्णा साँचेर बसेका मुलुकका अनेकौँ पक्षको चित्त बुझ्नेगरी संविधानलेखन सम्पन्न गर्ने यिनको दाबी कायम छ । सम्भवत: राजनीतिमा यसप्रकारको हलुका वा हचुवा खेल दुनियाँमा यसअघि कहीँ-कहिल्यै खेलिएकै थिएन ।
यसरी, कामचलाउ सरकारले मुलुक धानिएको महिना दिन नाघिसकेको छ भने ह्याउ-हुति या कुनै गति नभएको यस्तो दयनीय सरकारको राज थाहा छैन अझ कति दिन तन्किने हो । मुलुक समस्यैसमस्याको थुप्रोले चेपिएको छ र अभाव, असुविधा, महँगी र यिनै प्रकृतिका यावत् शत्रुहरूका प्रहारबाट थलिएका छन् नेपाली जनता । तर, राजनीतिक दलहरूका लागि मानौँ, सत्तामा सहमति हुन नसक्नुबाहेकका अरू कुनै समस्या नै छैन राष्ट्रमा । सहमति, शान्तिप्रक्रिया र संविधानबाहेक गाउने अरू कुनै राग नै छैन तिनका लागि । के हो सुशासन, के हो सुरक्षा, के हो शिक्षामा पहुँच, के हो मानवअधिकार, के हो विकास र आर्थिक उन्नति – शासकहरूलाई यस्ता सवालले कहिल्यै चिमोटेन, अहिले पनि चिमोट्ने छेकछन्दै देखिएन । तीनपटकसम्म लगातार र निर्लज्ज सबै हार्ने, देशको ँइज्जत-आवरु’ नै छिया-छिया हुनेगरी मञ्चित प्रधानमन्त्री चयनको नाटकले सारमा यत्ति मात्र बुझाउँछ । यस्तै निराशाबाहेक कुनै आशाको दीप मधुरो र पर-परसम्म पनि दर्शाउँदैन राजनीतिक दलहरूको केही वर्षदेखि अविच्छिन्न चालू रवैयाले ।
तथापि, एक-अर्कालाई धारेहात तेर्स्याउँदै, सहमतिको बिन्दुतर्फ आग्रहपूर्वक पहिले नै पिठ्युँ फर्काउँदै सहमति भेट्न लम्किरहेकै छन् हाम्रा राजनीतिक दलहरू, ह्याटि्रक-हारको पीडाबाट प्राप्त ऊर्जाको पाउर लिँदै बहुमतको सरकार रचना गर्न अझै तम्सिरहेकै छन् । अन्य उपायहरू सबै अवलम्बन भइसकेको परिवेशमा अब ँलक्ष्मी’को चलखेल हुन बाँकी नै होला । यो स्वादलाग्दो कसरत पनि पक्कै अबका केही दिन प्रत्यक्ष या परोक्ष रूपमा देख्ने या अनुभूत गर्ने अवसर देश-दुनियाँले पाउलान् नै । आखिर मुलुकलाई दिगो शान्ति र नौलो संविधान जो टक्र्याउनु नै छ महान् राजनीतिक दलहरूले । उल्टो बाटो नै हिँडे पनि निकास त पहिल्याउनु नै छ । आफ्नो बुताले नसके अर्काको सहारामै किन नहोस्, नयाँ शासनको स्वाद त जनतालाई चखाउनु नै छ । धन्य दल ! धन्य नेता !! र, यो सबै हलुवाझैं आरामले पचाउन सक्ने धन्य हामी नेपाली जनता !!!