अब अख्तियारलाई सूचना किन दिने ?

अब अख्तियारलाई सूचना किन दिने ?


yadunath-banjara

घरेलु तथा साना उद्योग कार्यालय पोखराले सेवाग्राहीलाई विभिन्न बहाना बनाएर हैरान पार्ने र घुस नखाई कामै नगरिदिने चर्चा पहिल्यैबाट चल्ने गरेको हो । कर्मचारीले सास्ती दिएपछि सेवाग्राहीले सुस्केरा काड्दै र दुःख दिनेलाई सत्तोसराप गर्दै मागेको ‘भेटी’ चढाएर आफ्नो काम लिन बाध्य हुनुपरेका गुनासा पनि पङ्क्तिकारले धेरैपटक सुनेकै हो । तर, आँखाले नदेखेको र प्रमाणले नभेटेको कुरालाई केवल आरोपका लागि आरोप मात्र लगाउनु पनि हाम्रो धर्म र कर्म होइन भन्ने चेतले चुप बसियो । आखिर सत्य त साबित भएरै छाड्छ । प्रवृत्ति र नियतमा नै खोट भएपछि कुनै न कुनै रूपमा एक दिन तथ्य उदाङ्गो भएरै छाड्छ । सेवाग्राहीमा चेतना आयो भने घुस्याहा कर्मचारीलाई ठेगान लगाउन मद्दत पुग्छ नै ।

यस्तै एउटा घुस प्रकरणको पटाक्षेप भएको छ, घरेलु तथा साना उद्योग कार्यालय पोखरामा । एउटा प्रेस उद्योगका लागि विद्युत्को क्षमता बढाउन घरेलु कार्यालय पोखरामा पुगेका एक सेवाग्राहीलाई त्यहाँ कार्यरत उद्योग दर्ता शाखाका फाँटवाला (खरिदार) यदुराम अधिकारीले करिब हप्ता दिनसम्म झुलाए । सबै कागज पूरा भइसक्दा पनि कोटेसन र स्किम बनाउनुपर्छ भन्दै तीनतिरै झुलाए । उनले डुलाएको ठाउँमा केही सीप नलागेपछि ती फाँटवालाले पाँच हजार रुपैयाँ दिए आफैँले स्किम बनाइदिने बताए । सेवाग्राहीको मेसिन के–कस्तो छ थाहा नभएको कर्मचारीले स्किम बनाउने भनेपछि हैरान खाएका सेवाग्राहीले कर्मचारीको नियत बुझे । पैसा लिएर नआएसम्म फाइल अगाडि नबढ्ने अडान लिएपछि सेवाग्राही हाम्रो सम्पर्कमा आए । ‘सबै तिर्नुपर्ने कर दस्तुर तिरिसकेको, अब ५ हजार रकम छुट्टै मागेका छन् के गरुँ ?’ भन्दै पङ्क्तिकारसँगै पैसा सापट मागे । मैले ‘घुसका लागि ऋण–सापट नखोज, अख्तियारले गर्छ खर्च’ भनेर सेवाग्रहीलाई सम्झाए ।

०७३ पुस १३ गते बिहान १०ः३० बजे पङ्क्तिकार र रिपोर्टर साथी पारिजात खराल अख्तियारको क्षेत्रीय कार्यालय पोखरामा पुग्यौँ । गोप्यता भङ्ग गरेमा अपरेसन फेल हुन्छ भनेर हामी सोझै प्रमुखसँग भेट्न पुग्यौँ । संयोगवश त्यसदिन अख्तियार क्षेत्रीय प्रमुख जानकीवल्लभ अधिकारी र सुरक्षाप्रमुख डीएसपी गोविन्द थपलिया सँगै थिए ।

हामीले घरेलु कार्यालयका फाँटवालले गरेको घटनाको बेलिविस्तार लगायौँ । घुस लेनदेनको निर्विकल्प परिस्थितिबारे पनि अवगत गरायौँ । सेवाग्राहीसँग सम्पर्क गरी यथार्थ विवरण बुझ्न उनको फेहरिस्त पनि टिपायौँ । हामीले यति सावधानीपूर्वक सरकारी कार्यालयले गर्न खोजेको घुसकाण्डको पटाक्षेप गरेर कानुनी दायरामा उभ्याउन खोजेका थियौँ र हामी भ्रष्टचार निवारण गर्न संविधानले व्यवस्था गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पूर्ण विश्वास र भरोसा गर्छौं, गर्दै आएका पनि छौँ । यसअघिका कार्यालय प्रमुखसँग भ्रष्टाचार निवारणका लागि स्ट्रिङ अप्रेसनमा सहयोग पु¥याउँदै आएका पनि हौँ ।
त्यही विश्वास र आस्थाको कारण हामीले अख्तियारलाई फेहरिस्त सुनायौँ । सेवाग्रहीलाई सम्पर्क गर्ने भन्दै नम्बर पनि दिइयो । सेवाग्रहीले पनि डीएसपी गोविन्द थपलियालाई ९८५६०८०००० मा फोन गरेर आफूसँग घरेलु कार्यालयका फाँटवालाले गरेको व्यवहार र घुस मागेकोबारे प्रस्ट पारे, तर डीएसपीले सेवाग्रहीलाई निराश पार्ने गरी कार्यालय प्रमुखसँग भेटेर काम मिलाउन सल्लाह दिए ।

अख्तियारबाट यो घुस काण्डको अप्रेसन नहुने निष्कर्षमा हामी पुग्यौँ । संवैधानिक निकायले एउटा सचेत सेवाग्राही (नागरिक)को साहसलाई अपमान गरेर निरुत्साहित तुल्याएपछि सेवाग्राही र यो कलमकर्मी कर्मचारीको नियत बुझ्ने चेष्टामा पुग्यौँ ।

खरिदार यदुराम अधिकारीले सेवाग्राहीलाई लिएर ८ नंं. कोठा (स्टोर) मा छिरे । पङ्क्तिकार पछि–पछि लाग्यो । मेरो क्यामेराले पनि आफ्नो धर्म निभाइरहेको थियो ।

उनी कुर्सीमा बसे । तयार भएको फाइल दर्ता गर्न दर्ता चलानी शाखामा पठाए । मसँग परिचय मागे । मैले छद्म परिचय दिएँ तराईवासी बनेर । सेवाग्राही आइपुगे । फाइल लिए । त्यहाँबाट सिफारिस पत्र निकाल्नुअगाडि ‘अब त चाहियो नि’ भने । सेवाग्राही एकछिन चुपचाप उभिए । खै त भन्दै आग्रह गरेपछि सेवाग्राहीले खल्तीबाट ५ सयका १० वटा नोट निकालेर दिए । उनलाई आफूले भनेजति छैन कि भन्ने लागेछ । घर्रा अलिकति तानेर पुनै नोट गनेपछि ‘ठीक छ, यस्तो पैसा पहिल्यै लिनु राम्रो हुन्छ’ भन्दै एकपाने पत्र सेवाग्राहीलाई थमाए ।

पङ्क्तिकारले यति सहजै राष्ट्रसेवक कर्मचारीले घुस खान्छन् भन्ने सोचेको पनि थिएन । कतिपय अख्तियारले गर्ने स्टिङ अप्रेसनमा रिपोर्टिङ गरेको अनुभव छ हामीसँग । जबर्जस्ती मलाई फसाउन पैसा फाल्यो भन्दै कर्मचारीहरू टक्टकिन्थे । घुस लिए पनि होटेलमा अँध्यारो कोठामा या कार्यालयको कक्षमा एक्लै पारेर टेबुलमुनिबाट लिन्थे, तर यस प्रकरणमा हाकाहाकी तेस्रो मान्छे साक्षी राखेर टेबुलमाथिबाटै सोझै घुस लिने ती कर्मचारी र त्यस्तो घटनाको स्पष्ट सूचना पाएर पनि वेवास्ता गर्दै कार्यालय प्रमुखलाई भनेर आफ्नो काम गर्नु भन्ने अख्तियारका क्षेत्रीय प्रमुख जानकीबल्लभ अधिकारी र डीएसपी गोविन्द थपलियाको कार्यशैलीका बीच तारतम्य भएको कुरा यदि संयोग होइन भने अब नागरिकले अख्तियारलाई सम्भावित घुसकाण्डको सूचना किन दिने ? यो प्रश्नले मलाई त घोच्यो नै यो प्रकरणले धेरैलाई घोच्न सक्छ ।

बिहान १०ः३० बजे अख्तियारलाई जानकारी दिएको यस प्रकरणमा अपराह्न २ः३० बजे मात्र सेवाग्राहीलाई पटक–पटक खबर गरेपछि गएका छन् । उक्त दिन अख्तियार प्रमुख अधिकारी र डीएसपी थपलिया अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा पुगेका थिए । जसका कारण एउटा स्टिङ अप्रेसन टारियो ।
अब प्रश्न उठ्छ– कति रकम घुस खानेलाई मात्र कारबाही गर्ने ? घुस खाने कर्मचारीको नियत ठूलो कि रकमको मुठो ठूलो ? प्रत्येकजसो सेवाग्राहीलाई यही तवरले घुस खानेलाई बेवास्ता गर्ने हो भने कसरी हुन्छ भ्रष्टचार नियन्त्रण ? लोकमानसिंह कार्कीको निलम्बनपछि पङ्क्तिकारले बुझेको पहिलो प्रकरण हो यो सुस्तता ।

घुस लिने कर्मचारीले ४ दिनपछि पुस १७ गते सेवाग्राहीको निवासस्थान खोज्दै आएर पुस १३ गते लिएका घुस सेवाग्राहीको खल्तीमा हालेर फिर्ता गरेका छन्, जतिकोतत्ति रकम पाँच हजार । फरक यति छ सेवाग्राहीले पाँच सयका १० वटा नोट दिएका थिए । खरिदार (फाँटवाला) यदुराम अधिकारीले एक हजारका ५ वटा नोट फिर्ता दिए ।

धिक्कार छ यो देशका हामी जनतालाई ! ओली सरकारले २५ प्रतिशत तलब बढाउँदा पनि यिनै गरिब जनताका रगतपसिना चुसेर घुस खान लाज नमान्ने कर्मचारीले किन कसको आदेशमा फिर्ता गरे घुस रकम ? घुस प्रकरण यथार्थ रहेकोबारेमा यो कलमधर्मीले डीएसपी थपलियालाई टेलिफोनबाट तत्काल जानकारी पनि गराएको नै हो । सामान्य रूपमा उनले भने एउटा उजुरी दिनु न । रङ्गेहात समात्न सूचना दिँदा त त्यतै हाकिमलाई भनेर कुरा मिलाउनुस् भन्ने डीएसपी र प्रमुखलाई उजुरी दिएर दुःख किन गर्ने ? अब उजुरीको के औचित्य । हुन त हामीसँग आफ्नो प्रमाणका लागि पुग्ने अडियो, भिडियो र घुस दिएको र फिर्ता भएको नेपाली नोटको फोटो सुरक्षित छ । अख्तियारले केही नगरे पनि कलमको धर्म निर्वाह गर्न भने किञ्चित पछि हटिनेछैन । जय नेपाली जनता ।

– यदुनाथ बन्जरा