काङ्ग्रेस सभापति देउवालाई खुला पत्र !

काङ्ग्रेस सभापति देउवालाई खुला पत्र !


Rajendra Pathak 33

– राजेन्द्रप्रसाद पाठक
अध्यक्ष, आर्यावर्त (भारतवर्ष) युवा समाज नेपाल

आदरणीय पार्टी सभापति श्री शेरबहादुर देउवाज्यू,

हामी कसैका आग्रह र अनुग्रहले काङ्ग्रेस भएका होइनौँ । नाता जोडिएकै आधारमा पार्टी सदस्य भएको रेकर्ड पनि छैन । पद र प्रतिष्ठाका लागि मरिहत्ते गरेका पनि छैनौँ । पार्टीको नीतिविपरीत पनि होइनौँ । एकै पुस्तामा राजनीति गरेर मन्त्री, प्रधानमन्त्रीको ख्वाब राखेका पनि थिएनौँ । आजसम्म हाम्रो चौथो पुस्ताले काङ्ग्रेसप्रतिको आस्था र विश्वास बोकेको थियो र यद्यपि छँदै छ । लामो इतिहास र प्रजातन्त्रप्रति गहन विश्वास राख्ने नेपालकै पहिलो पार्टीको सभापतिजस्तो गरिमामय पदमा तपाईंजस्तो निष्ठावान योग्य पुरुष पार्टी सञ्चालक भएर रहँदा कार्यकर्ता, जनता र देशले शान्ति, समृद्धि र सुशासन मात्रै चाहेको थियो ।

तर, देश समृद्ध भएको र प्रजातन्त्र सुदृढ भएको देख्ने हाम्रो चाहनामाथि दिनानुदिन तुषारापात भइरहेको छ । देश अस्थिर राजनीतिको सिकार भएको छ । दिनदहाडै चेली लुटिएकी छिन्, आमाको सिन्दुर मेटिएको छ । हुने–खानेको सम्पत्ति लुटिएको छ । हुँदा खानेको गाँस खोसिएको छ । आँखा नहुनेहरू मनले रोइरहेका छन् । खुट्टा नहुनेहरू सडकमा पल्टिरहेका छन् । उनीहरूलाई कुल्चिएर चिल्ला गाडीहरू धुलाम्य सडकमा झ्याल बन्द गरेर एसी लगाएर गुडिरहेका छन् । सहरी जनता ढलको पानी पिउन बाध्य छन् । मिसावटी खाद्यान्नको सिकार बनेका जनता औषधोपचार नपाएर असाध्य रोगबाट थलिएका छन् । बेरोजगार युवायुवती रोजगारीको खोजी गर्ने क्रममा पाखण्डी दलालहरूको चङ्गुलमा फसेर लाहुर पसेका छन् । बेरोजगारी फस्टाए व्यापार झन् फस्टाउने कल्पना बोकेर शून्य लगानीमा सय करोड कमाउनेहरू तपाईंहरूकै छत्रछाया खोज्दै लहस्सिरहेका छन् । ती तपाईंका शुभचिन्तक र कार्यकर्ताहरू पनि होइनन् । रङ बदलेर तपाईंहरूलाई दङ्ग बनाई कमाउने उनीहरूको पुस्तैनी पेसा मात्र हो । नेपाली नौजवानहरू विदेशी भूमिमा फाँसी लाग्न बाध्य भएका छन् ।

यता घरमा वृद्ध बाबुआमा, जवान श्रीमती, लालाबालाहरू कान ठाडो पारी–पारी, आँखा च्याती–च्याती बाटो हेरिरहेका छन् । समृद्धि फर्किएला र रमाउँला भन्नेहरू लासको बाकस स्वीकार गर्न बाध्य भएका छन् । गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, सुरक्षा र रोजगारीलाई तपाईंहरूले संविधानको मौलिक हकको लहरमा सुनौला अक्षरले लेख्नुभएको होला । मौलिक हकजस्तो अनिवार्य र जन्मसिद्ध अधिकारलाई तीन करोड जनतामा पु¥याउनुभएको छ ? पद र प्रतिष्ठालाई भाँजेर हुने–खाने भएकाहरूलाई कति रकम बाँड्नुभयो ? हिसाब राख्नुभएको छ ? देशमा कति सामाजिक संस्थाहरू थिए जनताका हितका लागि भनेर खोलिएका खोइ आज तिनको अस्तित्व बाँकी छ ? देशमा ९३ प्रतिशत सनातनी धर्ममा विश्वास राख्छन् तिनीहरूको धार्मिक अधिकार कतिसम्म सुनिश्चित भएका देख्नुभएको छ ? फिरिङ्गी धर्म र संस्कारलाई देशभित्र भित्र्याएर कमिसन खानेहरू हाबी भइरहँदा किन चुपचाप बस्नुहुन्छ ? स्वदेश भित्रिने रेमिट्यान्सभन्दा कमिशनको रकम बिदेसिने क्रम अत्यन्त तीव्र गतिमा अगाडि बढरहेको नदेख्ने तपाईंका अर्थविद्हरू कस्ता सुझाव दिँदै थिए– ख्याल गर्नुभएको छ ? अदालतदेखि मालअड्डासम्म राजनीतिक रङ भएका कार्यकर्ताहरू मात्रै भित्रिइरहँदा अब न्याय र आय कतातिर भित्रिँदै छ ख्याल गर्नुभएको छ ?

अङ्ग्रेजी जानेकाका लागि मात्र होइन, देश बुझेर र अङ्ग्रेजहरूको व्यवहारलाई चिनेकाहरूलाई राजदूत बनाएर पठाउनुस्, परिणाम असल आउनेछ । आज युरोपियन जासुसले संस्कार, संस्कृति र धर्मलाई कौडीको भाउमा बिक्री गरिसकेको बुझ्नुभएकै होला । छिमेकी देश र जनताप्रति वितृष्णा फैलाउनेहरू पनि तिनै हुन् । खुलेआम जनता लुट्न पाउनुपर्दछ । चोरी गरेर धनी बन्न पाउनु हाम्रो मौलिक धर्म र अधिकार हो भन्नेहरूको मागलाई राज्यले बेलाबेलामा प्रश्रय दिइरहँदा भ्रष्टाचारमुक्त समाज र पारदर्शी राज्य संयन्त्रको निर्माणका खातिर र न्यायको कठघरामा अन्याय गर्नेहरूलाई उभ्याउन सक्नुपर्दछ भन्ने आमचासोका मागलाई लिएर आमरण अनशन बस्नेहरूमाथिको तपाईंको दृष्टिकोण प्रस्ट हुनुप¥यो । जनयुद्धका नाममा बेघर भएका र प्रताडनामा परेका जनतालाई बेवास्ता गरेर पीडकलाई शिरमा राख्नकै लागि तपार्इंलाई पार्टी सभापति बनाइएको हो ? उधारो राजनीतिक प्रतिष्ठाका लागि मरिहत्ते गर्ने मनशाय तपाईंजस्तो गरिमामय व्यक्तित्वको मन–मस्तिष्कमा कहाँबाट उब्जियो ? राजनीतिक पद र प्रतिष्ठा नितान्त सामाजिक सेवाका लागि मात्र हो, किन आज यस्ता पद र प्रतिष्ठा करोडौँ मूल्यमा बिक्री–वितरण हुने अवस्थाको सिर्जना भएको छ ? वंश र अंशको राजनीतिलाई अन्त्य गर्दै क्षमता, योग्यता र विश्वासको जनसेवामूलक राजनीति बनोस् भन्ने आमनेपालीको चाहनामाथि किन तुषारापात हुँदै छ ? परिवारलाई पद वितरण गर्ने मनोवृत्ति शोषकहरूमा मात्र हुन्थ्यो, त्यसैले त जन्मनासाथ नाति जर्नेल हुन्थे । यदि त्यसै हो भने उनीहरूलाई नै पुनस्र्थापना गरे भइहाल्यो नि किन चाहियो लोकतन्त्र ?

वास्तविक लोकतन्त्रमा राष्ट्रिय रूपमा हरेक विवादित मुद्दाहरूलाई जनमतसङ्ग्रहमार्फत निक्र्योल गर्दै लोकमतका आधारमा छिचोलिनुपर्दछ, किन यसो हुन सकिरहेको छैन । भाषालाई मात्र विज्ञताको संज्ञा दिनेहरूले आफ्ना छोराछोरीलाई अक्सफोर्डमा भाषा पढाएर विश्वविज्ञता घोषित गर्न चाहिरहेकै कारण आज नेपाली भाषा जो आमनेपालीले बोल्छन् र हाम्रा अन्य मातृ भाषामाथि बलात्कार भएको छ । चीन–भारतजस्ताविश्व समृद्धीको सूचिमा दरिएका देशका अधिकांश उच्चपदस्थ व्यक्तित्व आफ्नै मातृभाषालाई साथमा, माथमा लिएर विश्व सयर गर्दछन् । उनीहरूलाई बुझ्न चाहना राख्नेहरूले ट्रान्सलेटर राखेर बुझ्ने कोसिस गरिरहेका छन् । देशलाई समृद्ध बनाउँछु भन्नेहरू अर्काको भाषामा मात्र समृद्धि भएको र त्यसकै मात्र फोटोकपी बन्न चहँदैनन् । यसको मतलब पैसा बुझेका र भाषा बुझेकाहरूले देशको प्रतिनिधित्व नगरेर नितान्त देश बुझेकाहरूले प्रतिनिधित्व ग¥यो भने त्यसभित्र गर्व गर्नलायक विषयवस्तु समेटिन्छ । प्राधिकरणको सीईओको पुनरागमन गराउनु मात्र तपाईंको ध्येय हो कि आफूले भूकम्पपीडितहरूलाई एकमुष्ट रकम वितरण गरिनुपर्दछ भन्ने वचनको पालना गर्नु तपाईंको कर्तव्य हो । त्यो जान्न सकिएन । स्मरण रहोस्, दैवी विपत्ति कुनै भूगोलविशेषका लागि मात्र प्रहार सावित हुनेछैन । वचनको पालना गर्नु राजनेताको परम् कर्तव्य हो । सभापति महोदय, अधिवेशनका समय तपाईंलाई भोट माग्दै गर्दा विगतजस्तो काङ्ग्रेस पार्टी परिवारवादबाट तटस्थ हुनेछ भन्नाका खातिर तपार्इंको विजय सुनिश्चित भएको थियो, आज फेरि पुरानै काङ्ग्रेसी प्रवृत्ति पुनारावृत्ति किन हुँदै छ । यसले कार्यकर्तास्तरमा निराशा उत्कट भएको छ सभापति महोदय !

आदरणीय पार्टी सभापतिज्यूमा मेरो पुनः सादर अनुरोध छ कि महामानव बीपीको सिद्धान्त र वीर गणेशमान, किसुनजी, सुवर्णजलगायत सम्पूर्ण निष्ठावान कार्यकर्ता र सहिदहरूको बलिदानी र जनताको आस्थाले जीवित पार्टीलाई नितान्त व्यक्ति र परिवारको मात्र ठान्नुभयो भने र पार्टीको नीति र निष्ठामाथि कथंकदाचित कुठाराघात भयो भने इतिहासको कालोसूचीमा हाम्रो आदरणीय नेताको नाम देख्न र सुन्न हामी लालायित नभएको अवगत गराउन चाहन्छौँ । यद्यपि समय बाँकी नै छ, सुझावलाई सौहार्दपूर्ण ढङ्गले महसुस गरेर देश, जनता, राष्ट्रियता र प्रजातन्त्रलाई सुदृढ गरेर लैजाने अहम् भूमिका इतिहासले तपाईंलाई सुम्पिएको छ । अस्तु !