मनमोहनमार्फत मदनलाई चीनले यस्तो सन्देश दिएका थिए

मनमोहनमार्फत मदनलाई चीनले यस्तो सन्देश दिएका थिए


khagendra sitaula


– खगेन्द्रराज सिटौला

मदन भण्डारीले पोखरामा दिएको ‘राजा पनि एउटा शक्ति हो’ भन्ने अभिव्यक्तिपछि राजा वीरेन्द्र र मदन भण्डारीबीच भेटवार्ता पनि भएको उहाँले सुनाउनुभएको थियो । मदन र सीपीलाई मिलेर जान र पार्टीलाई बलियो बनाएर लान सबै कार्यकर्ताले भूमिका खेल्न उहाँको निर्देशन लिएर पङ्क्तिकार बाहिर निस्किएँ । यही पृष्ठभूमिमा पछि मदन भण्डारीको रहस्यमय मुत्यु (हत्या ?) हुन पुगेको छ । हुन सक्छ लोकप्रिय मदन भण्डारी र त्यस्तै लोकप्रिय राजा वीरेन्द्रको सहकार्यले कुनै पनि शक्तिले हल्लाउन नसक्ने राष्ट्रिय शक्ति याने नेपाल शक्ति बन्ने सम्भावित शक्तिसँग डराएर यो शक्ति बन्न नदिन मदन भण्डारीको हत्या पो रचियो कि अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको षड्यन्त्रमा । जुन शक्ति निर्माण भयो भने बाह्य स्वार्थको प्रमुख अवरोध शक्ति बन्न नदिनका लागि मदन भण्डारीको हत्या रचिएको होस् ।

मनमोहन अधिकारी त्यसबेला प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष एवम् संसदीय दलका नेतासमेत थिए । संसदीय दलका उपनेता सीपी मैनाली थिए भने पार्टीका महासचिव मदन भण्डारी थिए । प्रमुख प्रतिपक्षका नेतालाई सरकारले निवास उपलब्ध गराएको थियो कि के हो उहाँ त्यसबेला महाराजगञ्जको चक्रपथछेउमा रहेको सरकारी भवनमा बस्नुहुन्थ्यो । जुन घर तत्कालीन अधिराजकुमार धीरेन्द्रविक्रम शाहका निजी सुरक्षा हेर्ने कर्णेल भरत गुरुङबाट पञ्चायती सरकारले भ्रष्टाचारको कारबाहीमा जफत गरेको थियो ।

पङ्क्तिकार त्यसबेला एमालेको तर्फबाट जिविस सभापति तेह्रथुममा कार्यरत रहेको समय थियो । यो ०४९ सालतिरको समय हुनुपर्छ । एमालेको स्थानीय निकाय परिचालन विभागले एमालेबाट निर्वाचित सभापति, उपसभापति, मेयर, उपमेयर आदिहरूलाई प्रशिक्षण आदिको कार्यक्रमका लागि काठमाडौंमा भेला गराएको थियो । त्यो निर्वाचनमा एमालेको तर्फबाट स्थानीय निकायमा नेपाली काङ्ग्रेसको तुलनामा निकै कम सङ्ख्यामा प्रतिनिधित्व हुन सकेको थियो । प्रशिक्षण कार्यक्रम सकेपछि नेताहरूलाई भेट्ने तथा सम्बन्धित मन्त्रालयमा जाने काममा सबै लाग्नु पनि त्यत्तिकै स्वाभाविक हुन्थ्यो ।

म पनि बिहानको ८ बजेतिर समय लिएर पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता श्रद्धेय मनमोहन अधिकारीलाई भेट्न उहाँ बसेको निवासमा गएँ । उहाँ निवासमा एक्लै हुनुहुन्थ्यो । त्यसबेला एमालेमा मदन भण्डारी र सीपी मैनालीबीचमा नयाँ जनवाद र बहुदलीय जनवादको वैचारिक तथा सैद्धान्तिक विभाजन थियो । सीपी अल्पमतमा थिए । मनमोहन र सीपी नयाँ जनवादी धारका थिए । निकैबेर पार्टीको आन्तरिक कुराकानी गरे अध्यक्षले । कुराकानी सकिएजस्तो लागेपछि र सामान्य शिष्टाचारका लागि मात्र आएकाले बिदा मागेर जान उठेपछि अध्यक्षलाई के विचार आयो कुन्नि एकछिन बस्नुहोस् कमरेड तपाईसँग अलि गफ गर्न मन लाग्यो, चिया खाँदै गफ गरौँ भनेर भित्र जानुभयो । र, एकछिनपछि दुवै हातमा चिया बोकेर आउनुभयो । मलाई निकै असजिलो लाग्यो । पार्टी अध्यक्ष, संसदीय दलका नेता एवम् पुराना पाका नेताले आफैँ चिया बोकेर आएकोमा र उहाँको हातबाट चिया समात्नुपरेकोमा । मलाई थाहा भएन– बिहान सहयोगी आइनपुगेर हो वा उहाँले देखाउनुभएको सादापन । मलाई यो कुराले लामो समयसम्म खेदिरहन्छ ।

उहाँको हातबाट चिया समाएपछि पहिलाभन्दा अझ नजिक बसेर अझ गम्भीर मुद्रामा कुरा सुरु गर्नुभयो । उहाँले भन्नुभयो, ‘हेर्नुहोस् कमरेड, बहुदल आएको पनि धेर भएको छैन, राजा पनि संवैधानिक भएर बस्न मन्जुर भएको अवस्था छ । हाम्रा कमरेडहरू अनावश्यक गणतन्त्रका कुरा उठाउनुहुन्छ र बढी क्रान्तिकारी हुनलाई राजाको विरोध गर्नुहुन्छ । यस्तो तरिकाले हाम्रो पनि र मुलुकको पनि हित हुँदैन । तपाईंलाई म चीनका नेताले गरेको मूल्याङ्कन र दिएको सुझाब सुनाउँछु ।’

मनमोहनले भन्नुभयो, ‘चीनका नेताले मदन भण्डारीबारे मसँग भने कि उहाँ युवा हुनुहुन्छ, छिट्टै लोकप्रिय नेता हुनुभएको छ, हामीलाई खुसी लागेको छ । तर, हामीलाई के कुराले अलि निराश बनाएको छ भने उहाँले राजा वीरेन्द्रको अलि बढी नै विरोध गरिरहनुभएको छ सार्वजनिक रूपमा नै । किनभने यो नेपालको हितमा छैन । तपाईंहरूका शाह राजाहरू देशभक्त हुन् भन्ने हाम्रो मूल्याङ्कन छ । हाम्रो मुलुक पनि सामन्ती सम्राटले नै एकीकरण गरेको हो, जोसँंग धेरै अत्याचारका कथा जोडिएर आउँछन् । तैपनि हाम्रा महान् नेता माओले हामीलाई महान् चीन दिएको भनेर उक्त अत्याचारी सम्राटको उच्च मूल्याङ्कन गर्नुभएको थियो । तपाईंहरूको राजा पृथ्वीनारायण शाहले जुन नेपालको एकीकरण गरे त्यो हाम्रोभन्दा कठिन काम थियो । किनभने हाम्रो ९० प्रतिशतभन्दा बढी हान जाति भएको मुलुकमा एकजना हान सम्राटले एकीकरण गर्नु तुलनात्मक रूपमा सजिलो काम हो तपाईंहरूको भन्दा । कुनै जातिको पनि बहुमत नभएको धेरै जाति भएको मुलुकको एकीकरण गर्नु झन् कठिन काम हो । त्यो काम तपाईंहरूकोमा शाह राजाले सम्पन्न गरे । अझ तपाईंहरूले हाम्रोभन्दा गर्व गर्ने के कुरा छ भने तपाईंहरूले अङ्ग्रेज शक्तिलाई समेत पराजित गरेर एकीकरण गर्नुभएको हो । त्यो सामन्ती संस्थालाई प्रशंसा गर्नुहोस्, सुविधा दिनुहोस् जसले तपाईंहरूलाई स्थायित्व, एकता र शान्ति दिन्छ अनि त्यो वातावरणमा तपाईंहरू नेपाललाई तीव्र गतिमा विकासमा अगाडि बढाउनुहोस् । हामी तपाईंहरूको जहिल्यै भरपर्दो मित्र हौँ र भारतसँग पनि राम्रो सम्बन्ध बनाएर जानुहोस् । हाम्रो सुझाव तपाईंको पार्टीको लोकप्रिय महासचिव मदन भण्डारीसमक्ष पु¥याइदिनुहोस् । त्यसपछि मैले मदन कमरेडलाई यो कुरा सुनाएँ । उहाँले यसलाई गम्भीर रूपमा लिनुभएको मैले महसुस गरेको छु । किनभने उहाँले पोखरामा गएर राजा पनि एउटा शक्ति हो भनेर बोल्नुभयो ।’

मदन भण्डारीले पोखरामा दिएको ‘राजा पनि एउटा शक्ति हो’ भन्ने अभिव्यक्तिपछि राजा वीरेन्द्र र मदन भण्डारीबीच भेटवार्ता पनि भएको उहाँले सुनाउनुभएको थियो । मदन र सीपीलाई मिलेर जान र पार्टीलाई बलियो बनाएर लान सबै कार्यकर्ताले भूमिका खेल्न उहाँको निर्देशन लिएर पङ्क्तिकार बाहिर निस्किएँ । यही पृष्ठभूमिमा पछि मदन भण्डारीको रहस्यमय मुत्यु (हत्या ?) हुन पुगेको छ । हुन सक्छ लोकप्रिय मदन भण्डारी र त्यस्तै लोकप्रिय राजा वीरेन्द्रको सहकार्यले कुनै पनि शक्तिले हल्लाउन नसक्ने राष्ट्रिय शक्ति याने नेपाल शक्ति बन्ने सम्भावित शक्तिसँग डराएर यो शक्ति बन्न नदिन मदन भण्डारीको हत्या पो रचियो कि अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको षड्यन्त्रमा । जुन शक्ति निर्माण भयो भने बाह्य स्वार्थको प्रमुख अवरोध शक्ति बन्न नदिनका लागि मदन भण्डारीको हत्या रचिएको होस् ।

मदन भण्डारीको रहस्यमय मृत्युपछि भएको आन्दोलनको राप र तापमा भएको निर्वाचनमा एमाले सबभन्दा ठूलो दल भएर मनमोहन अधिकारीको नेतृत्वमा सरकारको जिम्मेवारी लिन पुग्यो । पछि राजा वीरेन्द्रको पनि हत्या भयो, त्यो पनि रहस्यमा नै छ । अहिले मनमोहन अधिकारी, मदन भण्डारी र राजा वीरेन्द्र पनि छैनन् । मदनकी पत्नी गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति छिन् । राजा वीरेन्द्रका भाइ ज्ञानेन्द्र आपूm पूर्वराजा भएकोमा त खासै चिन्तित देखिँदैनन्, तर कतै नेपाललाई नै पूर्वनेपाल बनाउने हुन् कि भनेर आप्mनो चिन्ता सार्वजनिक रूपमा जाहेर गर्न थालेका छन् ।

२०४७ सालको संविधानले नेपालका सबै शक्तिलाई एकै ठाउँमा बाँधेर नेपाल शक्तिको आधार बनाएको थियो । यही शक्तिलाई ध्वस्त बनाउन कुनै पनि दोष नलगाई र एकपल्ट पनि संशोधनको प्रयास पनि नगरी नेपाल शक्तिको आधार यो संविधानलाई फालियो । नेपाली जनतालाई जुट्न नदिन पहिचानको आवरणमा जातीय कित्ता काट्ने काम भइरहेको छ । जातीय विभाजन गर्ने काम बढाउँदै लगिएको छ । राजालाई गाली गर्नुको कुनै तुक छैन । राजाले एकदिन पनि अनिर्वाचित स्थानीय निकाय चलाएनन् । यिनीहरूले स्थानीय निकायको निर्वाचन नगरेको २० वर्ष भइसकेको छ । राजा भएको बेला कसैले पनि यो देश टुक्र्याउँछु भन्ने आँट गर्न सकेको थिएन । राजा कमजोर र दलहरू बलिया भएको अवस्थामा मात्रै राष्ट्रघाती नदीनाला सन्धि–सम्झौता भएका उदाहरणले राजाप्रतिको मूल्याङ्कन फेर्नुपर्ने बेला भएन र ? क्रिश्चियनकरणको आधार बनाउन तथाकथित क्रान्तिकारी फौज खडा गरिएको रहेछ भनेर घटनाक्रमले पुष्टि गर्दै छ । मदन भण्डारीको हत्यालाई पनि यही सन्दर्भमा हेर्नुपर्ने भएको छ । नेपालमाथि देखिएको खतराको बादल पन्साउन मनमोहनले मदनकोमा पु¥याएको चिनियाँ सुझावको सान्दर्भिकता झनै टड्कारो भएको छ ।

र, अन्त्यमा राधाकृष्ण मैनालीकी छोरीको विवाह समारोह भइरहेको थियो महेन्द्र पुलिस क्लबमा । एकाएक कुर्सीमा बसिरहेका प्रधानमन्त्री मनमोहन अधिकारी उठेर म उभिएको ठाउँमा आउनुभयो । मलाई केही कुरा कानमा भन्नुभयो । सबैको ध्यान मतिर खिचियो । कुरा केही थिएन, आफ्नो जिल्ला तेह्रथुमको लिम्बू जातिको भाषा–संस्कृतिको विकासका लागि खोलिएको संस्था किरात याक्थुम चुम्लुङको भवन बनाउन आर्थिक सहयोगका लागि सीधै प्रधानमन्त्रीकोमा निवेदन दिएको थिएँ सभापतिको हैसियतले । त्यही रकम स्वीकृत गरिदिएको सुनाउन आउनुभएको रहेछ । मैले यो पनि बुभ्mन सकेको छैन उहाँले आपूm बसेको ठाउँमा मलाई हातको इसारामा बोलाएको भए पनि हुन्थ्यो, किन आफँै उठेर आउनुभएको हो ।

आफैँसँग मलाई खेद छ– महाकाली सन्धिमा गर्ने निर्णयमा मेरो हात काटेर सही गराए मात्रै भन्ने मनमोहन सन्धिको पक्षमा उभिएपछि अलि कडा भाषामा आलोचनात्मक लेख लेख्न पुगेछु आवेशमा यति सरल व्यक्तित्वलाई । अहिले सम्झदा मेरो भाषा अलि कडा नै भए जस्तो लागेको छ ।