आरकेले खोलिदिए सबै रहस्य !

आरकेले खोलिदिए सबै रहस्य !


नपढिनहुने एउटा पुस्तक ‘नलेखिएको इतिहास’

RK Mainali

नेपाली वामपन्थी आन्दोलनका अग्ला व्यक्तित्व राधाकृष्ण मैनाली आफैँले दुःख पाएर कम्युनिस्ट बनेका होइनन्, अर्काको दुःख मोचन गर्न कम्युनिस्ट बनेका सीमित नेतामध्ये पर्छन् उनी । युवावयमा ‘इमोसनल’ भएर उग्रवाम धारमा प्रवेश गरेका मैनालीले जति आफ्नो राजनीतिक जीवनमा उतारचढाव सायदै कसैले भोगेका छन् । कम्युनिस्ट भएर पनि स्वतन्त्र विचार राख्न सक्ने र विवेक प्रयोग गर्न नहिचकिचाउने मैनालीको चिन्तन जुनसुकै भूमिकामा रहँदा पनि देश र जनताको हितभन्दा टाढाको कहिल्यै भएन । कम्युनिस्ट भएकै बापत डेढ दशक लामो कठोर जेल यातना भोगेका उनी सबैभन्दा सम्मानित जनताबाट भए भने सर्वाधिक अपमान र तिरस्कार उनले आफूसम्बद्ध दल नेकपा एमालेबाट नै भोग्नुपरेको तथ्य हालै प्रकाशित ‘नलेखिएको इतिहास’मार्फत उजागार हुन पुगेको छ । देश र जनभलाइको साधन खोज्दै उमेरको सात दशक पूरा गरिसकेका मैनाली माले–एमाले हुँदै माले, माओवादी र राजासँग पनि सहकार्य गर्न पुगे । तर, उनको चाहनाबमोजिम काम गर्न सकिने ठाउँ कहीँ–कतै प्राप्त गर्न नसकेको छटपटी मैनालीको पुस्तक नलेखिएको इतिहासमा प्रकट भएको छ ।

केही साताअघि सार्वजनिक गरिएको उक्त पुस्तकमा झापा विद्रोहको अन्तरकथा, जेलमा रहँदा मृत्युसँग पटकपटक साक्षात्कार गर्नुपरेको दारुणिक कथा, एमालेका कतिपय नेताहरूको अस्वाभाविक एवम् रहस्यमयी व्यवहार, राजासँग सहकार्य गर्दाका अनुभव, माओवादी नेताहरूको व्यवहार र समग्र नेपाली राजनीतिमा प्रकट उहापोहको सजीव तस्बिर उतारिएको छ । राजनीतिक जीवनमा आफूले देखे–भोगेका पात्र र प्रवृत्तिलाई उनले निर्ममतापूर्वक जसरी सतहमा ल्याएका छन्, त्यसले नेपाली राजनीतिको अन्तर्य बुझ्न चाहनेहरूलाई गतिलो खुराक प्रदान गरेको छ । यो पुस्तकले राधाकृष्ण मैनाली एक इमानदार, निडर र निस्वार्थ व्यक्ति भएको प्रमाणित त गरेकै छ, उनी लोभ र डरबाट मुक्त भएको पनि देखाउँछ । सत्ताको शक्ति र हरकिसिमको लाभ प्राप्त गर्न चाहनेहरूले आफ्नो निजी गन्तव्य प्राप्त गर्न देश र जनताको हित ओझेलमा पर्ने गरी आफूलाई अग्ल्याएको यो समयमा एउटा इमानदार मानिसले कति दुःख, कष्ट, अपमान र तिरस्कार झेल्नुपर्दोरहेछ भन्ने पुस्तकका उल्लिखित पङ्क्तिहरूले सिद्ध गरेको छ । साढे चार दशकभन्दा बढी लामो राजनीतिक यात्रामा मैनाली त्यस्ता अनेक रोमहर्षक घटनाका साक्षी बनेका छन् जसले पाठकहरूलाई फनफनी घुमाउँछ । झापा विद्रोहको एक महत्वपूर्ण सूत्रधार रहेका राधाकृष्ण मैनालीले जनताको मन जित्दै जाँदा आफ्नै पार्टीका सहकर्मीहरूद्वारा रचित षड्यन्त्रको सिकार कसरी बन्नुप¥यो र पटकपटक आफ्नाहरूबाट नै उनले कुन हदसम्मको अपमान र तिरस्कार व्यहोर्नुप¥यो– पुस्तकमा महसुस गर्न सकिन्छ ।

२०४६ को जनआन्दोलन र त्यसको आसपासमा राधाकृष्ण मैनाली नाम लोकप्रियता र चर्चाको उत्कर्षमा थियो । त्यसबेला नेकपा माले नाममा रहेको एमालेका नेताहरू सायद आरकेको चर्चा र लोकप्रियताप्रति इष्र्याभाव राख्थे । जनताका दृष्टिमा एक शीर्षस्थ नायक बनिसकेका राधाकृष्ण मैनाली उनकै सहकर्मीहरूबाट कुन हदसम्म अपमानित भएका थिए भन्ने अनेक घटना–सन्दर्भ पुस्तकमा उल्लिखित छन् । ०४६ को आन्दोलन सफल भएर राजा वीरेन्द्रसँग काङ्गे्रसका नेताहरूसँगै सम्झौतामा सामेल हुन पुगेका मैनालीलाई चैत २७ को प्रथम जनसभामा पार्टीका नेताहरूबाट भएको व्यवहारलाई पुस्तकमा यसरी उद्वरण गरिएको छ, ‘…करिब दश हजारको जुलुसले काँधमाथि राखेर टुँडिखेल पु¥याएपछि मात्रै मैले जमिन टेक्न पाएँ । टुँडिखेलसम्म ल्याइपु¥याउँदा म हुरुक्कै भइसकेका थिएँ । तीन–चार ठाउँमा त पानी मागेर खानुपरेको थियो । भुइँ टेकेपछि सञ्चो महसुस गरेँ । त्यसबेला मबाहेक मालेका सबै नेता भूमिगत थिए । म टुँडिखेलको मञ्चमा बसिरहेको थिएँ । विजय जुलुस चारैतिरबाट टुँडिखेलतिर सोहोरिरहेको थियो । मानवसागर उर्लेको देखेर एक तामासले रोमाञ्चित बनिरहेको थिएँ । झल्यास्स प्रदीप नेपालसँग मेरा आँखा जुध्न पुगे । प्रदीप मञ्चबाट केही पर बसिरहेका थिए । उनी फिसिक्क हाँसे र केही लेखेजस्तो गरे । एकैछिनमा उनले लेखेको कागजको चिर्कटो मेरो हातमा आइपुग्यो । ‘तपाईंले स्टेज छोड्नुहोला’ चिर्कटोमा लेखिएको थियो । मलाई अचम्म लाग्यो । एकैछिनमा ईश्वर पोखरेलबाट त्यस्तै अर्को चिट आयो । छिनमै माधव नेपालले त्यही व्यहोराको चिर्कटो पठाए । तीनजना नेताले छिनछिनमै उही कुरा दोहो¥याएर त्रसित बनाए । … दुईपटक पर्चा तयार गर्दासमेत जुलुसमाझ छिर्ने हिम्मत गर्न नसकेपछि मलाई स्टेजबाट हटाउने कोसिस भएको रहेछ । लगातार चिर्कटोको वर्षा भएपछि मैले पार्टीमा द्वन्द्व चर्किएको अनुमान गरेँ । …राजासँग सहमति गरेर फर्कन नपाउँदै मालेका एकथरी नेताहरू मसँग रिसले चुर भइसकेका रहेछन् । … सहयोद्धाहरूको निरन्तर चिर्कटो आइरहे पनि म मञ्चबाट हटिनँ । किनकि त्यहाँबाट हट्नु भनेको जनताको उत्साहको अपमान हुने मेरो ठम्याइ थियो । पञ्चायतको पूर्ण विघटन मञ्चबाहिर रहेका मालेका साथीहरूभन्दा मैले बढी चाहिरहेको थिएँ । किनभने पञ्चायतबाट उनीहरूभन्दा म बढी प्रताडित थिएँ । १४ वर्ष १० महिना जेल बसेर, कठोर यातना पाएर निस्किएकोले पञ्चायतप्रति मेरो वितृष्णा उत्कर्षमा थियो । तर, सहकर्मीहरूले आरकेको एकसूत्रीय मिसन निरङ्कुश राजतन्त्रको अन्त्य नै हो भन्ने बुझिदिएनन् । कतिसम्म दबाब आयो भने– मञ्चबाट हट्नुभएन भने जनताले प्रतिकार गर्नेछन् भनेर चिट पठाउन थाले । सायद मलाई मञ्चबाट हटाउन मदन भण्डारीको पनि सहमति थियो ।… राष्ट्रिय राजनीतिक मोडमा नकारात्मक प्रभाव पार्न सक्ने विश्लेषणपछि व्यक्तिगत प्रतिष्ठाभन्दा पार्टीगत प्रतिष्ठा बचाउनु कर्तव्य ठानेँ र मञ्चबाट बाहिरिने निधो गरेँ । मञ्च छोड्ने सोच बनाएपछि साहनालाई खुसुक्क भनेँ– पार्टीमा ठूलै विवाद भएजस्तो छ । साथै सभालाई सम्बोधन गर्दा मैले राख्न चाहेको कुराहरूको टिपोट गरेर दिएँ । मञ्चबाट बाहिरिन केही न केही बहाना चाहिन्थ्यो । एकातिर मालेले सभा बहिष्कार ग¥यो भन्ने सन्देश प्रवाह हुनबाट रोक्नु थियो भने अर्कोतिर साथीहरूको कुण्ठा बिसाउने चौतारी पनि दिनु थियो । भर्खरै वीर अस्पतालबाट मञ्चमा आइपुगेका गणेशमानलाई खुसुक्क भनेँ, ‘घाँटी दुख्यो, डाक्टरलाई देखाएर आउँछु ।’ गणेशमान मानिरहेका थिएनन् । मञ्चबाट ओर्लनासाथ मलाई पुनः मानिसहरूले बोकेरै वीर अस्पताल पु¥याए ।’

यसरी राधाकृष्ण मैनालीले आफ्नै पार्टीभित्रबाट आफ्नाविरुद्ध भएको षड्यन्त्रको एउटा पाटो खोलिदिएका छन् । पार्टीका साथीहरूले अपमानित गर्दा पनि उनी कति जिम्मेवार र परिपक्व सोच राख्दथे भन्ने यस्ता कैयन दृष्टान्तबाट बुझ्न सकिन्छ ।

२०४६ को आन्दोलन निरङ्कुश राजतन्त्रको अन्त्य र पञ्चायती व्यवस्था विघटनका लागि थियो । तर, तात्कालिक मालेका नेता माधवकुमार नेपाल भारतको सहयोग लिएर त्यतिबेलै गणतन्त्र स्थापनामा जानुपर्छ भन्नेमा थिए भन्ने पनि मैनालीले पुस्तकमा खुलासा गरेका छन् । २०४६ को फागुन २०–२१ मा जनआन्दोलन निरन्तर चलिरहेका बेला पाटनको च्यासलमा बसेको नेकपा माले केन्द्रीय समितिको बैठकको एउटा झलक प्रस्तुत गर्दै मैनालीले लेखेका छन्– …महासचिव मदनले एजेण्डा पेस गरेपछि माधवले सुरुमै प्रस्ताव राखे, ‘यो आन्दोलनलाई उचाइमा पु¥याउन छिमेकी मित्रराष्ट्र भारतले यथेष्ट सहयोग गर्ने भनेको छ ।’ ‘के सहयोग ?’ मदनले सोधे । ‘हतियारको सहयोग’ माधवले सगर्व भने । ‘हतियार चलाउन तामिल लिनुप¥यो, हामीसँग अनुभवी कार्यकर्ता छन् र ? मदनले फेरि सोधे । ‘हतियार चलाउने मानिस पनि आउँछन्’ माधवले फरर्र उत्तर दिए । आन्दोलनलाई गणतन्त्रसम्म पु¥याउन सहयोग स्वीकार्नुपर्ने व्याख्यासमेत सुनाए माधवले । म र सीपीले बोल्न समय मागेका थियौँ, मदनले चुप लाग्न इसारा गरे र आफैँ बोले ‘होइन विवेक (माधवको भूमिगत कालको नाम) कामरेड यो कस्तो प्रस्ताव हो ? पार्टीको केन्द्रीय कमिटीको बैठकमा विदेशी सेना भिœयाउने प्रस्ताव ल्याउन मिल्छ ? भारतीय सेना त के चिनियाँ लालसेना आए पनि हामी स्वीकार्दैनौँ । इतिहासको विकास क्रममा राजतन्त्र स्थापित भएको हो, आफ्नै क्रियाकलापका कारण समयक्रममा नेपाली जनताको हातबाट यसको प्राण जान्छ । तपाईंको यस्तो प्रस्ताव कम्युनिस्ट पार्टीप्रतिको ठूलो अपमान हो । राष्ट्रको स्वाभिमान लुट्ने चाल हो । त्यसैले यसलाई फिर्ता लिइहाल्नोस् ।’ माधवको प्रस्ताव माइन्युट त हुन पाएन नै, बोली नै फिर्ता लिन लगाए मदनले । त्यसपछि चैत २ गते च्यासलमै मालेको केन्द्रीय कमिटीको अर्को बैठक बस्यो । अघिल्लो बैठकमा अस्वीकृत प्रस्ताव माधवले फेरि दोहो¥याए, ‘एकदम जिम्मेवार तहबाट भारतीय सहयोग आउने भएको छ, हतियार नेपालीहरूले नै प्रयोग गर्ने गरी ।’ ‘कसरी ?’ मदनले सोधे । ‘भारतीय सेनामा कार्यरत नेपाली जवानहरूलाई छुट्टीमा नेपाल पठाइन्छ र उनीहरूले ती हतियार चलाउनेछन् । अब जसरी पनि गणतन्त्र ल्याउनुपर्छ’ माधवले निर्धक्क भने । … यसपटक मदनले अघिल्लोपटकभन्दा बेस्सरी झाँटेपछि माधवले फेरि त्यस्तो प्रस्ताव ल्याएनन् । मदनकै कारण राष्ट्रघाती कदम रोकियो त्यसबेला ।’

आन्दोलन र पार्टीका यस्ता अनेकौँ अन्तर्य ‘नलेखिएको इतिहास’मा समेटिएको छ । राजाको सरकारमा शिक्षामन्त्री बनेपछि पनि आरकेले देशप्रतिको आफ्नो कर्तव्य नभुलेको प्रस्तुत पुस्तकबाट बुझ्न सकिन्छ । राजाको सरकारमा मन्त्री रहँदाका अनेक रोचक घटना–सन्दर्भमध्ये एउटा यस्तो छ–

राजाको खाजा

‘माघ २१ बेलुका ६ बजे । राजाको मन्त्रिपरिषद् बैठककक्ष (मैले अस्ति राजाको दर्शनभेट पाएको ठाउँभन्दा माथिल्लो तलाको बैठककक्ष) मा उनकै अध्यक्षतामा पहिलो बैठक बस्यो । दिनभरि मन्त्रालयमा व्यस्त भएकोले म आफ्नो कार्यालयबाट सोझै मन्त्रिपषिद् बैठकमा भाग लिन राजदरबार गएँ । त्यसअघि दलीय नेतृत्वको सरकारको मन्त्रिपरिषद् बैठक सिंहदरबार वा बालुवाटारमा बस्थ्यो । राजाको नेतृत्वको मन्त्रिपरिषद् बैठक नारायणहिटीमै बोलाइएको थियो ।

शिक्षामन्त्री बनेपछि के बुझेँ भने अन्य मन्त्रालयको तुलनामा शिक्षामन्त्रीले अध्यक्षता गर्ने समितिहरू बढी हुने रहेछन् । शिक्षामन्त्रीले झन्डै तीन दर्जन समितिको अध्यक्षता गर्नुपर्दाे रहेछ । पहिलो दिन नै काम र भेटघाटको चाप निकै थियो । खाजा खाने फुर्सदसम्म भएन । अर्कोतिर मन्त्रीको सचिवालयमा खाजा खाने बजेट मासिक पाँच सय रुपैयाँ मात्रै रहेछ । मन्त्रालयमातहतका कार्यालयबाट बजेट तानतुन पारेर खाजा खर्च जुटाइने प्रचलन रहेछ । सचिवालयमा सुरक्षाकर्मीसहित १७–१८ कर्मचारी थिए । सचिव चुमानसिंह बस्नेतसँग कुरा गरेँ । केही रकम बढाउन मिल्ने बताए । तर, खाजामा मासिक न्यूनतम ६०–७० हजार रुपैयाँ लाग्ने देखियो । मन्त्री भएर एक्लैले खुसुखुसु खाजा खान सुहाउने कुरा भएन । त्यत्तिका रकम सहजै उपलब्ध हुने सम्भावना पनि रहेन । यसर्थ खाजै नखाई मन्त्रिपरिषद्को बैठकमा भाग लिन निर्धारित समयमा पुगेँ । बैठक तोकिएकै समयमै सुरु भयो । बिहान घरमा खाना खाएपछि मुखमा पानीसिवाय केही परेको थिए । फुर्सद नमिलेर र बजेट न्यून भएकाले बैठकमा भोकै भाग लिँदै थिएँ ।

मन्त्रिपरिषद्को बैक सुरु हुनुअघि मन्त्रीहरू भेला हुने छुट्टै बैठककोठा थियो । नसजाइएको कोठा अस्तव्यस्त थियो । पुराना सोफाहरू यत्रतत्र छरिएका र धुलाम्य थिए । छुँदाखेरि फुसफुस धुलो उड्थ्यो । सायद, त्यो कोठा निकै लामो समयदेखि प्रयोगमा आएको थिएन । यस्ता ‘विशिष्ट’ सोफामा हामी मन्त्रिपरिषद्का सदस्यहरू बसिरहेका थियौँ । यसो उतापट्टिबाट बोलावट भयो । इसारा गरेतिर गयौँ । मन्त्रिपरिषद् बैठककोठा रहेछ । बैठककोठा अलि राम्रो होला भन्ने सोचेको थिएँ । उस्तै रहेछ । अलि पर ट्वाइलेट रहेछ, जसको दुर्गन्ध बैठकस्थलसम्म बेलाबेला ह्वास्स आउँथ्यो । मेरो भोके पेट झनै बटारिरहेको थियो ।

जोल्ठाएर बनाएको अण्डाकार टेबलुमा मन्त्रिपरिषद्का सदस्यहरूको नेम प्लेट राखिएको थियो । सोहीअनुसार मिलाइएका टिनका कुर्सीहरूमा लहरै बसियो । सुन्दर सिसा टेबलले घेरेर सबैभन्दा उच्चस्थानमा राखिएको सोफामा राजा, त्यसको ठीक अगाडि सरकारका मुख्यसचिव विमल कोइराला र दरबारका मुख्यसचिव पशुपतिभक्त महर्जन बसेका थिए । दायाँबायाँ मन्त्रीहरू आसीन थिए । अस्तव्यस्त र अस्वस्थ कोठामा राजाको पहिलो मन्त्रिपरिषद् बैठक भइरहेको थियो । अचम्म, कोही पनि अलिकति ठूलो स्वर निकालेर बोल्दैनथे । मन्त्रीहरू स्वयम् दरबारिया कर्मचारीझैँ साउती शैलीमा प्रस्तुत हुन्थे ।

बैठक राति ९ बजेसम्म चल्यो । बैठककक्षमा खाजा त परै जाओस्, पिउने पानीधरि थिएन । मलाई भने भोकले खपिनसक्नु भइरहेको थियो । घरि पेट समात्दै, घरि कुक्रिँदै बैठकमा बसेँ । नबसौँ भने राजाको मन्त्रिपरिषद् पहिलो बैठक, बसौँ भने भोक खप्नै गाह्रो । जसोतसो बसेँ । पेट्रोलियम पदार्थको असहज आपूर्ति सहज बनाउने विषयमा लामो छलफल भयो, मन्त्रीहरू सबै नयाँ भएकाले यसबारेमा कमैलाई थाहा थियो । मलाई केही बढी जानकारी थियो । धूर्त स्वभावका रमेशनाथ पाण्डे नयाँ सुझाव दिनेभन्दा चाटुकारी कुरा बढी गर्थे । राजाले जता हे¥यो त्यतै हेर्दै दुई हात जोडेर टाउको हल्लाउँथे ।

रमेशनाथको अशोभनीय चाला देख्दा मनमनै सोचेँ, ‘यदि म राजा भएको भए यस्तो चाकरी गर्नेहरूलाई थप्पड लगाउँथेँ ।’ रमेशनाथ राजाको चाकरी निकै तल्लो तहमा झरेर गर्थे । आफू भने भोकप्यासले मुख सुकेर सिठ्ठो भएको थिएँ । दयनीय र कष्टप्रद अवस्थामा बल्लतल्ल बैठक सकियो । मन्त्रिपरिषद्को बैठक पिउने पानीबिनै बसेको मेरो जीवनकालमा पहिलो र अन्तिम घटना त्यही बन्यो । त्यसअघिका मन्त्रिपरिषद् बैठकमा खाजाको व्यवस्था हुन्थ्यो । सिंहदरबार र बालुवाटारमा हुने मन्त्रिपरिषद् बैठकमा हरियो सिमीको तरकारी मेरो मनपर्ने परिकार थियो । राजदरबारको पहिलो तीनघन्टे मन्त्रिपरिषद् बैठकमा मैले सिंहदबारको सिमीको तरकारी सम्झिएर बिताएँ ।’

‘…म मधुमेहको रोगी भएकाले खान्कीमा विशेष ध्यान दिनुपथ्र्याे । मन्त्रिपरिषद्को बैठकमा पानीसमेत नहुनु चरम दरिद्रताको उपज थियो । सानै कुरा सही, आफू बिरामी भएकाले यो कुरा राजासँग राख्नु उचित ठानेँ । मैले राजासँग मुख खोलेँ, ‘सरकार मन्त्रालयमा सेवाग्राहीले घेर्ने हुनाले म अरूजस्तो दिउँसै घर गएर खाजा खाएर आउन सक्दिनँ । फेरि मन्त्रालयको सचिवालयमा खाजा खाने रकम थोरै छ । आफू डाइबेटिज रोगी परेँ । बैठकमा खाजा, पानीको समेत व्यवस्था नहुने हो भने कसरी बैठकमा बस्ने सरकार ?’ मेरो कुरा सुनेर टाउको हल्लाउँदै राजाले भने, ‘मन्त्री, त्यस्तो हो भने केही पाकेट बिस्कुट किन्ने र गोजीमा राख्ने । बैठककक्षको यसो छेउमा सानो पर्दा लगाइएको छ । त्यहाँ पानी राखिएको हुन्छ । त्यहीँ छिरेर स्वाट्ट पानी र बिस्कुट खाने ।’

राजाको जवाफले म तीनछक परेँ । खासमा राजासँग मैले खाजा मागेको थिइनँ । मन्त्रिपरिषद् बैठकको गरिमा र मर्यादा कुल्चिएको अवस्थाप्रति घुमाउरो ढङ्गले असहमति दर्ज गर्न खोजेको थिएँ । तर, यो तहको जवाफ आउला भन्ने सायदै कसैले कल्पना गर्ला । राजाको चिन्तनको तह र स्तर प्रस्ट भयो । आज सम्झँदा लाग्छ, त्यो सायद, मन्त्रीहरूको अपमानभन्दा पनि राजदरबारकै हैसियतको अपमान हो । त्यसपछि बैठकमा टेबलमा पानीको बोटल भने राख्न थालियो । राजाले भनेजस्तै अर्को बैठकदेखि एक छेउमा घेरेर बारेको ठाउँमा टेबल र कुर्सी राखेर दुई–तीन बोटल पानी पनि राखिए छ । यस्तो देखेभोगेपछि राजा ज्ञानेन्द्रको व्यवहारप्रति सरम लाग्यो । भोकले मरे पनि मरियोस् । तर, त्यहाँ गएर बिस्कुट नखानेमा आफूलाई प्रतिबद्ध बनाएँ ।

आफ्नो पद र हैसियत कायम गर्न नजान्ने ज्ञानेन्द्रजस्ता राजा सायदै यो संसारमा होलान् । राजा ज्ञानेन्द्र कतिसम्म लोभी रहेछन् भन्ने उनको व्यवहार भोगेपछि उनीप्रतिको भरोसामा पनि पहिरो गयो । तर, गर्ने के ? नहुनु गल्ती भइसकेको थियो । राजा ज्ञानेन्द्रले गम्भीर र सरमलाग्दो धक्का दिइसकेका थिए । म उनको कुरा पत्याएर खुरुरु पछि लागिसकेको थिएँ । घरमा आएका पाहुनालाई मिठोमसिनो जे छ त्यही खुवाउनु नेपाली समाजको सांस्कृतिक विशेषता हो । तर, राजाले मन्त्रिपरिषद्मा सामान्य संस्कार पालना गर्न नसकेको देखेर बल्ड्याङ खाँदै आफैँ लज्जित भएँ ।

‘नलेखिएको इतिहास’ नाममा राधाकृष्ण मैनालीले इतिहासको एउटा पाटो लेखिदिएका छन् । नेपाल, नेपाली राजनीति र राजनीतिकर्मीहरूका बारेमा जान्न चाहने हरेकका निमित ‘त्यो’ पुस्तक पठनीय छ । इमानदारीका साथ तथ्यहरू प्रस्तुत गरेर राधाकृष्ण मैनालीले नेपालको इतिहास र इतिहासका अध्येताहरूलाई अमर गुन लगाएका छन् ।