‘फरार’ ढुङ्गेलमाथि बाह्य समुदायको दृष्टि

‘फरार’ ढुङ्गेलमाथि बाह्य समुदायको दृष्टि


Ramhari-Balkrishna

सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रबाट संविधानसभा सदस्यसमेत रहिसकेका ओखलढुङ्गाका माओवादी नेता बालकृष्ण ढुङ्गेल व्यक्तिहत्याको मुद्दामा अदालतबाट अपराधी प्रमाणित भएको निकै भइसक्यो । अदालती आदेशअनुसार उनी यतिबेला जेल सजाय भोग्दै गरेको अवस्थामा हुनुपर्ने हुन्, तर ढुङ्गेल जेलमा छैनन् । प्रहरीले फेला पार्न नसकिएको भन्दै उनलाई ‘फरार’ सूचीमा राखे पनि ढुङ्गेल भने भूमिगत पनि छैनन् । विभिन्न कार्यक्रम तथा स्थानविशेषमा उनी बेलाबेला खुलेआम नै भेटिने गर्छन् ।

नेपाल प्रहरीले पक्राउ गर्न नसकिएको जवाफ सर्वोच्च अदालतलाई पठाएयता नै कैयन स्थानमा प्रहरीकै आँखासामु उनी भेटिएका समाचार नआएका होइनन् । गत फागुन ८ गते पनि ढुङ्गेल गृहजिल्ला ओखलढुङ्गाको गाम्नाङटार गाविसस्थित खरबारी भन्ने स्थानमा एक स्थानीयले लगाएको सप्ताह पुराणमा निम्तालु श्रोताका रूपमा उपस्थित थिए । गाउँभरिका मानिस भेला भएको सो पुराणमा ढुङ्गेलका साथ चर्चित काङ्ग्रेसी सांसद रामहरि खतिवडासमेत देखिएका थिए । ढुङ्गेल फरार रहेकाले भेटाउन नसकिएको भन्दै अदालतलाई जवाफ पठाउने प्रहरीको स्थानीय कार्यालय उक्त सप्ताहस्थलभन्दा केही सय मिटर मात्र टाढा थियो । तर, त्यहाँ पनि प्रहरीले ‘फरार’ ढुङ्गेललाई देखेन । यसरी व्यक्तिगत तथा पार्टीगत प्रभावको आडमा खुलेआम कानुनलाई चुनौती दिँदै आएका ढुङ्गेल झन् आफ्ना पार्टी अध्यक्ष नै प्रधानमन्त्री भएको बेला त डग्ने सवाल नै आएन ।

तर, यसरी कानुनी शासनलाई खुल््ला चुनौती दिँदै आएका बालकृण ढुङ्गेलमाथि अन्तर्राष्ट्रिय समुदायको दृष्टि परिरहेको बुझिएको छ । संयुक्त राज्य अमेरिकाले हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय पाई फरार रहेका माओवादी नेता ढुङ्गेललाई पक्राउ गर्न आग्रह गरेबाट पनि यसको पुष्टि हुन आउँछ । नेपालको दशवर्षे द्वन्द्वसँग सम्बन्धित घटनामा सर्वोच्च अदालतले गरेका फैसला तथा सरकारी तहबाट कार्यान्वयन नभएको बताउँदै गत शनिबार अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको विश्वव्यापी वार्षिक मानवअधिकार अवस्थासम्बन्धी प्रतिवेदनको ‘नेपाल खण्ड’मा प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका, तर खुलेआम हिँडिरहेका ढुङ्गेललाई पक्राउ नगरिएको उल्लेख गरिएको छ । बालकृष्ण ढुङ्गेललाई पक्राउ गर्न नेपाल सरकारलाई आह्वान गर्दै उक्त अमेरिकी प्रतिवेदनले भनेको छ, ‘द्वन्द्वकालमा मानवअधिकार हननमा संलग्न भनी सर्वोच्च अदालतबाट दोषी ठहर भई जन्मकैद पाएका माओवादी पूर्वसभासद् बालकृष्ण ढुङ्गेल सन् २०१६ मा पनि खुलेआम हिँडिरहेका छन् । तर, उनलाई अझै पक्राउ गरिएको छैन, यो नाजुक अवस्था हो ।’

ढुङ्गेल ओखलढुङ्गाका व्यवसायी उज्जनकुमार श्रेष्ठको हत्यामा दोषी ठहर भई सर्वाेच्च अदालतले जन्मकैद सजाय सुनाएका व्यक्ति हुन् । ५० पृष्ठ लामो उक्त प्रतिवेदनमार्फत अमेरिकाले नेपालका अदालतहरू राजनीतिक दबाब, घुसखोरी तथा करकापबाट प्रताडित भइरहेको समेत उल्लेख गर्दै चिन्ता व्यक्त गरेको छ ।