बदलिएको बेलायत

बदलिएको बेलायत


■ बबिता बस्नेत

कुनै बेला थियो, बेलायत सरकार सुरक्षाको अनुभूतिका लागि मानिसहरू खोज्दै हाम्रो गाउँघर पुग्थ्यो । अहिले पनि बेलायतकी महारानीका सुरक्षागार्ड हाम्रै दाजुभाइहरू छन् । आत्मसम्मानपूर्ण इतिहाससँगै नेपाली युवापुस्ता बेलायतमा आफ्नो स्थान आफैँ बनाइरहेका छन् ।

बेलायत भन्नासाथ नदेखे पनि तीनवटा कुरा झट्ट आँखाअगाडि आउँथ्यो– श्री ३ जंगबहादुर राणाको भ्रमण, ब्रिटिस गोरखा र बीबीसी । बीबीसी नेपाली सेवा झ्यार–झ्यार पार्दै भए पनि रेडियोमा सानैदेखि सुनेकाले, ब्रिटिस गोरखा गाउँभरिका दाजुभाइ, काका, बडाबा ब्रिटिस आर्मीमा भएकाले र जंगबहादुर राणाको इतिहास पढेकाले । श्री ३ जंगबहादुरको भ्रमण हामी नेपालीका लागि बडो गौरवपूर्ण भ्रमण पनि हो । राज्यस्तरीय या राजकीय भ्रमण त हिजोआज पनि हुन्छन्, तर सन् १८५० (वि.सं. १९०६) मा नेपालका राजाको प्रतिनिधिका रूपमा प्रधानमन्त्री जंगबहादुर राणाको भ्रमण मान, सम्मान र आत्मसम्मानले भरिपूर्ण थियो । नेपालले वैदेशिक कूटनीतिको सुरुवात पनि जंगबहादुरको पालादेखि नै गरेको हो । यता ब्रिटिस गोरखाको इतिहास दुई सय वर्ष पुरानो छ । विश्वासिलो सुरक्षा कवजका रूपमा हाम्रा पुर्खाले आफ्नो जवानी बिताएको ठाउँ हो बेलायत । हङकङ, ब्रुनाई, मलाया जहाँ समय बिताए पनि बेलायतका नाममा नेपालीको धेरै रगत–पसिना बगेको छ । यता बीबीसी नेपाली सेवाको इतिहास पनि पुरानै छ । सन् १९६९ देखि लन्डन सहरबाट विश्वभरि सुनिने गरी नेपाली भाषामा कार्यक्रम प्रसारण हुन थालेको हो । सन् १९३२ बाट सुरु भएको ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)ले अहिले पनि नेपालीसहित विश्वका २९ वटा भाषामा समाचार र अन्य कार्यक्रम प्रसारण गर्छ ।

जंगबहादुरले पाएको सलामी, महारानी भिक्टोरियासँगको भेटमा भएको आत्मसम्मानजनक कुराकानी, बकिङ्घम प्यालेसको फ्रुट्स पार्टी… गत हप्ता आफू पहिलोपल्ट बेलायत आउँदै गर्दा मनमा अनेक कुरा खेलिरहेका थिए । अहिलेजस्तो हवाईजहाजबाट सीधै आउन पाइने भए विष्णुकुमार पाँडेले जंगबहादुरको यात्रामा त्यति धेरै उपद्रो गर्न के पाउँथे होला र ? बकिङ्घम त जानु नै थियो, लन्डनब्रिजको फोटो साथीहरूले राखेको देख्दा त्यहाँ पनि पुग्नु थियो, हाइडपार्कमा उभिएर विल्सन चर्चिलले भाषण गरेको इमेज आँखाअगाडि ल्याउनु नै थियो । यता आफ्नो अफिसियल काम त छँदै छ, कसरी पो भ्याउने हो ? यस्तै सोच्दै इमिग्रेसन पार गर्दै गर्दा थाहा भयो– लन्डनब्रिजमा राति आतङ्कवादी हमला भएको रहेछ, ८ जनाको मृत्यु ४८ जना घाइते । यात्रुहरू एक–अर्कामा कुरा गरिरहेका थिए, लन्डनब्रिज र वरिपरि त अब जानैभएन । अनि बकिङ्घम प्यालेस ? चिन्दै नचिनेका मानिसहरू कुरा गरिरहेका बेला अनायसै प्रश्न गरेँ, ‘नो आइडिया’ उनले सहज रूपमा जवाफ दिए । इतिहासमा पढेको शान्त बेलायत आफू आइपुग्दासम्म बदलिएर हुलमुलमा हिँड्न डराउनुपर्ने भएको थियो । समयसँगै मानिसहरू बदलिए, सहरलाई हेर्ने दृष्टिकोण पनि बदलियो ।

लन्डन सहरभन्दा दुई घन्टा पर कार्यक्रम थियो । ह्युमानेटेरियन समिटको एक वर्षपछि त्यतिबेलै प्रतिबद्धता जनाइएको ‘ग्रान्ड बार्गेन एन्ड लोकलाइजेसन’का लागि लैङ्गिक उत्तरदायी विपद् व्यवस्थापन समूहको प्रतिनिधित्व गर्दै त्यहाँ पुग्दा आफूले कहिल्यै नसोचेको ठाउँमा आएँजस्तो लाग्यो, कार्यक्रम र त्यहाँको वातावरण दुवै हिसाबले । आँखाले देखुन्जेलको चौर र वरिपरि हरियाली भएको एकान्त ठाउँ र विपद्का बेला स्थानीय तहमा कति र कसरी सहयोग पु¥याउन सकिन्छ भन्ने कार्यक्रम । अचम्म त त्यतिबेला लाग्यो जतिबेला प्रायः दाता तथा अन्य सहभागीले विपद् पर्दा सफल उदाहरणका रूपमा धेरैपल्ट नेपालको नाम लिए । हामी पुनर्निर्माणको काम ढिलो भएकोमा दुःखी छौँ, यस्तो पनि काहीँ हुन्छ ? भनेर आक्रोशित भइरहेका बेला नेपाललाई विपद् व्यवस्थापनमा राम्रो र सफल भन्दा के रहेछ त कारण भनेर उत्सुकता जाग्नु स्वाभाविक नै थियो । भूकम्पपछि तत्काल नेपाल आएर काम गर्नेहरूमध्येका फ्रेडरिक जोनले भने– हामी स्वास्थ्य क्षेत्रमा काम गर्छौँ, आपत्कालीन अवस्थामा म धेरै देश पुगेको छु । तर, नेपालमा जस्तो सरकारी र गैरसरकारी क्षेत्रको संयुक्त प्रयास कहीँ देखेको छैन । त्यतिबेला अपनाइएको मानवीय सहयोगका लागि एकद्वार प्रणालीको उनले खुलेर प्रशंसा गरे । उनी बैंककलाई कार्यस्थल बनाएर काम गर्छन् । दुःखको बेला हाम्रो देशमा मानिसले एक–अर्कालाई गरेको सहयोगबाट अन्तर्राष्ट्रिय जगत् छक्कै परेको रहेछ । धेरैले भने, ‘मानिसहरूबीच लुछाचुँडी, लडाइँ झगडा देखिएन, सबैले एक–अर्कालाई आदरपूर्वक व्यवहार गरे, चोरी, लुटपाट भएन, खान नपाएर मान्छेको विजोग भएन । त्यति ठूलो विपद् थप क्षतिबिना शालीनतापूर्वक पार लाग्नु सानो कुरा होइन ।’ मैले चाँदनी जोशीको भनाइ सम्झिएँ, उहाँ भन्ने गर्नुहुन्छ, ‘मानिसहरू प्रायः विपद्पछि महिला पीडित मात्रै हुन्छन् भन्ने ठान्छन्, तर यो पूरै सही होइन । जीवनमा नसोचेको अवस्थाले मानिसलाई साहसी बनाइदिन्छ, भूकम्पपछि अहिले हाम्रा गाउँमा धेरै महिला नेतृत्व गर्न सक्ने भएका छन् ।’

योजनाअनुरूप कार्यक्रमपछि लन्डन घुमघाम गर्दा साना–ठूला सबै सहरका बाटोमा धेरै–थोरै नेपाली आवाज सुनियो । संयोग नै भनौँ, नेपालीको घनाबस्ती भएको अल्डरसटमा मनाइएको यो वर्षको भिक्टोरिया डे हेर्ने अवसर मिल्यो । घटना र विचारका युरोप प्रतिनिधि प्रकाश केसी र उहाँकी पत्नी चेली केसीका कारण त्यो अवसर जुट्यो । पोखराकी चेली बेलायतमा बसे पनि मन उतै छ । भनिन्– मलाई त भाँडाकुँडा पनि तामाको मन पर्छ, हङकङ र बेलायतमा लामो समय बिताए पनि बाल्यकालको रहनसहनबाट टाढा हुन सकिएन । महारानी भिक्टोरियाका पालाका सामानको प्रदर्शन, उनले गर्ने ड्रेसअपमा महिलाको उपस्थिति, परेड, विभिन्न झाँकी भिक्टोरिया डे रोमाञ्चकारी तवरले मनाइँदोरहेछ । दौरा–सुरुवाल, साडी–चोलो या आ–आफ्नो जातीय झलक दिने पोसाकमा ठाँटिएर भएको नेपाली समुदायको उपस्थिति मनै रमाइलो हुने प्रकारको थियो । नरसिंगादेखि मादलसम्म, नौगेडीदेखि दौरा–सुरुवालसम्मले नेपालको प्रतिनिधित्व गरिरहेको थियो । लाग्यो, आखिर मानिस जहाँ पुगे पनि आफ्नो संस्कृति पनि सँगै नै जाने रहेछ । यूके बसेर के गर्नु मन नेपाली, माया नेपालकै छ । मखमलीको चौबन्दी चोलो लगाएका आमाहरू देख्दा आफ्नै गाउँ सालम्बु पुगेजस्तो लाग्यो । भीम बानियाँ र उहाँकी पत्नी रमा बानियाँको न्यायो स्वागतका बीच धेरैलाई भेट्ने अवसर मिल्यो । दिदी मीना र भिनाजु प्रकाश राउतलाई अकस्मातै भेट्दा संसार साँच्चिकै सानो छ जस्तो लाग्यो ।

अल्डरसटलाई नेपाली सहर भने पनि हुनेरहेछ । नेपाली गहना नौगेडी, तिलहरीका पसल, चौबन्दी चोलो र ब्लाउज, पेटिकोट, दौरा–सुरुवाल सिलाउने टेलर्स, खुकुरीदेखि गाग्री, खड्कुलासम्मका पसलहरू, ‘होइन के छ हौ खबर’ भन्दै हिँड्ने मानिसहरू । मःमदेखि कोदो र फापरको ढिँडोसम्म पाइने रेस्टुरेन्टहरू, माटोबाहेक नेपाल मिस गर्ने अरू ठाउँ नै छैन । नेपालीहरू त्यहाँ बस्न थालेपछि सुरुसुरुमा आफ्नो जीवनशैलीमा खलल पुगेको भन्दै स्थानीय ब्रिटिसले ‘कम्प्लेन’ पनि गरेछन् । ब्रिटिसहरू घरबाट कति बेला निस्किए, कतिबेला पुगे केही थाहा नहुने । घाम ताप्दा पनि घरको पछाडिको खाली भागमा बसेर ताप्ने, घरअगाडि कोही नदेखिने, बोल्दा पनि बिस्तारै बोल्ने । यता हाम्रो बेग्लै शैली । ठूलो स्वरले बोल्नुपर्ने, आँगनमा घाम ताप्नुपर्ने, पार्कतिर मादल बजाएर नाच्नुपर्ने, एकबारको जुनीमा मरी लानु के छ भन्दै दिल खोलेर हाँस्नुपर्ने, पुराना स्थानीयहरूलाई विरक्त लाग्ने नै भयो । समुदायमा छाएको तिक्तताको असर विद्यालयमा बालबालिकासम्म पुग्दा केही वर्षअघि नेपाली विद्यार्थी र उनीहरूका बालबालिकाबीच झडपहरू पनि भएछन् । अहिले त्यसप्रकारको द्वन्द्वलाई समुदायमै व्यवस्थापन गर्न युवा समूहहरू गठन भएका छन् । धेरै हदसम्म वातावरण सौहार्दपूर्ण बन्दै गएको छ । ‘टोलरेन्स’ र ‘एसेप्टेन्स’ दुवैतिर बढिरहेको छ । यसपटकको ‘भिक्टोरिया डे’मा नेपालीले आफ्नो अस्तित्व जमेरै देखाए । निश्चित तथ्याङ्क नभए पनि ब्रिटिस आर्मी, उनीहरूका परिवार र अन्य गरेर बेलायतमा अहिले करिब एक लाख नेपाली छन् भन्ने अनुमान गरिएको छ ।

लन्डनको आकाश खुला लाग्यो । ठूला सहरमा आकाश छुने घर नहुनु आफैँमा सुखद पक्ष हो । ‘भीडभाडमा नजानु है’ भन्ने आफन्तका सहल्लाहबीच पनि ठाउँहरू हेर्न छुटाइएन । थोरै समयका बीच धेरै ठाउँमा पुग्नुपर्ने, धेरै कुरा हेर्नुपर्ने । साथीहरू ठाउँठाउँमा हुँदा यात्रा सुखद बन्ने गर्छ । पत्रकार साथी भगीरथ योगीले बीबीसीमा गर्नुभएको स्वागत र बीबीसी भ्रमण अविष्मरणीय रह्यो । भगीरथजी जहाँ पुगे पनि उस्तै, डाउन टु अर्थ । साथी दुबसु क्षेत्री अहिले बेलायतमा राजदूत छन् । दुई दशकअघि कर्मचारी भएर बेलायतको दूतावासमा आउँदा आफ्नो समूहका साथीहरूको नाम लिँदै तिमीहरू मिलाएर लन्डन घुम्न आओ न भनेका थिए । जवाफमा तिमी राजदूत होऊ न अनि त्यतिबेला हामी आउँला नि भनेकी थिएँ । संयोग, म लन्डन आउँदा उनी बेलायका लागि नेपाली राजदूत । समयको व्यवस्थापनमा तलमाथि हुँदा दुबसु र उनकी पत्नीको निम्ता मान्न नसक्नुलाई भ्रमणको नरमाइलो पक्ष भन्न मिल्छ । मित्रताको भाषामा धम्की दिँदै भने, ‘नभेटी गयौ भने बोल्दिनँ ।’ आखिर जहाँ भए पनि साथीहरू भनेका सधँै साथी नै हुन् । आफ्नो व्यवसायका अलावा विभिन्न सामाजिक काममा समेत संलग्न शिवजी श्रेष्ठ र दाइ धर्मराज बस्नेतलाई भेट्न नपाउँदा ‘सरि’ शब्द नभएको भए के गरिन्थ्यो होला जस्तो लाग्यो । छोरीहरू सगुन र श्रद्धा मल्लको खातिरदारी अलि कम भएको भए साथीहरू बढी भेटिन्थ्यो कि जस्तो पनि लाग्छ । आत्मसम्मानपूर्ण इतिहाससँगै नेपाली युवापुस्ता बेलायतमा आफ्नो स्थान आफैँ बनाइरहेका छन् । कुनै बेला थियो, बेलायत सरकार सुरक्षाको अनुभूतिका लागि मानिसहरू खोज्दै हाम्रो गाउँघर पुग्थ्यो । अहिले पनि बेलायतकी महारानीका सुरक्षागार्ड हाम्रै दाजुभाइहरू छन् । बदलिँदो समयक्रममा हाम्रा युवाहरू सुरक्षित व्यावसायिक जीवन खोज्दै बेलायतलगायतका मुलुकमा पुगेका छन् ।