पत्रकारिता : चुनौतीका ती दिन

पत्रकारिता : चुनौतीका ती दिन


– बबिता बस्नेत

घटना र विचार साप्ताहिकले यसै हप्ता आफ्नो २३औँ वार्षिकोत्सव मनाइरहेको छ । यसो पछाडि फर्किएर हेर्दा यस साप्ताहिकसँगको आबद्धता १७ वर्ष पूरा भएर १८ लागेछ । पत्रकारिता यात्रा भने २६ वर्षअघिबाट सुरु भएको हो । १८ वर्ष लागेपछि युवाहरू बालिग हुन्छन्, कर्मचारी भए पेन्सन हुने बेला भयो भन्ने हुन्छ, पत्रकारितामा के हुन्छ ? प्रश्नले मन–मस्तिष्कमा ठाउँ लिइरहँदा ‘यही नै हुन्छ’ भन्ने स्पष्ट जवाफ भने पाउन सकिएन । सुरुवाती दिनहरू स्वाभाविकै रूपले सङ्घर्षपूर्ण थिए । हिँड्दै जाँदा ठेस त कति ठाउँ लाग्यो–लाग्यो । ठक्करले मानिसलाई दह्रो बनाउँछ भन्थे बूढापाकाहरू, अहिले सम्झिदा हो जस्तो लाग्छ । व्यावसायिक मात्र नभएर व्यक्तिगत जीवनमा पनि लागू हुने कुरा हो यो । गाउँमा एकजना बडिआमा हुनुहुन्थ्यो, पल्लाघरकी बडिआमा भन्थ्यौँ हामी । खान–लाउनकै दुःख थियो उहाँलाई । चैत महिनाको एक दिन उसिनेका गिठ्ठा मेरो हातमा राखिदिँदै हँसिलो अनुहारले भन्नुभो, दुःखको खाना पनि चाखिरहनुपर्छ भोलि के पर्छ–पर्छ । ‘तपाईंहरूलाई यति धेरै दुःख छ, तैपनि कसरी हाँस्न सक्नुहुन्छ बडिआमा ?’ मैले सोधेँ । उहाँले भन्नुभो, ‘दुःख सहन असिनाले चुट्नुपर्छ बाबु ।’ असिनाले चुटेपछि दुःख सहन सकिन्छ भन्ने उहाँको भनाई बुझ्न धेरै वर्ष लाग्यो । पत्रकारिता क्षेत्रमा लागेपछि असिनाले होइन चुनौतीहरूले यति चुटे कि चुट्दाचुट्दा थेत्तरै भइयो कि जस्तो पनि लाग्छ कहिलेकाहीँ त । सुरुवाती दिनहरू त धेरै हिसाबले चुनौतीपूर्ण हुने नै भए, बीचका र पछिल्ला दिनहरू पनि चुनौतीरहित हुन सकेनन्, सकेका छैनन् ।

यसबीचमा यो मुलुकमा यति धेरै उतारचढाव आए कि ती सबै घटना पत्रकारिता गर्नेहरूका लागि धेरै–थोरै चुनौतीपूर्ण रहे । राजदरबार हत्याकाण्ड, राजाको शासन, माओवादी युद्ध, मधेस आन्दोलन, संविधानसभादेखि स्थानीय निर्वाचनसम्मको यात्रामा पत्रकारहरूले फरक प्रकारका सास्ती पाएका छन् । अवसरहरू पनि छन्, अप्ठ्यारो अवस्थामा नेतृत्वको जन्म हुन्छ भनिए झैँ पत्रकारका लागि पनि असहज समयमा धेरै प्रकारका अनुभवहरू लिने मौका मिल्छ । त्यस्ता अवसर घटना विचारमा काम गर्न थालेपछि मैले पनि पाएँ । घटना धेरै छन्, तर पनि केही घटना भने अलि बढी नै अविष्मरणीय छन् । ०६० मङ्सिर २६ गतेको घटना सम्झिन्छु, तात्कालीन श्री ५ ज्ञानेन्द्रले सैनिक सचिव विवेक शाहलाई बर्खास्त गर्नुभएपछि ‘किन निकालिए विबवक शाह ?’ भन्ने समाचार लेखेकी थिएँ । मुख्य समाचारका रूपमा प्रकाशित उक्त सामग्रीलाई लिएर धम्कीका फोनहरू यति आए कि समाचारको विषयलाई लिएर त्यति फोन मैले आजसम्म पाएकी छैन ।

फरक–फरक स्वरका अज्ञात व्यक्तिहरूको धम्की एकातिर थियो अर्कोतिर नेपाली सेनाले बोलाएर सोधपुछका नाममा समाचार स्रोत खोल्न दबाब दियो । ‘बाँच्ने मन छैन कि क्या हो ? त्यो समाचार किन लेखेको ? जे पायो त्यही लेख्ने ?’ जस्ता कुरा मात्रै गरिएकाले बेनामी कल गर्नेहरूको चासो के थियो खासै थाहा भएन । तर, सेनाको सरोकार भने स्पष्ट थियो । समाचारमा उल्लेख भएको ‘शाही नेपाली सेनाबाट माओवादीले एम–१६ हतियार लुटेर लगेको’ भन्ने कुरालाई सेनाले ‘सबै एम–१६ हामीसँग छ, तपार्इंले माओवादीले लुटेर लगे भनेर किन र कसरी लेख्नुभो ?’ भन्ने प्रश्न पटकपटक गरेको थियो । अति भएपछि मलाई कारबाही गर्ने तपाईंहरूको प्रक्रिया के हो अघि बढाउनुस्, यो प्रश्न फेरि नगर्नुस् भनेकी थिएँ । ‘तपाईंलाई यो समाचार कसले दियो ?’ यो प्रश्न यति पटक गरियो कि धेरै पछिसम्म प्रश्न सोध्ने कर्णेल साबको कर्कश ध्वनिले मेरो कानमा ठक्कर दिइरहन्थ्यो । कुनै पनि बेला हाजिर हुनुपर्ने सर्तमा छोडिए पनि सेनाको कार्यालयबाट मलाई फोन गर्न छोडिएन । त्यसको करिब दुई महिनापछि जनवरी २, २००४ को नेपाली टाइम्समा ‘एम– १६ इन माओइस्ट ह्यान्डस्’ शीर्षकमा माओवादीको हातमा हतियारको फोटोसहितको समाचार प्रकाशित भएपछि फोन आउन छोड्यो । विवेक शाहजीले पछि यो समाचारलाई लिएर मुद्दा हाल्नुभो । काठमाडौं जिल्ला अदालतको २०६१ साल भदौ ४ गतेको फैसला हाम्रो पक्षमा आयो, हामीले मुद्दा जित्यौँ ।

हिजो राजाका पालामा उहाँका मानिसहरूले गरेका कामलाई समर्थन नगरेका कारणले स्पष्टीकरण सोधिन्थ्यो । अहिले पूर्वराजालाई किन ‘राजा’ लेख्यौ ? भनेर स्पष्टीकरण सोधिन्छ । हिजोआज कतिपय मानिसले हामीलाई राजा र राजसंस्थाका समर्थक पनि भन्छन् । तर, हामी स्पष्ट छौँ, हिजो शासन हातमा लिनु राजाको गल्ती थियो, उक्त कदमको हामीले विरोध ग¥यौँ र गलत नै भनेर लेख्यौँ । राजसंस्था फाल्नु मुलुकका लागि अहित थियो भन्ने कुरामा अब शङ्का मान्नुपर्ने कुनै ठाउँ रहेन । चुनौतीले जति चुटे पनि सत्य बोल्ने र लेख्ने काम सधैँ जारी रहनेछ ।

२०६१ साल माघ १९ गते राजाले शासन सत्ता आफ्नो हातमा लिएपछिका दिनहरू पनि चुनौतीले भरिएका थिए । संयोग नै भनौँ, उक्त दिन मंगलबार परेको थियो । भोलिपल्ट निस्कने अखबारका लागि काम गर्नुपर्ने दिन । अगाडि धेरै नदेखिए पनि यो पत्रिका आजसम्म धान्ने व्यक्ति भने जयप्रकाश त्रिपाठीजी हो, उहाँ यो अखबारको मेरुदण्ड नै हो । म त धेरैजसो अखबारको कार्यालयभन्दा बाहिरै हुन्छु । त्यस दिन पनि मार्टिन चौतारीले ‘महिला आन्दोलन, अनुसन्धान र पैरवीको संस्थागत प्रयास’ विषयक कार्यक्रमका लागि बोलाएको थियो । के पो बोल्ने होला… भनेर मानसिक तयारी गर्दै गर्दा एक्कासि टेलिफोन लाइन, न्युज च्यानल सबै काटिएको थाहा भयो । बाहिर निस्कँदा सडक सुनसान थियो । के होला भन्ने त्रासले मानिसहरू बाहिर निस्किएका थिएनन् । बबरमहलस्थित अखबारको कार्यालयमा जम्मा भयौँ, अब के लेख्ने हो ? कहीँ–कतै सम्पर्क गर्ने अवस्था छैन । दिउँसो कार्यालयमा बुट बजाउँदै दुईजना सेनाका प्रतिनिधि आए । पोसाक लगाएका सैनिकलाई औपचारिक रूपमा त्यसरी कार्यालयमा देख्दा मन अलि झसङ्ग पनि भयो, तर आफूलाई खासै फरक नपरेको आभाष उनीहरूलाई दिलायौँ जस्तो लाग्छ । दिनभरि हामी लेखिरह्यौँ, उनीहरू हेरिरहे । लेखिसकेपछि सामग्री मागेर पढ्थे । देवप्रकाशजीले मुख्य समाचार लेख्नुभो, शीर्षक थियो– एक्काइसौँ शताब्दीको प्रजातन्त्र प्रारम्भ । शीर्षक हेरेर मेजर साबको मुहारमा खुसी देखियो, समाचारको ‘कन्टेन्ट’मा खासै ध्यान दिएनन् । तुलसी गिरीको बारेमा लेखिएको समाचार भने उनीहरूले रोके ।

त्यसको अर्को हप्ता मंगलबारबाटै टेलिफोन सुचारु भयो, इन्टरनेट आयो । सूचना लिन अलि सहज भयो । राजाले शासन लिएपछि दोस्रो हप्ताको मुख्य समाचारको शीर्षक थियो– ‘श्री ५ रचनात्मक भूमिकाका निम्ति अग्रसर, अब मुलुक चाँडै स्वर्ग बन्ने ।’ देवप्रकाश त्रिपाठीजीको ‘स्ट्राटिजिक माइन्ड’को उपजका रूपमा अखबारको सम्पादकीय भन्दा माथि स्लोगन थियो, ‘स्वर्ग भनेको मरेका मान्छे बस्ने ठाउँ हो’– अज्ञात । मुख्य समाचार सेनाका अधिकृतले धेरैपल्ट पढे, कतिपय शब्दको अर्थ पनि सोधेका थिए । अलि कन्फ्युज हुँदै पास गरेका थिए । उनले पास नगरी छाप्न मिल्दैनथ्यो । यो समाचारलाई लिएर भने धेरै छलफल भएछ, स्लोगन पनि पढिएछ । हामीलाई तपाईंहरूले झुक्याउनु भो भन्दै सेनाले टोली परिवर्तन ग¥यो । मेजर किरण र जमदार तुलादत्त कँडेलका ठाउँमा मेजर लव र लेफ्टिनेन्ट राजन दाहाल सम्पादक बनेर आए । त्यतिबेला चुनौतीले भरिएका ती दिनहरू सम्झिँदा अहिले ओहो छोटो समयमा नै धेरै कुरा भोगियो जस्तो लाग्छ । पहिलो हप्ता बढी नै सतर्क पोजिसनमा प्रस्तुत भए पनि दोस्रो हप्ता मेजर किरण (कर्णेल किरण केसी) ले भनेको सँझन्छु–यहाँहरूले यस्तो लगातार कसरी लेख्न सकेको ? जवाफमा मैले भनेकी थिएँ, हामीलाई अहिले हतियार चलाउन दिइयो भने जति सजिलो भए पनि आउँदैन, त्यस्तै त हो नि, कामै यही हो । पछि कर्णेल किरण र लव दुवैजनासँग उहाँहरू मानवअधिकार शाखामा भएका बेला महिला, शान्ति र सुरक्षाको विषयमा स्रोतव्यक्तिको रूपमा काम गर्ने मौका मिल्यो ।

२०६२ साल जेठ १८ गते प्रकाशित समाचारलाई लिएर प्रेस काउन्सिलले स्पष्टीकारण सोध्यो । माओवादीलाई तह लाउने नाममा डाकुहरूलाई प्रशिक्षण दिएको नवलपरासीको समाचार थियो त्यो । राजाका पालामा प्रेस काउन्सिलको मुख्य काम नै हामीलाई स्पष्टीकरण सोध्ने थियो कि जस्तो लाग्छ । हिजो राजाका पालामा उहाँका मानिसहरूले गरेका कामलाई समर्थन नगरेका कारणले स्पष्टीकरण सोधिन्थ्यो । अहिले पूर्वराजालाई किन ‘राजा’ लेख्यौ ? भनेर स्पष्टीकरण सोधिन्छ । हिजोआज कतिपय मानिसले हामीलाई राजा र राजसंस्थाका समर्थक पनि भन्छन् । तर, हामी स्पष्ट छौँ, हिजो शासन हातमा लिनु राजाको गल्ती थियो, उक्त कदमको हामीले विरोध ग¥यौँ र गलत नै भनेर लेख्यौँ । राजसंस्था फाल्नु मुलुकका लागि अहित थियो भन्ने कुरामा अब शङ्का मान्नुपर्ने कुनै ठाउँ रहेन । चुनौतीले जति चुटे पनि सत्य बोल्ने र लेख्ने काम सधैँ जारी रहनेछ ।