षड्यन्त्रमूलक ढङ्गले गरिएको घात : आफ्नैले हराए !

षड्यन्त्रमूलक ढङ्गले गरिएको घात : आफ्नैले हराए !


– रेजिना गौतम

‘विपक्षीले लगाएको खोक्रो नारा चिर्न सकेनौँ होला ! तर, त्योभन्दा ठूलो आफैँभित्रको षड्यन्त्रमूलक ढङ्गले गरिएको घात–अन्तर्घातका कारण स्थानीय निर्वाचनमा हार्नुपरेको छ, यसको छानबिन गम्भीर ढङ्गले हुन जरुरी छ,’ गत असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा विजेता तथा उपविजेतालाई सम्मान गर्न नेपाली काङ्ग्रेस झापाद्वारा बिर्तामोडमा आयोजित कार्यक्रममा सहभागीलाई स्वागत गर्न उभिएका उपसभापति राम कट्टेलले यसो भनिरहँदा सहभागीमध्ये एक कार्यकर्ताले संसदीय निर्वाचनको प्रसङ्ग उठाउँदै प्रश्न गरे, ‘उद्वव थापा र विश्वप्रकाश हारेकै बेला समीक्षा किन गरिएन ?’

पार्टीभित्र अन्तर्घात भएको कुराले आक्रोशित बनेका नेपाली काङ्ग्रेसका हरेक कार्यकर्ताको मुखबाट यही प्रश्न निस्किएको थियो, ‘थापा र शर्माले हारेका ठाउँमा समीक्षा गरेको भए अहिले यस्तो हुने थिएन ।’ २०७० सालमा थापाले झापा क्षेत्र नं. ४ र शर्माले क्षेत्र नं. १ मा झिनो मतअन्तरले हारेका थिए ।

‘काङ्ग्रेसको सङ्गठन र उम्मेदवार कमजोर थिएनन् । तर, धेरै ठाउँमा घात–अन्तर्घातका कारण हार व्यहोर्नुपरेको छ,’ बिर्तामोड नगरपालिका वडा नम्बर– ३ बाट वडाध्यक्षमा विजयी भोजराज सिटौलाले भने, ‘पार्टी नेतृत्वले घात–अन्तर्घातको विषयमा बुझेर धारणा बनाउन जरुरी छ ।’ सिटौला बिर्तामोड नगरपालिकाका नगरसभापति पनि हुन् । बिर्तामोडको मेयर पदमा सिटौलासहित सातजनाभन्दा बढी दाबेदार देखिएका थिए । उम्मेदवार चयन क्रममा जलकुमार गुरुङलाई सर्वसम्मत उम्मेदवार बनाउन सिटौला आफैँले प्रस्ताव गरेका थिए । सिटौलाले पार्टीका उम्मेदवार लोकप्रिय हुँदाहुँदै पनि हार्नुका थप कारणबारे खुलासा गर्दै भने, ‘अन्तर्घात त भयो–भयो अपवित्र सम्झौता प्रतिपक्षसँग गरिएको छ ।’ सम्झौता के थियो त्यो भने सिटौलाले खुलाएनन् ।

बोल्दा अरूलाई खासै दोष नलगाउने बिर्तामोड नगरपालिकाका उपविजेता जलकुमार गुरुङले परिणाम आफ्नो पक्षमा नआउँदैमा आत्तिनुपर्ने अवस्था नरहेको र सम्भावना अझै पनि प्रशस्त रहेको बताउँदै भने, ‘बीपीको भाषण डेढ घन्टासम्म गर्ने, तर भोट हाल्ने बेलामा बेइमानी गर्नेहरूसँग सतर्क हुनुपर्छ । काङ्ग्रेसको भोट सत्यनारायण पूजाको प्रसाद बाँडेजस्तो होइन ।’

नेपाली काङ्ग्रेसका तर्फबाट कमल गाउँपालिका प्रमुखका दाबेदार हुकुमसिंह राई विपक्षीसँग बराबर मत ल्याए पनि गोलाप्रथाबाट निर्णय लिइँदा प्रमुख हुनबाट वञ्चित भए । नेकपा एमालेकी मेनुका काफ्ले र राईबीच बराबरी मत आएपछि गोलाप्रथाबाट काफ्ले विजेता बनिन् । पार्टीका धेरै इमानदार र प्रतिबद्ध कार्यकर्ताले बेइमानी गरेको बताउँदै राईले प्रश्न गरे, ‘पार्टीको झण्डा मन पराउने, तर चुनाव चिह्नमा भोट हाल्न हिच्किचाउने ?’

बाह्रदशी गाउँपालिकाको प्रमुखमा विजेता खड्ग राजवंशीले आफूले जितेर पनि खुसी हुन नसकेको बताउँदै पार्टीभित्रको उम्मेदवार छनोट प्रक्रिया ठीक थियो या थिएन समीक्षा गर्नुपर्ने बताए । ‘आ–आफैँ उम्मेदवार घोषणा गर्ने क्रमले पनि हारको सुरुवात भएको हो,’ राजवंशीले भने ।

काङ्ग्रेसकै कार्यकर्ताका कारण शिवसताक्षी नगरपालिकामा हार्नुपरेको झापा गाउँपालिका प्रमुखमा निर्वाचित तथा नेपाली काङ्ग्रेस क्षेत्र नम्बर–५ का क्षेत्रीय सभापति जयनारायण शाहले बताए । उनले भने, ‘टिकट नपाएकै कारण झापा गापामा पनि निर्वाचित हुने ३७ सै सिट हराउन जिम्मेवार कार्यकर्ता लागेका थिए । तर, सङ्गठन बलियो भएकै कारण सबै सम्भव नभए पनि उपाध्यक्ष भने गुमाउनुप¥यो ।’ शाहका अनुसार ती ठाउँहरूमा अन्तर्घात गर्नेमाथि छानबिन सुरु भइसकेको छ ।

समानुपातिकबाट संसद्मा चयन भएका पाँचजना सांसदको स्थानीय तह निर्वाचनमा कुनै भूमिका नदेखिएको बताउँदै गौरादह नगरपालिकाको मेयरमा निर्वाचित रोहित शाहले भने, ‘गौरीगञ्जमा प्रतिबद्ध साथीहरूले अन्तर्घात गरेकै कारण अध्यक्ष गुमायौँ ।’

‘एमालेको गढमा सफलता प्राप्त गर्न कति कठिन भयो होला ? निर्वाचनमा सांसदको भूमिका खै ?’ शाहको प्रश्न थियो । सांसदको भूमिकाबारे पार्टीले छानबिन गर्नुपर्ने उनको माग छ । शाह पार्टीका क्षेत्र नम्बर ६ का क्षेत्रीय सभापति पनि हुन् ।

कार्यक्रममा व्यक्तिभन्दा सङ्गठन बलियो बनाउन जरुरी रहेको बताउँदै मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले भने, ‘नेताले आ–आफ्नै उम्मेदवार बनाएर जाने हो भने प्रदेशमा पनि जित हात पार्न कठिन छ ।’ व्यक्ति च्यापेर पार्टी–सङ्गठन कमजोर नबनाउन आचार्यले नेतृत्वलाई सुझाव दिए ।

झापाका कचनकवल, गौरीगञ्ज र बिर्तामोड नगरपालिकामा काङ्ग्रेसभित्रैबाट भएको अन्तर्घातले हार व्यहोर्नुपरेको पार्टी सभापति उद्वव थापाले बताए । ‘पार्टीभित्र अन्तर्घात नभएको भए हामी १० वटा स्थानीय तह जित्थ्यौँ,’ सभापति थापाले भने, ‘आफ्नैले हराएका छन्, अब हामी खोज्दैछौँ ।’ सभापति थापाले अन्तर्घात भएको अनुभव भए लेखेर दिन आग्रह गर्दै भने, ‘पार्टी चुप लागेर बस्नेछैन । संसदीय निर्वाचनमै समीक्षा गरिएको भए अहिले त्यो सामना गर्नुपर्ने नै थिएन ।’

प्रदेश र राष्ट्रिय निर्वाचनका लागि पार्टीभित्र भएका कमी–कमजोरीलाई सच्याएर अघि बढ्नुपर्ने केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले बताए । ‘झापामा पार्टी अभिभावकको कमी छैन, जिल्लादेखि केन्द्रसम्मै झापाले सक्षम पार्टी नेतृत्व पाएको छ । निर्वाचनमा अन्तर्घात भएको भए पार्टी सभापति हुँदै केन्द्रीय समितिसम्म पु¥याएर त्यसको समाधान खोज्न सकिन्छ, विचलित हुनुपर्दैन,’ केन्द्रीय सदस्य शर्माले भने । सम्मानमा लगाइएको अविर–माला बजारमा १०–२० रुपैयाँमा किनेर ल्याएको अबिर नभई शहीदका रगतको कणकण अविरमा भएको शर्माले भनिरहँदा माला र अबिर पहिरिएका तथा सभामा सहभागी स्तब्ध भएका थिए ।

१५ वटा स्थानीय तह रहेको झापामा नेपाली काङ्ग्रेसले प्रमुखमा पाँच, उपप्रमुखमा दुई र वडाध्यक्ष तथा अन्य सदस्यसहित १६७ जना निर्वाचित भएका छन् ।

काङ्ग्रेसले विजय हासिल गरेकामध्ये दुईवटा नगरपालिका प्रमुख, तीनवटा गाउँपालिका प्रमुख तथा दुईवटा गाउँपालिकामा उपप्रमुखमा विजयी भएको बताइएको छ । झापामा आठ नगरपालिका र सात गाउँपालिका रहेका छन् ।

झापाका १५ वटा स्थानीय तहमा असार १४ गते सम्पन्न निर्वाचनबाट ६८५ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । मत परिणामअनुसार एमाले अगाडि छ भने दोस्रो स्थानमा नेपाली काङ्ग्रेस र तेस्रो स्थानमा राप्रपा रहेको छ ।