अल्पमत अचानक यसरी बहुमतमा पुग्यो

अल्पमत अचानक यसरी बहुमतमा पुग्यो


काठमाडौं । असोज ४ गते सन्धि अनुमोदन हुनुभन्दा केहीअघिसम्म एमाले केन्द्रीय समितिमा माधव–केपीको पक्ष अल्पमतमा थियो । तर ४ गते अचानक अनुमोदनको पक्षमा बहुमतले निर्णय गरेपछि यो कसरी हुन गयो भन्ने जिज्ञासा सर्वत्र प्रकट भएको छ । एमालेभित्र यो हदसम्मको चातुर्य र परिपक्वता भएका शिल्पकार को हुन सक्लान् भनी खोज्दै जाँदा यो संवाददाता केपी ओलीको नाममा पुगेर अड्किएको छ । ओलीको चातुर्य र माधव नेपालको अडान नै सन्धि अनुमोदनको पक्षमा एमालेलाई पु¥याउने प्रमुख कडी हुन् भन्ने कुरा एमालेभित्र मात्र होइन बाहिरसमेत चर्चाको विषय बन्न पुगेकोे छ ।

नेकपा एमालेको केन्द्रीय समिति ३६ जनाको छ । त्यसबाहेक देवराज घिमिरे, शान्ता मानवी, भीमबहादुर कठायत, पे्रमबहादुर सिंह र हिरण्यलाल श्रेष्ठलाई क्रमानुसार वैकल्पिक केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ । यी वैकल्पिक सदस्यले कुनै स्थायी सदस्य बैठकमा अनुपस्थित भएका अवस्थामा क्रममानुसार बैठकमा उपस्थित भएर मतदान गर्न पाउने प्रावधान मिलाइएको छ । अघिल्लो बैठकमा मतदान हुँदा अनुमोदनको पक्षमा १३ र विपक्षमा १९ मत पर्नुमा वैकल्पिक सदस्यहरूकै महत्वपूर्ण भूमिका थियो । असोज ४ गते बसेको केन्द्रीय समितिको बैठक मनमोहन अधिकारीबाहेक ३५ जना सबै केन्द्रीय सदस्यहरूको उपस्थित थियो । मनमोहनको सट्टामा १ नं. का वैकल्पिक सदस्य देवराज घिमिरेले मतदान गर्न पाएका थिए भने अघिल्लोपटक मतदान गर्ने अवसर पाएका अन्य चारजना वैकल्पिक सदस्यले मतदान गर्न पाएनन् । अघिल्लो बैठकमा मनमोहन अधिकारीसमेत तुल्सीलाल अमात्य, ईश्वर पोखरेल, गोपाल शाक्य र गोविन्द कोइराला अनुपस्थित हुनुहुन्थ्यो । उहाँहरू ४ गतेको बैठकमा उपस्थित भएर ईश्वर पोखरेल र गोविन्द कोइरालाले अनुमोदनको पक्षमा तथा गोपाल शाक्यले विपक्षमा मतदान गर्नुभयो ।

विगत ६ महिनादेखि मिर्गौलाको रोगबाट पीडित नै ओछ्यान पर्नुभएका तुल्सीलाल अमात्यलाई ओछ्यानबाट उठाएर मतदान गर्ने समय मात्रै बैठकमा उपस्थित गराइएको थियो र उहाँले पनि विपक्षमा नै मतदान गर्नुभयो । पहिले विपक्षमा मतदान गर्नुहुने अष्टलक्ष्मी शाक्य र पहिले बहिष्कार गर्नुहुने राजेन्द्र श्रेष्ठले नेतृत्वमा विषयगत नभएर गुटगत आधारमा छलफल र मतदान प्रक्रिया अपनाइएकोप्रति असन्तुष्टि जनाउँदै मतदानमा भाग लिनुभएन, उहाँहरू तटस्थ बस्नुभयो । त्यसैगरी अघिल्लो बैठकमा तटस्थ रहेका प्रदीप नेपालले पक्षमा र अमृत बोहोराले विपक्षमा मतदान गर्नुभयो । यसरी मतदान सम्पन्न हुँदा दुवै पक्षमा १७–१७ मत पर्न गयो । मत बराबरीमा टुङ्गिएपछि के गर्ने भन्ने विषयमा बैठकमा छलफल हुँदा गोप्य तवरले पुनः मतदान गर्ने सर्वसम्मत निर्णय भयो । गोप्य मतदानको क्रममा एकमत बदर भएको अवस्थामा पाइयो । त्यसपछि विपक्षमा १६ र पक्षमा १७ मत हुन गई सन्धि मनुमोदनको पक्षमा निर्णय हुन पुगेको थियो । उक्त बदर मत कसको हो भनी पार्टीमा निकै खुल्दुली मच्चियो । कसैले गोपाल शाक्यमाथि शङ्का व्यक्त गरे भने कसैले कमल चौलागाईं र अमृत बोहोरामाथि शङ्का गरे । तर, त्यो बदर मत कसको थियो भन्ने कुरा अझै यकिन भइसकेको छैन । जे होस्, उक्त बदर मत नै सन्धि अनुमोदनका लागि सञ्जीवनी बन्न गएको भन्ने निर्विवाद छ ।

अघिल्लो बैठकमा सरकारले मतदानको तिथि सार्न नमानेमा के गर्ने भन्ने विषयमा मतदान भएको थियो । यसमा मतदान हुँदा माधव नेपाल, खड्ग ओली, झलनाथ खनाल, गुरु बराल, मोदनाथ प्रश्रित, सुरेन्द्र पाण्डे, काशीनाथ अधिकारी, मुकुन्द न्यौपाने, सलिम मियाँ अन्सारी, केशव बडाल, जीतेन्द्र देव, सीतानन्दन राय र भरतमोहन अधिकारीले अनुमोदनका पक्षमा तथा सहाना प्रधान, सिद्धिलाल सिंह, हिरण्यलाल श्रेष्ठ, पे्रमबहादुर सिंह, वाचस्पति देवकोटा, किरण गुरुङ, केशवलाल श्रेष्ठ, पे्रमसिंह धामी, अशोक राई, अष्टलक्ष्मी शाक्य, कमल चौलागार्इं, सीपी मैनाली, राधाकृष्ण मैनाली, वामदेव गौतम, युवराज ज्ञवाली, विष्णु पौडेल त्रिलोचन ढकाल, शान्ता मानवी र भीमबहादुर कठायतले अनुमोदनको विपक्षमा मतदान गरेका थिए । अमृत बोहोरा, प्रदीप नेपाल र राजेन्द्र श्रेष्ठले विभिन्न कारण देखाएर मतदानमा भाग लिनुभएको थिएन ।

(९ असोज २०५३ बुधबारको घटना र विचार साप्ताहिकबाट)