पचास प्रहरी अधिकृतमाथी कारबाही

पचास प्रहरी अधिकृतमाथी कारबाही


हालै सरकारले गरेको प्रहरी बढुवाको तस्बीर सामाजिक सञ्जाल राखेको आरोपमा ५० भन्दामाथी प्रहरी अधिकृतलाई कारबाही गरिएको छ । प्रहरी पोशाकमा तस्वीर राखेको आरोपमा उनीहरुमाथी कारवाही सुरु गरिएको हो । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले बढुवा भएको खुसियालीमा फेसबुकमा युनिफर्मसहितको तस्वीर राख्ने एसएसपी, एसपी र डीएसपीसहितका प्रहरी अधिकृतमाथि २४ घण्टे स्पष्टिकरण सोधेर कारवाही प्रक्रिया सुरु गरेको हो ।

कानुन शाखाले एसएसपीमा बढुवा भएका देवबहादुर बोहरा, उत्तम सुवेदी, दीवस लोहनी, रवीन्द्र धानुक, एसपीमा बुढा भएका इश्वर कार्की तथा डीएसपीमा बढुवा भएका गंगाबहादुर थापा, छेदिलाल कामती, नवीन कार्की र रुपक खड्कालाई सो कारबाहीको पत्र सहित स्पष्टीकरण सोधेकोे छ । एसपी डा. गणेश रेग्मीद्वारा हस्ताक्षरित पत्रमा सामाजिक सञ्जाल मार्फत आचारसंहिता उल्लंघन गरेकाले स्पष्टिकरण सोधिएको उल्लेख गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले २०७३ वैशाखबाट नेपाल प्रहरीमा कार्यरत कोही पनि अधिकृत वा जवानलाई फेसबुकमा युनिफर्मसहितको फोटो पोस्ट गर्न वा प्रोफाइल तस्वीरमा नराख्न निर्देशन जारी गरेको थियो । तर, सर्कुलरको उल्लंघन भएको भन्दै प्रहरीले ती अधिकृतलाई स्पष्टिकरण सोधेको हो । स्पष्टिकरणमा चित्तबुझ्दो जवाफ नआएमा उनीहरुमाथि विभागीय कारवाही हुने समेत पत्रमा उल्लेख छ । गृहमन्त्री जनार्दन शर्माको विशेष चासोमा यो प्रक्रिया अगाडि बढाइएको समेत प्रहरी प्रधान कार्यालयका एक अधिकृतले बताएका छन् ।