बाह्रौं महाधिवेशनपछि काङ्ग्रेस कसरी अघि बढ्ला ?

बाह्रौं महाधिवेशनपछि काङ्ग्रेस कसरी अघि बढ्ला ?


w भीमप्रसाद ढुङ्गाना, धादिङ
नेपाली काङ्ग्रेस नेपालको इतिहासमा सबभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी हो । बाह्रौँ महाधिवेशन एउटा पुस्तान्तरणको प्रक्रियाबाट पनि गुज्रिरहेकोले चुनावी प्रतिस्पर्धा चर्कै रूपमा देखिएको छ । तर, अधिवेशन सम्पन्न भएपछि पार्टीको नीति, कार्यक्रम बोकेर त्यसलाई व्यवहारमा उतार्न हिँड्ने सवालमा कुनै काङ्ग्रेसी कार्यकर्ता पछि पर्ने छैनन् । यहाँ गुटको आरोप लगाइएको छ तर यथार्थ यो होइन, यहाँ कुनै गुट नै छैन, पानीको फोकाजस्तै हो यो कुरा । नयाँ नेतृत्व चयन भएपछि गुटका कुरा स्वतः हराएर जाने अवस्था छ । अब पनि गुट बनाएर हिँड्न खोज्ने कोही छन् भने त्यो काङ्ग्रेस हुन सक्दैन, छोडिदिए हुन्छ पार्टी । ‘आकाश खसे कता लुक्ने ? धर्ती भासिए कता भाग्ने -‘ भन्ने किसिमका अनुमानहरू अहिले नगरौँ, काङ्ग्रेस अब देशको परिस्थिति र समयको चाल चिनेर अघि बढ्छ भन्नेमा ढुक्क बनौँ । अहिलेसम्म नेपाली काङ्ग्रेसले हरेक आन्दोलनको नेतृत्व गरेर आइरहेको छ, प्रजातन्त्रलाई संस्थागत गर्न लागिपरेको छ । तर, यसले पनि आर्थिक क्रान्ति गर्न बाँकी छ । अब त्यो समय आएको छ । राजनीतिक भाषणले मात्र जनताको पेट भरिँदैन । जनता वाक्क भइसकेका छन् । यो बुझेको छ काङ्ग्रेसले तर्सथ अब गुट-उपगुटको सङ्कीर्णतामा नअल्भिईकन काङ्ग्रेस आर्थिक क्रान्तिको बाटोमा लम्कन्छ । एक ढिक्का भएर लम्कन्छ । राष्ट्र-अन्तर्राष्ट्रले चासो दिएको छ काङ्ग्रेसको अबको कदमप्रति । यो चासो र अपेक्षालाई काङ्ग्रेसले पूरा गर्नेछ, काङ्ग्रेसले गर्न नसक्ने अरू कुनै माइकालालले यहाँ गर्न सक्दैन भन्नेमा म विश्वस्त छु ।

w शमशेरबहादुर कार्की, गुल्मी
यसपालि काङ्ग्रेसको महाधिवेशनमा यस्ता महाधिवेशन प्रतिनिधि छानिएर आएका छन् कि अब कस्तो नेतृत्व काङ्ग्रेसका लागि आवश्यक छ भन्ने उनीहरूले राम्ररी बुझेका छन् । यस्ता सचेत मतदाता भएकाले पार्टीलाई मिलाएर एक ढिक्का बनाई लैजान सक्ने नेतृत्व छानिनेछ भन्नेमा म ढुक्क छु । पार्टी एक गराएर लैजानुपर्छ भन्ने सबैको चाहना छ । यसअनुसार उदारवादी छवि भएको लचकदार व्यक्तित्वले सभापति जित्ने पक्का छ । महाधिवेशनको लहरले नै यही देखाएको छ । पार्टीमा उम्मेदवारी दिने समूह २-३ वटा भए भन्दैमा गुट जन्मियो भन्ने ठान्नु हुँदैन । विगतको पृष्ठभूमि हेरेर, माओवादी आतङ्कसँग प्रतिकार गर्न सक्ने को थियो र माओवादीलाई बोक्ने को थियो भन्नेसमेत हेरेर अब नेतृत्व छानिनेछ । खारिएर आएका प्रतिनिधिले छनोट गर्ने भएकाले काङ्ग्रेस अब पुनर्जागृत भएर अघि बढ्नेछ ।

w ममता चिमोरिया, मोरङ
पार्टीको महाधिवेशनले नयाँ नेतृत्व पनि चुन्नैपर्ने भएकोले लोकतान्त्रिक पद्धतिअनुसार एकै पदका लागि पनि विभिन्न व्यक्ति या समूहको उम्मेदवारी पर्नु कुनै अनौठो कुरा होइन । यस बाह्रौं महाधिवेशनको अहिलेसम्मको चहलपहलले नेपाली काङ्ग्रेस अबका दिनमा एक ढिक्का भएर अघि बढ्छ भन्नेमा म अत्यन्त आशावादी भएकी छु । जो नेतृत्वमा आए पनि योग्य व्यक्ति आउनुपर्छ । योग्य त सबै छन्, सबैको आ-आफ्नो योग्यता र योगदान छ, अब देशभरका प्रतिनिधिले कसलाई अगाडि सार्छन्- जो आए पनि हामीलाई स्वीकार्य छ । तर, सबैको भावनालाई कदर गर्दै पार्टीलाई समयअनुरूप हाँक्न सक्ने नेतृत्व हुनुहुर्छ र हुन्छ भन्ने लाग्छ । सबै पार्टीलाई समेटेर देशकै नेतृत्व गर्नुपर्ने आवश्यकता छ आज काङ्ग्रेसले । युवापुस्तालाई क्रियाशील गराउने र अनुभवी पुस्ताले मार्ग निर्देशन लिने काम पनि अब पार्टीले गर्नुपर्छ । युवाको जोश र पुरानाहरूको होसको मिलन हुने पूरा सम्भावना देखिएकोले काङ्ग्रेसको भविष्य उज्ज्वल देखिएको छ ।

w जेबी रिजाल, धादिङ
काङ्ग्रेस पुरानौ अवस्थामा फर्किने सवालमा यो बाह्रौं महाधिवेशन अत्यन्तै महत्त्वपूर्ण छ । एउटा लबिङ या गुटबन्दीको हिसाबबाट नेतृत्व बन्यो भने काङ्ग्रेसलाई त्यसले कमजोर नै बनाउनेछ, तर स्पष्ट विचार र भिजन बोकेको युवापुस्ताबाट नेतृत्वमा प्रतिनिधित्व हुन सक्यो भने भिजनसहितको काङ्ग्रेसले फेरि एकपटक यो मुलुकको इतिहास निर्माण गर्नेमा विश्वस्त हुन सकिन्छ । काङ्ग्रेसले गति नलिएसम्म देश नै अनिर्णयको बन्दी बन्ने भएकोले काङ्ग्रेस स्फर्ुत बन्नु अत्यावश्यक छ । आमकाङ्ग्रेसले यो बुझेका छन् र अहिलेसम्मको अवस्था हेर्दा पार्टीमा अब हिजोझैं गुटबन्दी मौलाउन पाउँदैन भन्ने नै लाग्छ । प्रतिस्पर्धाबाट छानिएको सामूहिक नेतृत्वबाट अब काङ्ग्रेस मुलुकमा आशा र विश्वास जगाउँदै अघि बढ्ने देखिन्छ । अनेक हन्डर-ठक्कर, लाञ्छना खेपिसकेकोले त्यसलाई एउटा अपरिहार्य शिक्षाका रूपमा ग्रहण गर्दै काङ्ग्रेस नयाँ ऊर्जाका साथ अघि बढ्ने आशा गर्न सकिन्छ ।

w प्रेमा भट्टराई, मोरङ
काङ्ग्रेसमा यस्तो परम्परा देखिएको छ कि के-के न झगडाजस्तो देखिन्छ तर अन्तमा मेलामिलाप हुन्छ । मिलेरै अघि बढ्ने परम्परा हो । लोकतान्त्रिक पार्टी हुनाले प्रशस्त छलफल, आलोचना नहुने पनि होइन- हुन्छ, तर त्यो तुष बोकेर पार्टीलाई नै ड्यामेज गर्ने काम यसभित्र हुँदैन, कमसेकम अबचाहिँ हुन सक्दैन । यो देशको सबैभन्दा सक्षम लोकतान्त्रिक पार्टी भएकोले काङ्ग्रेसले अन्य पार्टीलाई समेत प्रजातन्त्रको बाटोमा हिँड्ने बाटो देखाउँछ, हात समातेर डोर्‍याउँछ, प्रेरित गर्छ । अबको नेतृत्वले यो आवश्यकता बुझेर पार्टीलाई दौडाउनु आवश्यक छ र गर्छ पनि । ठूलो, पुरानो र व्यापक कार्यकर्ता भएको पार्टी भएकोले अनेक मत-मतान्तरहरू पनि देखिन सक्छन्, तर राष्ट्रलाई नेतृत्व दिने सवालमा काङ्ग्रेस नै अग्रभागमा रहनुपर्छ भन्नेमा कुनै काङ्ग्रेसीजनमा दुईमत छैन । तर्सथ, कमी-कमजोरीहरू सच्याउँदै काङ्ग्रेस अब अगाडि बढ्छ ।

w भीम श्रीष, बाग्लुङ
कुनै पनि पार्टी वैचारिक र संस्थागत किसिमले चल्नुपर्छ भन्ने विश्वव्यापी मान्यता हो, यही मान्यतालाई ग्रहण गर्दै अघि बढ्ने माहोल यस बाह्रौं महाधिवेशनले खडा गरेको छ । देशव्यापी रूपमा युवाको जुन लहर आएको छ यसले अब हिजोझैं व्यक्तिवादी निर्णयबाट चल्ने प्रथा अन्त्य हुन पूरै दबाब पुग्नेछ । चुनावी प्रतिस्पर्धाले रामै्र गर्छ, आन्तरिक रूपमा नेतृत्वको क्षमता प्रदर्शन त यस्तै प्रतिस्पर्धाबाट हुने हो । अत्यन्त उत्साहजनक तवरबाट तलदेखि स्वच्छ तवरले छानिएर साथीहरू महाधिवेशनमा प्रतिनिधित्व गरेर आउनुभएको छ । मतदान भएपछि हारजित त भइहाल्छ । तर, व्यक्ति जो हारे पनि र जो जिते पनि जित काङ्ग्रेसकै हुन्छ । अब बाध्यताले पनि काङ्ग्रेस जुर्मुराएर एउटा विचार र सिद्धान्तनिष्ठ पार्टीका रूपमा अघि बढ्छ ।

w रामकुमार साहू, बाँके
जतिसुकै एकताको कुरा गरे पनि हिजोसम्म नेपाली काङ्ग्रेसमा अनेक गुट-उपगुट देखिएकै हो, पार्टी नै फुटेर दुई चिरा भएको कुरा पनि छुपाएर छुप्दैन । तर अब यो ‘इतिहासको कुरा’ बन्दै छ । बाह्रौं महाधिवेशनले पार्टीलाई एक ढिक्का बनाएर लैजानेमा म विश्वस्त छु ।
लोकतान्त्रिक प्रक्रियामा चुनावी गुट त भइहाल्छ तर यो स्थायी प्रतिद्वन्द्व होइन । सबैलाई समेटेर मिलाएर लैजान अबको नेतृत्वलाई कार्यकर्तापङ्क्तिले बाध्य तुलाउनेछ भन्नेमा कसैले शङ्का राख्नैपर्दैन । काङ्ग्रेसले अब लोकतन्त्रको संस्थापन गर्ने र नयाँ नेपाल बनाउने कामकै नेतृत्व गर्नेछ । यसमा म विश्वत छु ।

w निमराज भट्ट
कुनै बेला काङ्ग्रेस पार्टी विभक्त भएर निकै अप्ठ्यारो अवस्थाबाट गुज्रनुपर्‍यो । त्यही अप्ठ्यारो महसुस गरेरै नै फेरि एकीकरण हुनुपरेको हो । विगतको यो कमी-कमजोरी महसुस नगर्ने कोही काङ्ग्रेस छैनन् । नेतृत्वले त यो झन् गहिरोसँग बुझेको छ । तर्सथ, बाह्रौं महाधिवेशनबाट जो जिते पनि सबैलाई समान रूपले व्यवहार गरी समेटेर लैजानुपर्छ । महाधिवेशनका दौरानमा चुनावी प्रतिस्पर्धा त देखिएको छ तर यसले भावी सङ्गठनलाई कुनै फरक पार्दैन । चुनौतीहरू थुप्रै छन् तर काङ्ग्रेस नयाँ रूपमा अघि बढ्छ । मतदाता सङ्ख्यामा यसपटकको महाधिवेशनमा युवाहरूको बाहुल्य छ । युवाको ऊर्जा, सोच र चिन्तनलाई आत्मसात् गर्दै काङ्ग्रेस अब अघि बढ्छ र नेपालको ठूलो पार्टी बन्छ जस्तो मलाई लाग्छ ।