प्रदेश २ को निर्वाचन : १ सय ३८ मतदान केन्द्र अति संबेदनशील

प्रदेश २ को निर्वाचन : १ सय ३८ मतदान केन्द्र अति संबेदनशील


स्थानीय तह निर्वाचनका लागि विशेष सुरक्षा व्यवस्था गरिने भएको छ । प्रदेश २ का अधिकांश जिल्लाका मतदान केन्द्रहरु संवेदनशील मान्दै सुरक्षा निगरानी व्यापक बनाइने भएको हो । असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि सप्तरीमा तोकिएका मतदान केन्द्रहरु सबै सबेदनशील र अति संबेदनशिलको सुचीमा राखिएको छ ।

९ नगरपालिका र ९ गाउँपालिका रहेको सप्तरीमा कुल २ सय ९५ मतदान स्थल र ४ सय ६२ मतदान केन्द्र तोकिएको छ । तीमध्ये ३ सय २४ मतदान केन्द्र संबेदनशिल र १ सय ३८ मतदान केन्द्र अति संबेदनशील रहेको जिल्ला प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले जानकारी दिए ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेका अनुसार संबेदनशिल रहेका मतदान केन्द्रहरुमा कम्तीमा ९ र अति संबेदनशीलमा कम्तीमा ११ जना नेपाल प्रहरी परिचालित रहनेछन् । यस्तै प्रत्येक मतदान केन्द्रमा सशस्त्र प्रहरीसमेत परिचालन गरिने प्रजिअ पाण्डेले जनाए ।

निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन सुरक्षाका लागि प्रदेश २ का ८ जिल्लामा ६८ हजार सुरक्षाकर्मी परिचालन गरिएको आयुक्त सुधिरकुमार शाहले बताए ।

निर्वाचनमा भित्री घेरा नेपाल प्रहरी, मध्यम घेरा सशस्त्र प्रहरी र अन्तिम सुरक्षा घेराका लागि नेपाली सेना परिचालन गरिएको छ । मतदानकेन्द्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

आचारसंहिता अनुगमनका लागि प्रदेश २ का प्रत्येक जिल्लामा दुई जना सहसचिव खटाईएको उनले जानकारी दिए । सिरहामा निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीका ३ हजार जनशक्ति खटाइएको सिरहाका प्रहरी उपरिक्षक कोइरालाले जनाए ।

यसैगरी नेपाली सेनाले नियमित गस्ती गर्ने गरी सुरक्षा ब्यबस्थापन मिलाइएको छ । भारतीय सिमासित जोडिएको मतदान केन्द्रहरुमा सुरक्षालाइ थप ब्यबस्थित वनाउन भारतीय अधिकारीहरुसित पनि छलफल भइरहेको उनले जनाए ।