तोकिएको समयमा आठौँ राष्ट्रिय प्रतियोगिता नभए राजीनामा दिनेछु

तोकिएको समयमा आठौँ राष्ट्रिय प्रतियोगिता नभए राजीनामा दिनेछु


सदस्यसचिव हटाउने कुरामा मन्त्रीज्यूको ध्यान जालाजस्तो लाग्दैन


यतिबेला खेलकुदमा युवा तथा खेलकुद मन्त्रालयको २६बुँदे निर्देशन चर्चाको विषय बनेको छ । खेलकुदमन्त्री राजेन्द्रकुमार केसीको यो निर्देशनलाई कसैले सकारात्मक रूपमा लिएका छन् भने कसैले परिषद्माथिको ठाडो हस्तक्षेपका रूपमा बुझेका छन् । आखिर कुरा जे भए पनि लामो समयदेखि शान्त रहेको खेलकुदमा २६बुँदे निर्देशनले नौलो तरङ्ग उत्पन्न गरिदिएको छ । खेलकुदरूपी शान्त पोखरीलाई ‘२६बुँदे निर्देशन’ फ्याँकी तरङ्गित पार्ने दुस्प्रयत्न कसले ग¥यो भन्नेलगायत जिज्ञासामा केन्द्रित रही राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टसँग घटना र विचारले गरेको कुराकानी प्रस्तुत गरिएको छ ।

० मन्त्रालयको २६बुँदे निर्देशनपछि निकै आक्रोशित रूपमा प्रस्तुत हुनुभएको छ, किन ?
– म आक्रोशित रूपमा प्रस्तुत भएको होइन । सबैले विधि, प्रक्रिया र पद्धतिको अवलम्बन गर्नुप¥यो । के गर्दा खेलकुदको विकास हुन्छ, विवाद हुँदैन, समझदारी बन्छ, र सकारात्मक पहलकदमी हुन्छ, त्यसमा सबै जिम्मेवार हुनुपर्छ भन्न मात्रै खोजेको हुँ । यो प्रचारबाजी गर्ने विषय होइन । अध्यक्षले सचिवलाई मन्त्रीले सदस्यसचिवलाई निर्देशन दिन पाइन्छ । काम गलत भयो भने स्पष्टीकरण पनि सोध्न पाइन्छ । यो विज्ञप्ति जसरी आयो त्यसरी आउनुपथ्र्यो कि अन्य तरिकाले मैले नबुझेको कुरा त्यो हो । जहाँसम्म २६ बँुदाको कुरा छ, त्यसमा नौलो कुरा केही छैन, सबै गरिरहेकै कुरा छ । जुन कुरा भइराखेको छ त्यही कुरा गर भनेर भन्नु स्वस्थ होइन । त्यस्तो किसिमले प्रेस विज्ञप्ति आउनु जरुरी थिएन । जुन कुरा मन्त्रीज्यूले पनि स्वीकार गरिसक्नुभएको छ ।

० त्यसो भए यो प्रेस विज्ञप्ति कसले जारी ग¥यो त ?
– साँचो रूपमा भन्नुपर्दा त्यो विज्ञप्ति मकहाँ आइपुगेको छैन, मन्त्रालयबाट जारी भने भएको छ । विज्ञप्ति प्रवक्ता रामप्रसाद थपलियाले जारी गरेको भनिए पनि त्यसमा उनको हस्ताक्षर छैन । सही नगरेको विज्ञप्तिप्रति को जवाफदेही हुन्छ । मन्त्रालय भनेको जिम्मेवार निकाय हो, त्यहाँबाट गरिएका कामकारबाही हचुवा हुनुहुँदैन । अर्को कुरा मन्त्रालयको निर्देशन आयो भन्दैमा म डराउने व्यक्ति होइन । ऐन–नियमावलीसँग बाझिने कुरा म मान्दिनँ । अब म यो कुरा बोर्डमा राख्छु, बोर्डले जे निर्णय गर्छ त्यही लागू हुन्छ । हेर्दाखेरि यो मन्त्रीलाई बलियो बनाउनेजस्तो देखिए पनि त्यस्तो होइन । यसले मन्त्रीलाई विवादमा ल्याउने र असफल बनाउने कार्य भएको छ । जुन कुरा मन्त्रालयका सचिव र सहसचिवले गरेका छन् । योभन्दा अघिका मन्त्रीहरूलाई यस्तै गलत सल्लाह दिएर उनीहरूलाई असफल पारेका थिए । अन्यथा उनीहरूले मन्त्रीज्यूलाई सही सल्लाह दिन्थे । उनीहरूको गलत सल्लाहकै कारण विज्ञप्ति सार्वजनिक भएको हो ।

० मन्त्रालयका सचिव महेशप्रसाद दाहालले ‘ब्ल्याकमेलिङ’ गरेको गम्भीर आरोप लगाउनुभएको छ, के यो सत्य हो ।

– यो २६बुँदे निर्देशनमा एउटा बुँदाबाहेक सबैको परिषद्ले पालना गरेको अवस्था छ । हामीले प्रधानमन्त्री संरक्षक भएको नाताले वार्षिक प्रतिवेदन बुझाउनुपथ्र्यो त्यो एक बुँदामा हामी चुकेका छाँै । तर, त्यो प्रतिवेदन तयार छ, त्यो अध्यक्षले बुझाउने भएकाले उहाँले जहिले भन्नुहुन्छ हामी दिन तयार छौँ । मैले मन्त्रीज्यूलाई राम्रोसँग चिनेको छु, यो उहाँको कार्य हुँदै होइन । यो सबै सचिव दाहालको खुरापातको परिणाम हो । यो सबै मन्त्रीलाई उचालेर चाहिने–नचाहिने कुरा लगाउँदै हस्ताक्षर गराइएको षड्यन्त्र मात्रै हो । जसले भविष्यमा परिषद्मा ‘ब्ल्याकमेलिङ’ सजिलो होस्् भनेर दाहालले रचेको चक्रब्यूह हो ।

० यो मन्त्रालयले राखेपलाई अंकुश लगाउने र सदस्यसचिवको पावरलाई कटौती गर्ने सङ्केत होइन र ? यसलाई कसरी लिनुभएको छ ?
– यो अंकुश लगाउने र कटौती गर्ने कुरा कसैले चाहेर हुने कुरा होइन । परिषद् आफैँमा स्वायत्त र स्वशासित संस्था हो । परिषद् नेपाल सरकारबाट चल्ने संस्था हो, मन्त्रालयबाट चल्ने संस्था होइन । यहाँ राखेपको बोर्ड सर्वोपरि हुन्छ, बोर्डको निर्णयअनुसार सबै कार्यसम्पादन गरिन्छ । राखेपको अध्यक्ष मन्त्री हो भने कार्यकारी सदस्यसचिव हो, मन्त्रालयको सचिव भनेको बोर्डको सदस्य मात्रै हो । यहाँ सबैको आ–आफ्नो जिम्मेवारी छ, जसलाई ऐन–नियमले बाँधेको छ । म डराउने भनेको बोर्डसँग मात्रै हो, मलाई हटाउन बोर्डले मात्रै सक्छ ।

० तपाईंको व्यक्तिगत सम्बन्ध खेलकुदमन्त्रीसँग निकै राम्रो छ भन्छन्, अनि कसरी आयो त २६बुँदे निर्देशन ?
– यो निर्देशन ल्याउन गलत सल्लाह, गलत तरिका र गलत मनसायको प्रयोग गरिएको छ । मन्त्रीज्यूले असल नेतले यो निर्देशन ल्याए पनि विधि प्रक्रियाचाहिँ ठीक भएन । यसको अर्थ मन्त्रीज्यूले निर्देशन जारी गर्नै नपाउने कुरा होइन, उहाँलाई यस्तो अधिकार छ । तर, जुन किसिमले यसको सञ्चारमाध्यममा प्रचारबाजी गरियो त्यो दुःखद् कुरा हो, त्यस्तो हुनुहुँदैनथ्यो, मेरो आसय त्यो हो । अहिले मन्त्रालय र राखेपको बीचमा सुमधुर सम्बन्ध छ, तर यो घटनाक्रमले शान्त तलाउमा ढुङ्गा हानेर तरङ्ग पैदा गर्ने कार्य भो । अब त्यो तरङ्गले खेलकुदलाई फाइदा हुन्छ कि बेफाइदा त्यो बुझ्नुपर्छ । यसले भोलि राजनीतिक रङ पनि लिन सक्छ । योभन्दा अगाडि खेलकुदमा यस्तो राजनीतिक रङ देखिसकेको छ । जसले खेलकुदको भलो गर्दैन, शीतयुद्धको वातावरण सिर्जना गर्न सक्छ ।

० कतै तपार्इंलाई सदस्यसचिवबाट हटाउन मन्त्रालयले यस्तो रणनीति अख्तियार गरेको त होइन ? कसरी बुझ्नुभएको छ ।
– त्यो म अहिले भन्न सक्दिनँ । फरक राजनीतिक दलको मन्त्री भएपछि आफ्नै दलको सदस्यसचिव होस् भन्ने चाहना राख्नु स्वाभाविकै हो । त्यो पार्टीको आदेश पनि हुन्छ । एमालेको मन्त्रीले पनि एमाओवादीको सदस्यसचिवलाई हटाएकै हो त । मैले पनि यसलाई स्वाभाविक रूपमा लिएको छु । तर, गर्दा राम्रो हुन्छ कि हुन्न, फाइदा हुन्छ कि हुन्न त्यो कुराको हेक्का गर्ने व्यक्तिले राख्नुपर्छ । तर, अहिलेको परिस्थिति फरक छ, मन्त्रीज्यूले गर्न खोजे पनि त्यो असफल भएको छ । त्यो हालैका घटनाले पनि प्रस्ट पारेका छन् । अहिलेको अवस्थामा कार्यकाल अवधिसम्म काम गर्न पाउनुपर्ने भन्ने छ । त्यसैले सदस्यसचिव हटाउने कुरामा मन्त्रीज्यूको ध्यान जान्छ जस्तो मलाई लाग्दैन । ऐनमा पनि सदस्यसचिवको कार्यकाल चार वर्षको अवधि हुनेछ भनेर तोकेरै लेखेको छ ।

० तपाईंलाई सदस्यसचिवबाट हटाउन एमालेको एक गुट निकै सक्रिय भएर लागेको सुनिनमा आएको छ, यसको आभास तपाईंलाई छ कि छैन ?
– किन नहुनु नि, राम्रोसँग छ । केही साथीहरू, जो दिमागी हिसाबले असन्तुलित छन्, पार्टीभित्र छायामा परेका छन्, उनीहरू यो खेलमा लागेका हुन् । हिजो खेलकुदमा रजाइँ गरेका र फेरि रजाइँ गर्न पाइन्छ कि भन्ने अभिलाषाले उनीहरू यस्तो खेलमा लागेका हुन् । उनीहरू मलाई हटाउन साम, दाम, डण्ड र भेद चारै नीति अवलम्बन गरेर लागेका छन् । मेरोविरुद्धमा चुक्ली लगाउनेदेखि अदालतमा मुद्दा–मामिला दर्ता गराउनसमेत सहयोग गरिरहेका छन् । अवसरको खोजीमा रहने र पार्टीलाई व्यापार र व्यवसायको रूपमा हेर्नेहरूप्रति मलाई कुनै गुनासो छैन । उनीहरूको कामै यही हो, जसले जे काम जानेको हुन्छ त्यसले त्यही गर्छ । त्यसैले उनीहरूको सद्बुद्धि आओस् म यही प्रार्थना गर्छु ।

० सदस्यसचिव विष्ट जीवनराम श्रेष्ठको इसारामा चलेको आरोपमा कत्तिको सत्यता छ, के तपाईं जीवनरामको पुच्छर नै हो त ?
– जीवनरामजीसँग कुनैकुनै कुरामा सल्लाह हुन्छ त्यो नहुने होइन । ओलम्पिकका कुरामा उहाँसँग मैले सल्लाह गर्नैपर्छ त्यो मेरो बाध्यता हो । त्योबाहेक मैले दैनिक रूपमा गर्ने क्रियाकलापमा उहाँको मात्रै होइन, कसैको इसारा चल्दैन । म राम्रो कुराको सबैसँग सल्लाह लिन्छु, त्यो जीवनरामजीसँग पनि लिन्छु, यसको मतलब उहाँको इसारामा चल्छु भन्ने होइन । म मेरो बुबाआमाले भनेको सबै कुरा त मान्दिनँ भने उहाँको कुरा मान्ने प्रश्नै आउँदैन, उहाँ को हो र ? यो सबै झुटो हो ।

० तपाईंलाई खेलकुदमा असफल बनाउन जीवनरामको प्रत्यक्ष भूमिका छ भन्छन् नि, तपाईंलाई कस्तो लाग्छ ?
– सर्वप्रथम मैले खेलकुदमा कुनै असफल हुने कार्य गरेको छैन । म घमण्ड गर्दिनँ, मान्छेका कमी–कमजोरी हुन्छन्, मेरा पनि होलान्, मैले व्यक्तिगत स्वार्थ र पार्टीको स्वार्थका लागि खेलकुदमा कुनै गलत कार्य गरेको छैन । मलाई जसले नजिकबाट चिनेको छ उसले यस्तो कुरा गर्दैन । त्यसैले मलाई लाग्छ, जीवनरामजीको मेरो सफलता–असफतामा कुनै भूमिका छैन ।

० तपाईंले आफ्नो कार्यकाल ‘स्वर्णकाल’ हुने दाबी गर्नुभएको थियो, खै त्यस्तो त केही देखिँदैन, झन् विकृति–विसङ्गति मौलाएको छ खेलकुदमा ?
– तपाईं विश्वास गर्नुहोस्, ‘स्वर्णकाल’ सुरु भइसकेको छ । एक वर्षपछि त ‘हिराकाल’ नै हुन्छ । जिल्ला र पाँच विकास क्षेत्रमा जसरी भौतिक पूर्वाधारहरूको निर्माण भएको छ यसले यो कुरालाई पुष्टि गर्छ । राष्ट्रियस्तरमा भएका खेलकुदको गतिविधि, खेलाडीको सुविधा र भत्ता, राष्ट्रिय टिमको नियमित प्रशिक्षण र राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा नेपालले जितेको पदकको कुरा गर्दा मेरो कार्यकालमा कीर्तिमान कायम भएको छ । १२औँ साग होस् या भलिबलमा नेपाल पाएको अन्तर्राष्ट्रिय पदक यो स्वर्णकालको लक्षण होइन ? खालि तपाईंहरू दशरथ रंगाशालालाई मात्र हेरेर कुरा गर्नुहुन्छ । एकपटक जिल्ला र क्षेत्रमा गएर हेर्नुहोस्, त्यसपछि मैले केही बताइराख्नुपर्दैन, खेलकुदमा कति विकास भएको छ भनेर ।

० राखेपले थुप्रै छानबिन कमिटी बनाएको छ, उक्त छानबिन कमिटीले छानबिन गरी प्रतिवेदनसमेत बुझाएका छन्, तर राखेपले अहिलेसम्म कसैलाई कारबाही नगर्नुको कारण के होला ?
– कति कारबाही मेरो निकायबाट हुन्छ, कति माथिल्लो निकायबाट हुन्छ । माथिल्लो निकायबाट हुने कारबाहीका लागि मैले माथि पठाइसकेको छु, यहाँबाट गर्नुपर्ने कारबाही मैले निर्देशनबमोजिम गर्दै आएको छु । मैले अहिलेसम्म कुनै फाइल पेन्डिङमा राखेको छैन ।

० आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अर्को वर्ष नेपालगञ्जमा हुने भनिएको छ, के तोकिएरै समयमा हुन्छ त ?
– तपाईं लेखेर राख्नुहोस्, आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै समयमा हुन्छ, दुई वर्ष पनि कटाउँदैन, मङ्सिरभित्रै हुन्छ । तर, बजेटचाहिँ सरकारले समयमै दिनुपर्छ । सरकारले बजेट दियो भने हुन्छ, दिएन भने हुँदैन । फेरि त्यसमा हाम्रो दोष हुँदैन । हाम्रो कारण आठौँ रोकिन्न, रोकियो भने म सदस्यसचिवबाट राजीनामा दिन्छु ।

० नेपालले आगामी वर्ष आयोजना गर्ने १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को चर्चा अहिले जसरी चुलिएको छ, के नेपाल उक्त प्रतियोगिता आयोजना गर्न सक्षम छ ?
– १३औँ सागको आयोजना गर्न नेपाल सक्षम छ, तर त्यसका लागि सरकार तयार हुनुप¥यो । सरकार कटिबद्ध हुनुप¥यो, इच्छाशक्ति राख्नुप¥यो, वातावरण बनाउनुप¥यो, बजेट समयमै व्यवस्था गर्नुप¥यो, त्यसपछि आयोजनाका लागि चिन्ता गर्नुपर्ने कुरै आउँदैन ।

० भौतिक पूर्वाधारको कुनै टुङ्गो छैन, यस्तो अवस्थामा सरकारले बजेट दिए पनि १३औँ सागको आयोजना कसरी हुन्छ ?
– यस्तै अवस्थामा चाहिँ हुँदैन । नेपाल ओलम्पिक कमिटीको विवाद यस्तै रहने, बजेटको व्यवस्था पनि नहुने, वातावरण पनि नबनाउने, जसले जिम्मेवारी लिएका छन्, तिनीहरू सक्रिय नहुने भो भने कसरी हुन्छ साग ? हामी हुन्छ भनेर जति भने पनि त्यो भाषणमै सीमित हुन्छ । त्यसैले जसलाई १३औँ सागको जिम्मेवारी दिएको छ, त्यो समिति अगाडि बढ्नुपर्छ । सरकारले १३औँ सागको जिम्मेवारी खेलकुद मन्त्रालय, राखेपलाई दिएको छैन । त्यसको जिम्मेवारी प्रधानमन्त्रीको अध्यक्षतामा बसेको समितिले पाएको छ । दुर्भाग्य, त्यो समिति गठन भएपछि अहिलेसम्म एउटै बैठक बसेको छैन । मूल आयोजक समितिको बैठक पनि एकपटकभन्दा बढी बसेको छैन । यो अवधिमा हामीलाई दिएको निर्देशन पालना गरेका छौँ, १३औँ सागको सचिवालयको गठन भइसकेको छ ।

० असोजदेखि राष्ट्रिय टिमको प्रशिक्षण रोकिने हल्ला चलेको थियो, के सत्य हो ?
– रोक्नुपर्ने सुझाव आएको थियो, तर मैले नरोक्ने निर्णय गरेको छु । राष्ट्रिय टिमको प्रशिक्षण दशैँ, तिहारबाहेक १२ महिना निरन्तर चल्छ । मेरो कार्यकालसम्म रोकिँदैन ।

० तपाईंले आफ्नो दुईवर्षे कार्यकाललाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?
– सन्तुष्ट छु, पूर्ण सन्तुष्ट छैन । सुधार धेरै भएको छ, उपलब्धि धेरै भएका छन्, तर सोचेअनुरूप भएको छैन । यो कुरा म तथ्याङ्कसहित केही दिनमा प्रस्तुत हुनेछु ।

– श्रीविक्रम भण्डारी