चाडपर्वलाई मध्यनजर गरी डा.केसीको अनसन स्थगित

चाडपर्वलाई मध्यनजर गरी डा.केसीको अनसन स्थगित


त्रि.वि शिक्षण अस्पताल, महाराजगञ्जका हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीको अनसन स्थगित भएको छ । डा. केसीले चाडपर्वलाई मध्यनजर गरी अनसन स्थगित गरेको जनाइएको छ ।

उनले गत भदौ ११ गते प्रेस विज्ञप्ती जारी गरी नेशनल कलेजको सम्बन्ध खारेज नगरे यही भदौ २१ गतेदेखि १२ औं आमरण अनसन बस्ने चेतावनी दिएका थिए ।

साथै त्रि.वि कार्यकारी परिषद्को वैठकले काठमाडौको घट्टेकुलोस्थित नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज गरेसँगै डा. केसीले बुधबारदेखि बस्ने भनेको १२ औ अनसन स्थगित गरेका हुन् ।

शिक्षण अस्पताल महाराजगञ्जका डाक्टर गोविन्द केसीले अबको निशानामा आयल निगमका प्रमुख गोपाल खड्कालाई बनाउने बताएका छन् ।

यसैबीच, उनले आन्तरिक राजस्व विभागका निलम्बित प्रमुख डा. चूडामणि शर्मादेखि आयल निगमका प्रमुख गोपाल खड्कालाई निशाना बनाउने बताएका छन् ।

‘आन्तरिक राजस्व विभागका निलम्बित प्रमुखदेखि अरबौं भ्रष्टाचार र अनियमिततामा मुछिएका आयल निगमका प्रमुख गोपाल खड्का लगायत चिनिएका भ्रष्टहरुलाई राजनीतिक दलहरुले दिएको संरक्षणले भ्रष्टाचार र लुटतन्त्रलाई झनै बढावा दिएको,’ डा. केसीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

साथै उनले भनेका छन्, ‘सञ्चार माध्यममा प्रमाणसहित भ्रष्टाचारका विवरण आउँदा पनि सरकारले बर्खास्त नगर्नु र अख्तियारले समेत छानविन नगर्नुले निरपेक्ष दण्डहीनता सिर्जना गरेको छ ।

त्रिवि पदाधिकारीहरुको चर्को अनियमितताबारे दर्जनौं उजुरीहरु पर्दासमेत अख्तियारले छानविन अघि नबढाउनुले पनि संवैधानिक निकायको कार्य सम्पादनमाथि प्रश्न उठेको छ ।

यस्तो चौतर्फी भ्रष्टाचार र दण्डहीनता पनि हाम्रो अभियानको अबको चरणको निशाना बन्ने जानकारी गराउन चाहन्छौं ।’