राजधानीमै अवैध अस्पताल संचालनमा

राजधानीमै अवैध अस्पताल संचालनमा


-विशेष संवाददाता

राजधानीमा एक अस्पताल अवैध रुपमा संचालन भएको पाइएको छ । सरकारले अस्पताल संचालका निम्ति सम्बन्धन बन्द गरिरहेको बेला राजधानी स्थित कंलकीको स्यूचाटारमा ‘काठमाडौं सिटि हस्पिटल’ नाममा अवैध रुपमा अस्पताल संचालनमा ल्याइएको हो ।

उच्च स्रोतका अनुसार मध्यमाञ्चल क्षेत्रीय स्वाथ्य निर्देशनालयका महानिर्देशक डा.बासुदेव पाण्डेलाई अस्पतालका संचालक धुव्र प्रसाद गुप्ताले ६ महिना भित्र अस्पताल दर्ता गर्न भन्दै तीन लाख रुपैँया अतिरिक्त चढाएका थिए ।

स्रोतले भन्यो,‘६ महिना भित्र सम्वन्धन दिलाइदिने नाममा पाण्डेलाई घुस खुवाई गैर कानुनी रुपमा अस्पताल संचालन गरिएको हो ।’

तर यसबरेमा गुप्ताले भने अस्पताल संचालनमा नल्याएको बताउँदै घुस समेत नखुवाएको घटना र विचारलाई बताए ।

उनले भने,‘मैले अस्पताल गैरकानुनी रुपमा संचालनमा ल्याएको छैन्, संचालनको प्रक्रियामा छ, घुस खुवाएको भन्ने कुरामा कुनै सत्यता छैन ।’

यता महानिर्देशक पाण्डेलाई यसबारेमा पटकपटक सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आएनन् । पाण्डेको मोबाइल नम्वर ९८५१०६५४५१ मा सम्पर्क गर्दा उनले फोन उठाएनन्, बरु फोन काटे । संचालन अनुमती सम्बन्धमा गुप्तासँग बुझ्दा उनले प्रक्रियामा रहेको र संचालनको अनुमति पाइनसकेको घटना र विचारलाई बताए ।

गुप्ताले त्यसो भनेपनि अस्पताल संचालनमा ल्याईसकिएको छ र विहिवार विहान उनको अस्पतालमा तीन जन बिरामी भर्ना गरिएको पाइएको छ ।

स्रोतका अनुसार सो अस्पतालको आफ्नै भवन समेत नरहेको पाइएको छ । अस्पताल संचालनका निम्ति नीजि घर भाडामा लिई सो अस्पताल संचालनमा ल्याइएको छ ।

स्रोतले भन्यो,‘सो घर अस्पतालका निम्ति उपयुक्त छैन, भूकम्प प्रतिरोधी हुनुपर्ने सरकारको व्यवस्था भएपनि त्यस्तो देखिन्न ।’

यसरी सरकारले दर्ता रोकिरहेको बेला गैरकानुनी रुपमा अस्पताल चलेको प्रति स्वाथ्य मन्त्रालयले अनविज्ञता देखाएको छ ।

स्वाथ्यमन्त्री गिरिराजमणी पोखरेलले घटना र विचारसँग भने,‘यसबारेमा बल्ल जानकारी आयो, म बुझ्छु, त्यस्तो रहेछ भने तत्काल कारबाही गर्छु ।’

उता महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एएसपी दिवेश लोहनीले यसबारेमा अनुसन्धान गरी तत्काल कारबाहीको प्रक्रिया अघि बढाउने जानकारी दिए ।