‘मधेसको मुद्दा राष्ट्रिय मुद्दा हो’ निर्वाचनपछि फेरि संघर्ष गर्छौं: उपेन्द्र यादव

‘मधेसको मुद्दा राष्ट्रिय मुद्दा हो’ निर्वाचनपछि फेरि संघर्ष गर्छौं: उपेन्द्र यादव


संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसको माग पूरा गर्न फेरि संघर्ष हुने बताएका छन् । उनले निर्वाचन पछि फेरि मधेसको अधिकारका लागि संघर्ष गर्ने बताएका हुन् ।

वीरगन्जमा बिहिबार फोरम नेपाल पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले चुनावमा भाग लियो भन्दैमा मधेसको मुद्दा समाप्त भयो भनेर नठान्न चेतावनी दिए ।

‘मधेसको मुद्दा राष्ट्रिय मुद्दा हो, चुनाव लगत्तै मधेसका मुद्दा फेरि अगाडि आउँछ, त्यसका लागि संघर्ष पनि फेरि शुरु हुन्छ ।’ उनले भने ।  मधेसका मुद्दा, मधेसका माग संविधान संशोधन मार्फत सम्बोधन नभए सम्म जीवीतै रहने तर्क उनको छ ।

‘अहिलेको संविधानलाई गाईजात्रे संविधान हो, यो संविधानले मुलुकलाई गति दिन सक्दैन । संविधान संशोधन वा पूर्नलेखन नभएको खण्डमा खारेज नै हुन्छ ।’ संविधान त्रूटीपूर्ण रहेको कुरा संविधान जारी गर्नेहरुले पनि स्वीकार गरिसकेको भन्दै अध्यक्ष यादवले संविधान संशोधन वा पुर्नलेखन नभएसम्म सर्वस्वीकार्य हुनै नसक्ने ठोकुवा गरे ।

विगतका आन्दोलनबाट प्राप्त उपलब्धीहरु गणतन्त्र, संघीयता र समावेशीतालाई संस्थागत र रक्षा गर्नका लागि नै फोरम नेपालले ठूलो जोखीम मालेर चुनावमा भाग लिएको यादवले बताए ।

उनले पहिलो र दोस्रो चरणको चुनावमा भाग लिएको भनेर गाली गर्नेहरु नै अहिले चुनावमा आएर फोरम नेपालकै बाटोमा आएको उनले बताए ।

‘पहिलो र दोश्रो चरणको निर्वाचनमा भाग लिने निर्णय गर्‍यौं त्यतिबेला हामी माथि चारै तिरबाट अनेकन प्रहार भयो, गाली गलौज पनि गरियो, त्यति बेला हामीलाई तथानाम गाली गर्नेहरु अहिले हाम्रै बाटोमा तछाडमछाड गर्दै आईरहेका छन्’ उनले भने ‘यसले सही बाटोमा थियौ भन्ने प्रमाणित भएको छ । ’

अन्य दलका शिर्ष नेताहरुले जस्तै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि आसन्न स्थानीय तहको निर्वाचनमा फोरम नेपाल प्रदेश नम्बर २ को पहिलो राजनीतिक शक्ति बन्ने दाबी गरेका छन् ।

उनले बुधबार मनोनयनका दिन मधेसभर फोरम नेपाल प्रति देखिएको जनलहरले पनि त्यसलाई पुष्टी गर्ने दावी उनले गरे ।

प्रदेश नम्बर २ को प्रादेशिक राजधानी वीरगञ्ज हुन्छ कि हुँदैन ? भन्ने पत्रकारहरुको जिज्ञासामा फोरम नेपालका अध्यक्ष यादवले दुई नम्बर प्रदेशको राजधानी वीरगञ्ज वा जनकपुर कुन हुन्छ भनेर ठोकुवा गर्ने बेला अहिले नभएको प्रतिक्रिया दिए ।