बादल भन्छन्– ‘राज्य सत्ता पूँजीपति वर्गकै हातमा छ’

बादल भन्छन्– ‘राज्य सत्ता पूँजीपति वर्गकै हातमा छ’


सार्वजनिक कार्यक्रममा अत्यन्त कम देखापर्ने नेकपा (माओवादी (केन्द्र) का नेता रामबहादुर थापा ‘बादल’ शनिबार भक्तपुरमा उनकै पार्टीले आयोजना गरेको एक कार्यक्रममा वक्ताका रूपमा देखा परे । नेकपा (माओवादी केन्द्र), भक्तपुरले यहाँ आयोजना गरेको ‘बृहत राजनीतिक वैचारिक ध्रुवीकरण अभियान’ कार्यक्रममा वादलले आगामी असोज २ गते हुने प्रदेश नं २ को निर्वाचनमा आफ्नो पार्टी पहिलो हुने दाबी समेत गरेर उपस्थित श्रोतावर्गलाई रोमाञ्चित तुल्याए ।

कार्यक्रममा बादलले अझै पनि प्रतिगामी, जमिन्दारी र पूँजीपति वर्गकै हातमा राज्य सत्ता रहेको भन्दै जनताको हातमा राज्यसत्ता अझै नआएको जिकीर गरे । उनको भनाई प्रष्ट थियो कि माओवादी क्रान्ति अझै पनि अधूरै छ । क्रान्ति पूरा गर्न देशव्यापी पार्टी एकीकरण अभियान सुरु गरिएको जानकारी पनि उनले दिए ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपति तथा प्रधानमन्त्री रहने व्यवस्था हुनुपर्ने मागलाई पार्टीले सडक, सदन र सरकारबाट उठाउने उल्लेख गर्दै निर्वाचन प्रणालीमासमेत आमूल परिवर्तन आवश्यक रहेको तर्क गरेका बादलले भने– ‘पञ्चायती व्यवस्थाकै निर्वाचन प्रणालीका कारण निर्वाचनमा अस्थिरता आएको छ, भोट किनबेच भएको छ, पैसा भएका धनाढ्य र पूँजीपति मात्रै सरकारमा पुगेका छन्, पैसाबिना चुनावमा जानै नसक्ने अवस्थालाई हटाएर पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानु पर्छ ।’

माओवादी केन्द्रका भक्तपुर इन्चार्ज देवेन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नयाँ शक्ति पार्टीका भक्तपुर जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य ओम वाग्लेको नेतृत्वमा सिंगो जिल्ला कमिटी विलय हुनुका साथै केन्द्रीय तथा जिल्लाका ६५ जना र नेकपा माओवादी (विप्लब) समूहका मजदुर नेता युवराज आचार्यको नेतृत्वमा ७२ जना माओवादी केन्द्रमा प्रवेश गरेका राससले जनाएको छ ।