‘प्रधानमन्त्री मेरो देशबाट पठाइदिऊँ’ भन्दा के जवाफ दिने

‘प्रधानमन्त्री मेरो देशबाट पठाइदिऊँ’ भन्दा के जवाफ दिने


-वसन्तराज कुँवर
कम्बोडियामा काम गर्दा थाइल्यान्डको बोर्डरमा पर्ने समुद्रमा पौडी खेल्न साथीभाइसँग जाने कार्यक्रमअनुसार राजधानी नोम्पेनबाट झन्डै चार सय किलोमिटर पश्चिमतर्फ लागियो । बाटो अति नै खतरनाक थियो । जङ्गलैजङ्गल भएर जाँदा जताततै बम भएको सङ्केतसहित खोपडी भएका राता चिह्नहरू देखिन्थे । बाटाबाटामा सुरक्षाकर्मीहरू ए.के.४७ बन्दुक लिएर लापरबाही ढङ्गले बसेका हुन्थे । उनीहरूले गाडी रोक्दा केही नोट गाडीबाट झारिदिनुपथ्र्यो । उनीहरूको तलब कम हुँदा बाटामा आउने-जाने सबै गाडीसँग पैसा उठाउँथे । हामीहरू लामो यात्रा तय गरी सुन्दर सेता बालुवा किनार भएको समुद्री तटमा पुग्यौँ । त्यहाँ कोही थिएनन् । हामी एक्लै खुब नुहायौँ । केही स्थानीय गाउँलेहरूको डुङ्गा पनि रहेछ । मछुवाराहरूको डुङ्गा किनारमा देखी हामीले बोलायौँ । हाम्रो अनुरोधमा एक मछुवाराले आफ्नो काठको डुङ्गा ल्याए । त्यो डुङ्गामा साना-साना पानी जमाइएका पोखरीजस्ता पनि थिए जहाँ ज्युँदो माछाहरू खेलिरहेका थिए । ती माछाहरू लामो समय नबिग्रियून् भनेर समुद्रबाट समात्नेबित्तिकै त्यहाँ राखिएका हुँदा रहेछन् । मछुवाराले ती माछाहरू त्यही डुङ्गामा पकाएर खुवाउँदो पनि रहेछ । हामीले पनि खायौँ । त्यहाँ माछा मार्ने बल्छीहरू पनि थिए । हामीले माछा पनि मारिहाल्ने विचार गर्‍यौँ र बल्छी समुद्रमा खसाल्यौँ । केहीबेरमै बल्छीको धागो एक्कासि तानियो र हामीलाई माछाले बल्छी खाएको थाहा भयो । बल्छीको धागो तन्किन थालेपछि मछुवारा दौडेर आयो र बल्छीको डण्डी आफ्नो हातमा लियो । मचाहिँ अब यसले तानिहालोस् भन्ने कामना गर्दै थिएँ । माछा कत्रो होला भन्ने कुतूहल थियो । उसले माछा तान्न बिल्कुलै हतार गरेन । उसले माछालाई जता मन लाग्यो त्यतै जान दिन्थ्यो र अलि पर नै पुगेपछि मात्र थोरै तान्थ्यो । बेलाबेलामा माछाका केही भाग एकैछिनका लागि पानीको सहतमा देखिन्थ्यो । हामी उत्साहित हुन्थ्यौँ । छिटो तानिहालोस् भन्ने हामी चाहान्थ्यौँ तर त्यो मछुवारा बिल्कुलै उत्साहित थिएन । उसले चुरोट सल्कायो । एक हातले चुरोट खाँदै अर्को हातले माछालाई नियन्त्रण गरिरह्यो । हामी बेलाबेलामा उसको अनुहार हेरिरहन्थ्यौँ तर ऊ हाम्रो उत्साहको बिल्कुल पर्वाह गरिरहेको थिएन । झन्डै २० मिनेट यसरी नै बित्यो । अब माछा पहिलेजस्तो भाग्न छोड्यो । ऊ सतहमा कुनै बल नदेखाई बल्छीसँगै बहन थाल्यो । त्यसपछि त्यो मछुवाराले चुरोट समुद्रमा फाल्यो र बिस्तारै दुवै हात लगाई धर्ैयसँग माछालाई तान्यो । पानीबाट थकित गलित माछा चुपचाप बाहिर देखियो । झन्डै १० किलोको त्यो माछोले खासै प्रतिकार गरेन । माछा पानीबाट बाहिर आउँदा एकपटक जोडले पुच्छर हल्लायो तर ऊ डुङ्गाभित्र लगभग आइसकेको थियो । त्यो माछो डुङ्गाको काठको सतहमा केहीबेर चल्यो । मछुवाराले मुखमा फसेको काँटा निकाल्यो र माछालाई डुङ्गाभित्रै रहेको पोखरीमा झार्‍यो । त्यो माछो बन्द भएको त्यो पोखरीमा फेरि यताउता चल्न थाल्यो ।
त्यस माछालाई त्यो मछुवाराले हतार नगरी निकालेको कारण उसलाई गलाएर प्रतिकार गर्न नसक्ने अवस्थामा पुर्‍याउनु नै रहेछ । पहिल्यै तानेको भए त्यसले डोरी नै छिनाइदिन पनि सक्नेरहेछ । माछाभित्र रहेको सम्पूर्ण शक्ति समाप्त गरेर शिथिल, थकित र आत्मर्समर्पणको अवस्थामा पुर्‍याएर आफ्नो नियन्त्रणमा लिन त्यो मछुवाराले यति लामो समय लिएका रहेछन् । आखिरमा उसले त्यसलाई आफ्नो नियन्त्रणमा लिएर भोजन गरिछोड्यो । तर, पनि त्यो माछालाई भने केहीबेर लागेको थियो होला कि म फुत्कन सक्छु, भाग्न सक्छु वा डोरी तोड्न सक्छु † तर मछुवारा पनि अनुभवी थियो । उसले प्रतिकारभन्दा पनि आफू शान्त बसी नियन्त्रणभित्र राख्दै उसलाई थकाउने काम मात्र गर्‍यो । जब माछाले आत्मर्समर्पण गर्‍यो तब मात्र उसले तान्यो ।
यो घटना घटेको झन्डै १७ वर्ष भयो । लगभग त्यो घटनालाई मैले बिर्सी पनि सकेको थिएँ तर हालै संसद्मा प्रधानमन्त्री चुन्ने प्रक्रियाले मलाई त्यो घटनाको पुनः सम्झना गरायो । प्रचण्ड र रामचन्द्र पौडेललाई एमालेले बल्छीमा पारेर खुव थकाएका दृश्यले मलाई त्यो पल याद दिलायो । प्रचण्ड त थाकेर आत्मर्समर्पण गरे फलस्वरूप माथि तानिए र बल्छीबाट बाहिरिए, तर बिचरा रामचन्द्र पौडेलको भने सके मुखमा बल्छी लिएरै भाग्ने, नसके डोरी चुँडाउने वा बल्छी फुकाउने प्रयास अझै देखिन्छ । तर चतुर मछुवारारूपी एमालेले भने आनन्दसँग रामचन्द्रलाई गलाउने रणनीति छोडेको देखिँदैन । यो पक्का छ एक दिन रामचन्द्र पनि सतहमा उत्रने छन्, भाग्नेसम्मको साहस उनको बाँकी रहने छैन । जतिसक्यो छिटो आत्मर्समर्पण गरेर अर्को सानो पोखरीमै भए पनि बाँच्न प्रयास गर्नु रामचन्द्रका लागि पनि उचित हुने पङ्क्तिकारको राय छ ।
भियतनाममा अन्तर्राष्ट्रिय एक गोष्ठीमा भाग लिन जाँदा अफगानिस्तानबाट आएका एक उच्च सरकारी अधिकृतले नेपालमा प्रधानमन्त्री चयन हुन नसकेको समाचार पढेका रहेछन् । उनले मलाई देख्नेबित्तिकै भने, ‘हो साथी त्रि्रो देशमा प्रधानमन्त्री छान्नै सकेको छैन रे, के हामी अफगानिस्थानबाट कसैलाई प्रधानमन्त्री बन्न पठाइदिऊँ -‘ उनको यस्तो कुरा सुनेर वरिपरि रहेका अरू देशका साथीहरू पनि खुब हाँसे तर मलाई भने भित्रभित्र खुव नरमाइलो लाग्यो । नरमाइलो लाग्नु पनि स्वाभाविकै थियो । जापानमा एकैछिनमा प्रधानमन्त्री परिवर्तन हुन्छन्, देशको कुनै पनि क्षेत्रलाई केही प्रभाव पर्दैन । कर्मचारीतन्त्रमा सरुवा, बढुवा, खोसुवा भएझैं राजनीतिमा पनि आउने-जाने एक साधारण प्रक्रिया हो । त्यो सहज ढङ्गले हुनुपथ्र्यो तर नेपालमा कुनै कुरा सहज ढङ्गले भइरहेको छैन । यो तमासा अफगानिस्थानका नागरिकहरूलाईसमेत थाहा भएकोमा मलाई साँच्चिकै नरमाइलो लाग्यो ।
भियतनामबाट फर्किएपछि अब म पनि प्रधानमन्त्रीको चयनसँग प्रत्यक्ष सरोकार राख्ने व्यक्ति हुन पुगेको छु । पहिला म यस कुरामा कुनै चासो राख्थिनँ तर अफगानी साथीले नेपाल भनेकै म नै हुँ जस्तो गरेर प्रधानमन्त्रीको उम्मेदवार उसकै देशबाट पठाइदिऊँ भनिसकेपछिचाहिँ मेरो पनि इख जाग्यो । म पनि सोच्न थालेंँ कि अब रामचन्द्रलाई प्रधानमन्त्री बनाउने नाममा जगत हँसाइरहनु जरुरी छैन । यस्तो स्थितिमा उनी कसरी प्रधानमन्त्री होलान् जब कि हरेकपटक उनको आफ्नै पार्टीको समेत र्समर्थक घट्दै छन् । यदि उनी प्रधानमन्त्री भए नै पनि विश्वासको मत कसरी पाउलान् – पाए पनि यो सरकार कसरी चल्ला – चले पनि त्यसले राष्ट्रिय सहमति कसरी जुटाउला र संविधान बन्ला – यस्तो अप्ठ्यारो अवस्थाबाट गुज्रिनुपर्ने अवस्था भएको बेला काङ्ग्रेसले बार-बार रामचन्द्रलाई अगाडि सारी थकाउने गलाउने काममा समय फाल्नु ठीक होइन – मेरो विचारमा अब रामचन्द्रले नमाने पनि काङ्ग्रेसले आफैं डण्डी समातेर उनलाई यो बल्छीरूपी चुनावी प्रक्रियाबाट बाहिर ल्याइदिनुपर्छ नत्र पानीमै मृत्यु हुन पनि सक्छ । हो, त्यसपछि काङ्ग्रेस तथा अन्य पार्टीले नयाँ उम्मेदवार उतार्नुपर्छ । मेरो विचारमा अहिले प्रधानमन्त्रीका लागि चारजना नेताहरू प्रधानमन्त्रीको रूपमा अगाडि ल्याउन सकिन्छ । ती हुन्, पहिलो काङ्ग्रेसको चित्रलेखा यादव र गगन थापा, दोस्रो माओवादीका बाबुराम भट्टाराई र तेस्रो एमालेका प्रदीप ज्ञवाली ।
काङ्ग्रेसबाट मैले चित्रलेखा यादवलाई छानेको कारण उनको साधा जीवन, निष्कलङ्क छवि, उच्च विचार, काङ्ग्रेसको चुनावमा ल्याएको भोट र जनआन्दोलनमा रत्नपार्कमा गएर सभामुखको भूमिका निभाएका कारणले हो । उनी देशको असल र समन्वय गर्न सक्ने प्रधानमन्त्री हुन सक्छिन् । गगन थापा छान्नुको कारण उनले केन्द्रीय सदस्यमा ल्याएको अत्यधिक मत र अन्य दलहरूसँग पनि समझदारी कायम गर्न खेलेको भूमिकाले हो । उनी विद्यार्थीकालदेखि प्रजातन्त्रवादी भएको प्रमाण पेस गरिसकेका छन् र आन्दोलनको नेतृत्व पनि गरेर देखाएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा विश्वास जित्दै आएका गगन थापा अहिलेको काङ्ग्रेसबाट हुनसक्ने मैले देखेको दोस्रो प्रधानमन्त्रीका लागि लायक व्यक्ति हुन् । कमिसन, घुस, नातावाद, कृपावाद, आशीर्वादका भरमा मात्र नआएका गगन थापालाई अमेरिकामा ओबामाका पार्टीले कम उमेरका ओबामालाई अगाडि बढाएझैं बढाउन आँट गर्ने हो भने त्यो निर्णय काङ्ग्रेसको भविष्यका लागि फाइदै पुग्न सक्छ । गगन थापा र चित्रलेखा दुवैले राज्य सञ्चालन र आर्थिक विकासको मुद्दामा भने आफू अगाडि नबढी विशेषज्ञहरूको कुरा मान्नुपर्छ ।
माओवादीवाट प्रधानमन्त्री हुन लायक मैले देखेको व्यक्ति डा. बाबुराम भट्टराईबाहेक अरू कोही छैनन् । उनले उपप्रधानमन्त्री भएर पनि स्वच्छ छवि देखाई आफ्नो विद्वता नेपाल र विदेशसामु प्रमाणित गरिसकेका छन् । उनी पार्टीको लाइनमा बोल्ने क्रममा कहिलेकाहीँ मूर्खजस्ता देखिए पनि ती व्यक्तिसँग देशको आर्थिक रूपान्तरण गर्ने केही मौलिक सोचहरू छन् । यदि माओवादी सिद्धान्त नै लगाएर अगाडि बढ्छु भनी हतियारमै विश्वास गरेर बसे त उनले पनि केही गर्न सक्ने छैनन् । जसरी हिटलरले ज्युजहरूलाई मार्ने प्रस्ताव राख्दा कसरी मार्दा छिटो हुन्छ भनी सल्लाह दिने समितिमा झन्डै ५ जना डाक्टर थिए र तिनका फोटो इजरायलको होलोकोस्ट म्युजियममा अहिले पनि राखिएको छ जहाँ सबैले तिनलाई घृणाको दृष्टिले हेर्छन् । त्यसैगरी यदि डा. भट्टराईले पनि हतियार, सेना, वाईसीएल, जग्गा कब्जा भन्नेमै मात्र विश्वास गरे त उनको सफलता सम्भव छैन । तर यदि त्यो दर्शनले मलाई यहाँसम्म ल्यायो र अबचाहिँ नयाँ दर्शनको साथ अगाडि जानुपर्छ भन्ने सोचको साथ अघि बढ्ने हो भने डा. बाबुराम भट्टराई देशका लागि नयाँ प्रधानमन्त्री हुन लायक छन् । एमालेमा त्यस्ता उम्मेदवार खास कोही देखिँदैनन् । त्यहाँ आन्तरिक विवाद बढी छ तर एक व्यक्ति जसको नाम प्रदीप ज्ञवाली छ उनी सन्तुलित र सहकार्य गरी अघि बढ्न सक्ने व्यक्तिका रूपमा देखिन्छन् । शान्तिसम्झौता गराउन दलहरूबीच समन्वय गर्न सफल भएका ज्ञवाली पनि मेरो विचारमा एमालेका सही उम्मेदवार हुन सक्छन् । झलनाथ भन्ने बित्तिकै केपीलाई ज्वरो आउने र केपी भन्नेबित्तिकै वामदेवलाई बान्ता हुने स्थितिमा यी व्यक्तिहरूबाट उम्मेदवारी छान्न कठिन नै हुनेछ । आफ्नै पार्टीभित्रै विश्वास नभएकाहरूले कसरी अरूलाई समेट्न सक्छन् – यस स्थितिमा अन्य साना पार्टीबाट दिने हो भने सधैं स्पष्ट विचार राखी अगाडि बढ्ने चित्रबहादुर केसी, नारायणमान बिजुक्छे पनि सही व्यक्ति हुन सक्छन् । परराष्ट्रलाई मध्यनजर राख्ने हो भने डा. भेषबहादुर थापालाई बिर्सन सकिन्न । नागरिक समाजबाट थुप्रै हुन सक्छन् ।
जसलाई ल्याएर भए पनि अहिले जगत् हँसाउने प्रधानमन्त्रीको खेल बन्द गरी मेरो विचारमा माथिका व्यक्तिहरूको बीचबाट नयाँ प्रधानमन्त्रीको चयन गर्नु उचित हुन सक्छ नत्र हामीहरू जुन देशमा पुग्यो त्यहाँका नागरिकहरूले ‘प्रधानमन्त्री छान्न सकेनछौँ के मेरो देशबाट कसैलाई पठाइदिऊँ -‘ भनी सोध्न सक्छन्, जसको जवाफ हामीसँग छैन ।