फेरि एकपटक हङकङको सेरोफेरो (भाग चार)

फेरि एकपटक हङकङको सेरोफेरो (भाग चार)


दिन बित्न के बेर लाग्छ र ? हङकङ आएको पनि १० दिन हुन आँट्यो । आज २५ अगस्तको दिन, हाम्रो मकाउ घुम्न जाने दिन । यो भ्रमणको योजना पनि छोरीले नै मिलाएकी थिईन् । छोरीजुँवाइलाई मकाउको सिटी अफ ड्रिम्समा पोहोरदेखि प्रदर्शन भइरहेको “डान्सिङ विथ हाउस अफ वाटर” हेर्ने धोको रहेछ । यो विश्वमा नै सबैभन्दा ठूलो पानीको आफ्नै खाले डान्सिङ थिएटर पोहोर साल मात्र खोलिएको रहेछ । छोरीले हामी हङकङ आउनुअघि नै त्यो शो हेर्नका लागि पहिले नै टिकट बुक गरेकी रहिछिन् । एउटा टिकटको मूल्य नै १३८० हङकङ डलरसम्म पर्दोरहेछ । छोरीले जनही ८६० डलर पर्ने चार जनाका लागि टिकट र जाने आउने फेरीको टिकट रकम तिरेर बुक गरेकी रहिछिन् । धेरै खर्च गरेको देखेर श्रीमतीले छोरीलाई मितव्ययीता हुनुपर्छ, पैसा धेरै खर्च सर्न हुँदैन भनेर सम्झाउन थालेकी थिईन् तर मैले समय समयमा अनुभव र केही बुझ्नका लागि पैसा खर्च गर्दा केही फरक पर्दैन भनेर छोरीलाई धन्यवाद दिएको थिएँ । छोरी खुशीले फुरुङ भईन् । मेरो पहिलो सन्तान मात्र नभई परिवारकै पहिलो छोरी भएर नै होला, छोरीप्रति मेरो मनमा बेला-बखत अगाध स्नेह उर्लेर आउँछ । एक्लै हिँडिरहँदा “बाबा” भनेर बोलाए झै लाग्छ र कहिलेकाहीँ झस्किन्छु । किनभने बच्चाहरु धेरै समयदेखि होस्टल राखेर पढाएकोले गर्दा हामीसँग छोराछोरी लगातार धेरै बसेका छैनन् । छोरा आठ वर्षदेखि होस्टल बस्न थालेको हो । अहिले उनी २५ वर्षको भइसकिन् । हामीबाट पर्ढाईको लागि छुट्नु परेको झण्डै १६ वर्ष नाघी सक्यो । यी छोराछोरीका मायाले गर्दा नै यिनीहरुका भविष्य र आफ्नो भविष्य सुनिश्चित सर्न यसरी विदेशिएको पनि तीन दशक नाघिसक्यो । म मात्र नभई प्रायः नेपालीहरु यसरी नै विदेशिएका होलान् भनेर सम्झन्छु । प्रत्येक बुवाआमाका अनुभूतिहरु सन्तानले पनि बुझिदिए बल्ल जीवन र्सार्थक हुन्छ जस्तो लाग्छ मलाई । यहाँ, भन्नुपर्दा म आफ्नो सन्तानहरुबाट पूर्णरुपमा सन्तुष्ट छु । आफ्नो बच्चाले प्रायोजित गरेको भ्रमणमा म र श्रीमती मक्ख थियौ । हाम्रो फेरीबाट जाने समय ठिक बारह बजे थियो । त्यसैले बिहान आबेरसम्म सुत्यौ र विस्तारै मकाउ जानलाई तयार हुन थालेका थियौ । दिन घमइलो थियो । दिनको तापक्रम ३२ डिग्री सेल्सियस र कतिपय ठाउँहरुमा ३५ डिग्रीसम्म पुग्ने कुरा टिभीबाट बिहान मौसमसम्बन्धी प्रसारण गरेको थियो । हल्का खाना एघार बजेतिर खायौ र साढे एघार बजे हामी चारजना छोरीजुँवाइ र हामी दम्पती ओसियन टर्मिनलतिर लाग्यौं ।

ओसियन टर्मिनलको एक छेउमा अध्यागमन विभाग र चाइनाफेरी टर्मिनल छन् । समुन्द्रबाट यात्रा गरेर जानेहरुका लागि जेटबोट चढेर मकाउ, जुहाई तथा अन्य गन्तव्यहरुमा जानको लागि एउटा टर्मिनलको स्थापना गरेको छ । अर्कोतर्फ स्टारफेरीको छेउमाभने ठूलठूला जहाजहरुकालागि र्टर्मिनल निर्माण गरेको छ । मकाउ जानकालागि हङकङको स्थाइ आईडी कार्डवाहकहरुलाई आईडी कार्डको स्लोटमा आईडी कार्ड हालेर बूढीऔला स्क्यान गर्ने ठाउँमा राख्नसाथ पस्ने द्वार स्वतः खुल्दछ किनभने कार्डवाहकका विवरण आईडीकार्डमा जडान गरिएको सानो कम्प्युटर चिप्सभित्र राखिएको हुन्छ । यसबाट अध्यागमनविभागका रेकर्डमा हाम्रो हङकङभित्रको आवागमनको सिस्टममा स्वतः रेकर्ड रहन जान्छ । कम्प्युटरको युगमा विकसित राष्ट्रहरुले प्रत्येक कोणबाट फायदा उठाइरहेका छन् । १२ बज्न १० मिनटमात्र थियो, हामी फटाफट अध्यागमनबाट छिरेर १२ बजे प्रस्थान हुने जेटबोटभित्र छिर्‍यौ । झण्डै डेढसयजति अटाउने जेटबोटभित्र पस्नेबित्तिकै जेटबोटको इन्जिन स्टार्ट भएर तेज रफ्तारमा हङकङ आइल्याण्डका अग्ला अग्ला बिल्डिङहरुलाई बाँया छाड्दै समुन्द्रमाथि चल्न थाल्यो । बोटको रफ्तार नै जेटको गतिमा चल्ने भएकोलेगर्दा जेटबोट भनिएको होला । एक घण्टाभित्र हामीलाई सुन्दर शहर मकाउको ताइपा आइल्याण्डको फेरीमा पुर्‍यायो । टाढैबाट मकाउको नयाँ-नयाँ भवनहरु र मुख्य प्रयाद्वीपलाई जोडिने पुल र सडकमार्ग टाढैबाट देखियो । हामी अब एकैछिनपछि मकाउ अध्यागमन छिरेर मकाउमा प्रवेश गर्नेछौ । हङकङको आईडी वाहकलाई यहाँ भीसा लिनुपर्ने आवश्यकता पर्दैन, तर, चीनमा जानकोलागि अग्रिम भीसा लिनुपर्ने हुन्छ । नीलो समुन्द्रमाथि जेटबोटको तेज रफ्तारमा पनि मैले बाहिरका दृष्यहरु नछुटाई हेर्दै थिएँ, तर, जुवाइ, छोरी र श्रीमती बोट चल्न थालेको एकैछिनमा निदाएका थिए । मकाउको ताइपा आउनसाथ मैले उनीहरुलाई उठाएँ । केहीसय वर्ष पोर्तुगालीहरुका उपनिवेश रहेको मकाउलाई अधिनमा गर्नुअघि सबैभन्दा पहिले पोर्तुगालीहरुले यही ताइपा द्वीपलाई कब्जामा लिएका लिए ।

यूरोपेली राष्ट्रहरुमा पोर्तुगालले उपनिवेश जमाएको सबैभन्दा पहिलो राष्ट्र र सबैभन्दा अन्तमा आफ्नो अधीनबाट स्वतन्त्र गरेको भूभाग नै मकाउ हो । सौह्रौ शताब्दीमा पोर्तुगालीहरु पहिलोचोटि व्यापारका लागि मकाउमा स्थपित भएका थिए त्यसपछि कालान्तरमा यसलाई आफ्नो उपनिवेश कायम गरेर अधिपत्य जमाएको थियो । चीनको गुवाङजो प्रान्तको दक्षिणमा, साउथ चाइना समुन्द्रमा अवस्थित हङकङ र मकाउ चीनका विशेष प्रशाकीय क्षेत्रहरु हुन । चीनले यी दुईक्षेत्रलाई एउटा देश दुई शासन प्रणालीको आधारमा विशेष अधिकार दिएर व्यवस्था मिलाएको छ । चीनका लागि सम्पन्न र अति विकसित विदेशीहरुद्वारा शताब्दियौ शासित मकाउ र हङकङलाई फूलको रुपमा उपहारस्वरुप ग्रहण गरेर “कमल” र बहुनिया फूलको प्रतिक मानेको छन् । यर्सथ मकाउ र हङकङको राष्ट्रिय प्रतीक चिन्ह अनुरुप झण्डा र सरकारी चिन्ह क्रमशः कमल र बहुनिया फूलहरु छन् । अब आउने २०४७ सालसम्म हङकङमा र सन् २०४९ सालसम्म मकाउमा हालको प्रशासन व्यवस्थाअन्तर्गत कायम रहनेछ । त्यसपछि चिनीयाँ सरकारले यी दुई विशेष प्रशासकीय क्षेत्र माथिको व्यवस्थापन र कानून भविष्यमा निर्धारण गर्नेछ । प्रसँग मकाउ भ्रमण भएको हुनाले मकाउबारे केही आँखाले देखेका र बुझेका जानकारी पाठकहरु समक्ष राख्दै छु । सौह्रो शताब्दीभन्दा पहिले हालको मकाउलाई हाओजिङ अथवा जिङर्घाई (समन्द्रको दर्पण)को नामले चिनिन्थ्यो, तर, पोर्तुगालीहरु पहिलोचोटि मकाउमा आउँदा एउटा मन्दिर माल गोक (अ मा मन्दिर)को परिसरभित्र प्रवेश गरेका थिए । त्यहाँ भएका मानिसहरुलाई सोध्दा माल गोक भनेकाले यसलाई अप्रभंश गर्राई पोर्तुगालीहरुले मकाउ नाम दिएका हुन् भन्ने जनश्रुती छ । हालको चिनीयाँ बोलीमा मकाउको अर्थ भित्रीद्वार बुझाउँछ । मकाउकोर् इतिहास धेरै पुरानो छ । मकाउको भुभागमा यिशुखृष्ट पूर्वको चिनवंश, त्यसपछिका सोङ र मिङ वंशका पालासम्म यसको महत्व छुट्टै रहेको थियो । सोह्रौ शताब्दिताका पोर्तुगालीहरुले भाडामा केही जग्गा ५०० टील चाँदी वारि्षक शुल्क तिरेर व्यापारका लागि लिएका थिए । सोह्रौ शताब्दीताका मकाउबाट चिनीयाँ मानिसहरुलाई ओसारपसार गरेर दासको रुपमा पोर्तुगालमा बेच्न लाने गर्थे । यहीबाट हजारौ मानिसहरुलाई दासको रुपमा लगेर पोर्तुगालको राजधानी, लिस्बनमा बेच्ने गर्थे । तर, पछि १९ फरवरी १६२४मा पर्तुगालका राजाले चिनीयाँ मानिसहरुलाई दासको रुपमा बेचविखन गर्ने कुरामाथि रोक लगाएका थिए ।

यसरी व्यापारको सिलसिलामा पसेका पर्तुगालीहरुले अफिम युद्धपछि पहिले ताइपा द्वीप अनि कोलायनलाई आफ्नो कब्जामा राख्न सफल भयो । सन् १८८७ सालको सिनोपोर्तुगाली सन्धिपछि चीन सरकारले मकाउ पोर्तुगाललाई दिएको थियो । गुवाङजोको दक्षिणमा, साउथ चाइना समुन्द्रमा बसेको सुन्दर शहरको हालको मुख्य व्यावसाय पर्यटन र जुवा हो । संयुक्त राष्ट्र अमेरिकाका लास भेगासलाई मातदिने क्यासिनो र जुवाघरहरु मकाउको मुख्य आकार्षण हो । यसपालीको मकाउ भ्रमणसँग म मकाउ आएको तेस्रो पटक हो । हामी अध्यागमनबाट बाहिर निस्कँदा क्यासिनोहरुमा ग्राहकहरु लैजाने शटलबसहरुका लस्कर देखियो । मकाउको एउटा राम्रो पक्ष के छ भने मकाउमा खुट्टा टेक्ने बित्तिकै विभिन्न ठाउँमा खोलेका होटल र क्यासिनोहरुमा सित्तैमा यात्रुहरु ओसारपसार गर्ने आ-आफ्ना क्यासिनो होटलका शटल बसहरु पर्खिरहेका हुन्छन । हामी स्वर्ण रंग कमल फूलको अकारमा बनेको लिस्बो, मकाउको एउटा सुन्दर होटल क्यासिनोमा जाने विचार गर्‍यौ किनभने यो मकाउ प्रायद्वीपको बीचभागमा अवस्थित छ । यो होटल क्यासिनो मकाउका तथा एसियाकै धनाढ्य, कैयौ होटल क्यासिनोहरुका मालिक स्टानली होले सन् १९६० ताका निर्माण गरेका हुन् । सन् १९७०मा १२ तल्ले गोलाकार लिस्बो होटल उनले निर्माण गरेका थिए । कुनैबेला स्टानली होका नाम मकाउमा होटल र क्यासिनोका लागि एउटा पर्याय बनेको थियो, तर, अहिले भेनेसिया तथा अन्य धेरै क्यासिनोहोटलहरु निर्माण भइसकेका छन् । यस शहरमा पैसा बोकेर भाग्य अजमाउन जुवा खेल्नका लागि संसारभरिका मानिसहरु ओइरिन्छन् । लाखौ मानिसहरु पर्यटकका हैसियतले आउनेहरु पनि एकपटक क्यासिनोभित्र पसेर हेर्छन र पैसाको छेलोखेलो देख्दा अचम्भित हुन्छन् । केही पैसा भाग्य अजमाउन अवश्य नै च्याँखे थाप्ने गर्छन । ताईपामा अध्यागमनबाट बाहिर निस्केपछि हामी लिस्बोको शटलबस चढेर लिस्बो आइपुग्यौ । छोरीले हतार हतार फोटाहरु खिच्न थालिन् । भ्रमणमा जाँदा प्रायः सबैले नयाँ सुन्दर ठाउँको दृष्या देख्ने बित्तिकै फोटो खिच्छन् । हामी धेरैबेर बसेनौ त्यहाँ । हामी त्यहाँबाट नजिकै रहेको सेन्ट पाल गिरजाघरको भग्नावशेष र मकाउ म्युजियम हेर्न जाने योजना रहेकोले लिस्बोबाट पैदल हिँडेर बजारहरु हेर्दै गिरजाघरतर्फ गयौ । विख्यात किल्लाको छेउमा जहाँ अहिले मकाउ म्युजियम स्थापित छ, पोर्तुगालीहरुले सन् १५८० मा त्यो गिरजाघरको निर्माण गरेका रहेछन् । तर, सन् १५९५ र १६०१मा यो गिरजाघरमा आगलागी भएर ध्वंश भएको रहेछ । पछि पुनः १६०२मा यो गिरजाघरको निर्माण गरिएको थियो, तर, यो फेरि लगत्तै आगलागी भएर ध्वंश भएको थियो भनिन्छ । अहिले त्यही गिरजाघरको एकतिरको पर्खालको भाग अवशेषको रुपमा जिर्णोद्वार गरी खडा गरेर राखिएको छ । सबैभन्दा बढी पर्यटकहरु यहाँ पुग्ने गर्छन् । गिरजाघर पुग्नुअघिको सानो गल्लीका पसलहरुमा मकाउमा बन्ने विशेष चिनीयाँ केक र माँसुलाई गुलियो मिसाएर पेलेको सुकेका माँसु बेच्छन् । हामीले त्यहाँबाट कोसेलीका लागि केही केक, गुलियो सुकेका माँसु किन्यौ र माथि गिरजाघरमा गयौं । निकै फोटाहरु खिचेपछि गिरजाघरको तल्लो भागमा अवस्थित गिरजाघरको इतिहास, चित्रहरु र पुराना समानहरुले सजिएका सानो म्युजियम हेर्‍यौ । यतिबेला दिनको २ बज्न आँटेको थियो । हामी त्यसपछि छेवैको मकाउ म्युजियम हेर्न केही उकालो चढ्यौ । मकाउको क्षेत्रफल सानो छ । माथि किल्लाबाट लगभग प्रत्यक्ष मकाउका निकै ठूलोभाग देख्न सकिन्छ । किल्लामा जानको लागि गिरजाघरलाई देब्रे पारेर अलि माथिपुग्दा म्युजियमसम्म पुग्ने स्केलेटरको निर्माणले बूढाबूढी र अस्वस्थ व्यक्तिहरुलाई समेत माथि किल्लासम्म पुग्न केही समस्या हुँदैन । सामुदायिक चर्पिघर गिरजाघरको छेवैमा उकालो लाग्ने ठाउँमा बनाएका रहेछन् । हङकङ र मकाउमा यूरोपमा जस्तो ट्वाइलेट प्रयोगगर्दा पैसा तिर्नु पर्दैन । ट्वाइलेट घरहरु एकदमै व्यवस्थित र सफा पाइन्छन् । हामी आजको दिनभरिमा मकाउका सबैभाग घुम्न सक्ने थिएन, तर, सक्दो छेउछाउका ठाउँहरु हेरेर पारी अर्को द्वीप, कोटाइमा रहेको भेनेसियान होटल, क्यासिनो र सिटी अफ ड्रिम्समा जानुपर्ने थियो । साँझ आजबजे सिटी अफ ड्रिम्समा प्रस्तुत भइरहेको “डान्सिङ विथ हाउस अफ वाटर” हेर्ने कार्यक्रम थियो । टाढैबाट देखिने मकाउ टावर हेर्ने धोको हुँदाहुँदै पनि हाम्रो त्यहाँ जाने समय थिएन । हामी चारैजना मकाउ म्युजियम हेर्न माथि किल्लातर्फ लाग्यौ । पाँच मिनटभित्र हामी स्केलेटर चढेर म्युजियमभित्र पुग्यौ । जनही १५ पताका (मकाउको मुद्रालाई पताका भन्दछ) तिरेर म्युजियम भित्र प्रवेश गर्यौ । यसपटकसँग म्युजियमभित्र प्रवेश गरेको मेरो र श्रीमतीको दोश्रोपल्ट थियो, तर, जुँवाइ र छोरीका लागि यो पहिलो पटक थियो । मकाउका पुरानो इतिहास, यूरोपेली नाविकहरुका वृतान्त, उहिलेका वाणिज्य व्यापारका मार्गहरु, मकाउ क्षेत्रमा विशेष व्यापारका लागि महत्वपुर्ण वस्तुहरु बारेका विवरणहरु, चित्रहरु, ढाँचाहरु र वृत्तचित्रको माध्यमबाट प्रस्तुत गरेको छ । एकपटक यस म्युजियममा आएपछि लगभग मकाउको बारेमा पुरानो जानकारी पाइन्छ । कोठा चोटा घुम्दै हामी माथिल्लो भागमा पुग्दा मेरै गाउँको एकजना भीमराज गुरुङका छोरालाई सुरक्षा गार्डको हैसियतमा काम गरिरहेका भेट्टाएँ । उनी आजभन्दा तीनवर्ष पहिले म त्यहाँपुग्दा सुरक्षागार्डको रुपमा काम गरिरहेका देखेको थिएँ । अहिले पनि त्यही काम गर्दै रहेछन् । केहीबेर कुरा गरेर हामी म्युजियम भित्रबाट बाहिर किल्लामा पुग्यौ । चारैतिर मध्यकालीन समयमा निर्माण गरेका ठूलठूला तोपहरु किल्लाका चारैतिर चारैदिशामा लक्षित गरेर खडा गरेर राखेका छन् । त्यो सानो पहाडी किल्लाबाट देखिने सुन्दर मकाउ प्रायद्वीपका दृष्याहरु लिएर निकै फोटाहरु खिच्यौ । त्यहाँबाट ग्राण्ड लिस्बो होटल तथा क्यासिनो एकदमै सुन्दर देखिन्छ । गभर्नर नोबर डि कारभाल्लो ब्रिजद्वारा ताइपा तथा अन्य टापुहरुलाई मुख्य भुभागसँग जोडिएको छ । राती यसपुलबाट देखिने मकाउ शहर, मकाउ टावर र वरिपरिका दृष्याहरु अति नै मनमोहक देखिन्छन् । फेरि अर्को भागमा …..