प्लमस्टिडमा ग्रहशान्ति पूजा

प्लमस्टिडमा ग्रहशान्ति पूजा


लण्डन । हिजो आइतबार, कोन्वे रोड, प्लमस्टिडस्थित सेन्ट पैट्रिक हलमा अत्यन्त भव्यताका साथ दक्षिणपूर्व क्षेत्रीय तमूधिं, लण्डनले ग्रहशान्ति पूजाको आयोजना गरिएको थियो । झण्डै दुई सय जति श्रद्धालुहरुका उपस्थितिमा महायानी बुद्ध धर्मको परम्पराअनुसार विद्वान धर्मगुरु बिर्खा लामा र उनका सहयोगी लामाले विधिवत् पूजा दिनको १२ बजेदेखि शुरु गरेका थिए । यस पूजाको संयोजन दक्षिणपूर्व क्षेत्रीय तमू धिं लण्डनका सल्लाहकार सुमल कुमार गुरुङले गरेका थिए । ग्रहशान्ति पूजाका लागि त्यस क्षेत्रमा बस्दै आएका श्रद्धालुहरुले अन्यन्त भक्ति भाव दर्शाउँदै खानपान र पूजाको खर्चको लागि मन खोलेर सहयोग गरेका थिए । यस पूजाले त्यहाँका बासिन्दाहरुका ऐक्यबद्धता र सामाजिक एकताको गरिमामय भाव प्रदर्शित भइरहेको थियो । धर्म गुरुले गुरुङहरुको ल्होछार र ग्रहशान्तिबारे प्रकाश पारेका थिए । कार्यक्रमलाई योगेश गुरुङले अन्यन्त प्रभावशाली शैलीमा सञ्चालन गरेका थिए । सम्पूर्ण पूजामा सहभागीहरुका नामावली र त्यस पूजालाई विभिन्न कोणबाट प्रायोजन गरेका महानुभावहरुका नामको सूची र प्रायोजित विषयलाई पावरप्वोइन्टबाट प्रोजेक्टरबाट हालमा उपस्थित श्रद्धालुहरुलाई देखाइएको थियो । ग्रह शान्तिका लागि ल्याएका सद्बिउद्वारा सामूहिक ग्रह काटेपछि एकसय आठ बत्ती प्रज्वलन गरेका थिए । कार्यक्रम समापन हुनुअघि कार्यक्रमका संयोजक सुमल कुमार गुरुङले स्वागत मन्तव्य प्रकट गर्ने क्रममा पूजाको औचित्य र धर्मको बारेमा संक्षिप्त प्रकाश पारेका थिए । दपूक्षे, तमूधि, लण्डनका उपाध्यक्ष हिराप्रसद गुरुङले उपस्थित सबैलाई धन्यावाद ज्ञापन गरेका थिए । कार्यक्रमको दोस्रो चरणमा सूर्य गुरुङले उद्घोष गर्दै योगेश गुरुङलाई सहयोग गरेका थिए । यसै क्रममा, सामुदायिक भवन निर्माण व्यवस्थापन समितिका संयोजक श्रीचन्द्र गुरुङले भवन निर्माणको योजनाबारे प्रकाश पारेका थिए । पूजाकै अवसरमा सामुदायिक भवन निर्माणका लागि पनि चन्ददाताहरुले चन्दा दिएका थिए । ती चन्ददाताहरुलाई कार्यक्रमको दौरान सम्मान गर्दै प्रशंसापत्र तथा खादा ओढाएर सम्मानित पनि गरेका थिए । श्रद्धालुहरु र धर्मगुरुहरु सबै मिलेर सामूहिक रुपमा भगवना बुद्धको स्तुति गाएका थिए । त्यसपछि संयोजक सुमल कुमार गुरुङ र उपाध्यक्ष हिराप्रसाद गुरुङले धर्मगुरुहरुलाई खादा, पूष्प गुच्छा तथा दक्षिणा दिएर पूजा समापन गरिएको थियो । सुमल, मेस ।