नेपाली समुदाय र पत्रकारबीच अन्तरक्रिया हुने

नेपाली समुदाय र पत्रकारबीच अन्तरक्रिया हुने


लण्डन । नेपाल पत्रकार महासंघ, बेलायत शाखाले बेलायतस्थित नेपाली समुदाय र पत्रकारिताबीचको सम्बन्ध बलियो बनाउन समुदायसित विभिन्न अन्तरक्रिया गर्ने भएको छ ।
शाखाका अध्यक्ष नविन पोखरेलको अध्यक्षतामा शनिबार सम्पन्न बैठकले यूकेस्थित नेपाली संघसंस्थाहरु, नेपाली मिडिया सञ्चालकहरु तथा यूकेमा हुर्कँदै गरेका नेपाली नयाँ पुस्तासित विभिन्न चरणमा अन्तरक्रिया र छलफल गर्ने निर्णय गरेको हो । नेपाली संघसंस्थाहरुसित अन्तरक्रिया कार्यक्रमको संयोजन गर्न कोषाध्यक्ष लीलामान शेरपुञ्जालाई, मिडिया सञ्चालकहरुसित छलफलको संयोजन गर्न वरिष्ठ उपाध्यक्ष चिरन शर्मा (देवराज आचार्य)लाई र नयाँ पुस्तासित छलफलको संयोजन गर्न महासचिव नरेश खपाङ्गीमगरलाई बैठकले जिम्मा दिएको छ । यस्तै, शाखाले आयोजना गर्न लागेको गालीबेइज्जती तथा गोपनीयताको हकबारे बेलायती कानून विषयक छलफलको संयोजन गर्न अध्यक्ष नविन पोखरेललाई तोकिएको छ भने स्मारिका प्रकाशनको लागि महासचिव नरेश खपाङ्गीमगरको संयोजकत्वमा सदस्यद्वय श्याम लुइँटेल र नारायण पौडेल रहेको एक समिति बनाइएको छ ।
बैठकमा पत्रकारहरुको क्षमता विकासका लागि स्थापना गर्न लागिएको कोषका लागि शाखा र गैरआवासीय नेपाली महासंघ, यूकेबीच भएको प्रारम्भिक समझदारीका बारेमा जानकारी गराइएको थियो । सो समझदारीलाई मूर्तरुप दिन बनाइने विनियमावलीका लागि शाखाको तर्फबाट भगिरथ योगीको संयोजकत्वमा उपाध्यक्ष दिनेशकुमार परियार र सदस्य नारायण पौडेल सदस्य रहेको एक समिति बनाइएको छ ।
शाखाको भैपरी आउने कामका लागि अध्यक्ष नविन पोखरेल, वरिष्ठ उपाध्यक्ष चिरन शर्मा (देवराज आचार्य), महासचिव नरेश खपाङ्गीमगर, कोषाध्यक्ष लीलामान शेरपुञ्जा र सदस्य श्याम लुइँटेल रहेको पाँच सदस्सीय सचिवालय गठन गरिएको छ । यसैगरी, उपाध्यक्ष दिनेशकुमार परियारको संयोजकत्वमा प्रशिक्षण उपसमिति, सचिव धर्मराज अधिकारीको संयोजकत्वमा विदेश उपसमिति, कोषाध्यक्ष लीलामान शेरपुञ्जाको अध्यक्षतामा आर्थिक उपसमिति, सदस्य मिलन शर्माको संयोजकत्वमा कल्याणकारी कार्य उपसमिति र सदस्य नारायण पौडेलको संयोजकत्वमा जनसम्पर्क उपसमिति गठन गरिएको छ ।
शाखाका तर्फबाट शशी पौडेल, विपिन निरौला, केशबबहादुर श्रेष्ठ, हरिकाजी गुरुङ र दीपक न्यौपानेलाई केन्द्रीय सभासद चयन गरिएको छ भने भगिरथ योगी, बालमुकुन्द जोशी, डा. चन्द्र लक्सम्बा र चण्डिराज राईलाई सल्लाहकार चुनिएको छ ।
हाल अस्वस्थ अवस्थामा रहेका पत्रकार रमेश चालिसेको उपचारका लागि महासंघ, केन्द्रीय समितिले शुरु गरेको अभियानमा शाखाका तर्फबाट एकसय पाउण्ड सहयोग गर्ने निर्णय गरिएको छ भने बेलायतका नेपाली साहित्यकार, समाजसेवी ईश्वर मानन्धरको असामयिक निधनप्रति शोक प्रस्ताव पारित गरिएको छ ।
बैठकमा गत जनवरी १४ मा सम्पन्न अधिवेसन पूर्ण रुपमा सफल भएको निष्कर्ष निकाल्दै अधिवेशन सफल पार्न सहयोग गर्ने निर्वाचन समिति, साउथ लण्डन कलेजका डाइरेक्टर राजन कँडेल, एनडब्लुसी रेडिङ कलेज, नेपाली दूताबास, लण्डन, नेपाल पत्रकार महासंघ र केन्द्रीय अध्यक्ष शिव गाउँले, रारा रेस्टुरेन्ट तथा सम्पूर्ण संघसंस्था तथा व्यक्तिहरुलाई धन्यवाद दिने निर्णय गरिएको छ ।
बैठकमा निर्वाचन समितिका संयोजक भगिरथ योगीले निर्वाचनसम्बन्धी कागजात अध्यक्षमार्फत समितिलाई हस्तान्तरण गरेभने आर्थिक समितिका संयोजक चिरन शर्माले कोषाध्यक्ष लीलामान शेरपुञ्जालाई आर्थिक हरहिसाब हस्तान्तरण गरे ।
बैठकमा नेपालबाट आएका त्रिभुवन विश्वविद्यालय केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभागका पूर्व प्रमुख सहप्राध्यापक बद्रि पौड्याल, अन्नपूर्ण पोस्ट दैनिकका पत्रकार पीताम्बर सिग्देल, सामुदायिक वन उपभोक्ता महासंघ नेपालका पूर्व अध्यक्ष घनश्याम पाण्डे र दिलराज खनालबीच परिचयात्मक कार्यक्रम पनि भएको थियो ।
-नरेश खपाङ्गीमगर