“सरकारले स्वास्थ्य सेवामा खेलवाड गरेको छ ।” उक्त कुरा स्वास्थ्य सेवासम्वन्धी थिङ्क ट्याङ्क लान्सेटले गत सोमवार सार्वजनिक गरेको हो । आफ्नो अनुसन्धान रिपोर्ट सार्वजनिक गर्दै लण्डन स्कूल अफ हाइजिन एण्ड ट्रोपिकल मेडिसिन (लान्सेट)का प्रोफेसर निक ल्बाकले जनताले जति कर तिर्दछन् त्यति राष्ट्रिय स्वास्थ्य सेवामार्फत सेवा प्राप्त नगरेको दावी गरेका छन् ।
राष्ट्रिय स्वास्थ्य सेवा सुधारका निम्ति अध्यादेश आउने कुरा सार्वजनिक भएपछि स्वास्थ्य सेवासम्वन्धी थिङ्क ट्याङ्क लान्सेटले यसबारे अनुसन्धान गरेको थियो । रिपोर्टमा भनिएको छ सर्वसाधारण जनताले यसै पनि आवश्यकताअनुसार सेवा प्राप्त नगरेको वर्तमान अवस्थामा संशोधन प्रस्तावले झनै सर्वसाधारण जनतालाई स्वास्थ्य सेवा किन्नुपर्ने अवस्थाको विकास गराउने छ ।
यदि आन्द्रेउ लेस्लीको राष्ट्रिय स्वास्थ्य सेवा सुधारको प्रस्ताव अध्यादेशका रुपमा संसदबाट पास भयो भने सर्वसाधारण जनताले पाइआएको निःशुल्क स्वास्थ्य सेवा प्राप्त गर्ने छैनन् । अथवा हरेक व्यक्तिले व्यक्तिगत रुपमा स्वास्थ्य सेवाका लागि विमा गर्नुपर्ने हुनेछ र यूरोपका अन्य मुलुकहरुमा भन्दा बेलायतमा स्वास्थ्य सेवा कमजोर हुनेछ ।
सरकारी पक्षले विगत दश वर्षमा राष्ट्रिय स्वास्थ्य सेवाको सेवास्तर १५ प्रतिशतले घटेकाले सुधार ल्याउन आवश्यक भएको दावी गरेको छ ।
सरकार साझेदारी पार्टी लिवरल डेमोक्रटिक पार्टीभित्र भने जसरी आजभन्दा ठीक १५ महिनाअघि विश्वविद्यालयको शुल्क बृध्दिको प्रस्तावप्रति बिभाजन देखा परेको थियो ठीक त्यस्तैगरी अहिले राष्ट्रिय स्वास्थ्य सेवा संशोधन गर्ने प्रस्तावमाथि दुईमत देखा परेको छ । पार्टी नेता एवं उप प्रधानमन्त्री निक ल्केग हरतरहले स्वास्थ्यमन्त्री अन्द्रेउ लेस्लीको एनएचएस रिफर्म अध्यादेशको प्रस्तावलाई बचाऊ गर्दै आइरहेका छन् । अर्कोतिर लिवडेमका माथिल्लो नेतृत्वमा रहेका डेपुटी लिडर साइमन हृयूजले यदि आन्द्रेउ लेस्लीले प्रस्तुत गरेको अध्यादेशको प्रस्ताव पारित भयो भने डेविड क्यामरुनले स्वास्थ्यमन्त्री अन्द्रेउ लेस्लीलाई मन्त्री मण्डलबाट हटाउनुपर्ने माग गरेका छन् । बीबीसीद्वारा संचालित आन्द्रेउ मार शोमा बोल्दै साइमन हृयूजले ‘म के प्रष्ट छु भने आन्द्रेउ लेस्लीको अध्यादेश प्रस्ताव खारेज गर्नुपर्छ । किनभने मेरो राजनैतिक अनुभवअनुसार आधाभन्दा बढी संसद सदस्यहरु यसको विरोधमा छन् ।’
स्वास्थ्य मन्त्रालयको केयर सर्भिस एवं. मानसिक रोग र अपांग विभाग हेर्ने राज्यमन्त्री पाउल ब्रुस्टोभ प्रस्तावप्रति सकारात्मक देखिन्नन् । हुनतः “मौनम् सम्मति लक्षणम्” भन्ने भनाइलाई हेर्ने हो भने उनले सार्वजनिक रुपमा यसबारे केही बोलेका छैनन् । तर पार्टीभित्र उनले यदि स्वास्थ्यमन्त्री आन्द्रेउ लेस्लीको प्रस्ताव पारित भएमा गल्ती हुन सक्ने तर्क गर्दै आएका छन् ।
स्वास्थ्यमन्त्री आन्द्रेउ लेस्लीको सुधार प्रस्तावभित्र छोटकरीमा भन्दा राष्ट्रिय स्वास्थ्य सेवाका लागि राष्ट्रिय बजेट कट्टा गर्ने, अस्पतालहरुलाई प्राइभेटाइजेसन गर्ने र अस्पताललाई प्रतिस्पर्धात्मक मुनाफा कमाउने कम्पनीका रुपमा स्थापित गर्ने रहेको छ ।
बेलायती वर्तमान सरकारका संशोधन नवीकरण एवं पुनः निर्माण गर्ने कार्यक्रमहरुमध्ये सबैभन्दा विवादित रहेको राष्ट्रिय स्वास्थ्य सेवाको संशोधन गर्ने प्रस्तावमाथि प्रधानमन्त्री डेविड क्यामरुनले पनि अन्ततः टिप्पणी गरेका छन् । हुनत राष्ट्रिय स्वास्थ्य सेवालाई संशोधन गर्नुपर्छ भन्ने प्रस्ताव झण्डै २५ वर्षअघि पूर्व प्रधानमन्त्री मार्गरेट थ्याचरको पालादेखि आएको हो र लेडी थ्याचरले नै यसको प्राइमेटाइजेसन शुरु गरेकी थिईन् । थ्याचरपछिको कन्जरभेटिभ पार्टीको नेतृत्वमा गठित सरकार जोन मेजरको पालामा यसलाई निरन्तरता दिइए पनि थ्याचरको योजनाअनुरुप प्रस्तावित सुधार अगाडि बढ्न सकेन ।
‘म पनि आन्द्रेउ लेस्लीको पक्षमा छु’ गत आइतवार प्रधानमन्त्री डेविड क्यामरुनले उक्त कुरा बोलेका हुन् । आन्द्रेउ लेस्लीको पक्षमा डेविड क्यामरुन हुनु नौलो कुरा होइन किनभने अन्द्रेउ लेस्ली डेविड क्यामरुनले बनाएका स्वास्थ्यमन्त्री हुन् र उनले मार्गरेट थ्याचरकै पालामा ल्याइएको स्वास्थ्य सेवालाई प्राइभेटाइजेसन गर्न शुरु गरेको कार्यक्रमलाई समेत समेटी एनएचएस रिफोर्म प्रस्ताव अगाडि सारेका छन् । प्रधानमन्त्री डेविड क्यामरुन र स्वास्थ्यमन्त्री आन्द्रेउ लेस्ली, यी दुवै मुलाको ड्याङ एउटै हो ।
उता प्रतिपक्ष पार्टीका नेता एड मिलिव्याण्डले गत सोमवार प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको समयमा संंसदमा आन्द्रेउ लेस्लीले ल्याएको राष्ट्रिय स्वास्थ्य सेवा सुधारको प्रस्तावित कार्यक्रम फिर्ता लिन माग गरेका छन् । एड मिलिव्याण्डका दावीअनुसार ९८ प्रतिशत (जीपी) जनरल प्राक्टिसनरहरु सुधार कार्यक्रम प्रस्तावका बिरुद्ध छन् भने डेविड क्यामरुनले चाहिं हजारौं जीपी पक्षमा रहेको बताउँदै आएका छन् । अर्कोतिर बेलायतका विलिनियर कम्पनीहरुजस्तै म्याककिन्सी भने सुधारको पक्षमा रहेको र उसले एनएचएस सेवामा १०६ विलियन बजेटको प्रस्तावसमेत अघि सारेको छ ।
मिलिजुली सरकारभित्रको अर्को पार्टी लिवडेम भने आन्द्रेउ लेस्लीको प्रस्तावमा विभाजित देखिनु र आफ्नै मन्त्रालयभित्र आफ्नो प्रस्तावमा एकमत हुन नसकेपछि स्वास्थ्यमन्त्री लेस्लीले आफ्नो प्रस्ताव माथिल्लो सदन हाउस अफ लर्डमा लैजाने प्रयत्नमा रहेका छन् । हाउस अफ लर्डमा यस प्रकारको फलामको च्युरा चबाउन सहज हुनेछ किनभने माथिल्लो सदनमा बस्ने व्यक्तिहरु शतप्रतिशत माथिल्लो वर्गबाट आएका हुन्छन् र उनीहरुले आफ्नो स्वास्थ्य सेवा यसै पनि महंगा अस्पतालबाट लिने गरेका हुन्छन् । उनीहरुलाई सेवा व्यक्तिगत हुनुले कुनै असर पार्ने छैन, त्यसैले हाउस अफ लर्डबाट भने उक्त प्रस्ताव सहजै पारित हुने छ ।
Author can be reached at [email protected]
प्रतिक्रिया