दलका नेताहरूले गरेको ‘गोप्य वार्ता’ कति सान्दर्भिक ?

दलका नेताहरूले गरेको ‘गोप्य वार्ता’ कति सान्दर्भिक ?


w आकृति दाहाल
प्रधानमन्त्रीको निर्वाचन नै लगभग डेढ दर्जनपटक फोस्रो भइसकेको अवस्थामा नेपालका राजनीतिक दलहरूबीच विश्वासको वातावरण कति धमिलिएको छ भन्ने बुझ्न गाह्रो पर्दैन । यस्तो परिस्थितिमा सहमतिको अत्यन्त ठूलो दरकार पर्छ । तर, जति सहमति र सहकार्य आवश्यक परिरहेको छ त्यति नै राजनीतिक खिचातानी र आपसी कटुतामा बढोत्तरी भइरहेको छ । दलहरूबीच या त छलफल नै नहुने, वार्ताको वातावरण नै नबन्ने या चाहिँ भएका छलफल र वार्ताहरू निष्फल सावित हुने उपक्रम यहाँ दोहोरिएका छन् । गोप्यताको कमीले पो यसरी वार्ता र छलफलहरू निष्फल बनेका हुन् कि भन्ने नेताहरूलाई महसुस भएर होला उनीहरूले गोप्यस्थलमा वार्ता गर्न चाहेका । ठीकै छ, मिडियाकै कारण वार्ता सफल हुन नसकेको हो भने गोप्य नै गर्न दिऊँ न त । तर, अब पनि कुनै ठोस निचोड निकाल्न नेताहरू सफल हुँदैनन् भने हाम्रा राजनीतिक नेतृत्व अक्षम र नालायक नै हुन् भन्ने पुष्टि हुन्छ । यर्सथ, दलका नेताहरूबीच भएको गोप्य वार्तालाई खासै अनौठो र अस्वाभाविक रूपमा हेर्नुपर्छ जस्तो मलाई लाग्दैन । कुरा यत्ति मात्र हो कि रिसोर्ट मात्र घुम्ने तर हातमा लाग्यो शून्य भयो भनेचाहिँ यिनले दल र देशको नेतृत्व गर्ने नैतिक दायित्व गुमाउने छन्, जनताले जमेर विरोध गर्नुपर्छ त्यतिबेला, यत्ति भन्न चाहन्छु म ।

w प्रतीक पाण्डे
नमच्चिने पिङको सय झड्का भन्ने उखान बाबु-बाजेले त्यसै प्रचलनमा ल्याएका होइनन् । आज यो उखान हाम्रा राजनीतिक दलका नेताका लागि ठ्याक्कै मिल्न पुगेको छ । के-के न गर्र्छौं भन्ने नेताहरू आज हावा खाइरहेका छन् । वार्तारूपी मोही मथेर यिनले घ्यू निकाल्न सक्थे भने उहिल्यै निस्किसक्थ्यो । जनआन्दोलन-२ सफल भइसकेको पनि यतिका वर्ष बितिसक्यो, तर राजतन्त्रको समाप्तिबाहेक अरू केही गर्न सकेका छैनन् । भएकोलाई फाल्नु मात्र बहादुरी होइन होला, फालेको ठाउँमा त्योभन्दा राम्रो स्थापना गर्न सक्नु नै महानता हो । तर, यहाँ त भएको पनि गयो, नयाँ आउने सुरसार पनि बिग्रिएको अवस्था छ । कहिले के भन्छन् त कहिले के, आफ्नो हुति नै छैन अर्कालाई दोष दिने प्रवृत्ति यहाँ हाबी भएको छ । लुकेर वार्ता गर्दैमा केही हुनेवाला छैन, नेता तिनै हुन्, बुद्धि त्यही हो । हात्तीवनमा गरे पनि मुसाचौरमा गरे पनि कुरा उही हो ।

w टीकाप्रसाद आचार्य
गोप्य वार्ताबाट स्वादिलै खिचडी पाक्न लागेको दाबी नेताहरूले गरेका छन्, तर हिजोका नजिरहरूको पुनरावलोकन गर्दा यस्तो दाबी फोस्रो नै हो भनी अहिले नै दाबी गर्न सकिन्छ । हात्ती आयो हात्ती आयो फुस्सा भनेझैं भइसक्यो हात्तीवन र गोकर्णको गोप्य वार्ता । अब त यस्तो लाग्न थालिसक्यो कि आफ्नो जीवनकालमा नयाँ संविधान देख्न नपाइने नै भयो । गोप्य गरे पनि खुला भए पनि हाम्रा नेताका बुद्धिको घ्याम्पोमा घाम लागेन । मेरो विचारमा नेताहरूको गोप्य वार्ताको कुनै औचित्य छैन, यस्ता तुक नभएका नेताले वार्ताको नाटक नै नगरेे हुन्छ ।

w परमात्मा पोखरेल
राजनीतिक काममा कतिपय अवस्थामा गोप्य गर्नुपर्ने परिस्थिति पनि आउन सक्छ भन्ने मान्यताका आधारमा भन्नुपर्दा दलीय नेतृत्वले गरेको गोप्य वार्तालाई असान्दर्भिक भन्न नसकिएला । तर, यतिबेला नेताहरूले खोजेको गोप्यताको अर्थ नबुझेर म त रनभुल्ल परेको छु । उनीहरूको आशय बुझ्दा कुनै पनि निर्णय गर्न उनीहरूलाई मिडियाले एकदम डिर्स्र्टभ गरेको रहेछ भनेझँै लाग्छ, तर यो हास्यास्पद र तर्कहीन छ । लुकेर छलफल गर्नुपर्ने मुद्दा नै होइन अहिलेको, बरु टुँडिखेलमा बसी वरिपरि जनतालाई राखेर वार्ता गर्नुपर्ने हो यतिबेला । त्यसो गर्दा नेताहरू को-कसले के कुरा गर्दारहेछन्, कसले कस्तो तर्क झिक्दोरहेछ भन्ने आमजनताले स्पष्ट देख्न र बुझ्न पाउँथे । सम्भव भए त्यसमा आफ्नो सुझाब पनि थप्ने थिए नागरिकहरूले । यसरी गोप्य वार्ता गरेर नेताहरूले कुनै महत्त्वपूर्ण काम गरेझैँ लाग्दैन मलाई त ।

w आभा भट्टराई
नेपालका राजनीतिक दल र नेताहरूको तौर-तरिका या व्यवहार पटक्कै समय सुहाउँदो नभएकोले मैले त राजनीतिक कुरामा त्यति चासो राख्ने गरेकी नै छैन । तैपनि यदाकदा सुनिन्छ, बुझ्न नचाहँदानचाहँदै पनि कतिपय कुरा बुझिन्छ । हालै नेताहरूले गोप्य वार्ता गरे भन्ने पनि सुनिएको कुरा हो । आपसमा राजनीतिक मेलजोल नै नराख्ने नेताहरू यसरी गोप्य वार्ता गर्न एकै ठाउँमा भेला हुनु पनि राम्रै कुरा हो । जिम्मेवार नेताहरूको मन माझियो भने छलफल र निर्णयहरू पनि सकारात्मक नै आउन सक्छ । गोप्य गर्नुको अर्थ मन माझ्नु नै त होला नि । यस हिसाबमा त म गोप्य वार्तालाई राम्रै ठान्छु । साथसाथै देश र जनताको हित हुने निर्णय गर्न नेताहरूलाई सफलता मिलोस् भन्ने कामना पनि गर्दछु ।

w नयनबहादुर साउद
गोप्य गरून् या खुल्ला- यी नेताहरूले केही लछारपाटो लगाउन सक्लान् भन्ने मलाई लाग्दैन । हामीले धेरै हेरिसक्यौँ, धेरै भोगिसक्यौँ, देश झन्-झन् ओरालो लाग्दै छ । हामीजस्ता युवाहरूलाई निकम्मा तुल्याइँदो छ । जे कुरामा पनि राजनीति हाबी भएकोले सबै क्षेत्र तहसनहस छ । यस्तो अवस्थामा जहाँसुकै गएर वार्ता गरे पनि हामीलाई के – आजका यी नेता होइनन् खुराफाती अभिनेता मात्र हुन् । जसरी सिनेमामा सब कुरा देखावटी हुन्छन् त्यस्तै हो यिनीहरूको व्यवहार पनि ।