स्वदेश तथा विदेशबाट आउने फोन कल निगरानीमा कडाई

स्वदेश तथा विदेशबाट आउने फोन कल निगरानीमा कडाई


स्वदेशत तथा विदेशबाट नेपालमा गरिने टेलिफोन कलबापतको आम्दानीमा गिरावट आएपछि सरकारले अब फोन कलको निगरानीमा कडाई गर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले अन्तर्राष्ट्रिय तथा स्थानीय टेलिफोन कलको अनुगमन गरी कलबाइपास गरि अबैध कारोबार गर्नेलाई समेत नियन्त्रणमा लिने उदेश्यले सो निगरानी बढाएको जनाएको छ । कहाँबाट के कति टेलिफोन कल हुन्छ त्यसको यकिन तथ्याङक राख्ने भन्दै प्राधिकरणले अन्तर्राष्ट्रिय तथा स्थानीय कलको ‘ट्राफिक’ अनुगमन गर्ने तयारी गरेको हो ।

यसका लागि प्राधिकरणले सेवा प्रदायकसँग सहकार्य गरी केन्द्रीय प्रणाली स्थापना गर्ने प्रवक्ता मिनप्रसाद अर्यालले बताए । उनले भनेका छन्,‘कल ट्राफिक अनुगमनका लागि आवश्यक हार्डवेयर र सफ्टवेयर प्रणाली जडान गर्न विदेशी परामर्शदातासँग आवेदन माग गरेका छौँ ।’

सञ्चालनमा रहेका ६ ओटा दूरसञ्चार सेवा प्रदायकले अन्तर्राष्ट्रिय कलबापत प्राप्त गर्ने कुल आम्दानी गतवर्ष घटेको प्राधिकरणको तथ्याङक छ । यससम्बन्धमा व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिको यही असोज ९ गते बसेको बैठकले चासो जनाउँदै अन्तर्राष्ट्रिय कलको अनुगमन गर्न निर्देशन पनि दिएको थियो ।

सफ्टवेयर जडानपछि अन्तर्राष्ट्रिय तथा स्थानीय कलको वास्तविक तथ्याङक सहित आम्दानी घट्नुको कारण पत्ता लाग्ने अर्यालले जानकारी दिए । अन्तर्राष्ट्रिय कलबापतको वास्तविक आम्दानी न्युन देखाएर राज्यलाई कम कर तिर्ने प्रवृत्ति यस्तो प्रणाली सञ्चालनमा आएपछि निरुत्साहित हुने प्राधिकरणको ठहर रहेको छ ।

कल बाइपासका रूपमा चिनिने यस्ता अवैध कलपत्ता लगाउने गरी केन्द्रीय प्रणाली तयार गरिएको हो । नेपालमा सञ्चालनमा रहेका दूरसञ्चार सेवा प्रदायकको नेटवर्क प्रयोगरी विदेशबाट सस्तोमा कल भित्राएर अर्बौं रकम विगतमा राज्यलाई घाटा लागेको थियो ।

कल बाइपास गरी अन्तर्राष्ट्रिय कल नेपाल भित्राएका घटना नेपाल प्रहरीले समय समयमा सार्वजनिक गरिरहेको हुन्छ । प्राधिकरणले त्यस्ता अवैध कल पत्ता लगाउन पनि आफ्नो केन्द्रीय प्रणाली प्रयोग गर्नेछ ।  प्राधिकरणले लोकल तथा नेपालबाट बाहिर र बाहिरबाट नेपाल आउने कलको आम्दानी बाँध्ने गरी नियमनका लगि प्रविधि जडान गर्न प्रस्ताव माग गरेको छ । प्राधिकरणले अन्तर्राष्ट्रिय कल, कल बाइपास, आन्तरिक कल नियमनसम्बन्धी प्रविधि जडान गर्न उपयुक्त कम्पनी छनोट गर्ने प्रक्रिया अगाडि बढाएको हो ।

३० दिनभित्र आवेदन दिएका कम्पनीमध्येबाटै संक्षिप्त सूची तयार पारेर उपयुक्त कम्पनीका लागि प्रस्ताव माग गर्ने तयारी गरिएको प्राधिकरणका प्रवक्ता अर्यालले बताएका छन्। नयाँ प्रविधिको विकासले टेलिकम सेवाप्रदायक कम्पनीको अवैध कल सञ्चालन गर्ने नियमनमा आउने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कल ट्राफिक म्यानेजमेन्ट सहज गराउनेलगायत उद्देश्यले ‘कल मोनिटरिङ तथा एन्टी फ्रड सिस्टमु राख्न खोजिएको अर्यालले जानकारी दिएका छन् । टेलिकमको अघिल्लो वर्षको अन्तर्राष्ट्रिय कलबापत ११ अर्ब ५० करोड रुपैयाँ अम्दानी भएकोमा गत वर्ष ९ अर्ब रुपैयाँ मात्र आम्दानी भएको जनाएको छ ।