-काङमाङ नरेश राई
जीवन के हो भनेर कसैले कसैलाई प्रश्न गरे फरक-फरक उत्तरहरु आउने गर्छ । मलाई लाग्छ -जीवन भनेको बुझेर बुझन नसकिने यात्रा हो । यात्रको क्रममा अघि बढिरहेको बेला बटुलेका अनुभव र अनुभूति नै जीवनको एउटा धरातल हो । फेरि प्रश्नहरु गाँसिन सक्छ जीवन कसले बनाउँछ ? परिबेश, समाजसँग बाच्दै मान्छेको जीवन मान्छेले नै बनाउँछ । सायद समाजले चेप्टाएर चोप्टो बनाउँदो हो । परिबेशले थिचेर गाह्रौ बनाउँदो हो । बर्गीय बिभाजनले गरिब र धनी बनाउँदो हो । कुनै समयमा जीवन उदासी बन्दो हो त कुनै बेला खुशी हुँदो हो जीवन । कुनै जीवन सामान्य अर्थमा बाँच्दो हो । कुनै जीवन श्रृजनामा बाँच्दो हो । सृजना भनेको मानब जीवनको सबैभन्दा शक्तिशाली चिज हो । श्रृजनाबिना त मान्छेको कुनै अर्थ रहदैन र कुनै पनि श्रृजनालाई सार्बजानिक गर्नु भनेको जोखिम मोल्नु पनि हो । ग्यालेली ग्यालेलीयोले धेरै मिहिनेत गरेर पृथ्बी गोलो भएको पत्ता लगाए । उनले जोखिम मोले अनि त उनलाई जेलमा कोचे एउटा धार्मिक सँगठनले । सृजना भनेको आफैले आफैलाई चिन्न सक्ने बाटो पनि हो । जब मान्छेहरुले श्रृजना गर्छन् उनले आफैलाई चिन्न सक्छन् । तर पनि कति श्रृजनाहरुको आयु हुँदैनन् त्यो भनेको नै आफैले आफैलाई चिन्न नसक्नु हो । कबि मुकेश राईले जोखिम मोल्ने आट गर्दै अनुभूतिका रङ्गहरु कबिता सँग्रह सार्बजानिक गरेका छन् । पहिलो बिश्ब युद्घ, दोस्रो बिश्ब युद्घ हुँदै अहिले आएर इराक र अफ्गानिस्तानको युद्घ मैदानमा बहादुरीका साथ लडी जितेर पनि जित्नुको अनुभुति गर्न नपाएका बीर गोर्खालीहरुका पीडाहरुलाई उनले शब्दचित्रमा उतारेका छन्, जुन शब्द चित्रलाई आँखाले देख्न नसक्ने घाउ भएर बाँचिरहे पनि काब्यमा दरिलो दस्ताबेज बनेर आएको छ । अतीत मोहले कबि मुकेश राईलाई पनि अरु डायस्पोरिक कबिहरुलाई झै पिरोलेको पाउन सकिन्छ । कबिका कबिताहरु बिभिन्न समयमा लेखिएता पनि मुख्य गरेर युद्घ साहित्य, डायस्पोरिक साहित्य, अतीतमोह, जीवनसम्बन्धी लेखिएको छ । कुनै कबिताहरु अन्य अत्याचार र बिकृतिको बारेमा आबाज उठाएका कबिताहरु यस कृतिमा समेटिएका छन् ।
शान्ति अभियानमा म, जीवनसँग रोइरहेका जीवनहरु १ र जीवनसँग रोइरहेका जीवनहरु २ उनका युद्घ कबिताहरु हुन् ।
युगान्तकारी योद्घाहरु
बर्षौं चिसिएको युग बोकेर
स्वदेशमा परबासी, बिदेशमा अनागरिक हुँदै
आदिम पहाडजस्तो जिउँदो इतिहास बनेर
विश्वबिजेताका दर-सन्ताहरु
अस्तित्बहीन बाँच्दाबाँच्दै
सयौ बर्षपछि आफ्ना पहिचान खोज्दै
क्षितिज खुल्न खोजिरहेछ ।
जीवनसँग रोइरहेका जीवनहरु १
गोर्खालीले भोगेका अन्यपूर्ण अत्याचारको चिरफार गरेका छन् कबिले यस कबितामा । संसारका भूगोलहरुलाई हत्केलामा बोकेर गोर्खालीहरु बेलायतको साम्राज्य बिस्तारका लागि लडे तर तिनीहरु के पाए – उनीहरुलाई आफ्नो देशले पनि परबासी बनाए । जसको रक्षाको लागि उनीहरुले लडेका थिए तिनले मर्सेनरिज सिपाहीभन्दा अझै तलको दृष्टिकोण र बिचारले मात्र हेरेनन्, गर्न सम्मको भेदभाब गरे उनीहरुलाई । यो एउटा मानबको लागि कति दुर्भाग्य हो । गोर्खालीले लडेको वास्तविक युद्घ र तिनीहरुले बचाएको बेलायतको राष्ट्रियतालाई कबिताले उत्खनन् गर्न खोजेकोछ ।
यस कृतिमा धेरै कबिताहरु अतीतमोह अथबा नोस्टाल्जीयाको पीडालाई सम्बोधन गरेका छन् । कन्यामका नागबेली घुम्तीहरु, म आमा र मातृभूमि, परदेशीलाई दुख्ने खबर, अनुभूतिमा गाउँघर, धमिलो आकृतिमा उदास क्षितिज, बगिरहने जिन्दगी, सीमापारि, तिमीजस्तै एउटा मान्छे, परदेशीलाई दुःख्ने खबर आदि कबिताहरु हुन्छन् ।
घरमा बस्ने छोरोलाई भन्दा घरभन्दा टाढा बस्ने छोरोलाई घरको महत्व कति र कस्तो हुन्छ भनेर थाहा हुन्छ । स्बदेशमा बस्ने नागरिकलाई भन्दा बिदेशमा बस्ने नागरिकलाई देशको माया कति र कस्तो हुन्छ भनेर थाहा हुन्छ । परबासीहरुको एउटा पीडा मध्यको एउटा पीडा हो अतीतमोह । यो पीडाबाट कोही परबासीहरु पनि अछुत रहन अवश्य सक्दैनन् । कबिले आफ्ना थातथलोलाई सम्झिरहेको छ, आफ्नो परिबार, साथीहरु, उकाली ओराली गरेका बाटाहरु, त्यो पिपललको बोट, त्यो स्कुल, त्यो डाँडा । कति पीडा छ परबासीहरुलाई घरदेशको । सम्झना नै डायस्पोरामा बस्ने मानिसहरुको लागि राष्ट्रियताको चिनो बनेको हुन्छ । यहि पीडालाई कबिले काब्य पोखेका छन् ।
सम्झिएर जीवनका अनमोल क्षणहरुसँग
म मौनता पिउँछु
तीतामीठा पलहरुसँग बरालिँदै
कहिले साउन बर्सन्छु
कहिले चिसो पबन बहन्छु
अनि फेरिँदै ऋतुहरुसँग
चाँप-गुराँस बनेर सन्दकपुर हाँस्दै
कहिले अटल श्रीअन्तु बनेर
जीवनको बाध्यतासँगै प्रीति गाँस्दै
छातीभित्र यादैयाद वल्झिरहन्छु
म हरपल कन्यामका नागबेली घुम्तीहरु
कन्यामका नागबेली घुम्तीहरु
पूर्वको सुन्दर शहरहरु मध्यको एउटा शहर हो इलाम । इलाम मोटरकारमा हुँइकिएर जाने बाटो हो कन्याम । इलामका लेकहरु मध्यको एउटा ठाउँ हो सन्दकपुर, जहाँ फुलेका लाली गुराँसहरु, चाप चिमल, सुनाखरी थरीथरीका पफुलहरु फुलिरहेका छन् कबिको मनमा । जहिल्यै सम्झिरहेका छन् माइमझुबा, पशुपति नगर, इलामका चियाबारीहररु । सम्झना बाँच्नु पर्ने जिन्दगी सबैभन्दा पीडादायी अवश्य हुन्छ । सम्झना एउटा अतीतको आँखी झयाल हो । जहाँबाट जीवनले भोगेका चिजहरु लस्करै जन्ती बनेर आउने गर्छ । मान्छे जति सम्पन्न भए पनि, मान्छे जति शिक्षित भए पनि आफ्नो ओरजिन र थातथलोको यादले सताउने गर्छ । उसले बाहिर देखाउन नचाहे पनि उसको मन मुटु भने जन्मभूमिको सम्झनामा उफ्रने गर्छ याद बनेर । घरदेशको सम्झनामा बाचेको अर्को उनको कबिता हो अनुभूतिमा गाउँघर ।
अन्तरङ्ग अनुभूतिको सँगालो
बिगतका यादहरुसँगै
बाल्यकालमा रमाएर खेलेको
घरआँगन सुन्दर गाउँ
जीवनमा कहिल्यै बिर्सन नसकिने
एउटा स्वर्णिम अध्याय !
त्यो चंचल उन्मुक्त बालापन
न कुनै पीर, न ब्यथा
रङ्गीचङ्गी बगैँचामा नाच्ने पुतली झै
केबल सुखशान्तिका
हृदयमा कुँदिएका
ती मयुरपंखी दिनहरु
अनुभूतिमा गाउँघर
आहा कति मीठो सम्झना ! सम्झना साँच्चै सम्झना मात्र हो कि वास्तबिकता पनि हो ? यो एउठा प्रश्न बन्न सक्छ आम लेखकहरुलाई । किन भने सम्झेर दुःख्न पाउने अधिकार सबैलाई छ तर पनि आफ्नो गाउँघरलाई सम्झनासँगै के दिइरहेको छु र के दिन चाहेको छु आफ्नो गाउँलाई । सबै भन्दा ठूलो कुरो हो के गर्दैछु गाउँको लागि । हामी परबासीहरु यहीनेर चुकेका छौ जस्तो लाग्छ । सम्झनासँगै केही त दिऊँ आफ्नो गाउँघरलाई अनि सम्झनुको अर्थ रहन्छ जस्तो लाग्छ ।
जतिबेला लैनसिह बाङदेल युरोपमा अध्यानको लागि निस्किए, उनको बेदना उत्ति नै मार्मिक छदैछ । उनको कृति रोमको एउटा फुल प्यारिसको एउटा काडाँ त्यसका ज्वलन्त उदाहरण हो । जतिबेला उनले कन्चनजंगा हिमाललाई हेर्दै नेपालको सम्झना गर्थे त्यसको एउटा जीवन हो मुलुकबाहिर उपन्यास । यसरी नेपालीहरु बिदेशिने क्रमसँगै धेरै तिक्ता अनुभूतिहरु बटुलेका छन् । बिदेश बसाइकै क्रममा कवि मुकेशका कलमले जन्माएका छन् त्यहाँका माटोको परिचय जसलाई अहिले हामी भनिरहेका छौ डायस्पोरिक साहित्य । उनका डायस्पोरिक कबितालाई नजर लगाऊँ ।
असार पन्ध्र छ आमा परदेश
मङ्सिर कहिल्यै पाक्दैन
सोध्छ्यौ सधै कस्तो होला दुरदेश ?
नियति न हो दुःख कहिल्यै भाग्दैन ।
कस्तो होला परदेश
बाच्नको लागि नै मान्छेले हरेक काम गरिरहेको हुन्छ । तर पनि परविधिलाई मान्छेले नबुझेर अल्मलिरहेका पनि छन् । परदेशिनु कसैको लागि बाध्यता होला तर कसैको लागि सुबिधा सम्पन्न ठाउँ खोज्नु होला । जसरी परदेशिए पनि उनीहरुलाई आफ्नो पनले परछ्याइरहने हुदाँ आफ्नो ठाउँको याद आइनैरहन्छ । परदेशको छाया तस्वीरलाई कलात्मक तरिकाले प्रस्तुत गरेको उनको बलिया कबिता हो ।
जीवनसँग सबथोक जोडिएर बाचेको हुन्छ । जीवन एब्स्ट्रयाक छ । जीवनका बारेका चर्चित दार्शनीकहरुले आ-आफ्नो मतअभिमतहरु राखेका छन् । कसैले भनेका छन् जीवन संघर्ष हो । कसैले भनेका छन् जीवन भोगाई हो । तर पनि जीवन सबथोक हो जहाँ सबै चिजले चेप्टिएर, थिचिएर बाँचेको छ । जीवन नभए कसैले केही पनि अनुभब गर्न सक्दैनन् । कबि मुकेश राईको बुझाइमा जीवन बगिरहन्छ निरन्तर निरन्तर, जीवन आरोहअवरोह हो । जीवन समय हो । जीवन कुनै एउटा आकृति हो र जीवन भ्रम पनि हो ।
रातको आँचल ओढेको
आकाशगंगाको छातीबाट झर्ने
उल्का देख्दा
चिताएका रहर र सपनाहरु
साकार हुन्छ रे भन्थे
तर, अनगिन्ति ताराहरुमाझ
मुस्काइरहेको जूनको
सुनौलो रङ्गमा
शोभायमान आकाशको
ती अभागी उल्काहरुजस्तै
मेरा त रहर जम्मै खसे
सपनाहरु अधुरै रहे !
भ्रम
वास्तबमा जीवन यसरी नै बिभिन्न कोणहरुमा रहेको हुन्छ । जीवन सपना र योजनाहरुको पीरामिड माथिको अन्तिम उचाई गजुर हो । जसलाई गजुरबाटै चिहाए आकाश पनि सानो गजुर जत्रै देखिन्छ ।
कबिले बिभिन्न बिषयहरुलाई पक्रेर कबिताहरु लेखेका छन् । जसमा परिबर्तनका लागि अथबा यसो भनौ प्रगतिशील बिचारका कबिताहरु लेखेका छन् जसमा आगो भएर उठौं, अटल पहाड आदि हुन् । जसले परिबर्तन चाहन्छ ऊ आफ्नो जीवन बलिदान दिन पनि तयार हुन्छ त्यसैले परिबर्तनका लागि संसारमा ठूला-ठूला क्रान्तिहरु भएका छन् । चाहे त्यो मजदुरहरुका हकहित र अधिकारको लागि जन्मिएको बोर्सेली क्रान्ति किन नहोस् । चाहे त्यो अमेरिकी श्रमिकहरुको बलिदानबाट आजभन्दा १ सय २४ बर्षपहिले जन्मिएको त्यो सिकागो अभिसन्धि नै किन नहोस् यस्ता ठूला-ठूला क्रान्तिहरु संसारको इतिहासमा धेरै जन्मिएका छन् । परिबर्तनका लागि यस्ता क्रान्तिहरु जन्माउने ठूला सहित्यकार तथा कबिहरु संसारमा धेरै जन्मिसकेका छन् । क्रान्तिकारी श्रृजनाहरु तिनले जन्मएका छन् । जब ठूला-ठूला तानाशाह ढल्दछन् अनि मात्र श्रृजनाको शक्ति भनेको कस्तो हुन्छ भनेर प्रष्ट र प्रत्यक्ष बुझन सकिन्छ । समग्रमा उनका कलमले बोलेका लिपीहरु यस्तै छन् भनेर मैले लेख्ने आँट गरे । उनका श्रृजनाहरु दुबो झै मौलाउँदै जाऊन, लाखौ बधाइ ।
प्रतिक्रिया