बेलायतमा पहिलो पटक नारी दिवस सम्पन्न

बेलायतमा पहिलो पटक नारी दिवस सम्पन्न


लण्डन । गैर आवासीय नेपाली संघ (एन आर एन यूके)ले ‘कनेक्टिङ गर्ल्स इन्स्पायरिङ फ्युचर’ भन्ने नाराका साथ १०२ औ महिला दिवस भव्य रुपमा सम्पन्न गरेको छ । मदर्स डेका दिन आइतबार प्लस्टिडस्थित सेण्ट प्याट्रिक हलमा सम्पन्न महिला दिवस कार्यक्रममा करिब दुईसयभन्दा बढी सहभागी भएका थिए । एन आर एन यूकेकी सदस्य एवं महिला विभाग प्रमुख संगिता मरहठ्ठाको संयोजकत्वमा भएको सो कार्यक्रममा नेपाली दूतावास लण्डनकी उप नियोग प्रमुख अम्बिका मानन्धर लुइंटेल, एन आर एन यूकेका अध्यक्ष कुल आचार्य, पूर्व अध्यक्ष सूर्य गुरुङ, समाजसेवी डा. राघव धिताल, श्रीमती डा. जनक धिताल, समाजसेवी नन्द कुमारी गुरुङ, देवी आले, एन आर एन यूकेका पदाधिकारीहरु, सल्लाहकारहरुलगायत व्यवसायी तथा बुद्धिजीवीहरुको सहभागिता रहेको थियो ।
एन आर एन यूकेका अध्यक्ष कुल आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोल्दै उपनियोग प्रमुख लुइंटेलले नेपाली महिलाहरु सामाजिक, आर्थिक एवं मानसिक रुपमा पछाडि परेको बताईन् । नेपालका दुर्गम भेगमा रहेका महिलाहरुको अवस्था दयनीय रहेको स्पष्ट पार्दै उनले महिलामाथि पुरुषहरुको थिचोमिचो विकराल रहेको समेत जानकारी दिईन् ।
कार्यक्रम संयोजक संगिता मरहट्ठाले एन आर एनको इतिहासमा पहिलो पटक सम्पन्न भएको नारी दिवस अत्यन्त सफल भएकोमा प्रशन्नता व्यक्त गरि्न । उनले नेपालका दुर्गम भेगमा रहेका नारीहरुको हितमा केही गर्नुपर्छ भन्ने भावनाले कार्यक्रम गरीएको बताउंदै सहयोगीहरुप्रति आभार प्रकट गरेकी थिईन् । एन आर एन यूकेको सदस्यको नाताले आफू एन आर एनको हरेक गतिविधिमा महिला आवाज बुलन्द पार्न लागि पर्ने उनको बाचा थियो ।
सो अवसरमा समाजसेवीहरु डा. जनक धिताल, नेपलिज नर्सिङ एशोसियसनकी अध्यक्ष शान्ता संग्रौला, नन्द कुमारी गुरुङ, देवी आलेलगायतले महिलाहरु आधा आकाश भएको चर्चा गर्दै महिलामाथिका सम्पूर्ण विभेद अन्त्य गरी समुन्नत समाज निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । नेपालमा महिलाहरुमाथि हुने विभेद कल्पनासमेत गर्न नसकिने भएको बताउंदै उनीहरुले महिला शसक्तिकरण र उचित शिक्षाका लागि प्रवासमा रहेका महिलाहरुले सहयोग गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा अध्यक्ष कुल आचार्यले महिलाहरुलाई जागरुक बनाउन एन आर एनले महिला दिवस मनाउने निर्णय गरेको बताए । उनले बेलायतमा रहेका महिलाहरुलाई अझ शसक्त बनाउन एन आर एन यूकेले विशेष पहल गर्नेसमेत जानकारी दिए ।
सो अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो । सांस्कृतिक कार्यक्रममा सितु खरेल, सिता पौडेल, ज्ञानेन्द्र गुरुङ, याम गुरुङ, निर्मला गुरुङ लगायतले विभिन्न गीत गाए । त्यस्तै हमा श्रेष्ठले कविता वाचन गरेकी थिईन् । सावित्री थापा, गंगा थापा, भवानी थापा, र लुकु थापाले नेपाल र बेलायतका नेपालीमाझ चर्चा पाएको कौडा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा सञ्चालिका उषा भट्टको तीखो जोकसंगै स्थानीय कलाकारहरुले रोचक नृत्य प्रस्तुत गरेका थिए ।
एन आर एन यूकेका कोअर्डिनेटर रामशरण सिंखडा र सञ्चारकर्मी उषा भट्टले सञ्चालन गरेको कार्यक्रमको सह संयोजन सुष्मा लिम्बूले गरेकी थिईन् । सहभागीहरुले नेपाली खानासंगै डी जे तथा डान्समा रमाइलो गरी महिला दिवस मनाए ।- धर्मराज अधिकारी, Photos by Kushal Shrestha
Click here to view the rest of the pictures