लिङ्कन र केनेडीबीच अनौठो संयोग

लिङ्कन र केनेडीबीच अनौठो संयोग


– अमेरिकाका पूवराष्ट्रपति अब्राहम लिंकनको जन्म सन् १८०८ मा भएको थियो । यसको ठीक सय वर्षछि अर्थात् सन् १९०८ मा अमेरिकाका एक अर्का पूवराष्ट्रपति जोन एफ. केनेडीको जन्म भएको थियो ।
– लिंकन सन् १८६० मा अमेरिकाका राष्ट्रपति चुनिएका थिए भने केनेडी त्यसको ठीक सय वर्षछि अर्थात् सन् १९६० मा राष्ट्रपति चुनिएका थिए ।
– लिंकन र केनेडी दुवै राष्ट्रपतिको हत्या गरिएको थियो भने दुवैको हत्या शुक्रबारकै दिन भएको थियो । हत्या हुँदा दुवै राष्ट्रपतिका पत्नीहरू साथमै थिए र दुवैलाई पछिल्तिरबाट टाउकामा गोली हानेर हत्या गरिएको थियो ।
– अब्राहम लिंकनका हत्यारा जोन बुथको जन्म सन् १८३९ मा भएको थियो जब कि केनेडीका हत्यारा ली ओसवाल्डको जन्म त्यसको ठीक सय वर्षछि सन् १९३९ मा भएको थियो ।
– लिंकनका निजी सचिवको नाम केनेडी थियो भने केनेडीका निजी सचिवको नाम लिंकन थियो ।

बेलायती प्रधानमन्त्रीले किन गुजारे सडकमा रात –
हालका बेलायती प्रधानमन्त्री डेभिड क्यामरन सन् १९८१ मा जम्मा १४ वर्षमा थिए । शाही राजघरानाप्रति उनको गजबको प्रेम र लगाव थियो । यही लगावका कारण त्यतिबेला क्यामरनले एउटा सिङ्गो रात लन्डनको सडकमै गुजारिदिएका थिए ।
बेलायती अखबार द सनका अनुसार आफ्नो आस्थाको केन्द्र रहेको शाही परिवारका राजकुमार चार्ल्स र डायनाको विवाहको भव्य तयारी भइरहेको थियो । क्यामरन उक्त विवाह समारोहलाई नजिकबाट हेर्न चाहन्थे । यही चाहनाबाट प्रेरित हुँदै उनले आफ्ना भाइ एलेक्स, बहिनी तान्या र केही साथीहरूलाई साथ लिए र बिहान दस बजेदेखि नै बकिङ्घम प्यालेसबाहिर सडकमा डेरा जमाए । रात गुजार्नका लागि उनले स्लिपिङ व्याग र चियाको चुस्कीलाई साथी बनाए । राजकुमार चार्ल्स र डायनाको विवाह समारोहको प्रत्यक्ष प्रसारण त्यहाँको टेलिभिजनले नगरेको होइन तर विश्वका ७५ करोड मानिसले टेलिभिजनबाट नियालेको उक्त समारोह नजिकबाटै हेरेर आनन्द उठाउने चाहनामा क्यामरन त्यसरी दृढ बनेका थिए । तिनै चार्ल्स र डायनाका छोरा विलियम र उनकी गर्लफ्रेन्ड केट मिडिलटोनबीच भएको सगाइको खुलासा गर्ने क्रममा प्रधानमन्त्री डेभिड क्यामरनले आफूले त्यसरी सडकमा रात बिताएको खुलासा गरेका थिए ।

२०१३ मा ध्वस्त हुने नै भो त ?
सन् २०१३ मा सूर्यबाट निस्कने विशाल ऊर्जाको कारणले पृथ्वीमा गम्भीर सङ्कट आउने वैज्ञानिकहरूले अनुमान गरेका छन् । यो विशाल ऊर्जाले पृथ्वीमा अन्धकार छाउने र सम्पूर्ण व्यवस्था अस्तव्यस्त हुने वैज्ञानिकहरूको दाबी छ । वैज्ञानिकहरूले विशाल ऊर्जाका कारणले विद्युतीय क्षेत्र, सञ्चार व्यवस्था र हवाईसेवामा नराम्रो प्रभाव पर्ने दाबी गरेका छन् । उनीहरूले विश्वको इन्टरनेट सेवा पूर्ण रूपमा बन्द हुनुको साथै विमानहरू भुइँमा खस्ने बताएका छन् । वैज्ञानिकहरूले यस्तो घटना सय वर्षमा एकपटक हुने बताउँदै यसले पृथ्वीमा पार्ने नकारात्मक असरका बारेमा विश्वव्यापी सम्मेलन गरेर चर्चा गरेका थिए । सन् २०१३ मा सूर्य आफ्नो चक्रको नाजुक स्थितिमा पुग्ने र यसले वातावरणमा चुम्बकीय ऊर्जा र विकीरणको आँधी ल्याउने वैज्ञानिहरूको ठहर छ । यदि २१औँ शताब्दीमा पनि यस्तो विस्फोट भयो भने यसले पृथ्वीमा अपूरणीय क्षति गर्ने भएकोले यसको रोकथामका लागि वैज्ञानिकहरूलाई समयमै कदम उठाउन अनुरोध गरिएको छ ।

‘भगवान् देता है तो छप्पड फाडके’
जसले एकैपटक एक लाख नगद जीवनमै देखेकी थिइनन्, जो रुढीगत सामाजिक परम्पराका कारण घरमा ‘पर्दा’मा रहन्थिन्, सिलाइबुनाइको कामबाट जसले महिनामा मुस्किलले २-३ हजार मात्र कमाउँथिन्, सीमित आम्दानीकै कारण जसको बैंकमा खातासम्म पनि थिएन, अत्यन्त गरिब परिवारकी यिनै विवाहिता क्षणभरमै एक करोड साठी लाख नगदकी मालिक्नी बन्नपुगेकी छिन् ।
प्रसङ्ग हो भारतीय टीभी च्यानल सोनीबाट प्रसारण हुने ‘कौन बनेगा करोडपति’को । मेघास्टार अमिताभ बच्चनद्वारा प्रस्तुत गरिने उक्त लोकप्रिय कार्यक्रममा सहभागी हुन नै निकै प्रतिस्पर्धा चल्छ । पढेलेखेका र तुलनात्मक रूपमा चल्तापुर्जाहरूको मात्र पहुँच पुग्ने सो टीभी कार्यक्रममा झारखण्डको गिरिडिह नामक सानो झुपडबस्तीकी महिलाको सहभागिता नै महत्त्वको विषय थियो भने उनले करोड भारु जित्न सक्ने कल्पना सम्भवत: कसैले पनि गरेका थिएनन् । तर, हुने कुरा नभई किन छोड्थ्यो र † राहत तस्लिम नामक ती विपन्न महिलाले उच्च मनोबलका साथ आफूलाई ‘हट सिट’मा मात्र पुर्‍याइनन् बल्की अकल्पनीय नगदराशिसमेत हासिल गरेरै देखाइन् । ‘कौन बनेगा करोडपति’को इतिहासमा करोड जित्ने यसअघिका प्रतियोगीहरूसँगको दाँजोमा तस्लिमको मूल्याङ्कन अलग्गै किसिमले गरिने र पछिसम्म उनको नाम स्मरण गरिने अनुमान सम्बद्ध क्षेत्रमा गरिएको छ ।

देख्ने शक्तिमा दिमागको अङ्कुश
वास्तविक रूपमा हाम्रो आँखाले एकैपटकमा थुपै्र दृश्य देख्न सक्ने भए पनि दिमागको अङ्कुशले गर्दा तीनवटा मात्र गतिशील वस्तु देख्न सक्ने हालै गरिएको एक अनुसन्धानबाट खुलासा भएको छ । आँखाको देख्न सक्ने शक्तिको बारेमा अनुसन्धान गरिरहेका मार्क एर्डवर्डस्ले दिशाको अधिकतम् सङ्ख्याको एक सीमा हुने र मानिसको दिमाग विभिन्न समयमा अलग-अलग वस्तु देख्न सक्ने भएको अनुसन्धानबाट आफूले थाहा पाएको बताएका छन् । एर्डवर्डस्ले यो सीमा परिभाषित गर्ने तरिकामा निर्भर रहने बताएका छन् । एर्डवर्डस्ले उदाहरणको रूपमा एउटा सडकमा विभिन्न दिशाबाट आउने-जाने गरिरहेका कारलाई बनाएका छन् । उनले अलग-अलग दिशाबाट आउँदै-जाँदै गरेका विभिन्न कार देखे पनि एकपटकमा तीनवटासम्म मात्र देख्न सकिने पत्ता लगाएका छन् । मार्कले यस्तो सिद्धान्त ‘मल्टी-टास्किङ’मा पनि लागू हुने बताएका छन् ।