हारको ‘ह्याट्रिक’ जोगाउन ‘नाति जर्नेल’लाई चुनौती

हारको ‘ह्याट्रिक’ जोगाउन ‘नाति जर्नेल’लाई चुनौती


– किशोर बुढाथोकी/सिन्धुपाल्चोक

पञ्चायत कालदेखि नै चुनावी मैदानमा उत्रिएका राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणा फेरि सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका छन् । जन्मँदै नाति जर्नेलको उपाधि पाएका उनले यो चुनावमा पराजित भए हारको ‘ह्याट्रिक’ पुऱ्याउनेछन् । चुनावी समीकरण अनुसार यसपटक हार जोगाउन उनलाई निकै चुनौती छ ।

२०३८ सालदेखिका सबै चुनावमा जित हासिल गरेका राणा २०६४ को संविधानसभा निर्वाचनमा पहिलोचोटी पराजय व्यहोरे । जिल्लामा विकासप्रेमी नेताको उच्च छवि बनाएका उनी पहिलो संविधानसभा निर्वाचनमा तेस्रो भए । त्यतिबेला माओवादीका दावा तामाङ विजयी भए । अहिले तामाङ उनै पशुपति शमसेर उम्मेदवार भएको क्षेत्रको प्रदेशसभा २ मा बाम गठबन्धनको तर्फबाट चुनावी मैदानमा छन् ।

कांग्रेसको साथ पाएर लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार बनेका राणाको प्रमुख प्रतिष्पर्धा बामगठबन्धनका तर्फबाट एमाले केन्द्रीय सदस्य शेरबहादुर तामाङसँग हुनेछ । २०७० को संविधानसभा निर्वाचनमा उनै शेरबहादुरले राणालाई हराएका थिए । यो क्षेत्रमा अन्य साना दलबाहेक शेरबहादुर र राणा नै लोकप्रिय नेता हुन् । केन्द्रीय हाइट बनाएका यी दुवै ‘हेभिवेट’ नेता आमनेसामने भएकै कारण यो क्षेत्रको चुनाव रोचक बनेको छ ।

राणा र शेरबहादुरको यो तेस्रो भिडन्त हो । २०५६ को चुनावमा तामाङ नेकपा मालेको तर्फबाट उम्मेदवार बनेका थिए । जिल्लाको यो क्षेत्र तामाङ जातिको बाहुल्य भएकाले पनि राणालाई जित्न थप मुस्किल पर्न सक्छ । शेरबहादुरलाई तामाङ समुदायबाट ‘सेन्टिमेट’ भोट आउने राजनीतिक विष्लेषकहरुको ठम्माई छ ।

पहिले तीन वटा क्षेत्र भएको सिन्धुपाल्चोकमा अहिले दुई क्षेत्र छ । पहिले यी दुवै नेता क्षेत्र नं. ३ बाट चुनावी मैदानमा होमिएका थिए । अहिले पुरानो क्षेत्रमा केही गाउँ थपिएको छ । हालको इन्द्रावती गाउँपालिका र चौतारासाँगाचोकगढी नगरपालिकाको ५ वटा वटा प्रतिनिधि सभा नं. २ मा गाभिएको छ । पछि गाभिएका गाउँमध्ये अधिकांश राणाको भोट बैंक पनि हो । पुरानो क्षेत्र नं. ३ बाट प्रतिष्पर्धा भोट ल्याए भने तामाङलाई राणाले मत परिणाममा पछि पार्न सक्ने आंकलन पनि जिल्लाका नेता कार्यकर्ताको छ ।

मंसिर १० मा हुने निर्वाचनमा राणा पराजित भएमा उनको राजनीतिक भविष्य लगभग अन्त्य नै हुने सम्भावना पनि छ । अबको निर्वाचन परिणाम राणाको पोल्टामा नपरे उनको राजनीतिक भविष्य संकटमा पर्ने देखिन्छ । राणा ०३८ सालदेखि चुनावी मैदानमा ओर्लिएका हुन् । उनले यो चुनावमा ३६ हजार ८ सय ४५ मतसहित विजयी बनेका थिए । ०४३ र ४८को चुनावमा पनि उनै राणा विजयी बने । जिल्ला निर्वाचन कार्यालयको तथ्यांकअनुसार ०५१ सालको निर्वाचनमा क्षेत्र न ३ बाट ११ हजार ७ सय ४४ मत ल्याएर कांग्रेसका कान्छा लामालाई हराउ“दै सांसदमा निर्वाचित भएका थिए । ०५६ सालको चुनावमा १४ हजार ५ सय १२ मत ल्याएर विजयी भए । यो नै उनको अन्तिम विजय थियो । त्यसयताका दुवै निर्वाचनमा उनले हार व्यहोरे ।

अहिले राणा चुनावी अभियानका क्रममा गाउँ–गाउँमा छन् । ‘लोकतन्त्रलाई संरक्षण गर्नका लागि जनताले लोकतान्त्रिक गठबन्धनलाई रोज्ने पक्का छ,’ राणाले भने, ‘समृद्ध नेपाल निर्माण लोकतन्त्र शक्तिले मात्रै सम्भव भएको मतदाताले बुझेका छन् ।’ उनले आफ्नो क्षेत्रमा बाम गठबन्धनले आफूलाई कुनै बाधा नपर्ने भएकाले आफ्नो जित निश्चित भएको दावी गरे ।

बाम गठबन्धनका तामाङ पनि बलिया उम्मेदवार हुन् । २०६४ मा उनी माओवादीका दावा तामाङसँग एक सय मतअन्तरले मात्र पराजय भएका थिए । दावा अहिले प्रदेशसभाका उम्मेदवार भएकाले पनि शेरबहादुरलाई जितका लागि सहज छ । दावा यो क्षेत्रका लोकप्रिय नेता हुन् । यो क्षेत्रको प्रदेश सभा १ मा बाम गठबन्धनको तर्फबाट माओवादी नेता तथा सशस्त्र विद्रोहमा प्रचण्डका अंगरक्षक रहेका युवराज दुलालको पनि शेरबहादुरलाई साथ छ । दावा र दुलालको साथले पनि राणा पछि पर्ने बाम गठबन्धनका नेताहरु बताउँछन् ।

राणा पक्षको लोकतान्त्रिक प्यानलमा स्थानीय तहको मत परिणाम हेर्दा बाम गठबन्धनको तुलनामा करिब ११ हजार मत कम छ । प्रतिनिधि सभाको क्षेत्र नं. २ मा बाम गठबन्धनको ३९ हजार ८ सय ९८ मत छ । यसै क्षेत्रमा लोकतान्त्रिक गठबन्धनको मत २८ हजार ५ सय ६८ मत छ । यहि मतलाई आधार मान्ने हो भने राणालाई चुनाव जित्न सम्भव छैन । ‘स्थानीय तहको मत आँकलन गरेर मात्रै हुँदैन, पशुपति शमसेर भन्छन्, ‘पहिलेको क्षेत्रबाट राम्रै मत आउँछ, झनै अहिले गाभिएको गाउँबाट धेरै मत आफ्नो पक्षलाई आउने पक्का छ ।’ यो क्षेत्रमा साविकको क्षेत्र नं. २ बाट झण्डै २५ हजार मतदाता थपिएका छन् ।

७ पटक चुनाव लडेका राणाले ५ पटक जित र २ पटक हार व्यहोरेका छन् । पहिलो संविधान सभाको निर्वाचनमा प्रदेशसभाको उमेदवार दावा तामाङ र पछिल्लो संविधान सभाको निर्वाचनमा पनि राणा तामाङस“ग नै पराजित भएका थिए । राणा यसपटक तामाङसँग संविधान सभाको निर्वाचनको बदला लिने रणनीतिमा पनि छन् ।