अन्तत: चुनाव नलड्ने भए बादल, काठमाडौं-१० को कुरा हल्लामात्र

अन्तत: चुनाव नलड्ने भए बादल, काठमाडौं-१० को कुरा हल्लामात्र


माओवादी केन्द्रका बरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ चुनाव नलड्ने भएका छन् । चितवन २ एमालेको भागमा परेपछि उनी चुनाव नलड्ने निष्कर्षमा पुगेका हुन् । चितवन २ एमालेको भागमा परेपछि बादल काठमाडौं १० बाट उठ्ने चर्चा चलेको थियो ।

तर काठमाडौं-१० बाट माओवादी केन्द्रका नेता हितमान शाक्य उठ्ने भएका छन् । सिट बाँडफाँटमा सो क्षेत्र माओवादी केन्द्रको भागमा परे त्यहीँबाट प्रतिस्पर्धा गर्ने योजनामा बादल थिए । तर, त्यो क्षेत्र एमालेको भागमा परेको छ ।

शाक्य उठ्ने भनिएको काठमाडौं-६ बाट अर्का नेता झक्कु सुवेदी उठ्ने टुङ्गो लागेको छ। काठमाडौं-१० मा आफू र काठमाडौं-६मा सुवेदी उठ्ने टुङ्गो लागिसकेको शाक्यले बताए । सुवेदीले २०६४ को संविधान सभा निर्वाचनमा एमाले नेता माधवकुमार नेपाललाई पराजित गरेका थिए ।

‘बादलले यस पटकको निर्वाचनमा प्रतिस्पर्धा नगर्ने हुनु भएको छ’ शाक्यले भने, ‘उहाँले चितवन-२ बाहेक अन्य क्षेत्रबाट चुनाव लड्दिन भन्नु भएको छ ।’ चितवन-२ मा एमालेले अडान नछाडेपछि माओवादी केन्द्रका नेताहरुले बादललाई नवलपुर-१ वा काठमाडौं-१० बाट लड्न भनेका थिए । तर, उनले मानेनन्।

माओवादी केन्द्रले पाएको काठमाडौं-८ को बारेमा चाहिँ टुङ्गो लागेको छैन । त्यहाँबाट उमेश स्थापित उठ्ने सम्भावना छ । माओवादी केन्द्रका अर्का नेता विश्वभक्त दुलाल ‘आहुति’ ले भने, ‘बादल काठमाडौं-१० बाट चुनाव लड्ने कुराको हल्ला चलेको हो । उहाँ त्यहाँबाट लड्ने कुरै भएको थिएन ।’