अन्नपुर्ण चक्रिय पदयात्राको लागि वैकल्पिक मार्गको शुरुवात

अन्नपुर्ण चक्रिय पदयात्राको लागि वैकल्पिक मार्गको शुरुवात


अन्नपुर्ण चक्रिय पदयात्राको लागि वैकल्पिक मार्गको शुरुवात गरिएको छ । मनाङसम्म मोटरबाटो निर्माण भएर पदयात्रामा प्रभाव पर्न थालेपछि मनाङ–लमजुङ होटल व्यवसायी समितिले बैकल्पिक पदमार्ग निर्माण गरेको हो ।

बेसीशहरबाट खुदीसम्म निर्माण सम्पन्न वैकल्पिक मार्गको उद्घघाटन गरीएको हो । पूर्व सांसद जमिन्द्रमान घलेले उक्त पदमार्गको उद्घघाटन गरेका हुन् । पदमार्ग उद्घघाटनसँगै कार्यक्रमका सहभागिहरुले पदयात्रा समेत गरेका थिए ।

पदयात्रापछि मस्र्याङदी गाउँपालिकाको खुदीमा पुगेर समापन कार्यक्रम भएको थियो । समापन कार्यक्रममा बोल्दै पूर्व सांसद घलेले अन्नपुर्ण पदमार्गमा पर्यटनको आगमनलाई यथावत राख्न र अझै यसलाई बृद्धि गर्न वैकल्पीक मार्ग आवश्यक भएकोमा जोड दिए । उनले वैकल्पिक पदमार्ग निर्माणसँगै प्रवद्र्धन र संवद्र्धनमा पनि विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

अहिलेको अन्नपुर्ण पदमार्गमा मोटरबाटोको कारण अवधी छोटिंदै जानु र सवारीकै कारण पदयात्रामा अनेक समस्या आउन थालेपछि नयाँ विकल्प खोजिएको मनाङ–लमजुङ होटल व्यवसायी समिति सचिव पुर्णबहादुर गुरुङले बताए ।

‘पदमार्ग छोटिदा र सवारी समस्याका कारण पर्यटकको संख्या अघिल्ला वर्षको अनुपातमा बढ्न सकेका छैनन् ।’ उनले भने, ‘अनुपातमा पर्यटक घट्दै गएका कारण उनीहरुलाई आकर्षित गर्न नयाँ मार्ग आवश्यक भयो ।’

बेशीसहरको पुमाखोलाबाट मस्र्याङदी गाउँपलिकाको खुदीसम्म वैकल्पिक पदमार्ग निर्माण भईसकेको छ । उक्त पदमार्गमा पर्यटन बोर्डको सहयोगमा पर्यटकीय पथ–प्रदर्शक सूचना राख्नुको साथै, सिँडी लगाउने, जोखिमस्थानमा जाली लगाउने, खोलामा काठेपुल राख्ने जस्ता काम गरिएको छ ।

खुदीदेखि–वाहुनडाडाँ, स्याँगे हुँदै मनाङको विभिन्न गाउँहरुलाई जोडेर पदमार्ग निर्माणाधिन अवस्थामा रहेको पनि समितिले जनाएको छ । पदयात्रा छोट्टिएसँगै पदमार्ग अन्तर्गत धरापमा रहेका व्यवसायिहरु पनि वैकल्पीक पदमार्ग सञ्चालनमा आएपछि उत्साहित भएका छन् । वैकल्पीक मार्ग सञ्चालनमा आएसँगै व्यवसाय फष्टाउने उनिहरुको विश्वास छ ।

सदरमुकाम बेसीशहर भएर बार्षिक २५ हजारको हाराहारीमा पर्यटकहरु अन्नपुर्ण पदमार्गमा आउने गर्दछन् । पहिले–पहिले बेसीशहरबाट शुरुभएको अन्नपुर्ण पदयात्रा मनाङ, मुस्ताङको मुक्तीनाथ, जोमसोम, म्याग्दी हुँदै २१ दिनमा पोखरामा टुँगीन्थ्यो । पछिल्लो समय दुवैतर्फबाट मोटर सञ्चालन भएपछि २१ दिनको यात्रा एक सातामा टुंगिने गरेको छ ।