राष्ट्रप्रमुखबिरुद्ध अनशन बस्ने डा. केसीको चेतावनी

राष्ट्रप्रमुखबिरुद्ध अनशन बस्ने डा. केसीको चेतावनी


यतिबेला चिकित्सा शिक्षा अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीकोमा अड्किएको विषयले राजनैतिक बृत्तमा निकै चर्चा परिचर्चा शुरु भएको छ । अध्याधेश रोकिएपछि स्वास्थ्य शिक्षा क्षेत्रमा परिवर्तनको माग गर्दै पटकपटक आमरण अनशन बस्दै आएका डा. गोविन्द केसीले सात दिनभित्र चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण नभए पुनः आमरण अनशन सुरु गर्ने चेतावनी समेत दिएका छन् ।

डा. केसीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा पत्रकार सम्मेलन गरेर सात दिनभित्र राष्ट्रपतिबाट अध्यादेश प्रमाणीकरण नभए पुनः आमरण अनशन बस्ने बताएका छन् । ‘विगतमा सरकारलाई चेतावनी दिदै सरकारबिरुद्धको आमरण अनशन बसें ।’ केसीले भने, ‘अब मेरो अनशन राष्ट्रप्रमुख बिरुद्ध हुनेछ ।’

डा. केसीले अध्यादेशको विरुद्धमा रहेका एमाले अध्यक्षसहित एमालेका केही नेता तथा माओवादी अध्यक्ष प्रचण्डको दबाबमा राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनी अड्चन देखाएर अध्यादेश प्रमाणीकरणमा ढिलाइ गरिरहेको बताएका छन् ।

ओली मनमोहन अस्पताल र प्रचण्ड वी एण्ड सी अस्पताललाई शिक्षण अस्पतालको रुपमा स्विकृती दिनुपर्ने पक्षमा लविङ गर्दै आएका छन् । दुवै नेताको स्वास्थ्य क्षेत्रमा ब्यापक चलखेल गर्नेहरुसँग सम्वन्ध रहेको बताइन्छ ।

‘मैले उठाएका मागको सम्बोधन गर्न भन्दै सरकारले चिकित्सा शिक्षा अध्यादेश पारित गरेको करिव दुई साता बितिसक्दयो ।’ डा. केसीले भने, ‘ तर राष्ट्रपतिबाट अध्यादेश प्रमाणीकरण हुन सकेको छैन । यसमा ओली र प्रचण्डको हात रहेको छ ।’

कात्तिक ६ गते केसीको सुझाव र माथेमा प्रतिवेदनमा आधारित रहेर देउवा नेतृत्वको सरकारले अध्यादेश पारित गरेको थियो । राष्ट्रपतिबाट अध्यादेश जारीपछि मात्रै कार्यान्वयनमा आउनेछ ।