चुनावी सुरक्षामाथि प्रश्न, सातदिनमा एक दर्जन बढि नेतामाथि बम प्रहार !

चुनावी सुरक्षामाथि प्रश्न, सातदिनमा एक दर्जन बढि नेतामाथि बम प्रहार !


सरकारले प्रदेश/प्रतिनिधि सभा निर्वाचनको निम्ति चुनावी सुरक्षा कडा बनाएको बताएपनि एक सातामा एकदर्जन बढी नेतालाई निशाना पारी श्रृखलाबद्ध रुपमा बम आक्रमण भएको छ ।

शुक्रबार सम्मको स्थिति यस्तो छ ।

–२४ कात्तिकमा विनाविभागीय मन्त्री तथा वाम गठबन्धनबाट पश्चिम रुकुमका प्रतिनिधिसभा सदस्य उम्मेदवार जनार्दन शर्मा चढेको गाडीमाथि दुई वटा बम प्रहार भयो ।

–त्यसको भोलिपल्ट माओवादी नेता तथा रोल्पाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार वर्षमान पुनलाई लक्षित गरी माइन विष्फोट गराइयो । २६ कात्तिकमा उनीमाथि फेरि आक्रमण भयो ।

उनी सडकमा हिँडिरहेका बेला माथिपट्टिबाट एक समूहले ढुंगा खसाएको थियो । त्यसक्रममा प्रहरी र आक्रमणकारीबीच दोहोरो फायरिङसमेत भयो ।

–२८ कात्तिकमा एकै दिन तीन नेतालाई लक्षित गरी बम प्रहार भयो । म्याग्दीको बेनी नगरपालिकामा कांग्रेसको चुवानी अभियानलाई लक्षित गर्दै बम विष्फोट गराइएको थियो । कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार खम्बिर गर्बुजा उक्त कार्यक्रममा सहभागी थिए ।

–भोजपुरमा पनि एमालेबाट प्रदेशसभा सदस्य उम्मेदवार शेरधन राईलाई लक्षित गरी बम प्रहार भयो । घटनामा उनका अंगरक्षक डिल्ली देवकोटा घाइते भए ।

–सोही दिन संखुवासभामा प्रतिनिधिसभामा एमालेका उम्मेदवार राजेन्द्र गौतमलाई पनि लक्षित गरी विस्फोट गराइयो ।

–३० कात्तिकमा सिँचाइ राज्यमन्त्री अमरसिंह पुन र माओवादी नेता नारायणकाजी श्रेष्ठलाई लक्षित गरी बम विष्फोट गराइयो । पुन रोल्पाबाट कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार हुन् भने श्रेष्ठ गोरखा–२ का ।

–नुवाकोट प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ का काँग्रेसका उम्मेदवार डा रामशरण महत र प्रदेश नं २ का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गर्दै शुक्रबार बम विस्फोट गराइएको छ । विस्फोटनबाट पाँचजना काँग्रेस कार्यकर्ता घाइते भएपनि उम्मेदवार महतद्वय भने सकुशल रहे ।

–शुक्रबार ओनसरी घर्तीसहित माओवादी केन्द्रका नेताहरु चढेको गाडीलाई लक्षित गर्दै रोल्पामा बम प्रहार भयो । दाङबाट रोल्पा जाँदै गरेका माओवादी केन्द्रका नेताहरु घर्तीसहित कृष्णबहादुर महरा र बर्षमान पुन
चढेको गाडीलाई लक्षित गरी रोल्पा सदरमुकाम नजिकै भदौरे घुम्तीमा बम विस्फोट गरियो ।

यसले सरकारको चुनावी सुरक्षा रणनीतिमाथि प्रश्न उठेको छ ।