तर्राईका चुनौतीहरू -बबिता बस्नेत

तर्राईका चुनौतीहरू -बबिता बस्नेत


‘तर्राईको समस्या’ भनेर सुन्दासुन्दा धेरै मानिसलाई हिजोआज तर्राई भनेकै आफैंमा समस्याको पोकोझैं लाग्न थालेको छ । विशेष गरेर राजनीतिकर्मीहरूले तर्राईका बारेमा जुनसुकै कार्यक्रम भए पनि ‘मधेसको समस्या’ भनेर बोल्ने अनि मिडियाले त्यही कुरालाई समाचारका रूपमा दिने गरेका कारण तर्राई आफंैमा समस्या हो कि भन्ने लाग्न थालेको हो । नेपालको तर्राई क्षेत्रमा भन्दा पहाड र हिमाली क्षेत्रमा अनेक समस्या छन् तर तिनका बारेमा कहिल्यै पनि गम्भीर रूपमा कुनै प्रकारको छलफल र बहस नहुँदा तर्राई मात्रै समस्याको केन्द्रबिन्दु बनेको हो । राजधानी काठमाडौंमा बसेर हेर्दा या कुनै पनि देशको राजधानीमा बसेर सूचनाहरूलाई विश्लेषण गर्दा नेपालको तर्राई अहिले भयानक डरलाग्दो स्थितिमा गुज्रिरहेको क्षेत्र हो, जहाँ फिरौतीका लागि अपहरण, जबर्जस्ती चन्दा असुली, हत्या, बलात्कारजस्ता कुराहरू सामान्य बन्दै गएका छन् । अनेक आकारप्रकार र नामका सशस्त्र जत्थाहरूका निम्ति साना हतियारको प्रयोग खेलौनाझैं बनेका छन् । धनुषा, महोत्तरी, र्सलाही, सप्तरी, सिराहा, रौतहट, बारा, पर्सालगायतका जिल्लामा अहिले शान्तिसुरक्षा नै प्रमुख चुनौती बनेको छ । धार्मिक स्थल मानिने जनकपुर र आसपासका क्षेत्रमा विगत केही समयदेखि हत्याका घटनाहरू बढ्दै गएका छन् । तर्राईका सहरी क्षेत्रमा विभिन्न नामका सशस्त्र समूहहरूले लिखित रूपमा पत्र पठाएर चन्दा माग्ने गरेका छन् । पत्र प्रायः कम्प्युटर लिखित हुने गरेको छ र मागिएको रकम पनि सानोतिनो हुने गरेको छैन । स्थानीय व्यापारी, सङ्घसंस्था तथा विभिन्न कार्यालयमा काम गर्ने व्यक्तिहरूलाई चिठी पठाइन्छ र सीमापारि पुगेर टेलिफोनबाट धम्की दिइन्छ । धम्कीको भाषा प्रायः एउटै हुने गर्छ, ‘तोकिएको रकम नदिए ज्यान जानेछ ।’ पत्रमा यो मितिमा बसेको बैठकले गरेको निर्णय भन्ने कुरा लेखिएको हुन्छ । कतिपय अवस्थामा सो पत्र चन्दा मागिएको सम्बन्धित व्यक्तिसँगै सञ्चार संस्थाहरूमा पनि दिने गरिएको छ । तर, धेरैजसो यस प्रकारका पत्रहरू जसले पाएका छन् तिनीहरू आफंैले भने प्रहरीसम्म उजुरी गर्दैनन् । ज्यानैसम्म जाने डरत्रासका कारण प्रहरीलाई उजुरी गर्नुभन्दा बरु मागिएको रकम तिर्नपट्ट िनै लाग्नेहरूको सङ्ख्या धेरै छ । अपराधीहरूलाई राजनीतिक संरक्षण पनि प्रसस्तै छ, जसका कारण उनीहरू पक्राउ परे पनि लामो समय हिरासतमा बस्नुपर्दैन ।
यो हप्ता जनकपुरमा रहँदा नेताज्यूहरूको राम्रै चहलपहल देख्न पाइयो । महन्त ठाकुर, हृदयेश त्रिपाठीलगायतका तर्राईका नेताहरू जनकपुरमै हुनुहुँदोरहेछ । करिब हिन्दी सिनेमाकै स्टाइलमा उहाँहरूको वरिपरि मानिसको भीड, गाडीको लस्कर, सुरक्षा प्रबन्ध, एउटा छुट्टै माहौल थियो । नेताहरूको वरिपरि जे-जस्ता मानिसहरू भए पनि जनकपुरका सर्वसाधारणहरूको चाहना भने सबैको उस्तै थियो- शान्तिसँग गरेर खान पाए हुन्थ्यो, सडक सफा भए हुन्थ्यो, राम्रो शैक्षिक वातावरण, बाटोघाटो, खानेपानीको सुविधा, मन्दिरको सरसफाइ आदि । त्यहाँका सर्वसाधारणको चाहना संविधान चाँडै बनोस् भन्ने पनि छ । तर, संविधान बनाउने नेताहरूको विचार भने आफ्नो पार्टीले कहाँ कस्तो स्थान पाउने हो, पार्टीको हितका नाममा व्यक्तिको हित हुने कार्य नहुन्जेलसम्म एउटै विचार आउने सम्भावना देखिँदैन । तर्राईका धेरैजसो नेताहरू मुलुकको हितका निम्ति होइन मधेसका नाममा आफ्नो हितका निम्ति व्यस्त छन् या आफ्नो हितलाई सर्वोपरी मानेर एजेण्डाहरू अगाडि ल्याइरहेका छन् भन्ने स्थानीयवासीहरूको ठम्याइ रहेछ । जनकपुरधामका एक स्थानीय खुद्रा व्यापारीले भने, ‘खै नेताहरू यहाँका सरकारी कार्यालयहरूमा तर्राईवासी चाहियो भनेर काठमाडौंमा बसेर माग गर्छन् । तर, हामीलाई काम गर्न भने पहाडी समुदायका मानिसहरूसँगै सजिलो छ । उनीहरू सहयोगी हुन्छन् र सानातिना कामका लागि तर्राईवासी कर्मचारीले झैं पैसा पनि माग्दैनन् ।’ यसको अर्थ मधेसमा भ्रष्टाचारको मात्रा अत्यधिक छ, पैसाबिना स-साना कामहरू पनि हुँदैनन् । त्यसो त, नोपलको पूरै ‘ब्युरोक्र्यासी’ भ्रष्टाचारपूर्ण छ, नेताहरूलाई भ्रष्टाचारी बनाउने पनि कर्मचारीहरू नै हुन् भन्दा खासै फरक पर्दैन । जलास्रोत होस् या कृषि, गृह वा शिक्षा हरेक क्षेत्रमा भ्रष्टाचार छ । तर्राईवासीहरूले पहाडीहरूले भ्रष्टाचार कम गर्छन् भन्ने मान्यता राखे पनि हरेक समुदायका मानिसहरू भ्रष्टाचारसँग जोडिएका छन्, यसले क्रमशः संरचनागत रूप लिइरहेको छ । माओवादीहरू सार्वजनिक नहुन्जेलसम्म उनीहरू सरकारमा गए त कम्तीमा भ्रष्टाचारचाहिँ रोकिने थियो भन्ने बुझाई थियो तर उनीहरू सरकारमा गएपछि जे-जे भयो त्यसबाट भ्रष्टाचारीहरू झनै उत्साहित बने, सरकारी कर्मचारीहरू अझ भ्रष्टाचारतर्फ उन्मुख हुने वातावराण त्यतिबेला बन्यो । अहिले तर्राईमा शिक्षा क्षेत्रमा छुट्याइएको बजेटको व्यापक दुरुपयेग भएको छ, एक स्थानीय पत्रकारले भने, ‘दुर्भाग्य के छ भने विगत केही वर्षदेखि शिक्षामन्त्री यो वा त्यो जो भए पनि तर्राईवासी नै छन् ।’ केन्द्रमा मात्रै होइन तर्राईवासी मन्त्री भएका मन्त्रालयअर्न्तर्गतका स्थानीय निकायमा पनि भ्रष्टाचार बढ्दै गएको रहेछ जसबाट स्थानीय स्तरका तर्राईवासीमा निराशा छाएको छ ।
तर्राईका बाटोका लागि गएको बजेट पनि राम्ररी सदुपयोग हुन सकेको छैन, खाल्डाखुल्डीपूर्ण सडकमा नेताजीहरूका सानदर गाडी राम्ररी दौडिन सके पनि सर्वसाधारणले भने धेरै नै दुःख पाएका छन् । जनकपुरकै कुरा गर्ने हो भने वर्षौंदेखिका धुलाम्य सडकहरू जस्ताको तस्तै छन् । मन्दिर वरिपरिको फोहोरमा पनि खासै परिवर्तन आएको छैन, सहरको वरिपरि फोहोर उस्तै छ । मानिसलाई हेर्ने दृष्टिकोण पनि उस्तै छ । मधेस आन्दोलनले मधेसका केही मानिसलाई नेताको रूपमा स्थापित गरायो, नामै नसुनेका मानिसहरू रातारात राष्ट्रिय व्यक्तित्व बने, मधेसीको प्रतिनिधित्वको कुरा राष्ट्रिय मुद्दाको रूपमा उठ्यो । लाठीदेखि लिएर अनेकौं आकार-प्रकार र नामका जुलुसहरू निस्किए, आन्दोलनले ठूलै रूप लियो, परिणामतः तर्राई राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण स्थान राख्न सफल भयो । तर तर्राई आन्दोलनको यो पूरै चक्रमा मधेसभित्रका सांस्कृतिक कुरीतिहरू कहिल्यै मुद्दा बन्न सकेनन्, दाइजोदेखि घरेलु हिंसासम्मले व्यापकता पाएको तर्राईमा यस्ता मुद्दाहरू नेताजीहरूका चासोका विषय न त हिजो बने न त आज बनिरहेका छन् । अन्य विभिन्न विषयमा मधेसका समस्या भनी भाषण गर्नेहरूले यस प्रकारका कुरालाई समस्याका रूपमा देखेका छैनन् । मधेसमा केही दिन बसेर हेर्ने हो भने त्यहाँको सबैभन्दा ठूलो समस्या ‘एटिच्युड’ नै देखिन्छ । स-साना कुरामा पनि अरूकै सहयोग खोज्ने, आफैंले गर्न सकिने कुरामा पनि सरकारी मुख ताक्ने, नकारात्मक सोचलगायतको प्रवृत्ति तर्राईमा धेरै छ । जनकपुर होस् या वीरगन्ज, नेपालगन्ज या विराटनगर वर्षौंदेखि उस्तै छन्, सहरको स्वरूपमा मात्र होइन मानिसको ‘एटिच्युट’मा पनि खासै परिवर्तन आउन सकेको छैन । तर्राईका समस्यामा धेरै कुरा भए अब सुधारका कामहरू गर्ने बेला आएको छ, तर्राई भाषण र सत्ताका लागि बार्गेनिङ होइन भ्रष्टाचारविहीन सरकारी संरचना, विकास र सकारात्मक सोचसहितको सामाजिक सुधार परि्खएर बसेको छ ।