भीड देखेपछि उत्तेजित हुने र आफ्नो हैसियत, धरातल र जिम्मेवारी बिर्सने नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि विवादित अभिव्यक्ति दिएका छन् उत्तेजना र आक्रोशमा । माओवादीको भ्रातृसङ्गठन अखिल क्रान्तिकारीको १८औँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै गत मङ्सिर २४ गते ‘विश्वविद्यालयहरू ब्यारेक र विद्यार्थीजति फौज बन्नुपर्ने समय आउन थालेको’ बताएपछि उनको अभिव्यक्तिले मात्र आलोचना खेप्नु परिरहेको छैन एउटा जिम्मेवार नेताको यस खालको गैरजिम्मेवार अभिव्यक्तिले माओवादीप्रति सशङ्कित अन्य दलहरूलाई थप सशङ्कित बनाएको छ ।
त्यसो त एउटा न एउटा हल्ला र हौवा मच्चाएर मुलुकलाई नै आतङ्कित बनाउने र आफूलाई चर्चामा राखिरहने माओवादीको नीति नै रहेको छ । त्यसैअनुरूप यसका नेता बेलाबेलामा उग्र, धम्कीपूर्ण एवम् मुलुकको सबैभन्दा ठूलो एवम् जिम्मेवार पार्टीको नेताले बोल्न नसुहाउने कुरा पनि बोल्छन् । यसैगरी आफ्ना पक्षबाट कतै कुनै नचाहिँदो काम भएको छ र त्यसको विरोध भइरहेको अवस्था छ भने त्यसलाई छायामा पार्न पनि माओवादी नेताहरू यो उपाय अपनाउँछन् । हुनत यसपटक पनि सत्ता नपाएको झोंकमा प्रचण्डले यस्ता कुरा गरेका हुन् तर त्यसलाई यत्तिकै हल्काफुल्का रूपमा मात्र लिन सकिने स्थिति छैन ।
म्ााओवादी अध्यक्ष प्रचण्डले आफ्नो भाषणमा भने, ‘अहिलेको राजनीतिक अवरोध चिर्न अन्तिम प्रहार गर्नुपर्ने भएकोले विद्यार्थी पनि तयारी हालतमा रहनुपर्छ । मुलुकलाई यही अवस्थामा राख्ने षड्यन्त्र भएमा अन्तिम प्रहारका लागि सवै विद्यार्थी तयार रहनुपर्छ ।’ उनले अगाडि भने, ‘वैचारिक रूपले प्रशिक्षित विद्यार्थी आवश्यक पर्नेबित्तिकै विश्वविद्यालयलाई ब्यारेक बनाएर फौज बन्नेछन् ।’ यसले माओवादीको फौज र हतियारप्रतिको मोह मात्र प्रस्टयाउँदैन, माओवादी जबर्जस्तीकै बाटो हिँड्न चाहन्छ भन्ने पनि प्रस्ट हुन्छ ।
विद्यार्थीलाई फौज बन्न प्रेरित गर्ने प्रचण्ड र उनको पार्टीले झन्डै २० हजार ऊर्जाशील युवालाई त फौज बनाएर क्यान्टोनमेन्टमा उपलब्धिविहीन र निष्त्रिmय रूपमा राखिरहेकै छ । उनीहरूले थुप्रै अवसरहरूबाट वञ्चित हुनुपरेको छ । लडाका समायोजनको नाममा प्रचण्डहरू अनेक बहानाबाजी गरेर उनीहरूलाई क्यान्टोनमेन्टभित्रै सडाउन लागिरहेका छन् । आश्वासन र प्रलोभनमा भुलाएर युवाहरूलाई बन्दीका रूपमा यसरी राख्ने प्रचण्डले कीर्तिपुरमा विद्यार्थीमाझ गरेको भाषणले फेरि युवाहरूलाई गलत बाटो लिन उकास्न खोजेका छन् । त्यसो त कम्युनिस्ट पार्टीको सिद्धान्त नै जनतालाई अनेक प्रलोभनमा पारेर अलमल्याउने, हकअधिकारबाट वञ्चित गर्ने र पाल्तु पशुकै रूपमा व्यवहार गर्ने हो । जनता शिक्षित भए भने तिनले हकअधिकार खोज्छन् र आफ्नो हालीमुहाली चल्दैन, निरङ्कुशता टिक्दैन भनेर जनतालाई बाहिरी संसार र कसैसँग सर्म्पर्क हुन नदिने उनीहरूको नीति नै हो भने माओवादीले पनि ब्यारेक र फौजका कुरा गरेर युवावर्गलाई शिक्षादीक्षाको अवसरबाट विमुख गरी भेडा बनाउने नीति अख्तियार गर्नु अस्वाभाविक होइन ।
क्यान्टोनमेन्टमा रहेका युवाहरू प्रचण्डहरूको मोजमस्तीका हतियार बनेका छन् वास्तवमा । उनीहरूको उमेर र ऊर्जा प्रचण्डहरूकै नाममा खेर गइरहेको छ । उनीहरूकै बलमा प्रचण्डहरूचाहिँ करोडका गाडीमा लावालस्करसहित यताउता गर्ने हैसियतमा पुगेका छन् । धम्क्याउने ठाउँमा क्यान्टोनमेन्टका युवालाई अघिसार्ने प्रचण्डहरू अब कलेजका विद्यार्थीलाई पनि आफ्नो सुखसयलका मतियार बन्न उकास्ने र उनीहरूको आडमा आफूहरूले मोजमस्ती गर्ने योजना बनाइरहेका छन् । यसबाट समस्त युवावर्ग सचेत रहनुपर्छ ।
जनआन्दोलनको उपलब्धि गुम्न दिनु नहुने भाषण गरे पनि शान्तिप्रक्रिया र संविधानलेखनमा माओवादीको अवरोध सबैले अनुभव गरेको विषय हो । बहुलवाद नमान्ने । लोकतन्त्रको नयाँ परिभाषा गर्नुपर्छ भनेर लोकतन्त्रको अपव्याख्या गर्न खोज्ने माओवादीकै कारण मुलुक यो अन्योलमा रुमल्लिइरहेको र आशङ्काका बादलहरू म्ाडारिइरहेको अवस्था विद्यमान छ । तैपनि माओवादी जनविद्रोहकै धम्की दिइरहेको छ । यो धम्की कसलाई हो – आर्श्चर्यको विषय छ । जनताको कुरा गर्ने, जनतालाई सास्ती दिने काम गर्ने –
देशभरका, कलेज-विश्वविद्यालयलाई ब्यारेक र विद्यार्थीलाई फौजी बनाउने प्रचण्डको अभिव्यक्ति समस्त लोकतन्त्रवादी र लोकतन्त्रकै लागि अर्को एउटा धम्की हो । यसप्रति लोकतान्त्रिक शक्तिहरू होसियार हुनुपर्छ । लोकतान्त्रिक शक्तिहरू सहमति र सहकार्यका लागि प्रयत्न गर्ने, माओवादी धम्की र चेतावनीको आडमा लोकतन्त्रको परिभाषा गर्न खोज्ने कस्तो विडम्बनापूर्ण स्थिति हो – एकातिर संविधान निर्माणमा विभिन्न बहाना बनाएर भाँजो हाल्ने अर्कोतर्फ उपलब्धि गुम्न नदिन ब्यारेक र फौजको धम्की दिने, कस्तो विरोधाभास – यसरी प्रचण्डको अभिव्यक्ति अशोभनीय मात्र छैन बहुलवादमा असहमत हुने, संविधानमा नागरिकको मौलिक हक, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रताजस्ता कुरालाई अपरिवर्तनीय बनाउने विषयमा असहमत हुने अनि फौज र ब्यारेकका पक्षमा अभिव्यक्ति दिनुले विवादहरू अझ बढ्ने छन् ।
लोकतन्त्रको सुदृढीकरणभन्दा अधिनायकवादी शासन व्यवस्थाका लागि मार्ग प्रशस्त गर्ने खालका आधारहरू संविधानमा स्थापित गर्ने माओवादी प्रयत्न छ चाहे डरधम्कीले होस् वा जबर्जस्तीले । यसैका लागि माओवादी नेताहरू जथाभावी अभिव्यक्ति दिइरहेका छन् । सहमतिको कुरा गर्ने तर आफ्ना विचार लाद्ने दुस्साहस उनीहरू ग्ारिरहेछन् । लोकतान्त्रिक शक्तिहरूबीच विभाजन ल्याउने प्रयत्न आफू गरिरहेछन् तर ‘माओवादीलाई फुटाउने प्रयत्न भयो’, ‘घेराबन्दीमा पार्ने, एक्ल्याउने प्रयत्न भयो’ भनेर हौवा पिटाउन उद्यत् छन् जब कि माओवादीमा फरक विचारको कुरा, परस्पर मतमतान्तरका कुरा केवल प्रक्रियाका विषयमा मात्र हो उनीहरूको गन्तव्य एउटै हो भन्ने कुरामा माओवादीइतर सबै दल स्पष्ट छन् । पालुङटारका मतान्तर केन्द्रीय समितिबाट टुङ्ग्याउने भनियो, अहिले ती विषय महाधिवेशनले छिनोफानो गर्ने भनेर थाती राखिएको छ जब कि माओवादीको महाधिवेशन भनेको आकाशको फल हो । यसैले यस्ता नाटक माओवादीले देखाउनु हुँदैन । यसैगरी सस्ता नारा लगाएर अशिक्षित, गरिब दीनदुःखी जनतालाई नचाहिँदा आश्वासन बाँडेर पछाडि दौडाउने अनि आफूहरू मोजमस्ती गर्ने धूर्त्याइँ पनि गर्नुहुँदैन माओवादीले किनकि २१औँ शताब्दी हो यो, लाटा-सोझा छन् भन्दैमा नचाहिँदो आश्वासन बाँडेर पछाडि लतार्नु हुँदैन । जहाँसुकै जनताको नाम जोड्ने तर कामचाहिँ नेताको मात्रै हुने अवस्था कदापि राम्रो होइन ।
प्रचण्डले प्रतिक्रान्तिकारी भनेर कसलाई भन्न खोजेका हुन् र यो मुलुकमा विगतका जनआन्दोलनले प्राप्त उपलब्धिहरूलाई संस्थागत हुन नदिन कसले बाधा हालिरहेको छ भन्ने कुरा खुलेर नभने पनि उनले लोकतान्त्रिक शक्तिहरूमाथि यस्तो आक्षेप लगाउने गरेका कुरा प्रस्टै छ । माओवादीका प्रमुख शत्रु भनेका नै लोकतन्त्रवादी हुन् भने लोकतन्त्र पनि माओवादीको शत्रु नै हो । आरोप लगाउनु एउटा कुरा हो वास्तविकताचाहिँ अर्को पक्ष । तर प्रचण्डहरूले बुझ्नुपर्ने कुरा के हो भने लोकतान्त्रिक विधि र प्रक्रिया स्वीकार गर्न जबसम्म तत्पर हुँदैनन् तबसम्म उनीहरूले लोकतान्त्रिक शक्तिहरूको विश्वास प्राप्त गर्न सक्दैनन् । जबसम्म अरूलाई धम्क्याउने, तर्साउने र सताउने काम छाड्दैनन् जबसम्म सैनिक र फौजका कुरा गर्न छाड्दैनन्, जहिलेसम्म हतियारमोह परित्याग गर्दैनन् र धम्कीमात्र दिइरहन्छन् जनताको मन जितेर सहयात्री दलहरूको विश्वास प्राप्त गरेर राजनीतिक रूपमा अगाडि आउन सक्दैनन् ।
समग्रमा भन्नुपर्दा प्रचण्डको कीर्तिपुर भाषण यस मुलुकका युवालाई दिग्भ्रमित पार्ने दुस्साहस र यो मुलुकलाई द्वन्द्व र मुठभेडमा अलमल्याउने बद्नियतले आएको हो । यसका प्रति सम्पूर्ण युवावर्ग एवम् लोकतान्त्रिक शक्तिहरू होसियार हुनुपर्छ । विगतमा बाँडेका आश्वासन फोस्रा भएपछि फेरि अरूलाई दोष दिएर आफू पानीमाथिको ओभानो बन्ने प्रचण्डहरूका यस्ता भाषणमा कोही अल्मलिनु हुँदैन । ‘कुकुर भुक्दै छ, हात्ती हिँड्दै छ’ भनेझैं समस्त लोकतन्त्रवादी एकाकार भई यस्ता धम्कीका विरुद्ध गतिशील हुनुपर्छ ।
प्रतिक्रिया