अन्तरवार्ताकारलाई लठ्याउने कला

अन्तरवार्ताकारलाई लठ्याउने कला


– तिलक पौडेल

अन्तर अर्थात् भित्री र वार्ता अर्थात् कुराकानी गरी दुई शब्द अन्तर र वार्ता अर्थात् भित्री ‌(अन्तरङ्ग)का कुराकानीको संयुक्त शब्द हो– अन्तरवार्ता । यसले सम्बन्धित व्यक्तिको भित्री याने अन्तरङ्गको कुराकानी भन्ने अर्थ लगाउने स्वस्पष्ट छ । कसैको अन्तर धारणालाई प्रकट गरी सर्वसाधारणको जानकारीका लागि प्रेषण गर्न अन्तरवार्ता प्रकाशन गर्ने गरिन्छ । अर्कोतर्फ कुनै प्रतिस्पर्धात्मक परीक्षाका विभिन्न विधाहरु जस्तै लिखित, प्रयोगात्मक, मौखिक आदिमध्ये मौखिक परीक्षाको अनिवार्य विधिका रुपमा अन्तरवार्तालाई लिने गरिन्छ ।

यहाँ म आफैंले लोकसेवा आयोगको लिखित परीक्षा उत्तीर्ण गरेपछि सामना गर्नुपरेको मौखिक परीक्षालाई आधार मानी अन्तरवार्ताका विषयमा उल्लेख गर्ने जमर्को गरेको छु ।

वास्तवमा अन्तरवार्ता दिंदा शिष्ट भाषा, प्रष्ट अभिव्यक्ति, अनुशासित पारा, सहज-सरल प्रस्तुतीलाई उपयुक्त मानिन्छ । अन्तरवार्तामा सम्मिलित हुँदा अनुहारमा तनावरहितता, दाह्री-कपालको स्निग्धता, पोशाकको उपयुक्ततालाई पनि मध्यनजर राख्नै पर्ने हुन्छ । मलाई के लागिरहेको थियो भने स्नातकोत्तर तहसम्मका परीक्षाहरुमा जहिल्यै पनि एउटै प्रकारका प्रश्नहरुको उत्तर दिइआएकोले स्वभावतस् मौखिक परिक्षामा पनि भिन्न प्रकारका प्रश्नको उत्तरका लागि तयारी गरिरहनु नपर्ला । तर वास्तविकता सोभन्दा फरक भएको थाहा लागेपछि आफ्नै प्रकारको तयारी गर्न थालें । अधिकांशतः अन्तरवार्ता कक्षमा प्रवेश गरेपछि शिष्टतापूर्वक अभिभादन गरी राखिएको कुर्चीलाई यसक्क सर्काई आसनग्रहण गर्नु उपयुक्त हुने र निःसन्देह पहिलो प्रश्न ‘यहाँको परिचय ?’ बाट शुरु हुने व्यहोरा अनुभवी अग्रजहरुबाट अवगत भएकोले सोही बमोजिम तयार हुनु परीक्षार्थीका नाताले आवश्यक भयो ।

मलाई परिचय भन्ने शब्दले रन्थन्यायो । तिम्रो नाम, उमेर, तौल, उचाइ, शिक्षा, बसाइ आदि व्यहोरालाई अलग-अलग रुपमा सोधनी गरेमा पनि सम्बन्धितको परिचय प्राप्त हुनेमा सोझै ‘तपाईंको परिचय ?’ भनेर सोधेमा के-के व्यहोरा समेट्नु पर्ला ? यो सोचाइले मनलाई चिमोटिरह्यो । तसर्थ, मैले पनि यस्तो तयारी गरें । ‘नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चलको स्याङ्जा जिल्लास्थित चिलाउनेबास गाविस। वडा नम्बर ५, झारखोला ‘स्याँर्कोट’मा २७ वर्ष पहिले जन्म लिएको, दायाँ आँखिभौंमा काटेको खत भएको, ५’११” उचाइको र ६७ किलो तौल भएको, तुलसीराम र मुवाकुमारी पौडेलको माहिलो छोरो म तिलक पौडेल, हाल मध्यपश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गत कर्णाली अञ्चलको डोल्पा जिल्लाको लिकू गाविस।स्थित जनप्रभा माध्यमिक विद्यालय, लिकूमा माध्यमिक तहको दरबन्दीमा रही गणित र विज्ञान विषयको अध्यापन कार्यमा गत ३ वर्षदेखि संलग्न छु’ भन्नुपर्ला भनी संयुक्त वाक्य तयार गरेको थिएँ ।

पहिलो पटक अन्तर्वार्तामा उपस्थित हुन गैरहेको म उपर्युल्लिखित तयारी स्वरुप नेपाली पोशाक पहिरेर तम्तयार भई लोकसेवा आयोगको केन्द्रीय कार्यालय गएथें । शाखा अधिकृतहरुको अन्तर्वार्ता लोकसेवा आयोगका अध्यक्ष र सदस्यहरुकै अध्यक्षतामा हुने, तिनीहरु सबैको मनोनयन राजाबाटै हुने हुँदा कतै र कसैले कसैको भनसुन नचाहने अनि कसको अध्यक्षताको टोलीमा आफू परिने व्यहोरा अग्रिम रुपमा थाहा नहुने जानकारी भएकोले सरल उपस्थिति वाध्यकारी थियो । संयोग एकजना सदस्य महिला भएको र तत्कालीन मेरो सोचाइमा महिला तुलनात्मक रुपले कमलो मनको हुने ठहरले निजकै टीमसँग अन्तर्वार्ता दिन पाए भन्ने सोचाइ त्यहीं पुगेपछि उब्जेको थियो ।

नभन्दै मेरा दुईवटा व्यहोरा ठ्याक्कै पूरा भए । मलाई बोलाएर महिला सदस्यकै कार्यकक्षमा पठाइयो अनि पहिलो प्रश्न ‘यहाँको परिचय ?’ बाटै अन्तर्वार्ता शुरु भयो । म प्रवेश गर्दा ठूलो टेबुलको पछाडिको कुर्चीमा आसीन महिला स्पष्टतस् लोकसेवा आयोगकी सदस्य थिइन् र मैले अभिभादन पनि प्रकट गरें । वायाँ साइडमा दुइजना वार्धक्य उमेरका मोटाघाटा व्यक्तिहरु विराजमान रहेछन्, बस्नु अगावै उनीहरुलाई पनि नमस्कार चढाएँ । तर हातमा लिएर हेरीटोपलेको कागजबाट टसमस भएनन् । कता-कता असजिलो महसूस भैहाल्यो । सदस्यज्यूले बस्ने आग्रह गरेपछि कुर्ची यसक्क सर्काएर बस्दो भएँ । पहिलो प्रश्न आफूले अड्कले जस्तै ठोकिन आएपछि ठक्क छाती फूल्यो, उत्तरको शुरुवात त गरें तर कति पूरा गरें थाहा भएन । सदस्यज्यूले वहाँ त्रिभूवन विश्व विद्यालयको प्राध्यापक फलाना र वहाँ सामान्य प्रशासन मन्त्रालयको सहसचिव फलाना भनी परिचय गराउनुभयो । म मुखारित भई अभिभादन गर्न नभ्याउँदै सहसचिवज्यूले ए… त्यसो भए तपाईं डोल्पामा टिचिङ गर्नुहुन्छ ? भनेर सोधनी गर्नुभयो ।

‌- मैले हजुरको संक्षिप्त उत्तर दिएँ ।

– कति वर्ष शिक्षकको काम गर्नुभयो ?

– सर ! बीचका एकाध महिनाका सङ्क्रमणलाई नगन्ने हो भने २०३६ भाद्र ५ गतेदेखि हालसम्म अनवरत रुपमा शिक्षण पेशामा संलग्न छु हजुर ।

– हैन ! शिक्षक त अलि कमलो मनका हुन्छन् रे ! यता प्रशासनमा त अलि कठोर हुनुपर्छ भन्छन् ! तपाईं कति उदार हुनुहुन्छ ?

– एक त आफ्नो मूल्याङ्कन आफैं गर्नु, त्यसमाथि उदारता जस्तो मापक नभएका सन्दर्भको ? मनमन सोच्दै अलि सङ्कोच हटाएर, सर यस्तो गम्भीर प्रश्नको उत्तर दिनुपर्ला भन्ने हिसाबको तयारी त अधुरै भएछ र गरिन पनि । सरबाट इजाजत पाए अलि व्याख्यात्मक उत्तर प्रस्तुत गर्ने थिएँ । भनें ।

– किन गम्भीर ठान्नु भयो र यसलाई ? हुन्छ भन्नोस्न त ।

– सर ! प्रथमत: उदारता जस्तो मिजरिङ् रड नभएको भावनात्मक पक्षको मापन गरी यति उदार छु भन्न पर्नु अनि आफ्नो मूल्याङ्कन आफैंले गर्नपर्नुले मलाई यो व्यहोरा गम्भीर लागेको हो । हुनपनि सरको कति उदार ? को उत्तर यति अर्थात् १ माना, १ हात, १ लिटर, १ किलो जस्तो हिसाबले दिन पाए बल्ल सन्तोष लाग्दथ्यो मलाई र उत्तर पनि ठीक हुन्थ्यो होला । रपनि यसलाई यसरी व्याख्या गरुँ कि भनेर भन्दै अघि नै परिचयमा म गणित, विज्ञानको शिक्षक भएको व्यहोरा अनुरोध गरिसकें । २-४ कक्षामै किन नहोस् गणित अन्तर्गत एउटा रेखागणित अर्थात् ज्यामितिको पनि पढाइ हुन्छ हजुर ! त्यसबेला कुनै विद्यार्थीले ब्ल्याकबोर्डमा एउटउ सरल रेखा खिचेर ‘सर ! यो रेखा लामो कि छोटो ?’ भनी प्रश्न गय्रो भने म अवाक हुन्थें । कतै यस्तो उपमा ल्यायो नभनिदिनु पर्ला । तर मलाई त्यही रेखाको तल या माथि अर्को रेखा खिचेर उल्लिखित प्रश्न गरेको भए स्पष्टतः लामो वा छोटो भन्न सक्थें अथवा रुलर अर्थात् कुनै मापक दिएर कति लामो भन्ने प्रश्न गरेको भए पनि नापेर यति इञ्च वा सेन्टिमीटर भनेर सहज उत्तर दिन सक्थें । भनी आफूलाई ढुक्क भएका पक्षतिर व्याख्या गर्दोभएँ ।

त्यसैगरी अहिले यहाँ पनि सरले मलाई उदार वा कठोर व्यक्तिको छेउमा राखेर अथवा उदारता मापन गर्ने औजार दिएर यो प्रश्न गरिदिनु भएको भए निस्सन्देह संक्षिप्त उत्तर दिनसक्थें । तर त्यसो नहुँदाको असमर्थताले मलाई उल्लिखित बमोजिम व्याख्यात्मक उत्तरका लागि इजाजत माग्न लगायो, कतै अनर्थ भएकोभए क्षमा चाहन्छु भन्दै सरले यदि मलाई मभन्दा कठोर व्यक्तिका सामु राखेमा म उदार सावित हुनेछु भने मभन्दा उदारका सामु उभ्याएमा स्वभावतस् कठोर प्रतीत हुनेछु । र पनि म आफूलाई समयसापेक्ष रुपमा आवश्यकतानुसार उदार वा कठोर ढङ्गले प्रस्तुत गर्न सक्नेछु भन्ने दृढता प्रकट गर्न चाहन्छु हजुर !

– त्यसो भए, मान्नोस् तपाईं सफल भएर निजामती सेवामा प्रवेश गर्नुभयो भने के गर्नुहुन्छ त ?

– त्यसो त उही नेपाली उखान छ नि सर ! ‘आफूभन्दा ठूलाको आदर गर, सानाको माया गर’ म पनि त्यलको विकल्प बन्न सक्दिन नै हजुर । यसमानेमा आफूभन्दा ठूला निकाय, व्यक्तिका आदेश, निर्देशको पालना गर्दै आफू मातहतका कर्मचारीलाई परिचालन गरी देश नरेशको सेवामा समर्पित हुनेछु । सक्रिय राजतन्त्रका समयमा ‘नरेश सेवा’ शब्दले पनि राम्रै वजन आँक्दथ्यो ।

– निजामती कर्मचारीले कति बिदा पाउँछन् नि ? तिलकजी !

– सर ! साङ्खिक तोकुवा गर्न असमर्थ छु । आज्ञा पाए भन्दै जाने थिएँ ।
– भन्नुहोस् त !

– बिरामि बिदा, भैपरी बिदा, पर्व बिदा, अध्ययन बिदा, विशेष बिदा, बेतलवि बिदा भनी अल्मलिएको बेलामा,

– घर बिदा पनि हैन र ?

– शरी ! हो सर । शिक्षातर्फ मिनपचास बिदा उपभोगमा बानी परेको म, त्यो त हटाएँ तर घर बिदा थप्न बिर्सेछु सर क्षमा चाहन्छु ।

– अनि कस्तो कर्मचारीले विशेष बिदा पाउँछ त ?

– यसतर्फ सघन तयारी हुन नसकेको व्यहोरा सादर अनुरोध गर्दै शायद ३ या ५ वर्ष सेवा अवधि पूरा गरेको कर्मचारीले कुनै विशेष परिस्थिति दर्शाएमा पाउने बिदा नै विशेष बिदा हो जस्तो लाग्छ सर १ भनी आफ्नो अबोधता पनि छिपाइन ।

त्यसपछि अर्का अन्तर्वार्ताकार मुखारित हुनुभयो । वहाँले ‘तपाईंले ब्याचलर कुन-कुन विषयमा गर्नु भएको हो ?’ बाट प्रश्नोत्तरको क्रम शुरु गर्नुभयो ।

– इतिहास र अर्थशास्त्रमा हो सर !

– ए… एकीकरणको इतिहास पढ्नु भयो त !

– फेरि नजानेको प्रश्नको सामना गर्नुपय्रो । र पनि आफ्नो अज्ञानतालाई नलुकाई आफ्नो स्थितिको व्याख्या गर्ने इजाजतसँगै ‘सर ! मैले नियमित विद्यार्थी बनेर अध्ययन गर्ने अवसरै पाइन हजुर ! आइएस्सीको अध्ययनपछिको बिएको अध्ययन मेरो प्राइवेट हो सर । अनर्थ नलगाइदिन आग्रह गर्दै प्राइवेट परीक्षार्थीका रुपमा जाँचमा सामेल हुनु भनेको अँध्यारोमा गुच्चा हान्नु जस्तै हो – गुड्दै गएर टोलेको आवाज आए पास भइयो नत्र असफल ! र पनि विषयसूचीलाई स्मरण गर्दा नेपालको एकीकरणको इतिहास पढ्नैपर्ने विषयमा पर्थ्यो सर, भनें ।

– त्यसो भए, डोल्पाको एकीकरण कहिले भएको रहेछ त ?

– डोल्पाको एकीकरण कसका पालामा कहिले भयो भनी एकीन भन्न त असमर्थ छु सर ! शायद खाँड वंशीय राजाहरुका पालामा भएको हो कि भन्ठान्दछु हजुर ।

– पहिले त डोल्पा जिल्ला त्यो अञ्चलमा थिएन क्यारे ! पछि किन त्यता सारिएको रहेछ ? नीतिगत रुपमा के थाहा छ ?

– हो सर, डोल्पा जिल्ला पहिला धौलागिरी अञ्चलमा पर्थ्यो तर अहिले कर्णाली अञ्चलमा पर्दछ । यसो गरिनुका पछिको नीतिगत कुरा त मलाई थाहा भएन हजुर । किनभने डोल्पामा पत्रपत्रिका पुग्नै महिना दिन लाग्छ पहिलो कुरा, दोस्रो त्यसमा पनि विद्यालयहरुले पत्रपत्रिका लिने गरेका छैनन, फेरि रेडियो नेपाल पनि प्रष्ट सुनिंदैन सर, जसको परिणाम राष्ट्रिय नीति बारे जानकारी भैहालेपनि म्याद गुज्रेपछि मात्रै हो, त्यसमा पनि यो विषयमा मलाई एकीन भएन । रपनि त्यहीं बसेको ३ वर्ष भएकाले – पहिले त्यो जिल्ला धौलागिरीमा हुँदा अञ्चल सदरमुकाम बाग्लुङ् थियो, जहाँ जान थाँगे नामको करिब बाह्रै महिना हिउँ हुने लेक पार गर्नुपर्थ्यो । हाल यो कर्णालीमा सारिएकोछ, जसको अञ्चल सदरमुकाम जुम्ला हो, त्यहाँ जान काइगाउँ हुँदै मौरे र भर्भरे नामका थाँगेका तुलनामा उकाला भन्न सुहाउने लेक पार गरे पुग्छ । यसमानेमा सर्वसाधारणलाई आवागमनमा राहत पुगोस् भनेर यसो गरिएको हुनुपर्छ जस्तो लाग्दछ ।

यति वार्ता हुँदासम्म सबैको अनुहार प्रसन्न झैं लाग्दथ्यो । मलाई ‘हुन्छ, जानोस्’ भनियो । सबै साथीहरु ३५-४० मिनेटसम्म कुरा गरेको जनाउँथे भने म २०-२२ मिनेटमै बाहिरिन पाएँ र अन्तर्वार्ताको सहभागिता टुङ्ग्याएँ ।

अन्तत: सफल भएको परिणाम प्राप्त भएको अनुभवले शुरुका अनुच्छेदको तयारीका अलावा विषयवस्तुको ज्ञान हुनु त नि:स्सन्देह सुनमा सुगन्ध जस्तै हुने भयो नै र पनि यदि आफूले प्रसन्न मुद्रामा सोधिएका प्रश्नलाई आफूलाई दखल भएको प्रसङ्गतर्फ प्रवेश्याएर व्याख्यात्मक उत्तर दिनुलाई पनि सफल अन्तर्वार्ताको एउटा रहस्य अनुभव भएको छ ।

हुन पनि गाईको निबन्ध पढेर आफ्नो राम्रो तयारी गरेको विद्यार्थीले यदि आफूलाई चलाख राख्न सक्यो भने विमानस्थलको विषयमा निबन्ध लेख्नुपर्ने प्रश्न सोधेमा पनि ‘विमानस्थल भनेको जहाजले उडान भर्ने र अवतरण गर्ने स्थल हो, जुन कालोपत्रे, ग्रावेल, माटेरघाँसे प्रकृतिको हुन्छ । घाँसे विमानस्थलहरुमा वर्षायाममा हिलो हुने, घाँस बढ्ने हुँदा विमानको आवागमन रोकिएको हुन्छ । वर्षा सकिएपछि घाँस काट्न सहज होस् भनी दिनहुँजसो गाई लगेर चराउने गरिन्छ । गाई भन्नाले …’ भनेर आफूले पढेको निबन्धलाई उत्तर बनाउन सकिन्छ, भन्छन् । यसरी आफ्नो ज्ञान चुस्त, दुरुस्त भएको पक्षमा विषयवस्तुलाई मोडेर अन्तर्वार्ताकारलाई आफ्नो व्याख्याले मख्ख पार्न सक्नु पनि अन्तर्वार्ता दिने व्यक्तिमा हुनुपर्ने अन्तरनिहित कला मान्न सकिन्छ ।

…सके सपारौं, नसके नबिगारौं…!