भूकम्प पीडितलाई घर हस्तान्तरण

भूकम्प पीडितलाई घर हस्तान्तरण


स्थानीय किस्पाङ गाउँपालिकाको मनकामना साबिकको मनकामना गाविसका एक अन्तराष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा निर्माण गरिएको भूकम्प प्रतिरोधी घर हस्तान्तरण गरिएको छ ।

वल्र्ड रिन्युको सहयोगमा नारी जागरण केन्द्र नेपालले साबिकको मनकामना गाविस–४, ६ र ७ मा रहेको ३२३ लाभग्राहीमध्ये २८२ घरको पुनः निर्माण गरी घरधनीलाई हस्तान्तरण गरेकोे हो ।

भूकम्पपीडितलाई घर हस्तान्तरण गर्दै राष्ट्रिय पुनः निर्माण प्राधिकरणका सहसचिव एवं प्रवक्ता यमलाल भुसालले भूकम्पले क्षति भएका घरको पुनः निर्माण सन्तोषजनक नरहेको अवस्थामा गैरसरकारी संस्थाको सहयोगमा एउटा जिल्लामा २८२ घरको पुनः निर्माण हुनु अन्य जिल्लाका लागिसमेत प्रेरणा मिलेकोे बताए ।

उनले भूकम्पपछिको पुनः निर्माणका लागि सहुलियत ऋणको व्यस्थापनका लागि कार्य अगाडि बढेकामा प्राधिकरणले तयार पारेको कार्यविधिअनुसार बैंकले ऋण दिन तयार रहे पनि ऋण तिर्ने मापदण्ड नबनेकाले ढिलाइ भएको उल्लेख गर्नुभयो ।

साबिकको मनकामना गाविसमा रु १८ करोडको लागतमा २८२ घर पुनः निर्माण गरिएको हो । कूल ३२३ भूकम्पपीडित भएपनि २८८ घरसँग मात्रै सम्झौता भएको बताइएको छ ।

उक्त संस्थाले भूमेदेवी मावि, कार्की मनकामना मावि लगायतका विद्यालयलाई शैक्षिक लगायतका अन्य सामग्री सहयोग स्वरूप उपलब्ध गराएको छ ।

यसैबीच भूकम्पले क्षति पु¥याएका आवासमध्ये नुवाकोटमा सात हजार १३९ घर पुनः निर्माण भएको जनाइएको छ । शहरी विकास तथा भवन डिभिजन कार्यालयअन्तर्गत आवास निर्माण जिल्ला आयोजना कार्यान्वयन इकाईका अनुसार लाभग्राही आफँैले अनुदान रकम प्राप्त गरी निर्माण गरेको घरको संख्या मंसिरको दोस्रो सातासम्ममा सात हजार १३९ पुगेको छ । आवास पुनः निर्माण भएकामध्ये लाभग्राहीले निर्माण गरेका पाँच हजार ३६४ घरको सरकारी अनुदान पाउन बाँकी रहेको छ । सरकारी तथा संस्थामार्फत अनुदान लिएर घर बनाउने प्रभावितको संख्या एकहजार ७ सय ७५ रहेको इकाई निर्देशक विदुर खड्काले जानकारी दिए ।

आवास निर्माणको अन्तिम चरणमा पुगेका दुई हजार ४० लाभग्राहीले तेस्रो किस्ता अनुदानका लागि निवेदन दिएका छन् भने १२ घरधुरीको अनुदान रकम बैंक खातामा निकासाको प्रक्रियामा रहेको इकाई निर्देशक खड्काले बताए । उनका अनुसार अनुदानमार्फत भन्दा प्रभावितले आफूखुशी निर्माण गरेको घरको संख्या तीन गुणा भन्दा बढी भएकाले तिनलाई अनुदान उपलब्ध गराउने प्रक्रियामा समावेश गर्न लागिएको छ ।

वैशाख १२ को भूकम्पले नुवाकोटमा ६५ हजार ७५९ घरधुरी पूर्ण क्षति भएकामा आवास निर्माण गर्न ६२ हजार ३७४ धरधुरीले अनुदान सम्झौता गरेका छन् । सम्झौता भएकामध्ये ६२ हजार ८६ परिवारले पहिलो किस्ताबापत रु ५० हजार नगद लिए पनि घर बनाउनको संख्या निकै कम छ ।

पहिलो किस्ता रकम लिएर आवास निर्माण शुरु गरी दोस्रो किस्ता रु एक लाख ५० हजार लिनेको संख्या १४ हजार ४८२ पुगेको छ । पहिलो किस्ता रकम पाएकामध्ये १५ हजार ९०० ले निर्माण कार्य शुरु गरेको पुनः निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयले जनाएको छ ।

राससका अनुसार पहिलो किस्ता रकम लिएर आवास निर्माण शुरु गरेका मध्ये १०९ घरको मापदण्डअनुसार नभएकाले अनुदान सिफारिशका लागि घर सुधार गर्न सुझाव दिएको सचिवालयका निमित्त प्रमुख वेदप्रसाद गौडेलले जानकारी दिए ।