भिक्टर ह्युगो : जसलाई मिल्यो फ्रान्सका पितामहको सम्मान

भिक्टर ह्युगो : जसलाई मिल्यो फ्रान्सका पितामहको सम्मान


– हेमन्त खतिवडा

भिक्टर ह्युगो महान् उपन्यासकार तथा महान् कवि हुन् । उनको कृतत्वको क्षेत्र विशाल छ । उनको लेखन अझ भव्य छ । उनले ४८ पुस्तक लेखे, ४४ भाषामा ती पुस्तक अनुवाद भए । करोडौँ प्रति विश्वभर बिक्री भए अनि एउटा कीर्तिमान राखेर जसले पुस्तक बिक्रीको सबै रेकर्ड तोड्यो ।

कस्तो दाजुमयी लेखन ! अनि कस्तो चमत्कारीपूर्ण विश्वकीर्तिमान । सर्वाधिक बिक्रीको सूचीमा उनका किताब अब्बल रूपमा दर्जिए ।

भिक्टर ह्युगोको साहित्यिक प्रतिष्ठा बढ्दै गयो । अझ बढ्दै गयो । ह्युगोको जन्म सन् १८०२ मा भएको थियो । सानामा धेरै बिरामी भए उनी, झन्डै हिँडेका पनि हुन् तर बाँचे । धेरै समय बाँचे अनि एउटा साहित्यिक प्रतिमूर्तिका रूपमा विश्वविख्यात भए ।

२३ वर्षको उमेरमा उनी भर्जिलको कविता पढेर मन्त्रमुग्ध भए । उनले भर्जिलको एउटा कविता अनुवाद पनि गरे । सानैदेखि आफ्नो प्रतिभाका प्रहर किरणहरू फ्याँक्न थाले । ह्युगोले बाह्र वर्षको उमेरमै दुखान्त नाटक लेखिसकेका थिए । चौध वर्षको उमेरमा त उनी मेधावी कवि भइसकेका थिए ।

यसैबीच उनकी आमा मरिन्, जसलाई उनी असाध्य माया गर्थे । हाय ! यो कस्तो विपत्ति, उनले पीडाको अनुभूति गरे, उनी भावविह्वल भए । अनि उनको काव्यमा, काव्यधारा बग्न थाल्यो । आखिर कवि हृदय न हो, कोमल हृदय न हो, उनको अनुभूति छताछुल्ल रूपमा पोखियो काव्यमा । काव्य, त्यो काव्य जहाँ उनी कहिले मुस्कुराउँछन् त कहिले हृदय खोलेर उनका आँखाबाट नदी बग्छन् ।

बाबुले फेरि तुरुन्तै कान्छी ल्याए, उनी मर्नु न बाँच्नु भए । हाम्रा भिक्टर ह्युगो सत्र वर्षको उमेरमै स्टार भइसकेका थिए । चम्किलो तारा भइसकेका थिए । त्यही स्टार भएर होला केटीहरू हुरुक्क हुन्थे अनि उनको पछिपछि लाग्थे । अब भने उनी प्रेममा परे एउटी सुन्दरी युवती आदेलसँग ।

आदेल सोह्र वर्षकी मस्त तरुनी थिइन् । राम्री पनि उस्तै । ‘आदेल म तिमीलाई हृदयदेखि प्रेम गर्छु, ए ! मेरी दिलकी राजकुमारी, तिम्रो प्रेमको भाकाले म मोहित भएँ मेरी प्यारी राजकुमारी’ ! उनले दिल खोलेर प्रेमपत्र लेखे । सन् १८१९ को २६ अप्रिलमा । अनि त्यो साँझ चराको चिरचिर थियो, गोधूलि साँझमा उनले लेखे । अनि आदेल मोहित भइन्, उनी पनि त भुतुक्कै भइन् नि… एउटा कविको सङ्लो प्रेममा परेर ! निश्चल प्रेम–गंगामा पौडी खेल्न पाउँदा कति स्वच्छन्द थिइन्, प्रेमकी यी राजकुमारी, अनि प्रकृतिकी यी हाम्री परी !

कस्ता थिए त भिक्टर ह्युगो ? ठूलो निधार, शान्त चेहरा, चीलका जस्ता तिखा आँखा । उनको ललाट उनको हँसिलो चेहरामा संगमर्मरको मूर्तिझैँ देदीप्यमान देखिन्छ । २१ वर्षको उमेरमा ह्युगो विख्यात लेखक भइसकेका थिए ।

उनको पहिलो उपन्यास हन अफ् आइल्यान्ड पढेपछि कवि अल्फ्रेद द विन्यीले लेखे, ‘यो महान् चिरस्थायी कृति हो । उनका नाटकहरूले दर्शकवृन्दलाई मन्त्रमुग्ध पारे । उनले हरनानी भन्ने नाटक लेखे । साथीहरूलाई पढेर सुनाउन थाले । त्यति नै बेला एकजना प्रकाशक आए अनि भने पढ्नु आवश्यक छैन, यसलाई नहेरी स्वीकृत गर्छु । नभन्दै उनले नहेरी स्वीकृत गरे ।

अब भने उनले प्रसिद्धिको स्वाद चाख्ने बेला थियो । अनि राष्ट्रिय सीमाको पर्खाल नाघेर विश्वप्रसिद्धिको चुलीमा पुग्ने बेला थियो ।

तीन वर्षसम्म पेरिस बसेर हन्चव्याक अफ् नोत्रदास लेखे । सुन्दरी एस्मेरेल्डा र कुप्रे क्वाजीमोदोको साहस कथाको वर्णन छ यसमा ।

प्रसिद्ध कवि लामरतिन यसबारेमा भन्छन्, ‘यो उपन्यास मध्ययुगको प्रतीक र कविताको मन्दिर भएर उभिएको छ ।’ सबैले उनको प्रशंसा गरे, वाह वाह भने । यसैबीच उनले जुलियटलाई भेटे, उनी जुलियटसँग प्रेममा परे, उनका दुईवटा हृदय थिए, एउटाले आदेललाई प्रेम गर्थे अर्कोले जुलियटलाई ।
पेरिसमा बसेर ला मिजराब्ले लेख्न सुरु गरे । यो उपन्यासमा जाँ वालमा, फाँतिन र उसको छोरी कोसेतका दुर्दिनहरूको माध्यमबाट उनले अन्यायको विरुद्ध आवाज उठाएका छन् । यसैबीच यो उपन्यास लेख्दा उनले धेरै राम्रा–नराम्रा दिनहरू देखे ।

उनी फ्रेन्च एकेडेमीका सदस्य पनि थिए । फेरि १९ वर्षकी छोरी लेओपोल्दिन पानीमा डुबेर मरिन् । उनी फ्रान्सका सर्वश्रेष्ठ कवि घोषित भए । सन् १८४५ मा राजा लुई फिलिपले उनलाई ‘पियार’को उपाधिले विभूषित गरे । फेरि अर्की छोरी मरिन् । फेरि कान्छी छोरी बहुली भइन् । सुद्धिबुद्धि हराइन् र पागलखानामा बसिन् । ला मिजराब्ले लेख्दा यस्ता धेरै प्रिय–अप्रिय घटना घटे । यो पुस्तक बजारमा आएकै दिन पचास हजार प्रति बिक्री भए ।

ह्युगो अब बूढा भए, मान, सम्मान सबै पाए । तैपनि उनको चेहराको चमकमा कुनै कमी आएन । सधैँ हँसिलो भएर हिँड्थे ।

बुढेसकालको सङ्घारमा टेक्दा पनि उनी त्यत्तिकै फुर्तिला थिए, बिहानै समुद्रमा गएर डुबुल्की मार्थे, फेरि आएर लेख्थे । दिउँसो चित्र कोर्थे, फेरि समुद्रको किनारैकिनार घुम्थे । खान्थे उधुम, दुईवटा कुखुरा एकै छाकमा खान सक्थे । जीवनमा धेरै आनन्द भोगे हाम्रा भिक्टर ह्युगोले ।

फ्रान्सका पितामहजस्ता भएर उनी बसे । फ्रान्सको सरकारले धेरै सेवा र सुविधा दिएर उनलाई राख्यो, उनको घरमा सेनाले सुरक्षा दिन्थ्यो । उनको ८० वर्षको जन्मोत्सव देशले भव्य रूपमा मनाइरहेको थियो ।

फूल ! फूल ! चारैतिर फूलहरू आयो । फूलैफूल ! अनि मान्छेहरू आए, गाए, नाचे । हाम्रा भिक्टर ह्युगोले हात हल्लाए, मुस्कुराए अनि त्यो मुस्कान हेर्दाहेर्दै धिमा भयो, उनी उठेर बस्नेबित्तिकै ढले । सुस्तरी उनी चिरनिद्रामा परे, त्यो खुसी त्यो उत्साह अब आँसुमा बदलियो ।

अनि सुस्तरी सबैबाट बिदा भए हाम्रा भिक्टर ह्युगो । अब उनी इतिहास भए । सबका प्यारा भिक्टर ह्युगो, हाम्रा महान् साहित्यकार भिक्टर ह्युगो ।