विप्लवका आठ सय बढी कार्यकर्ता प्रहरीको नियन्त्रणमा

विप्लवका आठ सय बढी कार्यकर्ता प्रहरीको नियन्त्रणमा


सरकारले आपराधिक घटनामा संलग्न भएको भन्दै आठ सय भन्दा बढी विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई पटक/पटक गरी नियन्त्रणमा लिएको छ ।

निर्वाचन केन्द्रित सुरक्षा योजना लागू भएपछि गुण्डागर्दी र निर्वाचन विरोधी गतिविधि गर्ने आठ  सय भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको हो ।

आगामी मंसिर २१ गते हुन लागेको निर्वाचनलाई लक्षित गरी ४५ जिल्लामा ती जिल्लामा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गरेको विशेष सुरक्षा योजनाका कारण मंंसिर १८ गते बिहान ८ बजेसम्म गुण्डागर्दी र निर्वाचनविरोधी गतिविधि गर्ने ८ सय ७६ जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता तथा डिआइजी मनोज न्यौैपानेले बताए ।

अहिले ४५ जिल्लामा शान्तिसुरक्षाको अवस्था मजबुत रहेको समेत डिआइजी न्यौैपानेले बताए ।

गत शुक्रबार मात्रै बसमा बम बोकेर ल्याइरहेका दुईजना भारतीय नागरिकलाई प्रहरीले धादिङको नौबिसेमा पक्राउ गरेको थियो ।

केन्द्रीय सुरक्षा योजनाको आधारमा निर्वाचन हुने जिल्लामा ती जिल्लाका सुरक्षा समितिले निर्वाचन पूर्व, निर्वाचनका बेला र निर्वाचन पश्चातका फरक फरक सुरक्षा योजना बनाएका छन् ।

यता लगातार बम विस्फोट हुँदासमेत कसले विस्फोट गराएको भन्ने बारेमा अहिलेसम्म आधिकारिक धारणा सरकारले सार्वजनिक गर्न सकेको छैन ।

लगातार उम्मेदवारलाई नै लक्षित गरेपछि गृह मन्त्रालयले पनि सुरक्षा निकायलाई यसरी विस्फोट गराउने, जनताको जिउधनको क्षति पुर्याउने क्रियाकलाप गर्दै गरेको भेटिएमा गोली चलाउनसमेत आदेश दिएको छ ।

प्रहरीले अहिलेसम्म यसरी विस्फोट गराउने समूह विप्लव नेतृत्वको नेकपा माओवादी नै भएको आशंका गरेको छ ।