मेरो प्रवासी दशैं र नेपाली सम्झनाहरु

मेरो प्रवासी दशैं र नेपाली सम्झनाहरु


-प्रकाश के.सी.,
पातहरु पहेंलिएर सडकभरि छपक्कै हुन थालेका छन् । विस्तारै रुखहरु पातविहीन बन्दै जाँदैछन् । शरद ऋतुलाई पछाडि छाड्दै जाने समयले एउटा यस्तो जर्जर छाप दिँदैछ कि विस्तारै नेपाली सम्झनाहरु झ्याङ्गदिैछन् । चिसो पवनहरुमा लश्करै पातपतिङ्गगर उड्दछन्, कतिपय यस्तै अवसरहरुमा मन पनि बतासिँदै उड्दछ । अँध्यारो तथा धुम्मपनाको समय चाक्लिँदै गएको छ । डाँडापाखाहरु थोरै समयकै उज्यालोमा रङ्गी बिरङ्गी भएर आएको छ, जो केही दिनभित्रै उजाडलाग्दो देखिने पक्का छ । सखारै कारको विन्डस्क्रिनमा हिँउका पातला तहहरु पर्न थालेका छन् जसकै प्रभावस्वरुप विहानीमा खेतका कान्लाहरुमा हिँड्दा घुँडामुनि लछ्रप्पै पार्ने शीतका सम्झना हुन थालेका छन् । बोल्दा एक हुल वाफहरु शब्दसँगै निस्किने तुसारोको सम्झना, हिँउका पातलो लहर र कारभित्र कठ्याङ्ग्रिने चिसोको दखलसँग समान आभास दिन थालेका छन् । अनि भर्खरै दशैं एउटा मीठो अनुभव दिएर गइसकेको छ र समय तिहारलाई छोट्याउँदै गएको छ ।

जतिसुकै अवधि लम्बिए पनि कतिपय यस्ता सम्झनाहरु हुन्छन् जो कुनै पनि हालातमा मस्तिष्कबाट मेटिएर जाँदैनन् । मानिसहरु त्यस्ता सम्झनाहरुलाई जीवनभरि घिसार्दै लान वाध्य हुन्छन् । एउटा लामो अवधिको पट्टाक्षेप गुज्रिसकेको छ । यो लामो अवधि, नेपाली औसत आयुअनुसार आधा आयुभन्दा बढी हो । जीवनमा अवसरहरुको खोजीमा भौंतारिँदा भौंतारिँदै मजस्ता हजारौं नेपालीहरु विदेशी भूमिमा खरानी भएका छन्, माटो भएका छन् । यसरी माटोमा हजारौं आशाहरु, सपनाहरु अनि उत्साहहरु भास्सिएका छन् । हजारौं नेपाली यस्ता टिस अनि आहहरु कालान्तरदेखि विदेशी रहनसहनमा एक नियति बनेर बितिसकेकाछन् । तथापि सोही रहनसहनमा हामीहरु केही यस्तो समयको जोहोमा हुन्छौं कि त्यो समयले हामीलाई हाम्रो आफ्नै नितान्त स्वरुपमा आवद्ध गरोस् र त्यो जोहो खासगरी यहाँ यूकेमा दशैंले ल्याउँदो रहेछ भन्ने अनुभव मेरो आफ्नो पहिलो यूके बसाइको पहिलो दशैंले दियो, त्यसैले नै म भित्रभित्र कमजोर भएको छु । एक पटकको नेपाली सदाकै नेपाली हुने रहेछ, कालान्तरदेखि यहाँ बसोबास गर्दै आएका सहयूकेबासीहरुको दशैं उत्साह देख्दा थाहा लाग्यो र त्यही क्रममा घर-परिवारको सम्झना यस्सरी निख्खर भएको छ कि केही घमण्ड जो कतै थियो कि भन्ने लाग्थ्यो, त्यो धर्मराउन थालेको छ, र त्यही क्रमिकताको क्रममा समाजमुखी, परिवारमुखी भएको छु । घर, चौक, चौबाटो अनि सडकहरु खाली-खाली लाग्न थालेको छ, नेपाली बोली र हाँसोहरुको अप्राप्यमा चाड चौपट्टको अपुग लाग्न थालेको छ र मान्नै पर्दछ, यो ढल्कँदो वर्षरुको प्रभाव पनि हो । बुढ्यौलिएका अभिभावकहरुको हातभरिको टीकाको महत्व हतारिएर मेरो परदेशी यापनमा थोपरिएर गहकिन थालेको छ ।

परिवर्तनको लहरले संसारमा सबै देशहरुलाई छोएको छ, परिवर्तन समयसापेक्ष हुन्छ । नेपाल सोबाट विमुख हुन सकेन र प्रजातन्त्रले नयाँ पन दिने प्रयत्न गर्दै गएको नेपाल, यो बेला यस्तो अवस्थामा आएको छ कि आफ्नो स्वस्वरुप हराएर नयाँ स्वरुपमा जान नसक्दैमै अव्यवस्थित भई चौपटि्टएको छ । त्यसको प्रभावमा निरुद्ध भई हाम्रो कालमा खासमा हामीहरुले भुक्तभोगी बनेर भोग्न वाध्य भएका छौं । अवसरको निर्माण गर्न लागीपर्नेहरु र त्यही अवसरहरुको खोजीमा भौंतारिनेहरु अहिले नेपाली मनमस्तिष्कबाट नै विस्थापित भएका छन् । यो वर्तमान नेपाली राजनीतिक सदासयताको प्रतिफल हो, त्यो यत्तिका अवधिपछि पनि पारम्परिक रहनसहनहरुको हृयाङ्गओभर जस्ताको त्यस्तै प्रभावको निःशेष, प्रत्येक दिनको यापनमा राख्नु मात्र पनि विस्थापित हुँदै गर्दाको परिणति हो । दशैं, त्यर्सअर्थ मनभरि पीडा उमाल्न सक्ने सम्झना बनेको यथार्थ भोग्दै गर्दा म पारिवारिक वोधले ग्रस्त भएको छु र यो बेलामा आमा, बाबा अनि फैलिन नसकेका मेरो वंशको पीर एक तमास भएर झुल्किन आइपुगेको छ, उस्तै नै एक तमास भई, पहेंलिएर झर्दै गएका पातहरुलाई नियाल्न थाल्दछु यतिखेर । चिसो भने दिन प्रतिदिन बढ्दै गएको छ र त्यसमाथि अहिले सिमसिम पानी जो परिरहेको छ ।

जमानामा छाडिएकी एक भूतपूर्व प्रेमिकाले आफू गर्भवती भएकी कुरा फोनमा ब्रेकिङ न्यूज जस्तै सुनाएकिथिई, जो उसको र मेरो वखतमा हुने ब्रेकिङ न्यूज जस्तो थिएन, जसले मलाई हतास बनाउँथ्यो । अहिले ऊ अर्कैकी भएकी थिई र त्यो खबर पनि अर्कैको भएको थियो । धेरैबेर सोँचेको थिएँ, वा यसो भनुँ, धेरैबेर मलाई सोचाएको थियो सो खबरले । खुशी हुनुपर्ने हो, वा खुशी भएको जस्तो भए पनि हुनु पर्ने हो, तर त्यो पनि हुन सकिनछु, र बदलामा उसले म ईर्ष्याले जलेको भन्दै फोन राखेकिथिई । विवाह गरेर गएकी भूतपूर्व प्रेमिका, एक प्रकारले भूतकाल मात्रै हो, केही लिबरल हुन सके, साथी जस्तै हो, खुशी हुनु पर्ने हो, तर सकिनँ, नमीठो केही तातो झीरजस्तै केही भित्रै सुइरिएर पस्यो र अझै बेलाबेलामा दुखाउँदै गएको छ जसले ।

हङकङ र लण्डनको नेपाली जीवनयापनमा आकाश र जमीनको अन्तर रहेछ, त्यो अहिले थाहा लाग्यो । हङकङमा बिताएका दर्जनौं वर्षहरु राम्ररी थाहा नै नपाएजस्तै गरी बितेछन् । एक किसिमले सामाजिकतामा लागेर वास्तवमा भन्ने भए दाम्पत्य जीवन नै कन्ट्रयाक्ट जस्तो गरी गुजारिएछ । भागदौड अनि हल्ला-हल्लामा नै जीवनले लामो प्रहर पार गरेछ । यूके त्योभन्दा भिन्न प्रकारको भएर मेरो यापनको भागमा आएको छ । सानो कोठा नै किन नहोस्, घर भएको छ । समय प्रशस्तै हात परेको छ । घुम्ने अनि रहरिने प्रकार विशेषका स्थानहरु र्सवत्र रहेका छन् । घरायसी प्रहरहरु त्यसैले अन्त्यहीन लाग्दछन् र हामी दुर्इजनाको दाम्पत्य जीवनमा कहिलेकाहिँ खाली खाली जस्तो लाग्न थालेको छ । आधाभन्दा बढी काटिसकेका समयको भूतकाल हुँदा पनि अझै गुजारिने जीवनका प्रहर लामो अत्यन्तै लामो लाग्दैछ । यो अवस्थामै पनि पनि हाम्रो सानो अपार्टमेन्ट विशाल लाग्दै गएको छ, जुन अत्यन्तै अत्यासलाग्दो हो, डरलाग्दो हो । सन्तानको अभावको तीतो प्रभाव हो यो, ठान्छु म । विहान बेलुका बूढाबूढीहरु झोक्रिएर एक्लै एक्लै हिँडेका पनि नदेखिने गरी चकमन्न लाग्ने लण्डनका साँझविहान अहिल्यै सानो परिवारभित्र शून्य बनेर रहने आशङ्काले आक्रान्त बनाएको छ । त्यसैले पनि दशैं, योपालि धेरै सम्झनामुखी भएको छ ।

बाह्र वर्षपछि पहिलोपटक निधारभरि टीका र कानमा जमराहरु झुलेका छन् भने एक लश्करैहरुका निधारहरुमा मेरा आशीषहरु अक्षेता भएर टाँसिएका छन् । यो समयको प्राप्ति हो भने सामाजिकतामा जेलिँदै गएको अनुभवको प्रतिफल हो । सामाजिकताभित्र जीवन गुजार्न धेरै सजिलो हुन्छ, हामी लण्डनको यस भागमा केही परिवारहरु त्यसैको जोहोमा कुनै न कुनै वहानामा लागिरहन्छौं । त्यसैले पनि, नेपाल सम्झनाभरि चहकिएर आएको छ । वर्षौंपछि पनि बाबाआमाका हातबाट टीका लगाउने समय जुरेन । दशैंको वहानामा परिवारहरु एक हुने अवसरलाई योपालि पनि थाँती राख्न सकिएन । वर्षौंअघिका सम्झनाहरुलाई पकाउँदै र त्यसलाई उग्राउँदै दशैं बिताउन वाध्य भएको छ ।