[निवन्ध] सम्झनामा लाचारीहरु बाँच्दाको क्षण

[निवन्ध] सम्झनामा लाचारीहरु बाँच्दाको क्षण


-प्रकाश के.सी.,
सोँचेकै रहेनछु, लाग्दैछ अहिले, कुनै दिन यसरी एकतमास एकोहोरिएर अतीततिर नियाल्ने गर्छु…..’आहा, क्या दिन थिए ती’….भनेर ! ती दिन भन्नाले उस्तै अन्य दिनहरु जस्ता दिन होइनन्, ती दिनहरु थिए….बैँसका दिनहरु, जो अहिले यतिका समयपछि हातमा हृविस्कीले भरिएको गिँलास लिएर रम्नु भनेको एक किसिमले यथार्थ स्वीकार गरेकै हो, कि ती दिनहरुमा रम्ने तन अहिले मनमा सरेछ, जीवनले दोस्रो चरण पार गरिसकेछ । साँच्चै भन्ने भए ….कहाली लाग्ने कटु यथार्थ भएको छ यो । एक जमानामा कतै पढ्ने गर्दथेँ……आगोको छेउमा आगो ताप्दै बैँस सम्झँदैका व्यक्तिहरुका ओँठमा खेल्ने मुस्कान लाचारीको हो…., रक्सीको शूर न हो, मुस्कुराएछु, तर मान्न कति मुश्किल……लाचारी नै टप्किएको हो भनेर । एकतमास मनसँग आँत भिजाउँदै गर्छु ।

हिजो जस्तै लाग्थ्यो भनेर भन्न खोजेको हिजो त पक्कै होइन, तर मनले सोँच्दा भने समय ज्यादा ढलेको नसम्झेको भने हुन्छ, हो त्यही जस्तैको हिजो, यहाँको भूमिमा कौतूहलताकासाथ पाइला टेकेको थिएँ, एउटा कतै अटाउन नै नसक्ने अथाह उत्साहले छाती उकुसमुकुस भएको झैँ लाग्थ्यो । अगाडि एउटा सिङ्गै सँसार देख्थेँ, अगाडि थुप्रौँ बाटोहरु देखिन्थे, पूरा गरी नसक्ने थाँतीका रहरहरु हुन्थे, व्याख्या गरी नसक्ने दाउका सम्भावनाहरु भेटिन्थे, तारा खसाल्छुझैँ लाग्थ्यो, जून टिप्छुझैँ लाग्थ्यो, दौडेर हार्वर क्रस गर्न सक्छुझैँ लाग्थ्यो, साँच्चै, साँच्चै लाग्थ्यो । अहिले आँखाअगाडि नियाल्दै छु तर दृष्टि, जस्तो, आरपार हुँदैछ । गिँलासभरिको रक्सीमा ….ख्वै कुन्नी ….कुन नसा रहेछ, त्यसै प्यारो लाग्छ, त्यसै मीठो लाग्छ, एकजमानामा युवतीको ओँठ यस्तै लाग्थ्यो । घण्टौँ हेर्न सक्थेँ…..सागर जस्तो गहिरो आँखामा, सागरझैँ गहिरो आँखाभित्र घण्टौँ आफूलाई हराउन सक्थेँ, आँखामा गीत पढ्थेँ, आँखामा गीत सुन्थेँ, आँखामा व्यथा गम्थेँ, अनि आँखामा पीडा बुन्थेँ । कतिऔँ कविताहरु रच्दथेँ ती आँखाहरुमा घोरिएर, अब यो अर्को कुरा हो कि कविता स्तरहीन हुन्थे, बेअर्थकै ज्यादा लाग्दथे । ओहो !…..कति सुमधुर सम्झना आएको छ, ……..ओँठलाई प्याला भन्थेँ, ओँठलाई मात भन्थेँ, ओँठलाई रसबरी भन्थेँ, ओँठलाई पुरस्कार ठान्थेँ, अलिकति ओँठ खुले यस्तो लाग्थ्यो सरररर….मीठो पवनले सरसराउँदै गयो, अलिकति ओँठ टोकिए यस्तो लाग्थ्यो….. अहो !..जस्तो भुइँचालो आएको होस्, जस्तो हूरी भर्खरै चलेको होस्, म सास तलको तल अनि माथिको माथि पार्थेँ । हातमा हात छोइए मात्रै दिन सफल ठान्थैँ, साथ यादगार मान्थेँ….. । सम्झना हो, अर्को आएको छ,…एकपटक, बसभित्र एउटी तीस-पैँतीसकी आइमाई, बच्चालाई काखमा राखी उसकै अगाडि उभिएको मेरो सामुन्ने अध-खुला अधर पारेर, बसको सिटमा मस्त सुत्दा, त्यो १९ वर्षीय मेरो युवा मनको मात अझै सम्झन सक्छु । एक, एक मिनेट मिनेटको होइन, जन्म, जन्मको बिताएको लाग्थ्यो । लाग्थ्यो….त्यस आइमाई सँधै उस्तैगरी मेरो अगाडि अध-खुला अधर बनाएर सुतिरहोस् र म लगातार हेरिरहूँ र बस लगातार गुडिरहोस् । कवितामा वा कवितामय त्यस घडीको भावनामा, जस्तो, सौन्दर्य खातका खात भरिएको होस् । लगभग एक घण्टाको त्यस यात्राको, त्यसबेला, अनि त्यस स्थितिमा, कति पटक आँखा चिम्लेँ हुँला ? अब, यसरी हातमा हृविस्कीले भरिएको गिँलास लिएर जब यसरी एकोहोरिएर सोँच्छु नी, कतै लाचारी, कतै थक्थकी त कतै नैराश्यपूर्ण मुस्कान फैलिन्छन् ओँठभरि ।

एउटा काल बितेकै हो । उफ्रिन मन लाग्न छाडेको छ, लडिने सम्भावना र्छलङ्ग देखिन थालेको छ । साँझ नपर्दै विहानीको चिन्ता हुन थालेको छ । नाइट लाइफको महत्ता कता हरायो, हरायो । एउटा रस निचारिएको सुन्तलाको नियति भोग्दैछु । एउटी कुइरिनी बेकारमा आँखाहरु झिमझिम पार्ने गर्दछे छिनछिनमा आएर रिसेप्सनमा ! तान्पुरा भैसकेको मेरो मनलाई किबोर्ड बनाउन सोँच्दैछे सायद । कति सजिलो हुन्छ, …..’तिमी त वाह !…छौ’,… भनेर भनिदिन, ….’तिम्रो बोलीमा जादु छ’ ….भनेर मानिँदिन ! ऊ मेरो मनलाई किबोर्ड मानी लय तथा शूर साँध्न थाल्छे, उसलाई थाहा नभएकै हो….म त खालि ..टिन्..टिन्..टिन्..टिन्..गरी बजिरहने एकोहोरो तान्पुरा भइसकेको छु भन्ने । दिनभरि बाहिरिएर टन्न भई फर्केको थिएँ, गर्मीले चौपट थिएँ, ऊ आँखा तथा छातीलाई चौडा बनाई…”हृवाट अ लभली डे !” …भन्दैथिई, जस्तो आँखाले नै एकमुस्ट सोहोर्न चाहन्थिई….अथाह फैलिएको नीलो सागरलाई, टम्म परेर मिलेका हरियो पहाडहरुलाई, लश्करै मिलाईएका रँगिचँगी फूलहरुको घारीलाई । हावाको हल्का लहरले बनाएको स-सानो छालहरुसँग मनलाई चुर्लुम्म डुबाउँदैथिई, आँखाहरु झिमझिम पार्दै उस्तै गरी चँचलताका साथ । म एकोहोरो एकलासपन थामिरहन्थेँ । किन रहरिन्न मेरो सचेतनाहरु ? किन मिथ्या ठान्दछु प्राकृतिकताहरु ? सागरको निख्खर नीलो रँगले होइन त्यसको नुनिलो पानीको सम्झनाले किन मलाई औडाहा पार्दछ ? अगाडिको चकमन्न घामको चर्कोको पोलाइलाई किन स-साना छालहरु उमार्न सक्ने पवनका झोँक्काहरुले सहलाउन सक्दैन ? किन उसको झिम-झिम गर्ने परेलीले बिरक्ति जगाउँछ ? सोँचेँ, स्थितिसँग हातै उठाएर दाउ छोड्नु त भएन । च्याँखे नथापीकनै परेको दाउलाई सोहोर्नु पर्छ, तर सोचेँ मात्र, ऊ म आर्मी भएको र आर्मी निक्कै रोमान्टिक हुन्छन् भनी बताउँदैथिई, र म यहाँ प्रणयशीलताको छापहरु कतै रहेका छन् कि भनेर खोज्दो पो रहेको हुँ ।

अगाडि हजारोँ ‘पेन्डिङ’ रहरहरु छन्, अगाडि हजारौँ रहरहरुका तीता-मीठा सम्झनाका थुप्राहरु छन्, एउटा खण्ड जो भोगिसकिएको छ को प्राप्तिहरु छन्, एउटा खण्ड धर्मराउँदो किसिमको यथार्थसँग छ भने अर्को खण्ड, ख्वै, रहरबिनाको, उत्साहहीनताको…ख्वै के जस्तो ख्वै के जस्तो छ, र छैन नभनाउनलाई नै छ भने जस्तो गरी छ । नपुगेको कति आसहरु छन्, पोखिइसकेका कति अनुभवहरु छन् र पनि मनमा एक किसिमले खिया लागेको झैँ छ, उसका झिमझिम आँखाहरु झिम्काई रहेको सम्झनावोध छ, र म एकतमास सम्झना पकाई रहन्छु, अहिले नसा भने रक्सीमा चढेको छ र म चाहिँ खिपिरहेको छु, वश !

कतिपटक साँच्चै सोँचेकै हुँ, शूर त मिलाउनै पर्छ, सँधै एकनास टिन् टिन् टिन् गरी बजिरहनु मात्र पनि वुद्दिमानी होइन । के थाहा ! कहिले तारविहिन भई बेकारको रहरहरु मात्रैको तानपुरा हुने हुँ । कति गाह्रो होला र, सुशेलीको भाखामा भाखा हाल्न ? यसरी कति हातमा कतियौँ गिँलाससँगै सम्झना साँच्ने ? सम्झनालाई पुरानो पार्दै नयाँ सम्झनाको थुप्रो लगाउनै पर्छ । रमाइलो…., साँच्चै रमाइलो भएको सोँचे, मन जो ‘रिबुट’ भएको छ । रक्सीको करामत हुनैपर्छ, या अझै केही चमक त अद्यापि रहेछन्…..सोँच्दै फटाफट उसको नम्वर डायल गरेकै हुँ……., अस्थिरतामा कौतूहलता थपिएकै हो, घण्टी जान्छ, जान्छ अनि जान्छ, एक मन फोन राख्छ, अर्को मन अभ्यास गर्छ…..यत्तिको साँझमा कसरी प्रस्तुत हुने भनेर । उसको आँखाको झिमझिमसँग केही पल भए पनि ताल मिलाउनै पर्छ, उसँग केही पल, लय हाल्नै पर्छ, के थाहा,….कसरी नसा आगामी प्रहरहरुमा छाउलान्…जुन प्राय अमूर्त कोरिएको क्यानभास झैँ खस्रो मुखाकृति भइसकेको छ,….भनि हालेँ नी,…घण्टी जान्छ….घण्टी जान्छ…..एक मन फोन राख्न खोज्छ….अर्को उस्तै अभ्यासरत रहन्छ….घण्टी सायद अन्तिम थियो….एउटा धेरै बोझिलो अनि गह्रुँगो र मोटो आवाजले …..”हेल्लो”… भन्छ, मेरो हेल्लो कतै हराउँछ, एक अँखोरा नुनिलो पानी मुखभरि परेको जस्तो नुनिलो उत्साहसँग फोनको अफ स्वीच थिच्नै थाल्दाभने उही झिमझिम आँखाको परेली पार्ने कुइरीको ……पातलो तर उही बोझिल स्वर नजिकै सनिन्छ……”हेल्लो…हु इज दिएर ?”……, फोन त्यसपछि काटेकै हुँ, र मोबाइलको स्वीच पनि अफ गरेकै हुँ । हृविस्कीमै मजा थियो, झिमझिम परेलीले नसा नै उतार्‍यो ।

भोलिको दिन कति गाह्रो हुनेछ मलाई कुराहरुलाई ‘प्याच-अप’ गर्न, अनुमान लगाएकै छु । रमाइलो भर्खरै तर यो कुरामा लाग्दैछ कि उसका झिमझिम आँखाहरुले पो बिरक्ति ल्याउलान् या भुल्याउलान् तब ! हातैमा गिँलास लिई रहरहरु हृविस्कीमा गाभ्दै समय पुरानोतिर सार्दैछु …..अनवरत त्यसपछि । सम्झना कहिले त्यसै मीठो अनि तीतो पनि !!!