गढीमाईको राँगा, माङ्सेबुङको चामल र हङकङको कुखुरा

गढीमाईको राँगा, माङ्सेबुङको चामल र हङकङको कुखुरा


-प्रदीप कन्दङ्वा (लिम्वू)
बाह्र वर्षे गढीमाई मेला र त्यसको उत्कर्षित भयानकताबाट विक्षिप्त मथिङ्गल घुमिरहेको छ फनफनी, यस्तरी कि मानौं, अब बिनारगत तिर्खा स्वयं तिर्खाइरहन्छ अर्को बाह्र वर्ष । यो वैज्ञानिक चमत्कारको युग, यो प्रविधि र आविस्कारको युग, यो साइबरकृत विश्वग्राम खै के गरी मानौं, सबै राँगाहरु नतमस्तक छन् । पशुहरु सबै अवाक् छन् । सभ्यता र वैभवताको खुराफाती खुँडा झयाप कि झयाप मुक पशुको गर्धनमा उत्रिएपछि समृद्ध जीवनको अभिप्साचाँहि यतिबेला बेसमारी हाँसिरहेको छ । यी माई, दुर्गा, भगवती, देवी र देवताजति सबै किन खुङ्खार हुन्छन् रक्तपिपाशु । यिनलाई मन्दिर, देवल र आस्था-केन्द्रहरुबाट बाहिर निकाल र नङग्याऊ, सरेयाम ती पशुहरुको बीचमा । दुर्गा, देवी र गढीमाईहरुको आधुनिक तर पूर्ण वस्त्रहरण गर र हेर तिनका अँग-प्रत्यङ्ग जो पुष्टता पशुपन्छीका रगतहरुले भरिएको छ । कि तिनलाई डिजिटल दूर्योधनको जङ्घामा राख र हाँस अट्टहास हाँस । कि तिनलाई छदाऊ, त्यो मुक पशुको आलो रगत जस्ताको तस्तै र लगाइदेऊ धोती त्यो कथित धर्म, परम्परा, संस्कृति र संस्कारलाई । अर्काको रगत पिएर खुशी हुने यो कस्तो देवत्व हो ? कि यो असिम खुराफाती नाटकको मञ्चन को गरिरहेको छ ? भगवानमाथि आस्था राख्नेहरु ? कि देवी देवताउपर विश्वास गर्नेहरु ? हुन सक्दछ, जसले भगवानलाई नजरबन्दमा राखिरहेको छ । हुनसक्दछ, जसले आफ्नो आस्थालाई मन्दिरभित्र कैद गरेको छ । त्यही हुनसक्दछ यो दुनियाको सबसे खुङ्खार खराफाती, जो नाटक गर्छ धर्मको नाममा, आस्थाको नाममा, परम्परा र संस्कृतिको नाममा । यो संसार, यो दुनिया, यो ब्रम्हाण्ड, यो चराचर जगत, यी प्राणीहरु सबै सबै भगवानको रचना हो भन्दै तिनलाई मनाउन, तिनलाई खुशी तुल्याउन तिनकै सृजनाको विभत्स हत्या जसले गर्छ, आफ्नो जीवनको समृद्धार्थ, आफ्नो भाग्यको ढोका खोल्न, त्यही हो, त्यही हो, यो दुनियाँको सबसे खतरनाक दैत्य, दानव, राक्षस या अरु अरु जे जे विशेषण छन् सबै सबै । या त फेरि अन्धविश्वासको भुमरीमा खँदारिएको आस्था अर्थात्, भनौं विश्वास । के विज्ञानको कसिमा प्रमाण्ति उत्रिन सक्छ त्यो आस्था, त्यो विश्वास । हिन्दू परम्परामा बलि प्रथाको पराकाष्ठाको नमुना नरमेघ अर्थात् मनुस्य बलि देखिएको छ । प्राचिन भारत वर्षमा राजा महाराजहरु अस्वमेघ नरमेघ नामका ठूल्ठूला यज्ञ महायज्ञहरु गर्दथे । हजार घोडा, हजार गाई, हजार हात्तीको बलि चढाएर राजाहरु आफूलाई शक्तिशाली भएको दावी गर्दथे, त्यसैको अत्याधुनिक झल्को दिएको छ गढिमाई मेलामा काटिएका बीस हजार राँगाहरुले । हामी एक्काइसौं शताब्दिका मान्छे, फुँइ लगाउँछौ, हामी सभ्यताको चरमचुलिमा छौं, हामी चन्द्रमामा ब्रेकफास्ट गर्न जाने सम्भावनाको खोजीमा छौं र सँगसँगै हामी एउटा मुक पशुको बलि चढाएर, अनुष्ठानको नाममा रक्तपात मच्चाएर आफ्नो समृद्ध जीवनको भिख मागिरहेका छौं । यो कति विज्ञानसम्मत छ ? यो कति तर्कपूर्ण छ ? विश्लेषण किन हो भइरहेको छैन ।

युरोपको मध्ययुगिन समाज अन्धविश्वासको भुमरीमा लिप्त थियो । अलौकिक शक्तिप्रति उनीहरुको अन्धआस्था र अन्धविश्वासले समाजलाई खर्लप्प निलेको थियो । भगवानको आरधाना गरेपछि सबकुरा प्राप्त हुन्छ भन्ने उनीहरुको अगाध विश्वास थियो । राजालाई उनीहरु भगवानको साक्षात अवतार मान्दथे । उनको बोली देववचन बराबर मानिन्थ्यो । पादरीहरु पनि राजा बराबर शक्तिशली मात्र होइन जाली पनि त्यतिकै हुन्थे । पादरी र राजाको बोली काट्न भगवानको बिरुद्धमा उभिनु जस्तो थियो । यसरी पादरी र राजा मिलेर निर्धा निमुखा जनताको निर्बाध शोषण गर्दथे । तसर्थ युरोपको समाज केही शताब्दिसम्म अन्धकारमा रह्यो । यसले यरोपमा पुनर्जागरण निम्त्यायो । पुनर्जागरणकालमा युरोपवासीहरुले अन्धविश्वासबाट आफूलाई मुक्त गर्ने पहिलो प्रयास गरे । राजा पादरी र समाजले अपनाई आएका हरेक कुराहरुलाई विज्ञानको कसिमा जाँचेर हेरे र विज्ञानले प्रमाणित गर्न नसकेको कुराहरुलाई उनीहरुले अस्वीकार गरे । अन्ततः युरोपियन समाज उन्नतिको मार्गमा अग्रसर भयो । त्यसो त हामी त्यो अवस्थाबाट भर्खरै मुक्त भएका छौं । हामीले मानिदिएको विष्णुको अवतार प्रकारान्तरले आजतक जिउँदै छन् भने पन्डा पुरोहितहरु पनि रन्थनाइरहेका छन् । समाज रुपान्तरणको कुरा भइरहेको छ यतिखेर, एकातिर अर्कोतिर बीसहजार राँगाको बलि चढाइरहेकाछौं हामी । राजनीतिकरुपमा मात्र रुपान्तरित समाजले कस्तो उन्नति गर्ला ? हामीसँग जोडिएका सामाजिक संस्कारहरुलाई हामीले पनि विज्ञानको कसिमा घोटेर हेर्ने कि ? जस्तो युरोपियनहरुले ७, ८ सयवर्ष पहिले गरे । बीस हजार राँगाको बलि चढाएपश्चात् हाम्रो जीवनमा के अन्तर आयो अब यो जाँच्ने हो कि ? हाम्रा संस्कारहरु छन् हामीसँग हाम्रो संस्कृतिको रुपमा । संस्कृति हाम्रो समाजको प्राण हो जीवनको सौन्दर्य । तर संस्कारको नाममा, परम्पराको नाममा हामीसँग धेरै कूसंस्कार र खराब परम्पराहरु छन् । जसले हाम्रो समाज र हाम्रो जीवनलाई कुरुप र भद्दा बनाइरहेको हुन्छ । सदियौंदेखि मान्दै आएको गर्दै ल्याएको भनेर त्यसलाई सदा मानिरहनुपर्छ भन्ने तर्क आफैंमा भ्रामक र तर्कहीन छ । यदि त्यो खराब छ र विज्ञानसम्मत छैन भने त्यसलाई त्याग्न हामी हिचकिचाउनु हुँदैन । जस्तै दाइजोप्रथा, हामीले छोड्दै ल्याएकाछौं, लिम्वूजातिमा प्रचलित सुनौली रुपौली प्रथा हामीले छोड्दै ल्याएकाछौं, त्यस्ता अनेकप्रथाहरु हामीले मानिल्याएका थियौं सदियौंदेखि तर हामीले त्याग्यौं तर यो बलि प्रथाचाँहि अझ जब्बर बनेर बसेकै छ । के यो दुर्गा, देवी, माई र भगवतीहरुको शक्तिले गर्दा भएको हो । हुन त हाम्रा भगवानहरु छन् नै त्यस्ता, दुध र लड्डु भनेपछि मरिहत्ते गर्छन्, हाम्रा गणेशजी अरुको के कुरा गर्ने । धन्य छन् गणेशजी, कम्तिमा यिनी ननभेज लिँदैनन् ।

बलि अर्थात् भोग दिने प्रथा जतिकै निन्दनीय र ढोंगी छ यज्ञ, महायज्ञ, होम, कोटिहोम, अनुष्ठान आदिको नाममा चामल, घ्यू लगायतका अन्य मानवपयोगी पदार्थ नष्ट गर्ने काम पनि । पशुपतिमा जति फूल, फल, चामल या भेटी चढाए पनि नेपालको अनुहार कहिले फेरिन सकेन । कि अब बीस हजार राँगाको रगतले नेपाली जनताको अनुहार पखालिन्छ कि हेर्न बाँकी छ । उता माङसेवुङतिर पनि आजभोलि बेसमारी चामल र घ्यूको खपत हुन्छ रे । म किराँत धर्म दर्शनको पक्षपाति हुँ तर किराँत धर्मभित्र सुधारको आवश्यकता छ । यथास्थितिमा यो धर्मले अँगालेको मार्ग वैज्ञानिक पटक्कै छैन । किराँत धर्ममा पनि धार्मिक आडम्बरको गन्ध आइरहेको आभास हुन्छ । नेपाली समाजको संस्कारगत धरातालबाट किराँत धार्मिक दर्शन पृथक रहन सकेको छैन । किराँतीहरुले सदियौंदेखि अगिंकार गरिल्याएको प्रकृतिप्रतिको अटल आस्थालाई केन्द्रमा राखेर हेरेको खन्डमा किराँत धार्मिक दर्शन अरु धार्मिक दर्शनहरुभन्दा पृथक र अब्बल देखिने छ । प्रकृतिपूजा भन्दाभन्दै पनि किराँतीहरुले आफ्नो संस्कारमा बलि या भोगप्रथालाई आजपर्यन्त कायमै राखेका छन् । महागुरु फान्गुनन्दले इश्वरमाथि आस्था राख्नेहरुले उनको सृजनाको हत्या नगर्नू भन्ने उपदेश दिएका थिए तर किराँत समदायले यो उपदेशलाई अक्षरशः पालन गरेको भने देखिएन, फेरि प्रकारान्तरले यसमा बिचलन भने अवश्य आएको छ । त्यसको पछिल्लो उदाहरण हामी हङकङलाई लिन सक्छौं । यहाँको किराँती समाजमा कुनै पनि धार्मिक या साँस्कृतिक अनुष्ठानमा भोग, बलि, पशुपन्छी हत्या या रक्त अर्पण गरिनु हुन्छ कि हुँदैन भन्ने बिषयमा ब्यक्ति बहस चलिरहेको बेला यो बहसले हङकङको राई समुदायमा भने औपचारिक रुपमै प्रवेश पाएको छ । हङकङको राई समुदायले उधौली उभौलीको अवशर पारेर गर्ने गरेको चुलापूजा पनि प्रकृति पूजाभन्दा किमार्थ पृथक छैन तर उक्त अनष्ठानमा कुखुरा काटेर त्यसको आलो रगत पितृलाई अर्पण गरिन्छ । उद्देश्य यही हुन्छ कि पितृ खुशी होऊन् र उनको कृपाले हाम्रो जीवन समृद्ध बनोस् । दुई कित्तामा विभक्त राई समुदायहरुले आआफ्नै दलीलहरु पेश गरेका छन् । यस बीचमा बहस निकै गर्माएको खबरसमेत बुझिन आएको छ । कुखुरा काटिनुपर्छ भन्नेहरुको भागमा उही परम्परागत तर्कले स्थान पाएको छ भने काटिनु हुँदैन भन्नेहरुको भागमा कम्तिमा पूजा जस्तो पवित्र अनुष्ठानमा हत्याजस्तो जघन्य कर्म नगरौं भन्ने तर्कले स्थान पाएको छ । यो मामिलामा किराँत र्राईहरु निकै अग्रगामी देखिएको आभास हुन्छ । बलि या भोग प्रथाले जरा गाडेर बसेको नेपाली समाजमा कम्तिमा राई समुदायभित्र यसले औपचारिक बहसको स्थान पाउनुले अवश्य पनि अग्रगमनको संकेत गर्दछ । भोग बलि प्रथाको बिरोध गर्ने तर मासुबिना भात नरुच्ने महाअभियोग लाग्ला भन्ने डरले म यतिबेला डराइरहेको त छैन तर यसको प्रतिवाद कसरी गर्ने त्यसको चाँजो मिलाउनतिर लागेँ अब म ।