मेलमिलाप दिवस र राष्ट्रको दशा

मेलमिलाप दिवस र राष्ट्रको दशा


हरेक वर्ष पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै आएको नेपाली काङ्ग्रेस पार्टी पैंतीसौँ मेलमिलाप दिवस नजिकिँदै गर्दा आन्तरिक रूपमा मेलमिलापको खडेरीबाट गुज्रिरहेको छ । पदाधिकारी मनोनयनको विवादले काङ्ग्रेसभित्र पुनः दुई खेमाको अस्तित्व जागृत गराएको स्पष्ट आभास दिलाइरहेको परिवेशबीच सभापति सुशील कोइरालाको क्षमतामाथि वरिष्ठ नेता शेरबहादुर देउवाले औंला उठाएका छन् । सभापति भएपछि सबैलाई मिलाउनुपर्ने, जश-अपजशको जिम्मेवारी लिनुपर्ने, अप्ठ्यारा र चुनौतीहरूको सामना गर्नुपर्ने अभिव्यक्ति देउवाले सार्वजनिक गरेका छन् । उनको यो तर्कमा दम पनि नभएको होइन । तथापि, पार्टीभित्र सहमति बढाउनका निम्ति भन्दा पनि अर्कै नियतबाट यो अभिव्यक्ति आएको अनुमान गरिएको छ । किनकि, माओवादी-व्यवहारको चौतर्फी रूपमा तीव्र विरोध भइरहेको अवस्थामा नेता देउवाबाट आफ्ना पार्टी-सभापतिको आलोचना गरिएको मात्र नभई ँमाओवादी सच्चिएको’ अभिव्यक्ति पनि आएको छ ।
जतिसुकै सहमतिको रट लगाए पनि मुलुकको राजनीतिक अवस्था चरम असहमति र मुठभेडतर्फ उन्मुख देखिँदै छ । ठूला-साना हरेकजसो राजनीतिक दलमा असमझदारी, विवाद र फुटका तरङ्गहरू पैदा भएका छन् । यस्तै दुरावस्थाको लाभ लिँदै एकीकृत नेकपा माओवादी पुनः सांसद ँखरिद’ गरेरै भए पनि सरकारको नेतृत्व हत्याउन उद्यत् बनेको उसको गतिविधिले सङ्केत गरेको छ । सत्ता हत्याउने यही अभीष्टसिद्धिका लागि ऊ एकतिर एमाले दलभित्र संस्थापन पक्ष भनिने समूहको नेतृत्व गरिरहेका झलनाथ खनाललाई प्रधानमन्त्री पदरूपी घाँस देखाएर लोभ्याइरहेको छ भने यता काङ्ग्रेसका नेता देउवालाई समेत उस्तै आश देखाउँदै रामचन्द्र पौडेलको उम्मेदवारी फिर्ता गराउने खेल खेल्दै छ । हो, माओवादी सच्चिएको धारणासँगै सभापति कोइरालाविरुद्ध देउवाद्वारा अभिव्यक्त कटुवाणीको निहितार्थ यतै कतै खोज्न सकिन्छ ।
माओवादी नेतृत्वले स्पष्ट भनेको छ, ँसरकारमा काङ्ग्रेसकै नेतृत्व रहे पनि स्वीकार गर्न सकिन्छ तर पौडेल होइन देउवा नै चाहिन्छ ।’ रामचन्द्रले माओवादीको के बिगार गरिदिएका थिए र उनीहरूमाथि शेरबहादुरको के गुन थियो – यो यतिखेरको मूल प्रश्न नहोला । तर, पौडेलको उम्मेदवारी कायम नै रहेको आधिकारिक धारणा काङ्ग्रेसले सार्वजनिक गर्दागर्दै काङ्ग्रेसभित्र प्रधानमन्त्रीको अर्को उम्मेदवार तोक्ने अधिकार माओवादीले कहाँबाट हासिल गर्‍यो – यो सवालले चाहिँ काङ्ग्रेस तप्काभित्र यतिबेला घर गरेको इन्कार गर्न मिल्दैन । यसका लागि नेता देउवा या नेपाली काङ्ग्रेस दललाई मात्र एक्लो दोषी ठहर्‍याउन सकिन्न । बरु हरेक दल, शक्ति र समूहमा कुटिल चलखेल गर्दै, उनीहरूलाई फुस्ल्याउँदै, कमजोर र दिग्भ्रमित तुल्याउँदै मुलुककै राजनीतिमा अवान्छित र अविश्वसनीय तवरले हाबी हुन सफल माओवादीको ँचाल’ र ँगन्तव्य’ चिन्न नसक्ने प्रत्येक पक्षको कमजोरी आज छताछुल्ल हुन पुगेको छ । माओवादीका जायज-नाजायज कदमको आँखा चिम्लिएर समर्थन गर्दै आएका व्यक्तिदेखि उसका नराम्रा पक्ष वा प्रवृत्तिको प्रखर विरोधीका रूपमा आफूलाई चित्रित गर्न रुचाउने नेतासम्म पनि उसले देखाएको ँहरियो घाँस’प्रति र्‍याल चुहाउने अवस्थामा देखिनु नेपाली राजनीतिको कठोर विडम्बनाको पाटो हो । अनि, लोकतान्त्रिक मूल्य-मान्यता पछ्याउँदै विधिसम्मत ढङ्गबाट सत्ताको वागडोर सम्हाल्ने कोसिस प्रमुख दल माओवादीबाट पटक्कै नगरिनु नेपाल र नेपालीको अर्को दर्ुभाग्य हो । अरूको हैसियत र अस्तित्व स्वीकार गर्न हिच्किचाउने, अन्य दलभित्र आपसी वैमनश्यताको विजारोपण गरिदिने, मुलुकका समस्या समाधान वा नगरिनहुने कामतर्फ संवेदनशील नहुने प्रवृत्तिलाई धुन्धुकारीबाहेकको अरू संज्ञा दिन सकिन्न, जो माओवादीमा निकै हदसम्म दर्शिएको छ । यसबाट मुलुकमा सहमतिको वातावरण त बन्दैन नै, माओवादीको कुटिल-कदम समयमै चिन्न नसके आफूलाई लोकतन्त्रको हिमायती ठान्ने अन्य दलहरू पनि सन्निकट सङ्कटको बाढीमा कहाली लाग्नेगरी बग्ने निश्चितप्रायः छ ।