जर्साबको डायरी -बबिता बस्नेत

जर्साबको डायरी -बबिता बस्नेत


पूर्वसैनिक सचिव विवेक शाहद्वारा लेखिएको संस्मरणात्मक संगालो ‘मैले देखेको दरबार’ अहिले चर्चामा छ । हेर्दा मोटै आकारको ५९९ पेज लामो यो पुस्तकले चर्चा पाउनुका केही कारणहरू छन् । सबैभन्दा पहिला त यो पुस्तक लामो समयसम्म नेपालको राजपरिवारसँग निकट रहेर राजदरबारमा कार्यरत सैनिक सचिवले लेखेको पुस्तक हो, दोस्रो यसमा अत्यधिक जनचासोको विषय राजदरबार हत्याकाण्डको कुरा उल्लेख गरिएको छ । राजदरबार हत्याकाण्डका बारेमा विगतमा केही पुस्तकहरू लेखिएका छन् तर घटना भएका समय त्यहीँ कार्यरत जिम्मेवार व्यक्तिले यसरी कुनै पनि कुरा लिपिबद्ध रूपमा बाहिर ल्याएका थिएनन् । तेस्रो यो पुस्तकमा राजदरबारका पारिवारिक सदस्यहरू -जसको बारेमा भित्री कुरा जान्ने आकाङ्क्षा मानिसहरूमा रहन्छ, राजसंस्था नरहे पनि त्यसप्रकारको उत्सुकता जनमानसमा अहिले पनि कम भएको छैन) को बारेमा मात्रै नभएर यो देशको राजनीतिक घटनाक्रममा विभिन्न राजनीतिक दल र तिनका नेताहरूको भूमिकासमेत समेटिएको छ । स्व. श्री ५ वीरेन्द्र र ऐर्श्वर्यमा समर्पित यो पुस्तक मूलतः पूर्वसैनिक सचिव विवेक शाहले प्रत्येक दिन लेख्दै आउनुभएको डायरीको परिमार्जित रूप हो । आफू संलग्न भएका दिनभरिका काम र क्रियाकलापलाई लिएर सार्वजनिक जीवनमा भएका कतिपय मानिसहरूले डायरी लेख्ने गर्छन् । कतिले सामान्य घटनालाई पनि डायरीमा उल्लेख गर्छन् भने कतिले चाहिँ महत्त्वपूर्ण घटनालाई मात्र समेट्छन् । नेपालमा बीपी कोइरालाको जेल जर्नलदेखि लिएर विश्वमा धेरै चर्चित व्यक्तिका डायरीहरूले पुस्तक बजारमा महत्त्वपूर्ण स्थान पाउने गरेका छन् । ‘मैले देखेको दरबार’ पढ्नुअघि यसका मुख्य झलकहरू जसरी मिडियामा आए त्यो हेर्दा मनमा एउटा प्रश्नले मजैले ठाउँ लिएको थियो- सुरक्षा निकायका महत्त्वपूर्ण स्थानमा बस्ने पदाधिकारीहरूले मुलुकसम्बद्ध प्रत्येक क्रियाकलापलाई यसैगरी डायरीमा समेटेर आफूले अवकाश पाएपछि सार्वजनिक गर्दै हिँड्ने हो भने यो मुलुकको राष्ट्रिय सुरक्षाको अवस्था के होला – तर सुरक्षा संयन्त्र र राष्ट्रिय सुरक्षालाई नै गम्भीर प्रभाव पार्न सक्ने कुराहरू पुस्तकमा छैनन््, यस अर्थमा लेखक आफूले जीवनमा प्राप्त गरेको दायित्वप्रति इमान्दार देखिनुभएको छ । कतिपय अवस्थामा लेखकका भन्दा गैरलेखकका पुस्तक, साहित्यकारकै रूपमा चर्चित व्यक्तिका भन्दा गैरसाहित्यकारका साहित्यिक सामग्री चर्चित हुने गरेका छन्, आफ्नो ‘करियर’भरि कुनै न कुनै रूपले हतियारसँग सम्बद्ध विवेक शाहले जीवनमा पहिलोपल्ट गरेको कलमको कामले -पुस्तककै रूपमा) चर्चा पाउनुलाई पनि यही रूपमा लिन सकिन्छ । यसको प्रमुख कारण त राज्य सञ्चालनका क्रममा यो मुलुकमा हुने गरेका लुकेछिपेका कुराहरूको बारेमा प्रसस्त जानकारी नै हो ।
राजदरबारमा हुने गरेका अनेक क्रियाकलापका बारेमा बेलाबेलामा दरबारनिकट स्रोतहरूले बताउने गरेका र आफूहरूले सुन्दै आएका धेरै कुरा पुस्तकमा जस्ताको तस्तै पढ्न पाउँदा सही कुरै सुनिएको रहेछ जस्तो लाग्यो ।
जस्तो राजा वीरेन्द्रले आफ्नो हातमा सत्ता लिनका लागि सुरु गरेको तयारी, युवराज दीपेन्द्रको परपीडक व्यवहार, उनले आफ्नै बहिनी श्रुतिमाथि कुटपिट गरेको प्रसङ्ग, एडीसीहरूलाई दिने गरेको दुःख, बाहिर जनताका अगाडि राम्रो रूप र भित्रको कुरूप पाटोका बारेमा पहिल्यै सुनिएको हो । अझ सोल्टी होटलमा साथीहरूसँग नाच्न गएकी प्रेमिकामाथि दीपेन्द्रले गरेको अत्यन्तै क्रूर, घृणित र अमानवीय व्यवहार त जर्साबले लेख्नुभएको छैन । घटना भएकै केही दिनमा पारिवारिक सदस्यहरूमार्फत सो घटना सुन्दा यो पङ्क्तिकारलाई ‘यस्ता परपीडकलाई कसरी भविष्यमा राजा भन्ने होला’ जस्तो लागेको थियो । तर, सार्वजनिक रूपमा उहाँको मुखुण्डोधारी असल रूपका कारण त्यत्ति ठूलो दरबार हत्याकाण्डमा दीपेन्द्रको मात्रै संलग्नतालाई कतिपयले स्वीकार गर्न सकेनन् । यो पुस्तकले दरबार हत्याकाण्डमा अरूलाई लाग्दै आएको दाग हटाइदिएको छ । विशेषगरी पूर्वराजा ज्ञानेन्द्र र युवराज पारसमाथि जुन प्रकारका आरोपहरू लगाइने गरेका थिए ती कति गलत थिए भन्ने कुरा साबित गरिदिएको छ । राजा ज्ञानेन्द्रबाट समयावधि पूरा नहुँदै अकस्मात् हटाइएका सैनिक सचिवले दरबार हत्याकाण्डमा दीपेन्द्रबाहेक अन्य कुनै पनि पारिवारिक सदस्यको हात नरहेको उल्लेख गरेर इतिहासलाई न्याय गर्नुभएको छ । घटना विचार साप्ताहिकले दरबार हत्याकाण्डमा सुरुदेखि नै दीपेन्द्रको मात्रै हात रहेको स्पष्ट गर्दै आएको थियो । २०४७ सालमा प्रजातन्त्र आएपछि नेपालमा संवैधानिक राजतन्त्र थियो भनिए पनि विवेक शाहको किताब पढेपछि यो मुलुकमा कुनै बेला संवैधानिक राजतन्त्र पनि थियो भनेर मान्न सकिँदैन । सुरक्षाकर्मी र अन्य कर्मचारीहरूको सरुवा, बढुवा, विदेश भ्रमणजस्ता कुराहरूमा समेत चासो राख्ने मात्र होइन कसलाई कहाँ पठाउने, के जिम्मेवारी दिने भनेर निर्णय गर्ने यहाँ सधैं सक्रिय राजतन्त्र थियो जुन २०६३ सालपछि मात्र एकैपल्ट अन्त्य भयो । राजकाजमा जे-जे भएको भए पनि दरबारका नातेदारका बारेमा र आफ्नै छोरा पारसका बारेमा आएका ‘कम्प्लेन’हरूमा पूर्वराजा ज्ञानेन्द्रले नियमअनुसार कारबाही गर्नु भनेको देखिन्छ, उहाँले त्यसो भने पनि अरूले नै घटनालाई ढाकछोप गर्ने गरेका उदाहरणहरू पुस्तकमा छन् ।
पुस्तकमा नेपालको राजनीति, राजनीतिक दल र तिनका नेताहरूका बारेमा अनेक घटना र प्रसङ्गहरू उल्लेख छन् । जिम्मेवारीको कुरा आउँदा ‘कम्युनिस्टहरूको कुनै भर हुँदैन’ भन्ने कुरा ठाउँठाउँमा उल्लेख छ । अनुभवका आधारमा मानिसहरूले यस्तो भनेका हुन सक्छन्, आफ्नोबारेमा आफूलाई जति अरूलाई थाहा हुँदैन त्यसैले भर गर्न हुन्छ या हँुदैन त्यो त आफूलाई ‘कम्युनिस्ट’ भन्नेहरूलाई नै थाहा होला । नेता वामदेव गौतम, कमल चौलागाईं, माधव नेपाल, भरतमोहन अधिकारी, राधाकृष्ण मैनाली, देवी ओझा, रमेशनाथ पाण्डे, नारायणसिंह पुनलगायतका रोचक प्रसङ्गहरू पुस्तकमा छन् । विभिन्न महत्त्वपूर्ण ओहोदामा रहेका कतिपय व्यक्तिहरूले एक-अर्कालाई तथानाम गर्दै लगाउने गरेका आरोपहरू हेर्दा त्यस्ता सङ्कीर्ण मानसिकताका मानिसहरूले धानेको यो मुलुक धन्न यत्तिको त छ भन्ने जस्तो पनि लाग्छ । उदाहरणका लागि पदमै रहँदा प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेल र प्रज्वलशमशेर राणाको भनाभन, नेता, सुरक्षा निकायका प्रमुख तथा प्रशासकहरूले एक-अर्काका बारेमा राजामा कुरा लगाउने प्रवृत्ति ज्यादै तल्लो स्तरको देखिन्छ । अत्यधिक चासो राखिएको यो पुस्तकका कतिपय स्थानमा मितिहरू दोहोरिँदा कुन घटना कहिलेको हो भनेर पाठकहरू अलमल्ल पर्ने ठाउँहरू पनि छन्, त्यति ठूलो ओहोदामा बसेका पदाधिकारीले दरबारका सदस्यहरूका स-साना व्यक्तिगत सेवा-सुविधाहरूमा अल्भिmनुपर्ने प्रसङ्गहरू पढ्दा ‘हरे यस्तो पनि के जागिर †’ जस्तो पनि लाग्छ । एकपटक जर्नेल टीका धमलाले धरानको मन्दिरमा राजाको जुत्ताको तुना बानिदिँदै गरेको तस्बिर प्रकाशित हुँदा पनि त्यस्तै लागेको थियो । जेहोस्, ‘मैले देखेको दरबार’ नेपालको राजनीतिक घटनाक्रम र दरबार बुझ्नका लागि पढ्नैपर्ने पुस्तक हो ।