विकलाङ्ग बाइरनको आकर्षण-शक्ति

विकलाङ्ग बाइरनको आकर्षण-शक्ति



– हेमन्त खतिवडा

बाइरन अत्यन्त सुन्दर थिए । उनको सुन्दरता देखेर केटीहरू हुरुक्क हुन्थे, भुतुक्क हुन्थे अनि उनको सौन्दर्य र जवानीमा मुग्ध हुन्थे, उनको काव्य उनको वाचनशैली देखेर झनै प्रभावित हुन्थे अनि उनलाई दिनहुँ प्रेमपत्र पठाउँथे ।

सुन्दर शरीर, आकर्षक पहिरनमा सजिएर सुगन्धित अत्तरमा सजिएर हिँड्थे बाइरन । असाध्यै नक्कले थिए ती ।

सन् १७८८ मा जन्मेका थिए उनी । युरोपियन साहित्यको रङ्ग फेर्ने उनी कहिले कविका रूपमा बोल्छन् त कहिले कठोर नियतिका कविका रूपमा, poet of the doom !

बाइरनका बाबु दुराचारी थिए । स्वास्नीको पैसा पानी जसरी बगाए । परिवारलाई गरिबीको डिलमा पु¥याए । पैसा गुट्मुट्याएर स्वास्नीलाई छोडी फ्रान्स गए अनि त्यहीँ मरे ।

वास्तवमा बाइरन कस्ता थिए त ? उनी लङ्गडे थिए, खुट्टा खोच्याएर हिँड्थे, तमाखु खान्थे, अनि उनको रिस नाकको टुप्पामै थियो । कसैले उनलाई एकैछिन हेरिदियो भने मात्रै पनि आफ्नै लङ्गडो गोडा हेरेको ठान्थे र रिसले आगो हुन्थे । उनकी आमा पनि त उस्तै रिसाहा थिइन् नि त ! बाइरनलाई फूलदानीको झटारोले हान्थिन् अनि ‘लङ्गडे बजिया’ भन्थिन् । अनि लङ्गडे भनेको बाइरनले सहनै नसक्ने । यही कुराले गर्दा छुरा निकालेर झन्डै आफ्नो घिच्रो रेटेको उनले ।

ओहो ! कति खतरानक हाम्रा बाइरन, रिस उठेपछि आँखै नदेख्ने, तर फेरि एकछिनमा शान्त भइहाल्ने ! मान्छे फेरि कति गजबका खुट्टा खोच्याएर हिँडे पनि उनले जिउ छरितो पारे । कुस्ती सिके, पौडी खेले ।

तरबार र बक्सिङ खेले, घोडा चढे, नीलो आँखा, खैरो कपाल, सुलुत्त परेको नाक, धपक्क बलेको अनुहार अनि उनको मादक मुस्कान ।

केटीहरू भन्थे, ‘भित्रबाट बत्ती बलेको बहुमूल्य पत्थरको फूलदानी’ सन् १८०१ मा ह्यारोमा पढ्न गए । १८०३ मा उनले मेरी चावर्थलाई भेटे । बाइरन लठ्ठ परे । एमनेस्लीको सुन्दर ठाउँ मेरी चावर्थको सुन्दर गाउँ ।

सन् १८०७ मा उनको प्रथम पुस्तक ‘आवर्स अफ् आइडल्नेस’ प्रकाशित भयो । आलोचकहरूले यसको खुब निन्दा गरे । बाइरन भन्छन्, उनीहरूको आलोचनाले म उत्तानो परेँ, तर म उठेँ, तीन बोतल क्लारिट मदिरा खाएँ र जवाफ लेख्न बसेँ । अनि जवाफ थियो सुन्दर व्यङ्ग्य कविता– इङ्ग्लिस बार्डस् एन्ड स्कच रिभ्युअर्स ।

१८०९ मा उनी भ्रमणमा हिँडे, पोर्चुगल, स्पेन अल्वेनिया, ग्रिस । साहित्यिक जीवनमा यस यात्राको ठूलो प्रभाव प¥यो । ग्रिसको हावापानी, आरामदायी जीवन, उनीहरूका खुला विचार उनलाई मन प¥यो । चाइल्ड ह्यारोल्डका दुई सर्ग लेखे र यो कविता ज्यादै लोकप्रिय भयो । सबैको मुखबाट ‘बाइरन, बाइरन’को आवाज आउन थाल्यो । साम्युल रोजर्सले यो कविता पढे र लेडी क्यारेलिन ल्याम्बलाई पढ्न दिए । यो पढेपछि क्यारोलिनले भनिन्– म कविलाई भेट्न चाहन्छु ।

उनी लङ्गडे छन्, रोजर्सले भने । एक दिन बाइरनलाई उनका फ्यानहरूले घेरिराखेको देखिन् । अनि देखिन् उनको सुन्दर मुखमण्डल, सुन्दर भृकुटी, घुँगुरिएको कपाल, ग्रिक मूर्तिको जस्तो मुख । फेरि उनको मधुर सङ्गीतमय स्वर । अनि उनी फर्किन् र बेलुका डायरीमा लेखिन् उनीसित परिचय गर्न पनि कति भयानक । दुई दिनपछि बाइरन र लेडी क्यारोलिनको परिचय भयो । क्यारोलिन अग्ली थिइन् । छरितो र मिलेको जिउ । ठूला खैरा आँखा, त्यो साँझ उनले डायरीमा लेखिन्– उनको त्यो सुन्दर सौम्य मुहार मेरो भाग्य हो ।

त्यसपछि उनीहरूको प्रेमलीला यसरी चल्यो कि सारा लन्डनले चाल पायो । लर्ड ल्याम्बले पनि चाल पाए । आफ्नी पत्नीको पागलपन देखेर उनी छक्क परे । १८१६ मा बाइरन बेलायत नफर्कने गरी विदेश हिँडे ।

उनी जेनेभा गएर बसे, कवि शेलीसित उनको घनिष्ठ सम्बन्ध थियो । टोली बाइरनलाई कविको रूपमा माया गर्थे, बाइरनले टोलीलाई मान्छेका रूपमा । त्यहीँ उनले चाइन्ड ह्यारोल्डको तेस्रो सर्ग लेखे ।

अब १८१७ मा बाइरन भेनिस गए । उनलाई भेनिसवासीहरूको बोली, त्यहाँका घरहरूको गेरुमय रङ्ग त्यहाँका ढुङ्गाहरू सबै मन प¥यो ।

उनले विभिन्न कविता लेख्दै गए । चाइल्ड ह्यारोल्डको चौथो सर्ग लेखे । १८१८ मा यो प्रकाशित भयो । पाँच वर्ष लगाएर बाइरनले डोन ज्वाँ लेखे । उनको सर्वश्रेष्ठ काव्यकृति आधुनिक युगको महाकाव्य हो यो ।

सन् १८२३ मा बाइरन ग्रिसतर्फ लागे । त्यहाँको स्वतन्त्रता सङ्ग्राम बुझे, आन्दोलनकारीहरूलाई सघाए । यसैबीच उनको मरण नजिक आइरहेको थियो । त्यही साँझ आँधी चल्यो, आकाश गर्जियो, घनघोर वर्षात् भयो ।

बाइरन मुस्कुराए र उनको मधुर मुस्कानसँगै बिस्तारै आँखा चिम्म गरे अनि उनी चिरनिद्रामा परे । बाइरनका बाबु पनि छत्तीस वर्षमै मरेका थिए अनि हाम्रा बाइरन पनि छत्तीस वर्षकै उमेरमा हिँडे । त्यो दिन थियो १९ अप्रिल १८२४ ।