गुरुङ समुदायमा ल्होसारको रमझम जारी, टोल टोलमा स्योकैं भोजको आयोजना

गुरुङ समुदायमा ल्होसारको रमझम जारी, टोल टोलमा स्योकैं भोजको आयोजना


खिल्हो अर्थात कुकुर बर्गको स्वागतमा लमजुङका गुरुङ समुदायले ल्होसार भब्यताका साथ मनाइरहेका छन् । गाउँशहर तथा टोलटोलमा ल्होसारको रमझम जारी छ ।

पुस १५ गतेको ल्होसारको मुख्य कार्यक्रम सकिएपनि टोलटोलमा ल्होसार मनाउने कार्यक्रम जारी छ । बेसीशहरको मनाङे चौतारा टोल, शान्ति टोल र शेरा टोलमा आइतबार ल्होसार मनाइएको छ । दिनभरी नाचगान गरी टोलका स्थानीय एक आपसमा भेला भएर स्योकैं अर्थात सामूहिक भोज खाएका थिए ।

गुरुङ समुदायका गन्यमान्यलाई समेत आमन्त्रण गरेर गुरुङ समुदायले टोलटोलमा स्योकैं अर्थात सामूहिक भोज खाएका हुन् । स्योकैं कार्यक्रमका लागि टोलटोलमा संगसंगै खाने र संगसैगै नाचगान भएको थियो । जिल्लाका विभिन्न गाउँबाट आएर स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने गुरुङ समुदाय बेंसीसहरका ५ वटा टोलमा आवद्ध छन् ।

मनाङे चौतारा टोलको आयोजनामा भएको स्योकैं अर्थात ल्होसार कार्यक्रममा ल्होसारको अवसरमा आयोजित कविता प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल कविता सुनाइएको थियो । टोलका सल्लाहकार क्याप्टेन मिलबहादुर गुरुङले दिनभरी टोलका ब्यक्तिहरु संगसंगै जुटेर नाचगान गरी रमाइलो गरिएको र स्योकैं खाएको बताए ।

उनले विभिन्न खेलकूदका कार्यक्रमहरु समेत आयोजना गरिएको र १५ गते आयोजना गरिएको नृत्य प्रतियोगितामा सहभागिको नृत्य समेत प्रदर्शन गरिएको बताए । उक्त कार्यक्रममा भुजुङका समाजसेवी रामबहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

शान्तिटोल बाबासमूहका अध्यक्ष क्याप्टेन फमबहादुर गुरुङका अनुसार दिनभरी स्योकैं खाएर नाचगान गरी ल्होसार मनाइएको बताए । यसपटक टोलका धेरै ब्यक्तिहरुको निधन भएको र केही दिनअघि सवारी दुर्घटनामा परेर टोलकै एक ब्यक्तिको निधन भएपछि यसपटक मासुजन्य पदार्थको प्रयोग नगरेको बताए । उनले यसपटक हुर्सोल्लासका साथ ल्होसार र स्योकैं कार्यक्रम मनाएको बताए ।