हात्ती नियन्त्रणका लागि ४५ लाख बजेट विनियोजन

हात्ती नियन्त्रणका लागि ४५ लाख बजेट विनियोजन


झापाको हल्दिबारी गाउँपालिकाले हात्ती नियन्त्रणका लागि विभिन्न योजना अघि सारेको छ ।

गाउँपालिकाले हात्ती नियन्त्रणका लागि जलथलको जंगल क्षेत्रमा बाटो, कुलो निर्माणका साथै विद्युतीय तारबार जडानको तयारी गरेको छ । हात्तीले वर्षेनी लाखौँ मूल्यको धनमालसँगै मानवीय क्षतिसमेत पु¥याउँदै आएकाले नियन्त्रणका उपाय अवलम्बन गर्न लागिएको गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले बताए ।

उनका अनुसार हात्ती नियन्त्रणका लागि ४५ लाख विनियोजन गरिएको छ । १८ लाखको लागतमा विद्युतीय तारबार, जंगल क्षेत्रभित्र बाटोसँगै कुलो निर्माणका लागि २७ लाख रकम विनियोजन गरिएको छ ।

‘कुलो निर्माणपछि हात्ती नियन्त्रणको काम थप प्रभावकारी हुनेछ’– उपाध्यक्ष गिरीले भने, ‘हरेक वर्ष हात्तीको समस्या झेल्दै आएको यो क्षेत्रका एक हजार घरधुरीको संरक्षणका लागि गाउँपालिका अग्रसर भएको छ ।’

जंगलमा निर्माण गरिने बाटोमा विद्युत् विस्तार गरेर वन क्षेत्रलाई झलमल्ल बनाउने कार्य भइरहेको छ । राससका अनुसार गाउँपालिकाले हात्ती निणन्त्रणका लागि योजना अघि सारेपछि स्थानीयवासी खुशी भएका छन् ।