पीडाबोध गरिबस्ने कि दीर्घसूत्री बनी मासिने ?

पीडाबोध गरिबस्ने कि दीर्घसूत्री बनी मासिने ?


-नारायण कोइराला
विषय प्रवेश:
नेपालका अधिकांश चेतनशील व्यक्ति अहिले अत्यन्त भयभीत छन् । टाँगाको घोडाजस्तै बनेका राजनीतिक दलका केही कार्यकर्ताहरू, नेतृत्वपङ्क्ति र उनका अनुयायीहरू यसभित्र पर्दैनन् । एक मात्र नेपाली सेनालाई छाडेर देशभित्रका अरू सबै संस्था, संयन्त्र वा संरचनाहरू या त भत्काइएको छ या त त्यसभित्र कुनै पद्धति नै छैन । बहुसङ्ख्यक जनता कृषिमा आधारित भएको र वैदेशिक रोजगारबाट प्राप्त हुने रेमिट्यान्सले मात्र अर्थ व्यवस्था जोगिएको छ । जातीय, धार्मिक सहिष्णुताको हाम्रो समाज पूरै खलबलिएको छ । माओवादीको सेना रहेसम्म संविधान नबनाउने र आफ्नोअनुकूलको संविधान बनाएर आफ्नै नेतृत्वमा निर्वाचन नगराएसम्म सेना राखिराख्ने गुप्त खेलले शान्ति र संविधानको सम्भावना पूर्णरूपेण समाप्त भएको छ । कदाचित १२बुँदे सहमतिजस्तै बाहिरबाट मस्यौदा आई ताली पिटेर पास गरे भने पनि यहाँको धरातलीय यथार्थअनुरूप नहुने हुँदा अर्को द्वन्द्व हुने निश्चितप्राय: छ । जनताबीच राजनीतिक दल र त्यसको नेतृत्वप्रति वितृष्णा छ । अनमिनको बहिर्गमनपछि र आउने जेठ महिनाभित्र के-के हुने हो ? अन्यन्त डरलाग्दो भविष्य छ । स्वघोषित नागरिक समाजका अगुवा भनिनेहरू मूल समस्याको कारकतत्त्व र उपयुक्त समाधानको सूत्र नखोजी र नेतृत्वलाई खबरदारी पनि नगरी सतही कुरा र अनेकौँ कुर्तर्क राख्छन् । फलस्वरूप समस्या झन् जटिल बन्दै गएको छ । आन्तरिक रूपमा अस्तव्यस्त भएको हाम्रो देश नेपाल भूराजनीतिक अवस्थितिका कारण भोलि के हुने हो ? यसै भन्न सकिँदैन । लाग्छ अहिलेको समस्या कतै शक्तिराष्ट्रहरूको ‘प्रोक्सी वार’ त होइन ?
संसारमै सबै कुरालाई ‘गभर्न’ गर्ने राजनीतिले नै हो । दलीय पद्धतिमा दल अर्थात् त्यसको नेतृत्वले हो । भनिन्छ राजनीतिक पद्धति नै त्यो देशको मुख्य पद्धति हो । अन्य सहायक । यदि मुख्य पद्धतिको परिणाम नकारात्मक हुन्छ भने चभअष्उचयअबििथ अन्य सहायक पद्धतिका परिणामहरू पनि नकारात्मक नै हुन्छ । दिन प्रतिदिन आरालो लाग्दै रहेको यो अवस्था आउनुमा नेतृत्व पूरै जिम्मेवार छ । उच्च तहका नेतृत्व, उनीहरूको सोच, शैली र सहयोगीहरू पूर्ण रूपमा असफल भएको हो । अन्य विकसित देशमा भए उनीहरू सजायभागी हुन्थे अर्थात् विस्थापित भइसक्थे । तर, हामीकहाँ मृत्युवरण नगर्दासम्म पदमा बसिरहने, नेतृत्व लिइरहने, देश बर्बाद भइरहने र हामी टुलुटुलु हेरेर बसिरहने भइरहेको छ । के यो हाम्रो नियति नै हो त ?
प्रजातान्त्रिक व्यवस्था भइरहे त समयले अर्थात् आवधिक निर्वाचनको माध्यमबाट नेतृत्व परिवर्तनको अवसर पनि आउन सक्ने थियो तर यस्तो सङ्क्रमण बढिरहने र पद्धति पनि नबस्ने अनि हुने के त ? अन्य देशहरूमा देखिइरहेको छ कि यदि प्रजातान्त्रिक पद्धतिले काम गर्न सकेन वा टिकाउन सकिएन भने अन्तत: त्यहाँ कुनै न कुनै प्रकारको अधिनायकवाद आउँछ । नेतृत्वको असफलता, अस्थीर राजनीति र आन्तरिक द्वन्द्वको परिणाम प्रजातान्त्रिक व्यवस्थामाथि मात्र नभई राष्ट्रकै अस्मितामाथि पनि चुनौती छ ।
यस्तो हुनाको कारण के हो ?
ज्ागत्मा कुनै पनि जीव वा वनस्पतिको आफ्नै धर्म हुन्छ । धर्म अर्थात् त्यसको गुण, चरित्र वा स्वभाव । जसको जुन यथार्थ रूप हो त्यसैमा रहनु धर्म हो । वस्तु वा पदार्थको स्वभावजन्य गुण अर्थात् धर्मजस्तै राजनीतिमा पनि धर्म हुन्छ । त्यो धर्म हो, देशको विकास । जनताको विकास । जनभावनाअनुरूप राज्य सञ्चालन । मानव जातिका जनक र प्रथम कानुनदाता मानिने मनुद्वारा रचिएको मनुस्मृति जसलाई मानव धर्मशास्त्र पनि भनिन्छ, त्यसको सार नै राजधर्म हो । त्यसको अर्थ हो जनता र राष्ट्रको कल्याण । राजनीतिक चिन्तनको सुरुवात मानिने प्राचीन ग्रिसका विचारक प्लेटो र अरस्तुको दर्शन अध्ययनमा पनि राजनीति अर्थनीतिअर्न्तर्गत नै छ । राजनीति एउटा निश्चित धर्म वा सिद्धान्तअनुसार चलाउनुपर्छ वा चल्छ भन्ने मान्यता छ । मनु, कौटिल्य, प्लेटो, अरस्तु, कार्लमाक्र्स र गान्धीसम्म आउँदा पनि त्यही नै पाइन्छ । समाजवादी नेता राममनोहर लोहिया त राजनीति अल्पकालीन धर्म हो भने धर्म दीर्घकालीन राजनीति हो भन्छन् । विश्वमा टिकाउ भएका विकसित देशहरूको भित्री कारण पनि त्यही नै हो । त्यसैले निश्चित धर्मका आधारमा राजनीति गर्ने नेताहरू र ती देशहरू सफल छन् । पद्धति विविध हुन सक्छ । तर, त्यस्ता देशहरूबाट हामीले सिक्नुपर्ने प्रमुख कुरा के भने त्यहाँ त्यस्तो नेतृत्व आइहाल्यो भने जनस्तरबाट आवाज उठ्छ । सामाजिक संस्थाहरू, नागरिक समाज वा भनौँ प्राज्ञिक बौद्धिक जमात् शक्तिशाली छ, सङ्गठित छ । हामीकहाँजस्तो नेताले जे मन लाग्यो त्यो गर्न पाउँदैनन् । हाम्रो अहिलेको समस्या अदूरदर्शी नेताहरूको धर्मबिनाको राजनीतिको परिणाम हो ।
के हामीले धर्म पालना गर्नुपर्दैन ?
हामी आफूलाई केही पढेलेखेको, बुझेको अर्थात् चेतनशील नागरिक सम्झन्छौँ । राजनीतिशास्त्रको परिभाषाभित्र पर्ने वास्तविक नागरिक हामी छौँ त ? के प्रत्येक नागरिकले अधिकारको उपभोगमा कर्तव्यको पालना गर्नुपर्दैन र ? के नागरिक हक र अधिकार कर्तव्य र सीमाभन्दा बाहिरै हुन्छ र ? उत्तर प्रस्ट छ पूर्णरूपमा नागरिक बन्न वा हुन अर्थात् नागरिक हकअधिकारको प्राप्ति वा उपभोग गर्नु कर्तव्यको पालना पनि गर्नुपर्छ । सबैले आ-आफ्नै हिसाबले भनौँला, मैले त लेखेको छु, पढाएको छु, आफ्नो व्यवसाय गरेको छु । यी सबै आत्मरति मात्र हो । नागरिक हुन त्यतिले पुग्दैन । अझ सङ्क्रमणकाल जहाँ राष्ट्रको भविष्यमाथि नै प्रश्नचिह्न लागेको हुन्छ, बौद्धिक वर्ग चुप लागेर बस्न सुहाउँदैन । कर्तव्यच्युत हुन्छ । धर्मविरुद्ध हुन्छ ।
समाजशास्त्रीय धारणले वा अनुभवले पनि बताउँछ कि हामीकहाँ उच्च सम्भ्रान्त वर्ग, परिवर्तनका लागि कमै मात्र लाग्ने गर्छ । जुन रूपमा परिवर्तन हुन्छ सोहीअनुरूप समाहित भइदिने र केेवल आफ्नो स्वार्थको मात्र रक्षा गर्ने । निम्नवर्ग, अशिक्षा, आर्थिक अभाव वा चेतनाको कमीका कारण पहिले बुझाउनै नसकिने र बुझ्नै नसक्ने तर पछि जता बढी बहाव छ त्यतै लाग्ने । अन्यथा नहोस् वामपन्थी चिन्तन वा विश्लेषण प्रतिकूल बरु मध्यम वर्ग नै नेपालमा परिवर्तनको पक्षमा लागेको पाइन्छ । अहिलेको अवस्था पहिलेको भन्दा भिन्न हो । अब लाग्ने व्यवस्था परिवर्तनका लागि पनि होइन किनकि तथाकथित लोकतन्त्र छ । सत्ता परिवर्तन पनि होइन किनकि राजसंस्था ढलिसकेको छ । अब लाग्ने पक्ष अलि पृथक छ । त्यो यथास्थितिवाद र उग्रवादविरुद्ध हो । स्पष्ट शब्दमा अधर्मी नेतृत्वविरुद्ध हो । यस्तो कार्य बौद्धिक वर्गको सङ्गठित आवाजबाट सरल र भरपर्दो हुन्छ । त्यसैले अब काम गर्ने भनेको बौद्धिक वर्गले नै हो । त्यो पनि जनतासमक्ष गएर । विभिन्न माध्यमबाट ।
बौद्धिक वर्ग नै अगाडि आउनुपर्ने किन ?
सबै कुरा राजनीतिले र त्यसमाथि नेतृत्वले निर्धारण गर्ने हुँदा त्यो नै महत्त्वपूर्ण पक्ष हुन पुगेको छ । नेतृत्व समाजसापेक्ष पनि हुन्छ । हाम्रो समाज जे गरे पनि मौन रहने वा हल्लाको पछि लाग्ने चरित्रको छ । समाज परिवर्तनको अवस्था, कुनै सङ्क्रमण, क्रान्ति, दैवी वा प्राकृतिक घटनाहरू नेतृत्व परिवर्तनका कारकतत्त्व पनि हुन् । अर्थात् काल वा समय । अर्कोतर्फ नेतृत्वका कारण पनि सङ्क्रमण क्रान्ति युद्ध र राष्ट्रको उत्थान वा पतन पनि हुन्छ । तुलनात्मक रूपले राज्य व्यवस्थाको परिवर्तनबारे लक्ष्य र शासक सङ्ख्याका आधारमा अरस्तुले ६ प्रकारको वर्गीकरण गरी परिवर्तनको यो चक्र घुमिरहने बताए । कौटिल्यले त प्रयत्नबाट नै र्सार्थक परिणाम ल्याए । महाभारतका अनुसार काल अर्थात् समय र राजा अर्थात् नेतृत्व नै प्रमूख रूपमा कारकतत्त्व हुन्छ । तर, छुट्याउन सक्नुपर्छ कि दुईमध्ये कारकतत्त्व कुन हो ? माक्र्सवादीहरू द्वन्द्वात्मक भौतिकवादलाई नै हरेक परिवर्तनको आधार मान्छन् । द्वन्द्ववाद भनेको अन्तरविरोधको अध्ययन र विकास भनेको विरोधी कुराहरूको आपसी सङ्घर्षको परिणाम । अर्थात् वाद-प्रतिवाद र संश्लेषण आधुनिक युगमा पनि उपरोक्त कारणहरूकै पृष्ठभूमिमा परिवर्तन हुने र नेतृत्व जन्मने त्यत्तिकै यथार्थ हो । अहिलेको घटनाले पछि आउने घटनालाई निर्देशित गर्छ वा अहिलेको घटना पहिलेको कारणबाट हो ? छलफलको विषय बन्न सक्छ । सारांशमा राजा वा नेतृत्व त्यसको कार्य वा कारण, कुनै दैवी वा कुनै नियमित आकस्मिकता, अलगअलग रूपमा वा समष्टिगत रूपमा वा आंशिक रूपमा नेतृत्व र राज्य परिवर्तनको कारकतत्त्व बन्न पुग्छ । हामीले जुनसुकै कोणबाट हेरे पनि मानव प्रयन्तबिना वा जनताको संलग्नताबिना आफैं कहीं पनि केही पनि परिवर्तन हँुदैन । त्यसैले अहिलेको अवस्थामा चेतनशील बौद्धिक वर्गहरूले समयमै सुरुवात गरेमा आफैंमध्येबाट वा आउने पुस्ताले त्यसलाई अगाडि बढाउछ । हामीले केही नगरे पनि कुनै न कुनै व्यक्ति, संस्था वा शक्ति यो सङ्क्रमण वा शून्यतामा अगाडि आउँछ-आउँछ । तर, त्यो कस्तो हुन्छ ? भन्न सकिँदैन । जस्तो पनि हुन सक्छ । अब प्रश्न छ यस्तो अवस्थामा पीडाबोध गरेर यसै बस्ने वा विष्णु शर्माको पञ्चतन्त्रमा अनागतविधाता, प्रत्युत्पन्नमति र दीर्घसूत्री माछाको कथामा जस्तै दीर्घसूत्री बनी समाप्त हुने ?