लालपूर्जा वितरणमा किन रन्किए नगरप्रमुख ?

लालपूर्जा वितरणमा किन रन्किए नगरप्रमुख ?


– मुक्तिनाथ भुसाल

विगतको माओवादी द्वन्द्वका क्रममा अर्घाखाँची जिल्लाको सदरमुकाममा रहेका सरकारी कार्यालयहरू नष्ट हुने क्रममा नापी कार्यालयमा भएका सम्पूर्ण नक्सा तथा मालपोत कार्यालयमा भएका श्रेस्ता एवम् मिसिलहरू जलेर नष्ट भएका थिए । जसअनुसार अर्घाखाँची जिल्लाको नापनक्सा गर्नका लागि विशेष नापी कार्यालयको स्थापना भई आफ्नो कामकारवाही अगाडी बढाउने क्रममा शनिबार साविक जलुके गाविस अर्थात् हालको शितगंगा नगरपालिका वडा नम्बर ७ र ८ को क्षेत्रभरिका जग्गाजमिनहरूको नापजाँच गरि जग्गा धनि प्रमाण पूर्जा वितरण गरिएको हो । करिव १६ सय जग्गाधनीमा सोको ८५ प्रतिशत अर्थात् जम्मा १३६० जग्गाधनीले प्रमाण पूर्जा प्राप्त गरेका छन् ।

साविक ४२ वटा गाविस रहेको अर्घाखाँचीमा यसभन्दा अगाडि साविक ९ वटा गाविसका स्थानीयहरूले जग्गाधनी प्रमाण पूर्जा प्राप्त गरिसकेका छन् । जिल्लाको लाहापेमा आयोजित कार्यक्रमका प्रमुख अतिथि तथा नापी विभागका उपमहानिर्देशक मोहम्मद साविर हुसेनले अर्घाखाँचीमा अझै १० हजार हेक्टर जमिनको नापजाँच गर्न बाँकी रहेकोले कर्मचारीहरूलाई जिम्मेवारीका साथ अगाडी बढन निर्देशन दिनुभएको थियो । कार्यक्रमका विशिष्ट अतिथि तथा शितगंगा नगरपालिकाका नगर प्रमुख सूर्यप्रसाद अधिकारीले जग्गाधनी प्रमाण पूर्जा समाजमा बसोवास गर्नका लागि एउटा अनुशासनको प्रतीक भएकाले वरपर रहेका प्राकृतिक सम्पदाहरूको दोहनलाई रोक्न स्थानीयहरू एकजुट हुनुपर्ने बताउनुभएको थियो ।

अधिकारीका अनुसार विकास निर्माणमा जनप्रतिनिधिहरूले राजनीति नगर्न सुझाव दिँदै खोलानाला तथा सामुदायिक वनहरूको दोहन गर्ने कार्य आफुलाई मान्य नभएको कारण तत्काल र विगतको समयमा आफना प्राकृतिक सम्पदामाथि गरिएका बेथितिहरूलाई स्थानीयले नै खोजी गरि सार्वजनिक गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

साधनस्रोतले सम्पन्न शीतगंगा नगरपालिकामा सिमित व्यक्तिहरू मोटाउने गरेको र स्थानीयका समस्या ज्यूँकोत्युँ भएको स्मरण गर्दै सबै खरका छानाहरूलाई ५ वर्षभित्रमा जस्तामा परिणत गर्ने आर्थिकको अभावमा उपचार गर्न नसकेकाहरूलाई सहयोग गर्ने, सुशासन प्रबद्र्धनका लागि नगरवासीहरूलाई सचेत गराउन आरटीआई कार्यक्रम अगाडि बढाउने जस्ता कार्यहरूमा आफु दृढ रहेको भनाई व्यक्त गर्दा सहभागीहरू प्रसन्न भएका थिए ।

शितगंगा नगरपालिका भौगोलिक हिसाबले नेपालकै ठुलो नगरपालिका हुनुको साथै प्रशस्त मात्रामा सखुवाको भण्डार लगायत खोलानाला रहेका छन् । नगरपालिकाभित्र भएका प्राकृतिक सम्पदाहरूको सही उपयोग गर्न सक्ने हो भने शीतगंगालाई स्वीजरल्यान्ड बनाउन राज्यको लगानी आवश्यक पर्दैन, तापनि शीतगंगाका स्थानीयहरू हालसम्म कर्णालीको जिन्दगी बिताउन विवश छन् ।

समुन्नत नगरवासीहरूको जिन्दगीमा परिवर्तन ल्याउने हो भने नगरप्रमुख अधिकारीले बोलेजस्तो राजनीतिलाई बिर्सिएर इमान्दारीताका साथ विकास निर्माणमा निर्वाचित सबै जनप्रतिनिधिहरू एकजुट हुनु पर्दछ । नगरपालिकाभित्र जनताले पत्याएका निर्वाचित जनप्रतिनिधिहरू इमान्दार बन्ने हो भने त्यहाँ रहेका प्राकृतिक सम्पदामाथिको दोहन दुई घन्टाभित्रै अन्त्य हुन सक्ने सहभागीहरूको कथन रहेको छ ।

अधिकारी नगरप्रमुखमा विजयी भएपश्चात बेलावखत खोलानालाहरूमा एक्लै पुगी दोहनमा संलग्न माफियाहरूको दोहोलो काढ्न सक्रिय बनेको चर्चा सार्वजनिक भए पनि सम्बन्धित सरोकार पक्ष सक्रिय नहुँदा बेथिति यथावत रहेको बुझिन्छ । विशेष नापी कार्यालयद्धारा आयोजित कार्यक्रममा प्रजिअ खेमराज भुसाल, प्रनाउ एकनारायण कोइराला, सम्बन्धित वडाका अध्यक्ष तथा सदस्यहरू लगायतको सहभागिता रहेको सो महत्वपूर्ण सभाको अध्यक्षता विशेष नापी प्रमुख उमेश कुमारले गर्नुभएको थियो ।