[निवन्ध] म घर जाँदैछु

[निवन्ध] म घर जाँदैछु


– कोरङ्गी प्रेम,
– हेल्लो, को बोल्नु भा को, वुवा हो ?
– को हो ?
-म ठागु (जेठा) हो क्या ठागु । विदेशबाट, ढोग गरें ।
– भाग्यमानी भएस् । नातिनी र बुहारीलाई सन्चै छ ?
– ठीकै छ । घरमा सबैलाई आारामै होला नि ?
– बेसै छ । अनि तिमीहरु घर आउँदैनौं ?
-दशैमा आउँदै छु ।

वुवासँग भएको १ हप्ता अघिको फोनमा सम्वाद । मैले घर छाडेको आज २५ वर्ष, जिल्ला छाडेको १९ वर्ष अनि देशै छोडेको चाँहि ४ वर्ष भैसकेछ । त्यसैले यो दशैमा म घर जाँदैछु । लाहुरे भए पहिलो छुट्टि गएर फर्की सक्थ्यो, आफू त बन्दुक नसमाउने लाहुरे परियो बल्ल मेसो मिल्दै छ घर जाने । तैपनि मेरो शान कुनै राइफल-म्यानको भन्दा कम हुने छैन । जोख्ने हो भने २-४ लाल बढी नै होला ।

आहा म घर जाने । त्यो पनि विदेश बाट ४ वर्षमा । फलानाको छोरा चिलानाको नाती गावैंभरि हल्ला चल्दै होला । अतः घर जाने यो खुशीयालीमा मेरो चुरीफुरी अर्कै हुनु पर्ने । अर्कै उत्साह उमंग जोस र जांगर हुनु पर्ने तर पटक्कै छैन उल्टै थकाइ आलस्य र दोधारेपनाले पो सताइरहेछ । होस पनि कसरी ? मुलुक वाहिर दोश्रो दर्जाको नागरिक बनि बाँच्दाको पीडा अनि बिदेशीको अपमानित ब्यबहारले यो मुटु छियाछिया भइसकेको छ । कतै यो मुटुमा मलमपट्टी मिल्छ कि भनेर साँझ विहान नेट र पत्र पत्रिकाबाट मेरो घरलाई चिहाउँछु जताततै हत्या हिंसा, बन्द हड्ताल, अपहरण भष्ट्रचारको खबरभन्दा केही पाउँदिन । त्यो समाचारले यो घायल मुटुमा झनै पीडा पो थपिदिन्छ । १० वर्षे कथित जनयुद्वले ढाँडै भाँचिएर थलिएको मेरो देशमा अब अलिअलि अवशेष मात्र बाँकी छ त्यसलाई पनि निमिट्यान्न पारेर देशलाई परमधाम नै पु-याउने काम हुँदैछ । विभिन्न जातजाति भाषाभाषीको नाममा कसाईले धार्नी, बिसौली र किलोग्राम गर्दै मासु भाग लगाएजस्तै मेरो देशको कित्ताकाट गरिंदै छ । अनि एउटा नेपाली अर्को ठाउँमा जाँदा आफ्नै देश भित्र पराइ बन्दै छ । दुःख आपत पर्दा दाजुभाइ मिली बैरीलाई परास्त गर्नु पर्ने हो तर त्यै बैरीसँग मिली दाजुले भाइलाई भाइले दाजुलाई सिध्याउने खेलमा मस्त छन् । त्यसैले घर जाने यो खुशीमा पनि मेरो मनमा चयन छैन । यो मन खशीले नाँच्न सकिरहेको छैन ।

सानो छँदा दशै भने पछि नौरथा शुरु भएदेखि नै गोठमा बाँधेको बोका खसी, कोठेबारीमा फलेको केराको घरी अनि आँगनको डिलमा फूलको गोदावरी, सयपत्री र मखमलीमा विशेस स्यहार सुसार हुन्थ्यो । खोरमा पालेको खसीलाई दानापानी खुवाएर लैनो भैंसीलाई भन्दा पनि चर्को स्याहार हुन्थ्यो ताकि बलियो बनाएर दशैमा एक एक दानाको मूल्य असुलौं । बाघा गाउँको स्कूल डाँडामा थापेको लिङ्गे पिङ अनि मादीको ओखरबोटे र चैनपुरको शुक्रवारे हाट भरेर घर फर्किदा रमितेको डाँडामा थापेको रोटे पिङगमा माम्फुली, मकै, भटमास् र चाम्रेभात खाँदै साईली माईलीसंग हाक्पारे धाननाच अनि कुर्रै ढाडे गीत गाएको संझना ताजै छ यो मानसपटलमा । रातोमाटो र कमेरो माटोले घर पोतेर दुलही जस्तै चिटिक्क पारी झ्याल ढोकामा कालो रंग लगाउँदा अनि गेटमा फुलेको बाह्रमासे मदानी फूल घर वरिपरि गाडिएका धूपी सल्ला, आरु, सुन्तला र जुनारका बोटहरुमा कौवा ढुकुर जुरेली र चिचिनकोटेले भाका फेरी-फेरी गीत गाउँदा लाग्थ्यो त्यो मेरो झुपडी नभएर स्वर्गको राजा इन्द्रको दरबार हो । उहिले दशैं भने पछि सबै नेपालीहरुको हर्षोल्लासको चाड हुन्थ्यो । वर्ष दिनमा एक पल्ट आउने सबैभन्दा ठूलो चाड । के गरीव, के धनी के जनजाति के आर्यन सबै नेपालीहरको चाड । राष्ट्रिय चाड । अहिले त दशै पनि सबैको होइन रे । निश्चित जातजाति र भाषा भाषीको मात्र अरे । अनि विभिन्न जातजाति भाषाभाषीको आ आफ्नै चाडपर्वहरु अरे । त्यसैले अब त सबै नेपालीहरुको साझा चाड पनि छैन । त्यो मेरो सुन्दर शान्त सौम्य त्यो झुपडीमा दिन ढलेर साँझ पर्दै गए पछि हाङथुङ्ग डाँडाबाट चल्ने सिरसिरे पवनको झोक्का आँगनको सल्लामा ठोकिँदाको आवाज आहा कति कर्णप्रिय खै ति दिनहरु म फेरि देख्न पाउँछु कि पाउँदिन ? भोग्न पाउँछु कि पाउँदिन ? ति नै दशैको सझना बोकेर म घर जाँदैछु, मेरो गाउँ जाँदैछु यो दशैमा ।

अब त मेरो देश नेपाल पुरानो भयो रे, त्यसैले नयाँ नेपाल बन्दै छ रे । नयाँ नेपाल कस्तो हुन्छ ? मेरो मनमा पनि यस्तै जिज्ञासाहरु उब्जिरहन्छ । अब बन्ने नयाँ नेपालमा सोचहरु नयाँ हुनु पर्ने हो, ब्यबहारहरु स्वच्छ हुनु पर्ने हो अनि नया-नयाँ सूचना र प्रविधिहरुलाई मुलुकमा भित्र्याएर विकासको कार्यहरु शुरु गर्नु पर्ने होइन र ? यहाँ त हत्या हिंसा बन्द हडताल भ्रष्टचार र अपहरण सबैभन्दा मौलाएको खेती बनेको छ । पुरानो नेपालमा पनि नभएका कामहरु पो गरिंदै छ । देश विकासको कार्य को त कुरै छाडौ भइरहेको सम्पती पनि तोडफोड गरेर मुलुकलाई कंगाल वनाईदै छ । के यहि हो नयाँ नेपालको संकेत ? के यसरी नै बन्छ त नयाँ नेपाल ? एकताका कर्णाली अञ्चलका जनताहरुलाई संविधान सभा के हो ? भनेर सोध्दा “हामीलाई त सा“झ विहान खाने रोटी मात्रै थाहा छ त्यो त तिनै नेताहरुलाई थाहा होला उनैलाई सोध्नु” भनेका थिए । देशको स्थिति यो छ । मुलुकमा भएको परिवर्तनको बारेमा जनताहरु अनभिज्ञ छन् । नेताहरु चाँहि नयाँ नेपाल बनाउँछौ भन्दै अलि-अलि भएको देशको ढुकुटी सिध्याउने काममा लागेका छन् । एउटा कविता पढेको थिएँ -अब बन्ने नयाँ नेपालमा हाम्रो बाउ बाजेको थर हुन्छ कि हुन्न अनि मान्छेको मूल्य मृगको सुकुटीभन्दा महंगो हुन्छ कि ब्रोइलर कुखुराको मासुभन्दा सस्तो हुन्छ ? मेरो मनमा पनि यस्तै जिज्ञासाहरु उब्जिरहन्छ । सोच्दछु अब बन्ने नयाँ नेपालमा मैले एउटा स्वतन्त्र नागरिक भएर बाँच्न पाउँछु कि पाउँदिन ? अनि त्यो नेपालमा मेरो बाउ-बाजेको थर रहन्छ कि रहँदैन ? आदि-आदि ।

अन्त्यमा, जब घर बाट फर्कन्छु, म जस्तै साथिभाइहरुले मलाई तिम्रो गाम-घरको हालखवर के छ ? कस्तो छ तिम्रो घर भनेर पक्कै सोध्नेछन् त्यो बेलामा मैले के भनेर जवाफ दिउँ ? दिनैपिच्छे ७० लाख नेपालीहरु विहान खाएर वेलुकि के खाऊँ भन्ने स्थिति छ भनूँ कि देशको मुल कानुन लेख्ने बहानामा १३ अर्बभन्दा बढी देशको ढुकुटी सिध्याएर मुलुकलाई कंगाल बनाइँदै छन् भनुँ या त दिन दहाडै खुल्ला सडकमा मानिसको शिकार खेलिन्छ, गोली हानी मारिँदा पनि पुलिस प्रशासन थाहै नपाई रमिते भएर बस्छ भनूँ । या त दिनैपिच्छे बन्द हड्ताल गरेर दैनिक अरबौंको घाटा लगाउने काम भइरहेछ भनुँ ? कि मेरो देश नेपाललाई विभिन्न जातजाति र भाषाभाषिको नाममा भागवण्डा लगाइँदै छ भनूँ या हप्तै पिच्छे प्रधान मन्त्रीको चुनाव गराइन्छ भनूँ? कि नकचरो लवस्तरो बनेर थाहा छैन भनूँ । खै, म के भनूँ ? खै र, जे होस्, करीव ४ वर्षपछि घर आउने वचन बुवालाई दिइसकेकोछु त्यसैले यो दशैंमा म घर जाँदैछु । विदेशमा बस्ने हुने यहाँहरु सबैको बिदेशको बसाइ शुभ रहोस् भन्दै ढिलै भए पनि हाम्रा नेताहरुको बुद्विमा लागेको स्वार्थको बिर्को २०६७ सालको बिजयादशमीले उघारी दियोस्, सबैमा बिजयादशमीको शुभकामना ।
समाप्त ।
संखुवासभा, हाल हंगकंग, अक्टोवर ९,२०१०